समाचार

बैतडीको डोजर काण्डका चालक विरुद्ध ज्यान मार्ने उद्योगको मुद्धा दर्ता

बैतडीमा डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो।
झडपका बेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको थियो। डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरमा उपचार भइरहेको छ ।
यस्तै झडपमा ढुङ्गा हानाहान पनि भएको थियो । ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए। विवाद भएको स्थान गुठीको जमीन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो।
तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो।
सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका थिए । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् ।
घटनामा स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका थिए।
सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो। सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ।
यसैबीच, सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन्।यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ । झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन।

nema
Show More

Related Articles

Back to top button