समाचारनेपाली कांग्रेस

कसैको दयामायाले यहाँसम्म आएको होइन ः कांग्रेस नेता शेखर कोइराला

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विरासतमा राजनीति गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन्। उनले आफू पनि प्रजातान्त्रिक आन्दोलनमा लडेको र कसैको दयामायाले यहाँसम्म नआएको स्पष्ट पारे ।
बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा फरमुल्लाह मन्सुरले कोइरालाप्रति लक्षित गर्दै विरासतमा राजनीति गरेको टिप्पणी गरेका थिए । यसअघि पार्टी सभापति शेरहादुर देउवा स्वयंमले पनि यही आशयको अभिव्यक्ति दिएको बताइएको छ ।
शुक्रबारको बैठकमा बोल्दै डा.कोइरालाले आफू र महामन्त्री डा. शशांक कोइराललाई लक्षित गरेर भएको टिप्पणीले आफूलाई दुःखी बनाएको प्रतिक्रिया दिए ।
उनले केन्द्रीय समितिका हरेक सदस्य कुुनै न कुनै व्यवसायमा लाग्नुपर्ने र सबै तहका कार्यकर्तालाई आत्मनिर्भर र स्वावलम्बनको बाटोमा हिँडाउनुपर्ने समेत बताए ।
यसैबीच,कांग्रेस केन्द्रीय सदस्य डा.कोइरालाले सरकारमाथि झुटको खेती गरिरहेको आरोप लगाए । प्रधानमन्त्री स्वंयमले आर्थिक वृद्धि दर ७ दशमलव ५ प्रतिशत भनेर झुट बोलेको भन्दै उनले ‘वास्तविक आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत मात्रै रहेको दाबी गरे ।
मूल्यवृद्धि आकासिएको, किसानका समस्या विकराल बन्दै गएको, भ्रष्टाचार संस्थागत हुन थालेको र जनताले सुशाशनको अनुभूति गर्न नपाएको कोइरालाले बताए ।
सरकारले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतामाथि पूर्वराजा र विप्लव समूहबाट खतरा भनेको स्मरण गर्दै उनले उनीहरुबाट भन्दा सरकारमा बसेकाहरुबाट बढी खतरा भएका धारणा राखे ।

nema
Show More

Related Articles

Back to top button