समाचार

गौतम बुद्ध रंगशालाको बार भत्काउने नेकपा कार्यकर्ता पार्टीबाट निलम्बित,

चितवन– धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कम्पाउण्डमा डोजर लगाएर भत्काउने कार्यमा संलग्नहरुलाई कडा कारवाही गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी चितवनले सरकारसँग माग गरेको छ ।
विहीवार एक विज्ञप्ति जारी गर्दै चितवन नेकपाले भरतपुर महानगरपालिकामा बनिरहेको रंगशालामा केही उदण्ड व्यक्तिले डोजर लगाइ भत्काएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
‘स्थानीय प्रकाश कँडेल, भैरव बस्ताकोटी लगायतका उदण्ड व्यक्तिहरुबाट भएको यो दुस्कार्यप्रति नेकपा चितवन गम्भीर भएको जनाएको छ । दोषीउपर कानूनी कारवाही अगाडि बढाई क्षतिपूर्ति भराउनसमेत राज्यसँग माग गरिएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्माणकै चरणमा विकासको बाधक बन्न खोज्ने प्रवृत्तिप्रति खेद व्यक्त गर्दै नेकपा चितवनले उक्त घटनाका मुख्य नाइके पार्टीका सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारवाही गरेको छ भने अर्का पार्टी सदस्य भैरव बास्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी विज्ञप्ति मार्फत जनाएको छ ।
उसले यस्ता घटनाबाट विचलित नहुन धुर्मुस सुन्तली फाउण्डेसनलाई आग्रह गरेको छ ।
बुधबार प्रकाश कँडेलसहितका स्थानीयले निर्माणाधीन रंगशालाको सुरक्षाका लागि बनाइएको जस्ताको बारमा डोजर लगाइ भत्काएका थिए । यस्तो कामबाट आफू निकै दुखी भएको फाउण्डेशनका अध्यक्ष सितारम कट्टेलले जनाएका थिए ।
बार भत्काउने कार्यमा संलग्न भएको भन्दै प्रहरीले कँडेलसहित १७ जनालाई नियन्त्रणमा लिएको छ ।

nema
Show More

Related Articles

Back to top button