विचार

लिंक्डइनको प्रयोग गरी चीनले विदेशमा यसरी भेट्टाउँछ जासुस…

एडवार्ड वोङ्ग,
२०७६ भदौ १७ मंगलबार

वाशिङ्गटन। ओबामा प्रशासनमा काम गरेका उच्च तहका एक विदेश मामिला अधिकारीलाई लिंक्डइनबाट कुनै व्यक्तिले हवाइ यात्रा गरी चीन लैजाने तथा ‘राम्रो पैसा’ आउने अवसरहरु प्रदान गर्न सक्ने सन्देश पठाए।

डेनमार्कको विदेश मन्त्रालयमा काम गरेका एक पूर्व अधिकारीलाई चिनियाँ कर्मचारी खोज्ने कम्पनीमा काम गरेको बताउने एक महिलाले बेइजिङमा भेट्नको लागि इच्छुक रहेको सन्देश लिंक्डइनमा पठाएकी थिइन्। तीन जना अधवैंशे पुरुषहरुले उनलाई भेटी ती पूर्व अधिकारीलाई अनुसन्धानको लागि ‘चिनियाँ प्रणालीमा राम्रो पहुँच’ पाउनको लागि सहयोग गर्न सक्ने बताए।

ओबामा प्रशासनको लागि ह्वाइट हाउसमा काम गरेका पूर्व अधिकारी तथा कूटनीतिक क्षेत्रमा वृत्ति भएका व्यक्तिलाई क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्येता दावी गर्ने र ह्वाइट हाउस तथा राजदूतहरुसँग सम्पर्क भएको दावी गर्ने व्यक्तिले लिंक्डइनमा साथी बनाएका थिए। उक्त संस्थामा त्यस्तो अध्येता कोही थिएन।

पश्चिमा अधिकारीहरुका अनुसार विदेशी गुप्तचरहरुले सामाजिक सञ्जाललाई उपयोग गरी आफ्नो लागि काम गर्ने व्यक्तिहरु खोजिरहेका छन् र लिंक्डइनलाई प्रमुख खोजी गर्ने स्थान बनाएका छन्। अमेरिका, बेलायत, जर्मनी तथा फ्रान्सका गुप्तचर निकायहरुले उक्त साइटमा रहेका हजारौं प्रयोगकर्ताहरुलाई विदेशी गुप्तचर अधिकारीहरुले सम्पर्क गरिरहेको बारेमा चेतावनी जारी गरिसकेका छन्, र उनीहरुको भनाइमा चिनियाँ गुप्तचरहरु सबभन्दा बढी सक्रिय छन्।

“चिनियाँ गुप्तचर निकायहरुले ठूलो स्तरमा यो काम गरिरहेको हामीले पाएका छौँ,” नेशनल काउन्टर इन्टेलिजेन्स सिक्युरिटीस सेन्टरका निेर्देशक, विलियम आर ईभानिनाले भने। उक्त केन्द्र एक सरकारी निकाय हो जसले विदेशी जासुसी कार्यलाई निगरानी गर्छ र कम्पनीहरुलाई उनीहरुभित्र भएको र हुनसक्ने घुसपैठको बारेमा सचेत गराउँछ। “कुनै एक व्यक्तिलाई आफ्नो लागि काम गर्ने बनाउनको लागि अमेरिकामा गुप्तचरहरु पठाउनु भन्दा चीनमा कम्प्युटरको पछाडी बसेर नक्कली खाताको प्रयोग गरी हजारौँलाई साथी बन्ने आग्रह पठाउनुमा बढी कुशलता देखिन्छ। ”

अमेरिकी सरकारी अधिकारी तथा कम्पनीहरुका उच्च पदाधिकारीको भनाइमा नराम्रो कामको लागि चिनियाँ सरकारी गुप्तचरहरुले सामाजिक सञ्जालको प्रयोगले हालसालैका हप्ताहरुमा बढी ध्यान आकर्षित गरेको छ। फेसबुक, ट्वीटर तथा युट्युबका अनुसार हङकङका लोकतन्त्रवादी विरोध अभियानको बारेमा गलत सूचना फैलाएकोले धेरै खाताहरुलाई हटाइएको छ र ट्वीटरले मात्रै एक हजार खाताहरु हटाएको बताएको छ।

चीनबाट भएको गलत सूचनाको प्रचार प्रसारसँग जोडिएका खाताहरु फेसबुक र ट्वीटरले हटाएको यो पहिलो घटना हो। सन् २०१५ र २०१६ मा रसियाली सरकारले गलत सूचना प्रचार प्रसार गर्नको लागि यो तरिकालाई राम्रोसँग उपयोग गरेपछि धेरै सरकारहरुले यस्तै शैली अपनाएका छन्।

अमेरिकी अधिकारीहरुको भनाइमा माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइन गलत सूचना फैलाउनको लागि एक राम्रो माध्यम हो र गुप्तचरी काममा मानिसहरुलाई लगाउनको लागि एकदमै उत्कृष्ट सञ्जाल हो।

यो किन हो भने लिंक्डइनका ६४.५ करोड प्रयोगकर्ताहरु कतिपय अवस्थामा नचिनेको मानिसहरुबाट रोजगारीका अवसरहरु खोजिरहेका हुन्छन्। आफ्नो रोजगारीको अवसरलाई बढाउनको लागि धेरै पूर्व सरकारी कर्मचारीहरुले आफूसँग सरकारी सञ्जालमा रहनको लागि सुरक्षाको दृष्टिकोणले छुट पाएको भनी विज्ञापन गर्छन्।

चीनमा प्रयोग गर्न मिल्ने ठूला सामाजिक सञ्जालमध्ये लिंक्डइन एउटा मात्रै सञ्जाल हो किनकि उसले संवेदनशील विषयमा लेखिएका विचारहरुलाई हटाउन सहमति जनाएको थियो। लिंक्डइन लगायतका विभिन्न माध्यमबाट चिनियाँ अधिकारीहरुले काम गर्न सक्ने सम्भावित व्यक्तिहरुलाई प्रस्ताव गर्छन् र चीनमा ल्याउन प्रयास गर्छन्।

कतिपय अवस्थामा कम्पनीको लागि रोजगारीमा सहजीकरण गर्ने कम्पनीको आवरणमा लक्षित व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्न वा मन्तव्य दिन वा परामर्श सेवाको लागि रकम तिर्ने वचन दिन्छन्। त्यसपछि गुप्तचर अधिकारीहरुले सम्बन्ध बनाउन थाल्छन्।

“चिनियाँहरु राजनीतिक, शैक्षिक तथा व्यवसायिक रुपमा संभ्रान्त व्यक्तिहरुसँग त्यस्तो सम्बन्ध राख्न चाहन्छन्।” लिंक्डइनमा आफूलाई काम लगाउन खोज्ने चिनियाँको बारेमा आफ्नो सरकारलाई जानकारी दिने डेनमार्कको विदेश मन्त्रालयको पूर्व अधिकारी जोनास परेल्लो प्लेस्नरले बताए। “यस्तो कुरा धेरै अस्पष्ट क्षेत्रमा हुन्छ वा हस्तक्षेप र प्रभाव पार्न खोज्नेको बीचमा वा पारम्परिक जासुसी भैरहेको हुन्छ।”

उनी तथा अन्य पूर्व अधिकारीहरुको भनाइमा भर्खरै सरकार छोडेका कर्मचारीहरु यसको जोखिममा बढी पर्छन् किनकि उनीहरुले प्राय: जसो अवस्थमा नयाँ काम खोजिरहेका हुन्छन्। लिंक्डइनकी प्रवक्ता निकोल लेभेरिचका अनुसार कम्पनीले नक्कली खाताहरुलाई सक्रियताका साथ हटाउँछ र त्यस्तो कामको लागि एउटा छुट्टै टोली नै खडा गरिएको छ जसले सरकारी अधिकारीहरु लगायत विभिन्न स्रोतहरुबाट प्राप्त जानकारीमा आधारित भएर काम गर्छ।

“हामी हाम्रा नीतिहरु लागु गर्छौं जुन एकदमै प्रष्ट छन्। नक्कली खाता बनाउने वा अरुलाई झुक्याउने वा ढाँट्ने नियतले गरिने धोकाधडीपूर्ण काम हाम्रो सञ्जालको प्रयोगको शर्तको उलङ्घन हो,” उनले भनिन्।

एसोसिएट प्रेसका अनुसार नक्कली खातामा प्रयोग भएका केही तस्विरहरु कृतिम बौद्धिकताको प्रयोग गरी सिर्जना गरिएका छन्। धेरै घटनाहरु काममा लगाउनको लागि लिंक्डइन एक प्रभावकारी माध्यम प्रमाणित भयो। सीआईए तथा रक्षा गुप्तचर निकायका एक पूर्व अधिकारी केभिन प्याट्रिक म्यालोरीलाई चीनको लागि जासुसी गरेको आरोपमा मे महिनामा २० वर्षको जेल सजाय भयो। एफबीआईको भनाइमा उक्त सम्बन्धको सुरुवात फेब्रुअरी २०१७ मा एक थिंक ट्याङ्कको प्रतिनिधिको रुपमा चिनाउने चिनियाँ गुप्तचर अधिकारीले पठाएको सन्देशलाई म्यालोरीले जवाफ पठाएर भएको थियो।

न्याय मन्त्रालयले गत अक्टोबरमा एक चिनियाँ गुप्तचर अधिकारी, यानजुन सुलाई जीईका लिंक्डइनबाट सुरु भएको सम्बन्धको उपयोग गरेको एक हवाइ इन्जिनियरलाई आफ्नो काममा लगाएको आरोपमा मुद्दा चलायो।

नेशनल काउन्टर इन्टेलिजेन्स सिक्युरिटीस सेन्टरका प्रमुख ईभानिनाले रोयटर्सलाई दिएको जानकारी अनुसार चिनियाँ गुप्तचर अधिकारीहरुले लिंक्डइनमा एकपटकमा नै हजारौँ व्यक्तिहरुलाई सम्पर्क गर्ने गरेका छन्। “संकलनको लागि यो एकदमै उपयुक्त स्थान हो,” उनले भने। ईभानिनाले कुनै तथ्याङ्क उद्धृत नगरीकन त्यस्ता गतिविधिहरुमा कमी नआएको बताए।

गत महिना उनले भने “निजी तथा प्राज्ञिक क्षेत्रका व्यक्तिहरुलाई पनि यस माध्यमबाट निशाना बनाइराखिएको छ। विदेशी गुप्तचर सेवाहरुले आफूलाई चाहिएको जानकारीमा पहुँच भएको जोकोही व्यक्तिलाई खोजिरहेका हुन्छन्। त्यस्तो सूचना सीमित व्यक्तिले मात्रै हेर्न पाउने सरकारी सूचना होस् वा कुनै कम्पनीको व्यापारिक गोप्य सूचना, बौदिक सम्पत्ति तथा अनुसन्धान जस्तो सरकारी गोप्यताको वर्गीकरणमा नपरेको सूचना होस् खासै फरक पर्दैन।” प्रतिक्रियाको लागि गरिएको आग्रहमा चिनियाँ विदेश मन्त्रालयले कुनै चासो दिएन।

ओबामा प्रशासनमा विदेश मामिलामा काम गरेका एक पूर्व उच्च अधिकारीले आफूलाई महिनौं लगाएर सम्भवत एक चिनियाँ गुप्तचरले गरेको सम्पर्कको बारेमा अन्तरवार्ताहरुमा बताएका थिए।

सरकारी काम छोडेको १५ महिनापछि तथा चीनमा भ्रमण गरेको केही समयपछि मे २०१७ मा रविन्सन झाङ भन्ने व्यक्तिले उनलाई लिंक्डइनमा सम्पर्क गरे। झाङको खातामा परिचय दिनको लागि राखेको फोटोमा हङकङको सहरी निर्माणको तस्विर राखिएको छ र आफूलाई आर एन्ड सी क्यापिटलको जन सम्पर्क व्यवस्थापक भनेर चिनाइएको छ।

भूतपूर्व सरकारी अधिकारीलाई पठाइएको सन्देशमा झाङले आर एन्ड सीलाई “हङकङमा रहेको एक अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी जसले विश्व लगानी, भूराजनीतिक सवालहरु, सार्वजनिक नीति आदिमा काम गर्छ” भनी चिनाएका छन्।

सन्देशको आदानप्रदानका स्क्रिनसटका अनुसार झाङले लेखेका छन्, “म तपाईंको व्यक्तिगत विवरणबाट प्रभावित भएको छु र राम्रो तलब पाउने केही अवसरहरुको लागि तपाईं उपयुक्त हुनुहुन्छ जस्तो लाग्छ।”

उक्त सन्देश अनौठो लागेर पूर्व अधिकारीले झाङलाई वेबसाइटको ठेगाना मागे। झाङले ती अधिकारीलाई गृहपृष्ठमा आइफिल टावरको तस्विर भएको एक वेबसाइटमा पठाए जसमा आर एन्ड सी क्यापिटलको बारेमा कमै मात्र जानकारी थियो। ती पूर्व अधिकारीलाई त्यो काम “हतारमा गरिएको जस्तो” लाग्यो। (न्युयोर्क टाइम्सले उक्त साइट हेरेको थियो र पत्रिकाले अन्तरवार्ताको लागि आग्रह गरेको इमेल पठाएपछि उक्त साइटलाई इन्टरनेटबाट हटाइयो।)

झाङले उक्त कम्पनीले चीन भ्रमणको लागि लाग्ने खर्च व्यहोर्न सक्ने बारेमा बारम्बार संकेत गरेका थिए। पूर्व अधिकारीले कम्पनीको बारेमा थप जानकारी मागे तर उल्लेखनीय जवाफ पाएनन्।

अगस्ट २०१७ मा पठाइएको एक सन्देशमा झाङले झिजियाङ विश्व विद्यालयले चीनको बेल्ट तथा रोड पूर्वाधार परियोजनाहरुको लागि आयोजना गरिने सम्मेलनमा “वक्ता चयन गरिसकेको”बताए। ती दुई बीच यो वा अन्य कुनै कार्यक्रमको बारेमा त्यो भन्दा अगाडि भएका कुराकानीमा केही उल्लेख नभएको भए पनि उनले अन्य अवसरहरुको बारेमा पनि ती पूर्व अधिकारीलाई बताए।

आफूलाई प्रतिनिधित्व गर्ने ‘वक्ताहरुको कम्पनी’मा ती पूर्व अधिकारीले झाङलाई सिफारिस गरे तर त्यसपछि उनले झाङबाट केही पनि सुनेका छैनन्। आर एन्ड सीले आफ्नो वेबसाइटमा कम्पनीको ठेगानमा नं ६८ मोडी रोड, हङकङ लेखेका भए पनि उक्त ठाउँमा त्यस्तो नामा गरेको कुनै पनि कम्पनी छैन। उक्त कम्पनीको नाम हङकङको कम्पनी दर्ता संग्रहमा पनि उल्लेख छैन।

डेनमार्कका अधिकारी परेल्लो प्लेस्नरको पनि लिंक्डइनमा ग्रेस वुसँग त्यस्तै सन्देश आदान प्रदान भएको थियो जसले उनलाई सन् २०११ मा सम्पर्क गरेकी थिइन्। वुले आफू चीनको हाङजाउमा रहेको रोजगारीको लागि मानिसहरु खोज्ने कम्पनी डीआरएचआरमा काम गर्ने गरेको बताइन्। जब उनले परेल्लो सन् २०१२ मा बेइजिङको भ्रमणमा जान लागेको थाहका पाइन् उनले परेल्लोलाई हाङजाउमा आई कम्पनीलाई भेट्नको लागि आग्रह गरिन्। उनले परेल्लोको पासपोर्टको तस्विर मागिन् तर उनले त्यो उपलब्ध गराउन अस्वीकार गरे।

परेल्लोले वुलाई बेइजिङको सेन्ट रेजिस होटलमा भेट्नको लागि सहमति जनाएका थिए तथा वु त्यहाँ आइनन्। उनको ठाउँमा डीआरएचआरका एक प्रतिनिधिको रुपमा आएका एक युवक व्यक्तिले परेल्लोलाई एक सम्मेलन कक्षमा पुर्‍याएर जहाँ तीनजना अधवैंशे व्यक्तिहरुले उनलाई स्वागत गरे। उनीहरुले आफू सरकारी अनुसन्धान संस्थाबाट भएको बताएका थिए तर उनीहरुसँग दिनको लागि व्यवसायिक परिचय भएको कार्ड थिएन। परेल्लो प्लेस्नरले भने “मैले सोचेँ ‘यो बैठक एकदमै शंकास्पद छ।’”

ती मानिसहरुले परेल्लोलाई यदि उनले उनीहरुसँग काम गरेमा उनको अनुसन्धानलाई आर्थिक सहयोग प्रदान गर्न सकिने र ‘चिनियाँ प्रणालीमा धेरै राम्रो पहुँच प्रदान गर्ने’ वाचा गरेका थिए।

ती व्यक्तिहरु गुप्तचर वा सुरक्षा निकायका व्यक्तिहरु हुन सक्ने शंका गर्दै परेल्लोले त्यो बेलामा उनी लन्डनमा बस्ने भएकोले फर्केपछि उक्त बैठकको बारेमा बेलायती अधिकारीहरुलाई जानकारी दिएका थिए।

चीनको वैदेशिक हस्तक्षेप गतिविधिहरुको बारेमा हड्सन इन्स्टिच्युटको वरिष्ठ अध्येताको रुपमा अनुसन्धान गरेका तथा माथि उल्लिखित घटनाको बारेमा गत वर्ष लेखेका परेलेलो प्लेस्नरले भने, “यदि म लिंक्डइन हुँ भने मैले सक्रिय रुपमा आफ्नो गृह कार्य गर्छु। यो हिम चट्टानको एक टुक्रा मात्रै हो।”

चिनियाँ गुप्तचर अधिकारीहरले देखावटी रुपमा प्रयोग गर्ने तीन कम्पनीमध्ये एक डीआरएचआर भएको कुरा डिसेम्बर २०१७ मा जर्मनीका आन्तरिक गुप्तचरका अधिकारीहरुले बताएका थिए। ती अधिकारीहरुको निष्कर्षमा चिनियाँ गुप्तचरहरुले लिंक्डइनको प्रयोग गरी १० हजार जर्मन नागरिकहरुसँग सम्पर्क गर्न प्रयास गरेका थिए र लिंक्डइनले वु तथा डीआरएचआरका खाता लगायत अन्य खाताहरु पनि वन्द गरेको थियो।

गत अक्टोबरमा फ्रान्सेली गुप्तचर निकायले फ्रान्सेली सरकारलाई चिनियाँ गुप्तचरहरुले विशेष गरी लिंक्डइन जस्तो सामाजिक सञ्जालको प्रयोग गरी चार हजार फ्रान्सेली नागरिकहरुलाई सम्पर्क गर्न खोजेका थिए। फ्रान्सेली पत्रिका लि फार्गोका अनुसार लक्षित गरिएका फ्रान्सेलीहरुमा सरकारी अधिकारी, वैज्ञानिक, कम्पनीका विज्ञहरु थिए।

नक्कली सामाजिक सञ्जालको खातासँग सम्बन्धित व्यक्तिहरुको बारेमा पत्ता लगाउन गाह्रो हुन्छ। ओबामा प्रशासनमा काम गरेका तथा कूटनीतिक वृत्तिमा रहेका ब्रेट्ट ब्रुईनलाई सन् २०१७ मा डोन्ना अलेक्जेन्डले लिंक्डइनमा सम्पर्क गरिन्।

उनको परिचयमा उनी क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा अनुसन्धानकर्ता रहेको जनाइएको थियो तर परिचयमा प्रयोग भएको उनको फोटो कुनै अभिनेत्रीको थियो। विश्व विद्यालयका प्रवक्ताका अनुसार त्यस्तो नाम गरेको कुनै पनि कर्मचारीको बारेमा कुनै पनि रेकर्ड छैन।

टाइम्सले देखेको स्क्रिनसटका अनुसार लिंक्डइनमा भएको एलेक्जेन्डरको सम्पर्क व्यक्तिहरुमा ह्वाइट हाउसका अधिकारीहरु तथा पूर्व राजदूतहरु थिए। ब्रुईनले भने, “त्यस व्यक्तिले आफूलाई अमेरिकी सरकारको विदेश नीतिको संरचनमा रहेका धेरै व्यक्तिहरुसँग परिचित गराइसकेकी छिन् वा उनीहरुबाट स्वीकृति पाइसकेकी छिन्।”

त्यही समयमा पश्चिमा गुप्तचर निकायहरुले लिंक्डइनमा अर्को सम्भावित सवाल पनि भेटेका छन्। त्यो भनेको उनीहरुका अधिकारीहरुको लिंक्डइनमा कुनै खाता नै छैन जसको कारणले विदेशी अधिकारी वा प्रतिजासुसी अधिकारीहरुमा ती व्यक्तिहरुको असली पहिचानको बारेमा प्रश्न खडा हुन सक्छ। ब्रुईनले एक युरोपेली अधिकारीको भनाइ उद्धृत गर्दै भनेका छन् त्यो युरोपेली देशको गु्प्तचरी निकायले “सबभन्दा अल्छी लाग्दो परिचय राखेर लिंक्डइनमा खाता खोलेको छ जसले गर्दा ती खातावालाहरुको सतही आवरणको कारणले उनीहरुको बारेमा शंका उठ्दैन।” न्युयोर्क टाइम्सबाट

nema
Show More

Related Articles

Back to top button