समाचारविश्व

मोदी मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी तोकियो, अमित शाह बने गृहमन्त्री

नयाँ दिल्ली, जेठ १७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी शुक्रबार छिनोफानो भएको छ ।
गृह मन्त्रालयको जिम्मेवारी अमित शाहले पाएका छन् । मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ सिंहले सम्हालेका थिए । शाहलाई पहिलो पटक मन्त्री बनाइएको हो । भारतीय जनता पार्टीको अध्यक्षसमेत रहेका शाहले निकै महत्वपूर्ण र शक्तिशाली मानिएको गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यसअघि गृह मन्त्रालय सम्हालेका राजनाथ सिंहलाई भने यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी निर्मला सीतारमणलाई दोस्रो कार्यकालमा अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नितिन गडकरीलाई सडक परिवहन मन्त्री बनाइएको छ । रमेश पोखरियाललाई मानव संशाधन मन्त्रालय, हर्षवर्धनलाई स्वास्थ्य, विज्ञान एवं प्रजिधि र पृथ्वी विज्ञान मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानीलाई महिला एवं बाल विकास मन्त्रालयको जिम्मेवारी दिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
लोकसभा निर्वाचनमा सहभागी नभई गैर राजनीतिक पृष्ठभूमिबाट मन्त्री बनाइएका एस जयशंकरलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी भारतीय विदेश मन्त्रालयका पूर्व सचिव हुन् ।
त्यस्तै, पीयूष गोयललाई रेल मन्त्रालय एवं वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने धर्मेन्द्र प्रधानलाई पेट्रोलियम मन्त्रालय र इस्पात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी, रविशंकरलाई कानून मन्त्रालय, नरेन्द्र सिंह तमोरलाई कृषि मन्त्रालय, डी सदानन्द गौडालाई रसायन एवं उर्वरक मन्त्रालय, मुख्तार अब्बास नकबीलाई अल्पसंख्यक मामला मन्त्रालय, महेन्द्र नाथ पाण्डेयलाई कौशल विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी रामविलास पासवानलाई खाद्य एवं आपूर्ति मन्त्रालय, हरसिमरत कौर बादललाई खाद्य प्रसंस्करण उद्योग मन्त्रालय, थावर चन्द गलहोतलाई सामाजिक न्याय र अधिकारिता मन्त्रालय, अर्जुन मुन्डालाई जनजातीय मामला मन्त्रालय, प्रकाश जावडेकरलाई सूचना एवं प्रसारण मन्त्रालय र प्रल्हाद जोशीलाई संसदीय मामला मन्त्रालय, कोइला मन्त्रालय र खनन् मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

nema
Show More

Related Articles

Back to top button