समाचारनेपाली कांग्रेस

संसदको बजेट अधिवेशन सुरु,सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको काँगे्रसको आरोप

२७ बैशाख, काठमाडौैँ
संघीय संसदको बजेट अधिवेशन हिजोबाट सुरु भएको छ । सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त बैठक सन्चालन सम्बन्धी पत्र पढेर सुनाउनु भएसँगै बैठक प्रारम्भ भएको हो । गत वैशाख २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति भण्डारीले संसद्‌को छैठौं अधिवेशन आह्वान गर्नुभएको थियो ।
बैठकको पहिलो दिन संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुले सम्बोधन गरेका छन् । सो क्रममा प्रतिपक्षी दलका नेताहरुले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकार चुकेको आरोप लगाएको छ । नेपालीका कांग्रेसका तर्फबाट बैठकमा सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको आरोप लगाउनु भएको छ । कोरोना महामारीको विषम परिस्थितिमा विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको उहाँको दाबी छ ।
यस्तै जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले महामारी रोकथामबारे सरकारको तयारी पर्याप्त नभएको टिप्पणी गर्नुभएको छ । अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले कोरोना नियन्त्रणका लागि बन्दाबन्दी गर्ने बाहेक अन्य प्रयास प्रयाप्त हुन नसकेको बताउनु भयो । विदेशमा रहेका नेपालीको हकमा सरकार जिम्मेवार नदिएको भन्दै विदेशमा रहेका नेपालीहरुलाई देश निकाला गरेजस्तो भएको धारणा राख्नु भयो ।
यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङले सरकारले सुरुमै कदम चालेका कारण नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिन नसकेको दावी गर्नुभएको छ ।
जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण कोरोना भाइरसको महामारीका बीच अधिवेशन सुरु भएको हो । आागामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
जेठ १३ गते आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षण पेश गर्ने र जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संसदको अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा सांसद तथा कर्मचारीलाई कोरोना भाइरस परिक्षण गरिएको रिपोर्ट पेश गरेपछि मात्र प्रवेशको व्यवस्था गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button