विचारनेपाली कांग्रेस

विपक्षको विरोध कमजोर हुँदैमा सरकारको काम प्रभावकारी भएको सिद्ध भने हुँदैन

सरकारले आफ्नो प्रगति विवरण सार्वजनिक गरेलगत्तै प्रमुख विपक्ष नेपाली कांग्रेसले पनि आइतवार पत्रकार सम्मेलन गरेर सरकारका कमजोरी उजागर गरेको छ । यही भदौ ३ गते वर्तमान सरकार गठन भएको ६ महिना पुग्यो । कांग्रेसले सरकार चुकेको ठहर गरेका विषयमा राष्ट्रियता, लोकतन्त्र, संघीयता, सुशासन, मूल्यवृद्धि, समृद्धि यात्रा र सपनाको हवाई उडान तथा न्यायालय रहेका छन् । तर, सरकार कुन घटनामा राष्ट्रियताको रक्षा गर्न चुकेको थियो भन्ने वस्तुगत उदाहरण भने दिइएको छैन । यसैगरी लोकतन्त्र रक्षाको विषय उठाइएको छ तर त्यसमा पनि उदाहरण दिइएको छैन । संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विदेश भ्रमण गर्न रोकिएको र प्रधान न्यायाधीशको सुनुवाइमा संसदीय विशेष समितिले बहुमतबाट गरेको अस्वीकार गर्ने निर्णयबाहेक अरू विषयमा कांग्रेसले उदाहरण दिएको छैन । वस्तुगत उदाहरण वा पर्याप्त प्रमाण नहुँदा विपक्षको विरोध सतही हुनपुगेको छ ।

हुनत, सरकारको प्रगति विवरण धेरै हदसम्म हचुवा र हास्यास्पद थियो । वर्षौंदेखि सञ्चालन भएका योजनालाई आफैँले थालेर पूरा गरेझैँ विवरण दिनु हास्यास्पद अभ्यास हो । सरकारबाट हट्नै लागेका प्रधानमन्त्रीले हतारमा आफूले गरेको कामको विवरण दिएजस्तै गरेर अहिले मन्त्रिपरिषद्ले ‘प्रगति विवरण’ दिनुको औचित्य र आवश्यकता दुवै थिएन । विपक्षले पनि सरकारका हास्यास्पद काममा समेत प्रतिक्रिया व्यक्त गर्नु आवश्यक हुँदैन । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साटो नेपाली कांग्रेस सत्तामा भएको भए उसको प्रस्तुति कति फरक हुन्थ्यो भन्ने देखाउन विपक्षले सकेको छैन । कांग्रेसले सरकारमाथि विभिन्न आरोप लगाएको छ र कमजोर प्रस्तुतिका लागि उपहास पनि गरेको छ । तर, कांग्रेसको विरोध पनि सरकारको विवरणभन्दा खासै फरक छैन । यद्यपि, विपक्षको विरोध कमजोर हुँदैमा सरकारको काम प्रभावकारी भएको सिद्ध हुँदैन । अर्थात्, जस्तो सरकार उस्तै विपक्ष ! यसैले कांग्रेसले गरेको सरकारको विरोध प्रभावहीन भएको हो ।

संसदीय प्रणालीमा विपक्षलाई ‘प्रतीक्षारत सरकार’ पनि भनिन्छ । नेपालमा अहिले नेपाली कांग्रेस प्रमुख विपक्षी दल हो । जनमतमा खासै सानो नभए पनि संसद्मा कांग्रेसको उपस्थिति संख्यात्मकरूपमा निकै कमजोर छ । तर, यही कारणले अहिले संसद्मा कांग्रेसको भूमिका प्रभावकारी नभएको भने हैन । बरु कार्यसूची र स्पष्ट सैद्धान्तिक अडानको अभावले कांग्रेस कमजोर देखिएको हो । नेपाली कांग्रेसका नेताले भने आफ्नो कमजोरी खुट्याउन चाहेको देखिएन । कांग्रेसले सरकारको प्रभावकारी निगरानी गरेर सशक्त विरोध गर्न सकेमात्र लोकतन्त्रको पनि रक्षा हुन्छ । त्यसका लागि पहिले त कांग्रेसका नेताहरू नै सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ । कांग्रेस संसदीय संख्यामा कमजोर भए पनि प्रमुख विपक्षका रूपमा वैकल्पिक सरकार त हुँदै हो । यसैले प्रत्येक विषय उठाउँदा स्पष्ट विकल्प पनि दिनुपर्छ । विशेषगरी, कर, संघीयता, नागरिक अधिकारजस्ता विषयमा कांग्रेसले स्पष्ट धारण सार्वजनिक गर्नुपर्छ । संसद्मा प्रस्तुत विधेयकमा रचनात्मक प्रतिपक्षका रूपमा सरकारलाई सहयोग र निगरानी पनि गर्नुपर्छ । विरोधका लागि सतही विरोध गर्नुको साटो अध्ययन, अनुसन्धान र विश्लेषणमा आधारित भएर विरोध गरेमात्र त्यसको अर्थ हुन्छ र जनताले पनि त्यसमा ध्यान दिनेछन् ।

nema
Show More

Related Articles

Back to top button