breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसको महासमिति बैठक भदौमा नहुने

काठमाडौँ — कांग्रेसको महासमिति बैठक भदौमा नहुने भएको छ । पार्टीले विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा बैठक प्रभावित भएको हो ।
महासमिति बैठकको मुख्य एजेन्डा विधान संशोधन हो । एकात्मक राज्य प्रणालीको पार्टी संरचनालाई संघीय संरचनामा रूपान्तरण गर्न महासमिति बैठकबाट विधान संशोधन गर्ने कांग्रेसको तयारी छ । समिति गठनमै किचलो भएपछि बैठक बस्ने सम्भावना टर्दै गएको छ ।
केन्द्रीय कार्यसमितिको गत चैतको बैठकले महासमिति बैठक भदौ मसान्तमा गर्ने निर्णय लिएको थियो । विधानमा प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । तर, शेरबहादुर देउवा पार्टी सभापति निर्वाचित भएको साढे दुई वर्ष बित्न लाग्दा एकपटक पनि बैठक बस्न सकेको छैन ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दसैंअघिसम्म महासमिति बैठक गर्ने तयारी भइरहेको बताए । सभापति देउवाले चाडपर्वको कारण जनाउँदै अझ पर धकेल्ने प्रयास गरिरहेको संस्थापनइतर पक्षको आरोप छ ।
यसअघि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मस्यौदा समितिमा रहने सदस्यको नाम नदिएका कारण ढिलाइ भएको बताउँदै आएका थिए । पौडेल पक्षले समितिमा रहने चार जनाको नाम १० दिनअघि नै बुझाइसकेको छ, जसमा केन्द्रीय सदस्यहरू दिलेन्द्र बडु, मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी र प्रदीप पौडेल छन् ।
सभापति देउवा समिति गठन नगरी विदेश गएको भन्दै संस्थापनइतर नेताहरू असन्तुष्ट छन् । देउवाले आफ्नो कार्यकाल लम्ब्याउन बैठक ढिलो गर्न लागेको उनीहरूको आशंका छ । अबको डेढ वर्षपछि देउवाको चारवर्षे कार्यकाल सकिन्छ ।

nema
Show More

Related Articles

Back to top button