विचारनेपाली कांग्रेस

देउवालाई दुरुपयोग गर्ने को को हुन् ?

काठमाडौं । ‘शेरबहादुर देउवा यति सोझा छन् कि उनलाई जसले पनि दुरुपयोग गरिदिन सक्छ’— यो भनाई निकै चर्चित थियो एकताका। आजकाल यस्तो चर्चा छैन, किन चर्चा छैन भने अब उनलाई दुरुपयोग या उपयोग गर्न केही ढोका पार गर्नुपर्छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपयोग या दुरुपयोग गर्न चाहनेले पारगर्नुपर्ने फलामे ढोका हुन्— आरजू राणा देउवा।

निकटस्थहरु भन्छन्— देउवालाई बुढ्यौलीले झपक्कै छोप्न थालेको छ, स्मरण शक्ति पनि धेरै कमजोर भएको छ, बोल्दा बोल्दै सिलसिला छुटाउँछन्, सहि निर्णय लिन गाह्रो हुन थालेको छ। यस्तो बेलामा पत्नीले पतिको कमाण्ड समाल्नु अस्वाभाविक पनि होइन र नाजायज पनि होइन। तर, यही कारण कांग्रेसभित्र समस्या पनि आएको छ।

सनक्क सन्किन्छन्, हकारिहाल्छन्

देउवाको पूरानै विशेषता हो— सनक्क सन्किने, जसलाई पनि हकारिहाल्ने। जानकारहरु भन्छन्— देउवाको यो स्वभाव बुढ्यौलीसँगै झन् छिप्पिँदै गएको छ। देउवाले सबैभन्दा धेरै झपार्ने पात्र थिइन् स्वयं पत्नी आरजू। पछिल्लो पटक प्रधानमन्त्री हुनुअघिसम्म आफ्नो राजनीतिक मामिलामा कुनै दखल दिन खोज्दा देउवाले अरुकै अगाडि आरजूलाई झपार्थे। आरजू पनि सन्किन्थिन्। पतिपत्नीको विवाद तथा एकछिनको रिसारिसलाई कसैले वास्ता गर्दैनथे, गर्ने कुरा पनि भएन।

तर, बालुवाटार प्रवेशपछि सबैथोक फेरियो।

निवर्तमान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणुलाई भरतपुर महानगरको मेयर पद उपहार दिएपछि देउवाले प्रधानमन्त्री पद प्राप्त गरे। अनि उनी बालुवाटार प्रवेश गरे। बालुवाटार प्रवेशसँगै अनौठो परिदृश्य देखिन थाल्यो। अचानक निर्णयकर्ता भएर प्रकट भइन् आरजू।

पहिलेपहिले देउवा आफैं निर्णय गर्थे, पत्नी आरजूको कुनै भूमिका बाहिरबाट देखिँदैनथ्यो। तर, बालुवाटारवासी बनेपछि कुनै निर्णय गर्नुपरे आरजूलाई पहिला कन्भिन्स गर्नुपथर््यो, अनिमात्र देउवा मान्थे।

अचानक देउवा फेरिए! देउवा फेरिएपछि कांग्रेसभित्र चाकडीको राजनीतिले पनि नयाँ आयाम लियो। हुँदाहुँदा देउवा दम्पत्तिका वेलायत पढ्ने छोरा जयवीर सिंहको समेत चाकडी गर्नेहरु प्रकट हुन थाले।

आरजूलाई खुशी पार्नेहरुले मन्त्री पद पाउन थाले, ती मन्त्रीहरु प्रधानमन्त्री देउवाप्रतिभन्दा आरजूप्रति उत्तरदायी देखिन थाले। यस्ता मन्त्रीहरुमध्ये सर्वाधिक अग्रपंक्तिमा थिए मिन विश्वकर्मा। देउवाको टिमभित्र मिनको कसैसँग राम्रो सम्बन्ध छैन। वालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधी कसैसँग राम्रो सम्बन्ध नभए पनि ‘आरजू जिन्दावाद’ भन्दै मिनले दोस्रो पटक समानुपातिक सांसद पद हत्याए।

बालुवाटारमा आरजूकै हाइहुकूम चल्न थाल्यो। बुढानिलकण्ठ निवासमा हुँदा पत्नीको कुरा सुन्दिन भन्दै सबैका सामु आरजूलाई हप्काएको नाटक गरेर देउवाले भ्रम दिएका थिए। बालुवाटार आएपछि त्यो नाटक बन्द भयो।

अरुलाई हप्कीदप्की गर्ने बानी पनि देउवाले घटाए। आरजूप्रतिको निर्भरता बढाए। निरोले रोममा शासन गरेको शैलीमा देउवा बालुवाटार बसे।

लाचार देउवा

बालुवाटारमा आरजू हावी भएपछि उनकै वरिपरी घेरा तयार हुन थाल्यो। यो घेराले नै सबै निर्णय गर्न थाल्यो। घेरामा थिए ज्ञानेन्द्रबहादुर, वालकृष्ण खाँण, प्रकाशशरण महत। घेराबाहिर भए पनि मिन विश्वकर्मा आरजूको विश्वाशिला पात्र बने। देउवाका पिएहरु पनि आरजूमै निर्भर भए।

देउवाको आरजू निर्भरता बढ्दै गयो।

त्यसबेलाको एउटा साधारण लाग्ने अर्थपूर्ण घटना छ। भारतीय राजदूत प्रधानमन्त्री देउवालाई भेट्न गएका थिए। भेटमा देउवाको टिमका केही नेताहरु पनि थिए। राजदूतले केही कामहरुका लागि औपचारिक आग्रह गरे। उनले यसका लागि कूटनीतिक च्यानलबाट केही दिनभित्रै पत्र पठाउँछु पनि भने। कुराकानी सकियो। अनौपचारिक सामान्य कुराकानी हुँदै थियो।

त्यहाँ आरजू आइपुगिन्।

भारतीय राजदूतले अघि देउवालाई भनेका सबैकुरा दोहोर्याएर आरजूलाई सुनाए। त्यहाँ उपस्थित सबैले राजदूतले कुरा दोहोर्याएको देख्दा अनौठो माने।

पछि के अर्थ लगाइयो भने भारतीय राजदूतले देउवालाई मात्र भनेर हुँदैन, आरजूलाई पनि भन्नुपर्छ भन्ने बुझेका रहेछन्! अर्काे अर्थ हो, प्रधानमन्त्री देउवालाई जति नै पत्नी आरजूलाई पनि मान्यता दिनु।

राजदूतले शिष्टाचारवस त्यसो गरेका पनि हुनसक्छन् तर अर्थपूर्ण थियो त्यो घटना। सामान्यतया कूटनीतिक संवादमा यसो गरिँदैन।

कतिपयले आरजूका सामु देउवा लाचार बनेको पनि टिप्पणी गरेका छन्। यस्तो टिप्पणी गर्नेहरु गगन थापा प्रकरणको उदाहरण दिन्छन्।

आरजूले रोकिन् गगनलाई

आमचुनाव अगाडि अचानक एउटा अनौठो खबर आयो— गगन थापा कांग्रेस प्रवक्ता बने। सामाजिक संजालमा गगनले पाउनसम्म बधाई पाए। तर, खबरको पुष्टि भएन। समाचारहरुमा पनि गगन प्रवक्ता बनेको आयो तर प्रवक्ता बनाइएको भनेर पार्टीको विज्ञप्ति आएन।

गगनलाई देउवाले प्रवक्ता बनाएका थिए, आरजूले होइन। गगन प्रवक्ता बनेको विज्ञप्ति भोलिपल्ट जारी हुनुपर्ने थियो तर भएन। किनभने आरजूलाई नसोधी गगनलाई प्रवक्ता बनाउन ‘मिल्दैनथ्यो’।

प्रकाशरण महत र वालकृष्ण खाँणले आरजूलाई उकासे। त्यसबेला वाणिज्यमन्त्री रहेका मिन विश्वकर्माले त आरजू म्याडमको इच्छा विपरित गगनलाई प्रवक्ता बनाइन्छ भने मन्त्रिमण्डलबाट राजीनामा दिन्छु समेत भनेर घुक्र्याएछन्!

तर, चुनावपछि विश्वप्रकाश शर्मा प्रवक्ता बने। एकदिन देउवाले विश्वप्रकाशलाई भने— ‘तिमीलाई प्रवक्ता बनाउँछु।’

विश्वप्रकाशलाई गगन किन प्रवक्ता बनेनन् भन्ने थाहा थियो। तत्कालै उनले देउवालाई शर्त राखे— ‘मलाई प्रवक्ता बनाउने हो भने गगनको जस्तो हालत भोग्नुपर्ने हुन्छ, त्यसैले कसैलाई थाहा नदिई एकैपटक विज्ञप्ति जारी गर्नुपर्छ।’

विश्वप्रकाशले झापा कांग्रेसका आफू निकट धेरैलाई यो प्रकरण सुनाएका छन्। शर्मा निकट झापा कांग्रेसका एक युवा नेता भन्छन्— ‘भोलिपल्ट पार्टी कार्यालयको सचिवलाई बालुवाटार बोलाइयो। बालुवाटारबाट विश्वप्रकाश प्रवक्ता बनेको विज्ञप्ति जारी भयो।’

पछि गडबड हुने आशंकाले विश्वप्रकाशले विज्ञप्तिको मूल कपी नै बोकेर हिँडेको बताइन्छ। बालुवाटारबाट बाहिरिएपछि विश्वप्रकाशले मिडियालाई आफू प्रवक्ता बनेको समाचार दिए। अनिमात्र आरजू सहितको टोलीले देउवाले ‘बरवाद गरेको’ जानकारी पाएका थिए।

ओलीलाई बारम्बार फोन

चुनावपछि देउवाले कम्युनिष्ट भूत देखाएर सरकारमा टिकिरहन सकिन्छ कि, चुनाव नतिजालाई भड्खालामा हाल्न सकिन्छ कि भनेर निक्कै प्रयास गरेका थिए। कांग्रेसका अधिकांश नेताहरुले देउवालाई अड्को थापेर प्रधानमन्त्री पदमा बसिरहन सुहाएन भन्दै सुझाएका थिए। तर, देउवाले अन्तिम क्षणसम्म सरकार छाड्न मानेनन्।

त्यसपछि प्रधानमन्त्री बने केपी ओली।

प्रधानमन्त्री बनेपछि ओलीसँग देउवाले व्यक्तिगत सम्बन्ध निक्कै सुमधुर बनाएका छन्। कतिसम्म भने ओलीलाई लगभग दिनहुँ देउवाले फोन गर्ने गरेका छन्। बाहिरबाट हेर्दा दुई पार्टीको सम्बन्ध बिग्रेको जस्तो देखिए पनि दुई नेताको सम्बन्ध भने बिग्रिएको छैन।

गत साता चितवन कांग्रेसको एक टोली देउवालाई भेट्न गएको थियो। विषय थियो— चितवन क्यान्सर अस्पतालको कम्पाउण्डमा सभागृह बनाइन लागेकोमा आपत्ति। देउवाले तत्कालै ओलीलाई फोन गरे।

त्यसपछि त्यो टोलीकाहरुलाई देउवाले भने— ‘दिनहुँ ओलीलाई फोन गर्दागर्दा वाक्क भइसकें।’

तीनसाता अघि ओलीलाई भेट्न देउवा बालुवाटार नै पुगेका थिए। विषय अरु नै भनिए पनि उनी त्यसरी जानुको कारण थियो— आफ्नो निकट नाताकी एक महिलालाई राजदूत पदबाट नहटाइदिन अनुरोध।

ओलीले अनुरोध स्वीकार गर्छन् कि गर्दैनन् टुंगो भएको छैन तर देउवाको ‘अनुरोध’ यतिमा सीमित छैन। जानकार स्रोतहरुका अनुसार संसदीय समितिको सभापति पदहरुमा देउवाले भाग मागिरहेका छन्। तर, ओलीले भने तपाईंको पार्टीका साथीहरु संसदीय समितिको सभापति पद लिन इच्छुक हुनुहुन्न भनेर देउवालाई अप्ठेरोमा पारिदिएका छन्।

समितिको सभापति राज्यमन्त्री सरह हुन्छ। कांग्रेसले दुईतीनवटा पद पायो भने त्यो पदमा देउवाका आफ्ना मान्छे जानेछन्। यही कारण देउवा निकटहरु बाहेक अरुले समितिको सभापति पद माग्नु गलत हो भनेका छन्। कृष्ण सिटौलाले त यो कुरा सार्वजनिक रुपमै भनिसकेका छन्।

देउवाको अर्काे अनुरोध हो— संवैधानिक नियुक्तिहरुमा आफूलाई भाग दिनुपर्छ।

जानकार स्रोतहरुका अनुसार देउवाले कांग्रेसका लागि भाग मागेका होइनन्। हरेक निकायमा भाग लिने तर सरकारले भाग दिएन भन्ने सुनियोजित रणनीतिमा देउवा छन्। पाएको भाग बिक्री गर्ने निहित उद्देश्य देउवाको टिमको रहेको जानकारहरुको दावी छ।

पार्टीमा के गर्छन् ?

देउवाले केहीलाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। मनोनीत हुनेहरुको योग्यता र हैसियतमा प्रश्न उठिरहेको छ। ओरालो लागेको पार्टीलाई उर्जा दिनसक्नेहरुलाई नभएर भजनमण्डलीका सदस्यहरुले देउवाले मनोनीत गरेको आरोप लागेको छ।

महामन्त्री डा. शशांक कोइरालाका कारण चुनाव पराजयपछि सभापति पद त्याग्नुपर्ने परिवन्दबाट जोगिएका देउवाले महासमिति वैठक छल्न यथासक्य प्रयास गरिरहेका छन्। यसअघिको केन्द्रीय समिति वैठकमा सबैले महासमितिको वैठक माग गरे तर देउवाले मिति तोक्न मानेनन्।

पार्टी विभागहरु गठन हुन सकेको छैन। भ्रातृ संगठनहरु लथालिंग छन्। अधिवेशन भएका भ्रातृ संगठनमा पनि देउवाको खेमाको पत्तासाफ भएको छ। गत महिना ट्रेट युनियन कांग्रेसको अधिवेशनमा देउवा खेमा बढारियो। प्रजातन्त्रवादी वकिलहरुको संगठन डिएलएको हालै भएको अधिवेशनमा पनि देउवा खेमाको पत्तासाफ भयो।

अब महाधिवेशनमा के होला देउवाको हालत? सबैले यस्तो प्रश्न उठाइरहेको बेला देउवा स्वयंले चाहिँ पुन सभापति बनेर पार्टीलाई पूरानै ठाउँमा फर्काउँछु भन्न थालेका छन्। देउवाले भनेको पूरानै ठाउँ कुन हो? यो प्रश्नमा कांग्रेसजनहरुले ठट्यौलो जवाफ दिने गरेका छन्। जवाफ यस्तो छ— ‘देउवाले ०५८ असोजको अवस्थामा कांग्रेसलाई फर्काउँछन्।’

देउवाले अब के गर्छन्? कांग्रेसभित्रको मूल प्रश्न हो यो। देउवाले केही सुनियोजित रणनीति अपनाइरहेका छन्। उनले पार्टीभित्रको वेथिति र पार्टीभित्र आफ्ना कारणले फैलिएको निराशाबाट ध्यान अन्यत्र मोड्न ओली सरकार विरुद्ध प्रहार केन्द्रीत गरिरहेका छन्। देशमा अधिनायकवाद आइसक्यो भनेजस्तो पारेर अनि पार्टीभित्र गुम्दै गएको नियन्त्रण फर्काउने उद्देश्य देउवाको देखिन्छ।

भदौमा महासमिति वैठक गर्ने भनिएको छ, त्यसबेलासम्म देशमा पूरै ओली विरोधी माहौल बनाउन सकियो, आन्दोलनको माहौल बनाउन सकियो अनि अधिनायकवाद आइसकेको भ्रम फैलाउन सकियो भने महासमिति वैठकमा आफूलाई खतरा नहुने देउवाको निष्कर्ष हुनसक्छ।

उता, देउवाका आलोचकहरु चाहिँ साँच्चै अधिनायकवाद आयो भने त्यस विरुद्ध संघर्ष गर्न देउवाले किमार्थ नसक्ने भन्दै चिन्तित देखिन्छन्। ‘ओली सरकार विरुद्ध देउवाको नेतृत्वमा कांग्रेस भिड्न सक्दैन,’ गत मंगलबार देशब्यापी रुपमा कांग्रेसले गरेको विरोध प्रदर्शनमा सहभागीहरुले पनि यस्तो धारणा राखेका थिए।

आराम पनि, विश्राम पनि

कांग्रेसभित्र देउवाको सूर्यास्त भइरहेको प्रष्ट छ। देउवाले आउँदो महाधिवेशन जित्दैनन् भन्ने सबैले बुझ्न र देख्न थालेका छन्। त्यसैले देउवाको खेमामा रहेकाहरुले पनि धमाधम साथ छाड्न थालेका छन्।

‘देउवालाई आराम र विश्राम दुवै दिनुपर्छ,’ कांग्रेसभित्र यस्तो भनाई व्यापक बन्न थालेको छ। तर, पत्नी आरजू सहित उनको टिममा रहेकाहरु देउवाको बूढो र थकित शरीर मनलाई आराम र विश्राम गर्न दिने पक्षमा देखिएका छैनन्।

रामचन्द्र पौडेल पक्षले देउवालाई आराम र विश्राम दिन केही सर्तहरु पनि राखेको बताइन्छ। महासमिति वैठकको सेरोफेरोमा देउवाले पदबाट राजीनामा दिए भविष्यमा आरजूको पदीय व्यवस्थापन गरिदिने आश्वाशन दिइएको बुझिन्छ। यसो नगरेर महाधिवेशनसम्मै पदमा बस्ने र त्यसपछि चुनाव लड्ने हो भने आरजूको व्यवस्थापन गरिदिन नसकिने उनीहरुको भनाई छ। देउवालाई आराम र विश्राम दिन पत्नी आरजू नै तयार छैनन्।

देउवालाई आराम र विश्राम गर्न दिने कि नदिने ?

अहिले कांग्रेसको भित्री द्वन्द यही हो।

—सरलपत्रिकाबाट साभार

nema
Show More

Related Articles

Back to top button