breakingसमाचार

आज विश्व प्रेस स्वतन्त्रता दिवस,सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको काँगे्रसको आरोप

२१ बैशाख, काठमाडौँ
आज विश्व प्रेस स्वतन्त्रता दिवस । यो बर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’भन्ने नारासहित दिवस मनाइँदैछ । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यस वर्ष कोरोना सङ्क्रमणका कारण कार्यक्रम नभए पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल लगायतका कार्यक्रमको आयोजना गरी दिवस मनाउने भएका छन् ।
 
स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूलाई सम्मान गर्दै विश्वभर दिवस मनाउने गरिएको छ । रिपोर्टर विदाउट बोर्डर (आरएसएफ)ले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२ औं स्थानमा छ ।
 
आरएसएफको वाार्षिक विश्लेषणअनुसार नेपाल १८० देशमध्ये ३५.१० अङ्कसहित गतभन्दा भन्दा ६ स्थान तल ११२औँ स्थानमा पुगेको हो । दक्षिण एसियामा नेपालको स्थान भुटान र माल्दिभ्सभन्दा पछाडि छ । भारत १४२औँ, पाकिस्तान १४५औँ र बङ्गलादेश १५१औँ स्थानमा रहेका छन् । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासङ्घले जनाएको छ । यसबाट ९४ पत्रकार तथा तीन सञ्चार संस्था गरी ९७ पीडित बनेको बताइएको छ ।
 
यसैबीच प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाएको छ । कोरोना महामारीको मौका छोपेर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको कांग्रेसको ठहर छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विज्ञप्ती जारी गर्दै कांग्रेसले प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा कसैले पनि कूदृष्टि राख्न नहुने बताएको छ । कांग्रेसले कोरोनाको महामारीबाट गुज्रिरहेको नेपाली प्रेसमाथिको चुनौती कम गर्न विशेष राहत प्याकेज ल्याउन पनि सरकारसँग माग गरेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button