breakingविचार

समर्पणवादी कांग्रेस ?

पुरुषोत्तम दाहाल

नेपालका कम्युनिस्ट पार्टीहरूको सिद्धान्त र व्यवहारमा आकाश–जमिनको भिन्नता छ। तर उनीहरूको प्रहारको केन्द्रमा जहिले पनि नेपालको लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेस हुने गरेको छ। पुरानो माओवादी र पुरानो एमालेको एकताबाट गरिएको दलीय दृष्टिकोणमा कांग्रेसलाई समर्पणवादी भनिएको रहेछ। समर्पणवादको कुनै परिभाषा गरिएको छैन। वादको अर्थ विचार हो। समर्पणको अर्थ श्रद्धापूर्वक चढाउनु भन्ने बुझिन्छ। श्रद्धापूर्वक चढाइएको विचार भन्ने अर्थमा समर्पणवादशब्दलाई प्रयोग गर्न नसकिने होइन। संस्कृत र नेपाली  शब्दकोशहरूमा यी दुवै शब्दलाई फरक शब्दकारूपमा मात्र अर्थ प्रदान गरिएको छ। समर्पण र वादलाई एउटै शब्दका रूपमा अर्थ प्रदान गरेको भेटिएन। मैले संस्कृत विश्वविद्यालयबाट प्रकाशित संस्कृत नेपाली बृहद् शब्दकोश, वसन्त शम्र्मा नेपालको नेपाली शब्द सागर र नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली अंग्रेजी शब्दकोशमा समर्पणवादको खोजी गरेँ। तर यसको कतै पनि अर्थ भेटिएन।

समर्पण र वादलाई नजोडिकन फरक अर्थ प्रदान गरिएको छ। नेपालका मात्र होइन, संसारका कम्युनिस्टको चरित्र नै शब्दको महाजाल प्रयोग गरी विपक्षमाथि प्रहार गर्ने हुन्छ। हामी सानो हुँदा सोभियत रुसले प्रकाशित गरेका सोभियत भूमिहरूहुन् कि चीनले साम्यवादका लागि निर्यात गरेको सचित्र चीन पत्रिका होस्,तिनमा गैरकम्युनिस्ट शक्ति राष्ट्रहरूमाथि अनेक पदावलीको माला प्रयोग गरिएको पढ्थ्यौँ। नेपालमा कम्युनिस्टहरूको जन्म नै नेपाली कांग्रेसविरुद्ध थियो र त्यसको निरन्तरता छँदैछ। निजी आचरणका सन्दर्भमा पुष्पलाल, मनमोहन, विष्णुबहादुर मानन्धरहरू जस्ताकम्युनिस्ट नेताहरू भने अत्यन्त सहिष्णु देखिएका हुन्। पुष्पलालले त साम्यवादको परिकल्पना गरे पनि स्वतन्त्रताको सम्मान गरि नै रहनुभएको थियो। स्वतन्त्रताबिनाको समाजवाद असम्भव भन्ने उहाँको विचार थियो।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले राष्ट्रियतालाई घात हुने गरी कहाँ कति आत्मसमर्पण ग-यो, अहिले के गरिरहेको छ, जनताका मौलिक हकलाई संकुचित गराउन के/कति सम्झोता गरिरहेको छ, जनतालाई दिएका वचनहरू उल्लंघन किन गरिरहेको छ ? यी प्रश्नको जवाफ धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका शीर्ष तहका नेताहरूले समेत खोजी गरिरहेका सुनिन्छ।

समर्पण र वादलाई जोडेर परिभाषित गर्ने हो भने राजनीतिक जीवनमा नेपालको सन्दर्भमा कम्युनिस्टहरूमा नै अनूदित देखिन्छ। अहिलेसम्म नेपालका कम्युनिस्टहरूले सिद्धान्तलाई विपरित विचारसमक्ष समर्पित गरेका छन्। उनीहरूले माक्र्स, लेनिन, माओ सबैका विचारलाई अन्तर्घुलन गर्ने नाउँमा अवसरवाद नामक नयाँ सिद्धान्त प्रतिपादन गरी पूर्वसिद्धान्तलाई त्यही अवसरवादमा समर्पित गरेको स्पष्ट छ। साम्यवादमा विश्वास प्रकट भएका अनेक साहित्यको सिर्जना छ। कम्युनिस्ट नेताहरूका भाषण सुन्ने र लेखहरू हेर्ने हो भने आजभन्दा निकै पहिले नेपालमा साम्यवादको स्थापना भइसकेको वा कमसेकम कम्युनिस्ट कार्यकर्ता र नेताहरूको आचरण साम्यवादी भइसकेको हुनुपर्ने थियो। यसो भएको छैन। किनकि कम्युनिस्ट आन्दोलन आफैँ अवसरवादको दलदलमा  उम्रिएको समर्पणवाद हुन पुगेको छ।

यस सन्दर्भमा बिपी कोइरालाले तत्कालमा वाग्मती अञ्चलका पार्टी सदस्यहरूसामु त्रिकोणीय राजनीतिको बडो मिहिन विश्लेषण गर्नुभएको यहाँ स्मरणीय छ । २०३७ सालको चैतमा अरु धेरै स्थानमा पुगेर निर्दलीय पञ्चायतको जनमत संग्रहको परिणामपश्चात संशोधित संविधान र आसन्न निर्वाचनबारे सदस्यहरूको अभिमत लिइसकेका अवस्थामा वाग्मती अञ्चलका सदस्यहरूका मतसमेत उहाँले सुनेर राजनीतिक विश्लेषण प्रस्तुत गर्नुभएको थियो। उहाँले निर्दलवादी पञ्चहरूको, एकदलवादी कम्युनिस्टहरूको र बहुदलवादी बहुलवादमा विश्वास गर्ने नेपाली कांग्रेसको वैचारिक धरातललाई सजिलो गरी प्रस्तुत गर्नुभएको थियो।

बिपीका शब्दमा– नेपालको इतिहासमा तीनवटा परम्परा छ। एउटा परम्परा पञ्चवादीहरूको छ। २०१७ सालदेखि पञ्चायत स्थापित भएरमात्र पञ्च आए भन्ने तपाईँलाई लाग्छ भने त्यो गल्ती हो। योभन्दा पहिले २००७ सालमा क्रान्ति भयो, २००७ सालदेखि नै यहाँ पञ्चवादीहरूको सृष्टि भयो। म पञ्चवादी त्यसलाई भन्छु जो सत्ताको अगाडि घुँडा टेक्छ, जसले व्यावहारिकताका नाउँमा आदर्शलाई छोड्छ। एकापट्टि यो तत्वले भन्छ– आदर्शको आधारमा राजनीति हुँदेैन, व्यवहारको आधारमा हुनुपर्छ। मलाई सबभन्दा ठूलोे दोषारोपण पनि तिनीहरूले गर्छन्, म दरवार चिन्दिन रे। मतलव म व्यवहारवादी भइन। उनीहरू जसरी नै घुँडा टेकेको भए मैले दरवार चिनेको प्रमाणित गर्ने थिए, म व्यवहारवादी हुने थिएँ।
अर्को परम्परा छ– आदर्शको नाममा कोरा नाराहरू दिने, केवल आदर्शको मात्र कुराहरू गर्ने। राजनीति केवल कोरा सिद्धान्तको मात्र कुरा होइन। व्यवहारको पनि पक्ष छ भन्ने कुरा बिर्सिएर केवल नारामा मात्रै रहन खोज्ने त्यो वामपन्थीहरूको परम्परा पनि २००७ सालदेखि नै छ। नेपाली कांग्रेसको परम्परा यी दुवैभन्दा भिन्न छ। नेपाली कांग्रेस सत्ताको अगाडि घुँंडा टेक्न चाहँदेैन, व्यवहारका नाममा आदर्शलाई छाड्न चाहँदैन। त्यसले गर्दा हामीहरूअहिलेसम्म शक्तिसम्पन्न रह्यौँ। कोरा आदर्शका नाममा समर्थन गर्ने वा व्यवहारका नाममा नेपाली कांग्रेसले घुँडा टेक्ने होइन।

नेपाली कांग्रेसको सिद्धान्त वा रणनीति वा कार्यनीति आजसम्म बिपी कोइरालाले परिभाषित गरेको यही दृष्टिमा अडिएको देखिन्छ। कुनै समयमा केही विचलन नभएका होइनन्। कहिलेकाहीँ नेतृत्वका अनुसार वा परिस्थितिका आधारमा यस विपरित गएको अवस्था पनि छ। तर मूल मर्म बिपीको यही रणनीतिक सोचका आधारमा प्रयुक्त देखिन्छ। अर्थात् सिद्धान्तका नाममा कोरा नारा लगाउने र व्यवहारका नाममा घुँडा टेक्ने जस्ता चरित्र कांग्रेसको होइन। नेपाली कांग्रेस २००७ सालपछिका सबै परिवर्तनको नायक हो। यदि नेपाली कांग्रेस नभएको भए वा यस पार्टीका नेताहरूले परिवर्तनको नायकत्व नगरेको भए के हुने थियो ?एउटा कल्पनाशील प्रश्न गर्न सकिन्छ। कांग्रेसको स्थापनाकालदेखिको आदर्श हो– राष्ट्रियता। राष्ट्रियताका सन्दर्भमा दरो अडान कांग्रेसको नै छ भन्ने घामजत्तिकै छर्लंग छ। राष्ट्रियतामा घुंँडा टेकेको भए शायद बिपी कोइरालाले सत्ता बिस्थापन, कारावास र लामो समय निर्वासनमा बस्नुपर्ने थिएन। उहाँले समर्पण गर्नुभएको भए विदेशीहरूदेखि देशका सत्ताधारीहरू प्नि प्रसन्न नहुने कुरै थिएन।

सशस्त्र आन्दोलनका तीनवटा चरण पूरा गरेको कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापको नीति पनि मूलतः विश्वासकै आधारमा अघि बढाएको थियो। २०४२ सालको सत्याग्रहमा कांग्रेस नेता र सदस्यहरू जेलमा पुग्दा र २०३८ को निर्दलीय पञ्चायती चुनाव बहिष्कार गर्दा आजको नेकपामा आबद्ध अधिकांश नेता र कार्यकर्ताहरू जनपक्षीय नारामा पञ्चायतमा सहभागी भइरहेका थिए। इतिहासले मानिसलाई, उसका स्वभावलाई र उसका कर्महरूलाई सम्मानमात्र गर्दैन, क्रूरतापूर्वक मूल्यांकनसमेत गरिरहेको हुन्छ।२०४६ सालको परिवर्तनमा नेपाली कांग्रेससँग सहकार्यमा उभिएको कम्युनिस्टहरूको शक्तिसमेत पक्ष र विपक्षमा विभाजित थियो।

२०५२ सालको हिंसात्मक अभियान त नेपालबाट लोकतन्त्र अन्त्यका लागि र त्यसमा पनि नेपाली कांग्रेसलाई उन्मूलन गर्ने उद्देश्यकासाथ सुरुभएको थियो। त्यस समयको चालीस सूत्रीय माग र पछिका घटनाहरूकेलाउने हो भने यी सबै प्रमाणित हुनेछन्।२०६३ सालको आमूल परिवर्तनको नायकत्व कांग्रेसले नलिएको भए नेपालमा गणतन्त्र वा संघीयता केही पनि स्थापित हुने थिएन। एकअर्काप्रति निरन्तर अविश्वास प्रकट गरिरहेका कम्युनिस्ट पार्टी र तिनका नेताहरूएकाठाउँ उभिनु आफैँमा आठौं आश्चर्य हुने थियो। तर नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेतृत्व लिएपछि सबैलाई उहाँका वरिपरि विराजमान हुन कुनै अप्ठेरो भएन। त्योभन्दा पनि अहं प्रश्न थियो,२०६३ को परिवर्तनलाई संस्थागत गर्न संविधानसभाको निर्वाचन। त्यो पनि पहिलोपटक कांग्रेसकै नेतृत्वमा सम्पन्न भयो।

यसपछि नेपालीका अविश्वसनीय दुर्दिन सुरु भए। कम्युनिस्ट नेताहरूको महत्वाकांक्षा छताछुल्ल भयो। एकपछि अर्कोगरी सरकारको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीका चारजना नेताले संविधान निर्माण गर्न सहजीकरण गर्ने क्षमता राखेनन्। उनीहरूको अक्षमताको सिकार परिवर्तनमात्र होइन, करिब देश र जनतासमेतले भोग्नुपरेको थियो। तर वैकल्पिक व्यवस्था गरी निर्वाचन सम्पन्न भयो र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण र जारी भयो। सुशील कोइरालाले भारतीय नेतृत्वसामु समर्पण गरेका भए कोइरालाको राजनीतिक जीवन त्यति अपत्यारिलो प्रकारले समाप्त हुने थिएन र देशले राजनीतिक स्थायित्व र संविधानसमेत पाउने सम्भावना हुँदैनथ्यो। अन्तिममा नेपाली कांग्रेसकै नेतृत्वमा सम्पन्न निर्वाचनबाट दुईतिहाइको शक्तिकासाथ नेपाल कम्युनिस्ट पार्टीको सरकार बनेको छ।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले राष्ट्रियतालाई घात हुने गरी कहाँ कति आत्मसमर्पण ग-यो, अहिले के गरिरहेको छ, जनताका मौलिक हकलाई संकुचित गराउन के/कति सम्झोता गरिरहेको छ, जनतालाई दिएका वचनहरू उल्लंघन किन गरिरहेको छ ? यी प्रश्नको जवाफ धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका शीर्ष तहका नेताहरूले समेत खोजी गरिरहेका सुनिन्छ। सिद्धान्तमा च्यूत हुँदै राजनीतिक अवसरवादलाई वरण गर्ने राजनीतिक दलले लोकतन्त्रको मियो रहेको दलका विषयमा गरेको समर्पणवादी भन्ने टिप्पणी आफैँमा यसैकारण हाँस्यास्पद छ। अहिले नै पनि एमालेले माओवादीसँग आत्मसमर्पण गर्दै मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई विसर्जन गरेको छ। उसले अहिलेसम्म राजनीतिक शक्तिकालागि भंजाउँदै आएको विचारलाई समेत सत्ताको क्रय/विक्रयको खेलमा समर्पित गरेको छ।

माओवादीको त कुनै पहिचाननै थिएन। माओवाददेखि प्रचण्डपथको यात्रा गर्दै उनीहरूले नै नारा लगाएको अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारवादसमेतसँग गला मिलाउन पुगेको देखिन्छ। पछिल्लोपटक एक्काइसौँ शताब्दीको जनवादमा आएको माओवादी सत्ताको बजारमा टिक्नकै लागि एक्काइसौँ शताब्दीलाई विसर्जन गर्न पुगेको छ। यी केही दृष्टान्त हुन्। यद्यपि यस विषयमा धेरै चर्चा गरिरहनुपर्ने थिएन। तर समर्पणवादको चरित्रलाई केही भए पनि प्रस्तुत गर्नु उपयुक्त थियो र नै यति भन्नुपरेको हो।

नागरिक दैनिकबाट साभार

nema
Show More

Related Articles

Back to top button