breakingविचार

कांग्रेस जागरण अभियानको औचित्य

लोकेश ढकाल
बहस
समस्या केन्द्रमा छ, त्यसलाई नमिलाई तल जागरण अभियान चलाएर मात्र कांग्रेसमा परिवर्तन सम्भव छैन
कांग्रेसको पछिल्लो महासमितिबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहका कार्यकर्ता एवं आमशुभचिन्तकलाई जानकारी गराउनु अत्यावश्यक थियो । पार्टीमा नवीन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने, पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै देशव्यापी रूपमा जागरण अभिवृद्धि गर्ने कार्यमा पार्टीले आफ्नो ऊर्जा खर्चिनु जरुरी थियो । कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका काम नागरिक तहमा सम्प्रेषण गर्न र वर्तमान सरकारका भ्रष्टाचारलगायत विसंगतिपूर्ण अनेकौँ जनविरोधी क्रियाकलापबारे आमनागरिकमा प्रस्ट्याउन पनि कांग्रेस तल्लो तहसम्म नपुगी नहुने अवस्था थियो । नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान वा राज्यप्रणालीबारेकै विमतिसमेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहस अघि बढाउन पनि कांग्रेसले पहल गर्नैपर्ने थियो । यिनै उद्देश्यले कांग्रेसले २५ वैशाखदेखि प्रारम्भ गरेको पहिलो चरणको एकमहिने हिमाल, पहाड, तराई–मधेस, कांग्रेस राष्ट्रिय जागरण अभियान हिजो (२५ जेठ) समापन भएको छ ।
राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम लक्ष्यअनुसार प्रभावकारी एवं सफल बन्न सकेको भने देखिएन । समुच्च अभियानले तीन तहको निर्वाचनमा भएको पराजयबाट आहत कांग्रेसजन र पार्टीलाई कति उठाउने हो, त्यो त अहिल्यै भन्न सकिन्न, तथापि अभियानका क्रममा मुलुकभर सम्पन्न कार्यक्रमले पार्टीको स्थिर एवं निष्क्रिय संगठनमा थोरै तरंग पैदा गरेकामा सन्देह छैन । महासमितिको निर्णयमाथि खेलबाड नगरीकन, केन्द्रीय कार्यसमिति बैठकबाट विधिसम्मत ढंगले अनुमोदन गरेर आमसहमतिमा अभियान सञ्चालन गरेको भए यसले पार्ने प्रभाव अहिलेको भन्दा निकै असरदार हुने थियो भन्नेमा सन्देह छैन ।
औपचारिकतामा सीमित अभियान
अभियान प्रभावकारी नबन्नुमा खटिएका केन्द्रीय प्रतिनिधिहरू निर्देशनअनुसार पूरै एक महिना जिल्लामा बसेर स्थानीय तहसम्म अभियानलाई चलाउनुपथ्र्यो, तर अधिकांश प्रतिनिधि केवल समुद्घाटन र जिल्ला समिति बैठकमा उपस्थित भएर निर्देशन दिएर औपचारिकता पूरा गरेर फर्किए । जिल्ला सभापतिहरूको आग्रह सम्बोधन नगर्ने, महासमिति बैठकको निर्णयलाई अपव्याख्या गरी विवादास्पद तरिकाले बहुमतका आधारमा पेलेर विधान पारित गर्ने, डाकिएको केन्द्रीय कार्यसमिति बैठकलाई अनिश्चितकालका लागि स्थगित गर्दै अन्तरद्वन्द्व यथावत् राखेर घोषणा गरेका कारण अभियान प्रभावकारी बन्न सकेन, यो केवल औपचारितामा सीमित भयो । सतहबाट नियाल्दा कांग्रेसले जागरण अभियान सञ्चालन गर्नुको उद्देश्य उपयुक्त देखिए पनि सञ्चालन गर्ने समय नै उपयुक्त थिएन । स्थानीय वा महानिर्वाचन हुने अघिल्लो वर्ष पार्टीको विचार र कार्यक्रम लिएर जनताबीच पुग्न यस्तो अभियान सञ्चालन गरिन्छ । तीन तहको निर्वाचनअगाडि यस्तो अभियान सञ्चालन गर्न फुर्सद नै भएन वा आवश्यकता ठानिएन । निर्वाचनपछि नेतृत्वको असफलताको व्यापक विरोध हुन थालेपछि कार्यकर्ताको ध्यान अन्यत्र मोड्न र नेतृत्वको स्वार्थमा महाधिवेशनलाई पछाडि धकेल्न अभियान सञ्चालन गरिएको प्रस्ट देखिन्छ ।
पहिलो चरणको अभियान समाप्त भएपछि पार्टीको संरचनालाई पूर्णता दिन पार्टी नेतृत्व लाग्नेछ भन्ने सुन्नमा आएको छ । चार वर्षको कार्यकालमा तीन वर्ष तीन महिना समाप्त भइसकेपछि बाँकी नौ महिनाका लागि पार्टी संरचनालाई पूर्णता दिन खोज्नुको औचित्य छैन । महाधिवेशन सकिएको दुई महिनाभित्र केन्द्रीय कार्यसमिति, विभागलगायत पार्टीका सबै समिति र निकाय गठन भई पार्टी चुस्तसँग सञ्चालन गर्नुपर्नेमा तीन वर्षसम्म के गरेर बस्यौँ ? यस प्रश्नको उत्तर दिनसक्ने अवस्थामा नेतृत्व छैन ।
खाँचो अभियान होइन, महाधिवेशन हो 
विधानअनुसार आउँदो फागुन महिनाको मसान्तसम्ममा पार्टीका सबै तहको पदावधि समाप्त हुँदै छ । कांग्रेसमा अहिले यसप्रकारको अभियानको खाँचोभन्दा नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने र भएका सदस्यको नवीकरण प्रारम्भ गर्न आवश्यक छ । विधानअनुसार सदस्यता वितरण गर्न मात्र न्यूनतम ६ महिना लाग्छ । सदस्यताको टुंगोे लाग्नासाथ महाधिवेशन प्रक्रिया सुुरु गर्ने हो भने बुथ समितिदेखि प्रदेश समितिसम्मका सात तहको अधिवेशन सकेर महाधिवेशन गर्न विधानको व्यवस्था र अनुभवलाई विचार गर्ने हो भने अर्को ६ महिना लाग्न सक्छ । यस हिसाबले आजको मितिमा सदस्यता वितरण प्रारम्भ गर्ने हो भने आउँदो जेठ अन्त्यसम्ममा मात्र पार्टीको १४औँ महाधिवेशन सम्भव हुन्छ ।
चुनावी रणनीतिका दृष्टिले पनि पार्टीको कार्यकाल थप्नु औचित्यपूर्ण देखिँदैन । अबको तीन वर्षमा गाउँ÷नगरपालिकाको निर्वाचन आउँछ । निर्वाचन आउनुभन्दा एक वर्षअघिदेखि पार्टी चुनावको तयारीमा जुट्नुपर्छ । पार्टीले एक वर्ष कार्यकाल थप्दा गाउँ तथा नगरपालिकाको निर्वाचन हुनुभन्दा ठीक एक वर्षअघि महाधिवेशन गर्नुपर्ने हुन्छ । महाधिवेशनलगत्तै निर्वाचन हुँदा महाधिवेशनको जय÷पराजयको नकारात्मक असर निर्वाचनमा पर्छ, यसबाट पार्टीले पुनः क्षति बेहोर्नुपर्ने हुन्छ । निर्वाचनमा पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राखेर पनि महाधिवेशन यथाशक्य छिटो गर्नु उचित हो । तर, दुर्भाग्य, पहिले देश अनि पार्टीको हितलाई भन्दाको नेताविशेषको सत्ता–स्वार्थ र राजनीतिक लाभलाई विचार गरेर निर्णय लिने प्रवृत्ति पार्टीमा रहँदासम्म पार्टीको स्वार्थमा विवेकशील निर्णयको कल्पना गर्न सकिन्न ।
पार्टीका सबै समितिको कार्यकाल चार वर्षमा तीन वर्ष तीन महिनासम्म पार्टीको विभाग गठन गर्ने, केन्द्रीय समिति, जिल्ला समितिलगायत मातहत संगठनलाई पूर्णता दिने, संविधानको व्यवस्थाअनुसार प्रदेश, प्रतिनिधि सभा क्षेत्रीय समिति, प्रदेश सभास्तरीय क्षेत्रीय समिति, गाउँ तथा नगर समितिको संगठन मिलाउने र निर्वाचन वा तदर्थ समिति गठन नगरी तीन तहको निर्वाचनमा गयौँ भने अबको बाँकी नौ महिनाका लागि नयाँ संरचना बनाउन निर्वाचन वा तदर्थ समिति गठन गर्नुको औचित्य छैन । कांग्रेसले लिएको गलत सिद्धान्त, नीति र नेतृत्वका कारण देशको सत्ता कम्युनिस्टले कब्जा गरे । तर, पार्टीचाहिँ जसरी पनि म नै कब्जा गरेर बस्छु भन्ने हो भने त्यसको जवाफ छैन । अन्यथा, बाँकी अवधिका लागि संशोधित विधानअनुसारका संरचनालाई पूर्णता दिनेतर्फ लाग्नुभन्दा यथाशक्य छिटो १४औँ महाधिवेशनमा जुट्नु पार्टीका लागि सर्वोत्तम बाटो हो ।

छिमेकी राष्ट्र भारतमा हालै सम्पन्न १७औँ लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसको लज्जास्पद पराजयपछि पार्टी अध्यक्ष राहुल गान्धीले पराजयको सम्पूर्ण जिम्मेवारी लिँदै कार्यकर्तालाई हत्तोत्साही नहुन आह्वान गरे । भाजपालाई बधाई दिएर राजनीतिक संस्कार प्रदर्शन गरी सबैको सहानुभूति प्राप्त गरे । तर, नेपाली कांग्रेसले तीनै तहका निर्वाचनमा शर्मनाक पराजय भोग्दा पनि पार्टी नेतृत्वले राजीनामा दिनु त धेरै टाढाको विषय, सामान्य नैतिक जिम्मेवारी बहन गर्दै राजनीतिक संस्कारसमेत देखाउन सक्दैनन् भने यो नेतृत्वबाट पार्टीमा सुधार र परिवर्तनको अपेक्षा कसरी गर्ने ? तालुमा घाउ छ, पैतालामा ओखती दलेर निको हुन्न । कांग्रेसमा समस्या केन्द्रमा छ, त्यसलाई नमिलाई तल जागरण अभियान चलाएर मात्र पार्टीमा परिवर्तन सम्भव छैन ।

कार्यकर्ता पंक्तिमा जागरण नभएर वर्तमान अवस्थामा कांग्रेस कमजोर भएको पक्कै होइन, पार्टीले लिएको नीति र नेतृत्व दुवैका कारण आज कांग्रेस कमजोर भएको हो

तीन तहका निर्वाचनमा पराजयको जिम्मेवारी नलिएर ‘कांग्रेस चुनावमा हारेको मेरा पालामा मात्रै हो र ? हिजो पनि तीनपटक हारेको थियो, त्यसवेला कसैले विरोध गर्थे ? अहिलेचाहिँ मेरो विरोध गर्ने ?’ भनेजस्तै ‘गिरिजाबाबु र सुशीलदा’ दुवैले पार्टीका सबै तहका कार्य समितिको कार्यकाल एक वर्ष थपेका थिए भने मैले किन थप्न नपाउने ! भनेर तर्क गर्ने हो भने त्यसको कुनै जवाफ छैन । अन्यथा, पार्टी विधानको परिच्छेद १२, धारा ४३मा ‘पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ’ भनेर स्पष्टसँग लेखिएको छ । राजा ज्ञानेन्द्रको शासन कालमा त महाअधिवेशन सम्भव थियो भने वर्तमान सामान्य राजनीतिक परिवेशमा ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षको अवधि बढाउन सक्नेछ’ भनेर गरेको वैधानिक व्यवस्थालाई अपव्याख्या गर्दै वर्तमान नेतृत्वले आफ्नो अनिच्छा र अयोग्यतालाई छोपेर असाधारण स्थितिको पगरी लगाई एक वर्ष अवधि थप्नेमा कुनै द्विविधा छैन । त्यसैका लागि यो जागरण अभियान हो भनेमा अन्यथा हुँदैन ।
गलत नीति र कमजोर नेतृत्व 
कांग्रेसले यो अभियान नचालेकै कारण ऊ कमजोर भएको हो कि उसले लिएको नीति र नेतृत्व दुवै खराब भएर यस्तो भएको हो ? नेविसंघलगायत भ्रातृसंस्थाको अधिवेशन वा संगठन बनाउन नेतृत्वलाई केले रोकेको छ ? विभाग, समितिलगायत मातहतका सबै पार्टी संगठनलाई समयमै गठन गरेर विचार, संगठन र क्रियाशीलताका हिसाबले ढंगसँग पार्टी सञ्चालन गर्न केले रोकेको थियो ? । के यी सबै कार्यकर्ता जागृत नभएर हो कि नेतृत्व अक्षम र कमजोर भएर हो ? कांग्रेसबारे चिन्ता गरिरहँदा यी प्रश्न टड्कारोसँग उभिएका छन् ।
कार्यकर्ता पंक्तिमा जागरण नभएर वर्तमान अवस्थामा कांग्रेस कमजोर भएको पक्कै होइन । पार्टीले लिएको नीति र नेतृत्व दुवैका कारण आज कांग्रेस कमजोर भएको हो । ०४६ सालदेखि नै पार्टीको नेतृत्व विचारले भन्दा आफ्नो राजनीतिक महŒवाकांक्षा र सत्ता स्वार्थबाट अभिप्रेरित हुँदै आए भने १२ बुँदे समझदारी, शान्ति प्रक्रिया, संविधान निर्माण चरण हुँदै यहाँसम्म आइपुग्दा पार्टीले लिएको सिद्धान्त, नीति र बाटो गलत भएका कारण कांग्रेसको यो हविगत भएको हो । पार्टीको एउटा नेता लोकप्रिय भयो भने उसको कर्म, बोली र व्यवहारको आलोकले कार्यकर्ता पंक्तिलाई मात्र होइन, आमजनतालाई समेत प्रभावित गर्छ । तर, दुर्भाग्य कांग्रेसमा अहिले त्यस्तो नेतृत्व खड्किएको छ । एउटा नेता गतिलो भए के हुन्छ भन्ने पछिल्लो उदाहरण नरेन्द्र मोदीलाई हेरे पुग्छ । तर, दुर्भाग्य कांग्रेसले मात्र होइन, देशले नै एउटा गतिलो नेता पाउन सकेन ।
१२ बुँदे समझदारी, शान्ति प्रक्रिया, संविधान निर्माण चरण हुँदै देशको राजनीति यहाँसम्म आइपुग्दा कांग्रेसले आफ्ना स्थापनाकालीन राजनीतिक सिद्धान्त, विचार र मान्यतालाई छाडेर धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, मिश्रित निर्वाचन प्रणाली आदिलाई अंगीकार ग¥यो । यो रहरले, कार्यकर्ताको दबाबले वा आमजनताको चाहनाले नभई देशी–विदेशी शक्तिको अवाञ्छित राजनीतिक दबाब, कांग्रेसको तत्कालीन नेतृत्वको राजनीतिक महŒवाकांक्षाजस्ता कारणले थियो । यो राजनीतिक यथार्थलाई स्वीकार गरी कांग्रेसले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, मिश्रित निर्वाचन प्रणालीलगायत राजनीतिक विषयमा देशको आवश्यकता, जनताको चाहनालाई समेत विचार गरेर पार्टीको जीवनमा व्यापक रूपमा खुला छलफल र बहस सुरु गर्न जरूरी छ । यी राजनीतिक मुद्दामा पुनर्विचार गर्न तयार नहुँदासम्म कांग्रेसमा सुधार र परिवर्तनको अपेक्षा राख्न सकिन्न । कांग्रेसको आफ्नो मौलिक राजनीतिक एवं वैचारिक धरातल के हो भन्ने बुझेर त्यसअनुसार बाटो नसमातेसम्म यस्ता जागरण अभियानको औचित्य छैन ।
अभियानकै बीचमा विगत ६२ वर्षसम्म संवैधानिक राजतन्त्रमा आस्था राख्दै आएको कांग्रेसले गणतन्त्र कालमा बितेका ११ वर्षमा पार्टी स्तरमा कहिल्यै गणतन्त्र दिवस मनाएको थिएन । आफ्नै बुतामा प्राप्त मौलिक राजनीतिक उपलब्धि विशेषगरी ००७ फागुनको ‘प्रजातन्त्र दिवस’ र २६ चैतको ‘जनआन्दोलन दिवस’ मनाउन छाडेको कांग्रेसले कार्यकर्तालाई प्रशिक्षण दिन र नीति बनाउन भनेर गठन भएको एउटा संस्थाले उदेकलाग्दो तरिकाले आफ्नो अधिकारबाहिर गएर पार्टीका मातहत निकायलाई गणतन्त्र दिवस मनाउन निर्देश गर्‍यो । तर, राजनीतिक सिद्धान्तले नै जन्मजात गणतन्त्रवादी नेकपाले सरकारी स्तरमा बाहेक गएको १५ जेठमा पार्टी स्तरबाट गणतन्त्र दिवस मनाएको कहीँ–कतै समाचार सुन्नमा आएन । यस्तो विडम्बनापूर्ण राजनीतिक स्थिति, वैचारिक स्खलन र अन्योलमा रुमल्लिरहेसम्म कांग्रेसले पुनः आफ्नो इतिहासको त्यो गौरवशाली स्थिति प्राप्त गर्न सम्भव छैन । तर, यसको चेत कार्यकर्तामा भएर हुन्न, नेतृत्वमा देश, देशको प्रजातान्त्रिक आन्दोलन र पार्टीको हितमा व्यक्तिगत राजनीतिक स्वार्थबाट माथि उठेर सोच्न सक्ने आँटिलो नेतृत्वको खाँचो छ । यति भए कांग्रेसमा यसै जागरण आउँछ ।
नयाँ पत्रिकाबाट साभार

nema
Show More

Related Articles

Back to top button