समाचार

केही गन्तव्यमा नियमित उडान खोल्न छलफल

५० हजार नेपाली विदेशमा जहाजको प्रतीक्षामा

२८ असार, काठमाडौं । सोमबार र मंगलबार दुई दिन विदेशमा रहेका नेपालीको स्वदेश फिर्ती रोकिने भएको छ । गत २३ जेठबाट सुरु भएको विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीको क्रममा दुई दिनको विश्राम लिइएको सरकारले बताएको छ।
विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइ तथा कार्यरत कर्मचारीको विश्रामका लागि २ दिन विदेशबाट चार्टर्ड उडान नहुने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । उद्धारमा खटिएका जहाजका पाइलट तथा चालक दलका अन्य सदस्यले पनि दुई दिन विश्राम पाउनेछन् ।

‘जुलाई १५ देखि २१ गतेसम्म फेरि उद्धारको तालिका आउँछ,’ लामिछानेले भने,’त्यसपछि के गर्ने भन्नेबारे फेरि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गर्छ ।’
अहिलेसम्म करिब २२ हजार नेपाली आफ्नै खर्चमा टिकट काटेर चार्टर्ड फ्लाइटबाट फर्किएका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले नेपालबाट उडान गरिरहेका छन् ।
कुवेतबाट कुवेत सरकारले आममाफी पाएका नेपालीलाई आफ्नै खर्चमा जजिरा एयरलइन्समार्फत नेपाल ल्याइरहेको छ । केही खाडी मुलुकका एयरलाइन्समार्फत पनि सम्बन्धित देशका नेपाली नियोगले चार्टर्ड उडान गराएका छन् ।
अझै पनि विदेशमा नेपाल फर्किन चाहनेको सूचीमा ५० हजार नेपाली छन् । सुरुवातमा उनीहरूलाई क्रमैसँग समस्या हेरेर प्राथमिकताका आधारमा फिर्ता गर्ने भनिएको थियो । तर महँगो टिकट आफैँ काट्नुपर्ने र बाटो तथा क्वारेन्टिन खर्च आफैँले गर्नुपर्ने नियमका कारण समस्यामा परेका नेपाली स्वदेश आउन पाएका छैनन् ।
उद्धार थान्नुअघि नै विभिन्न देशका नियोगले नियमित उडान खोल्न सरकारलाई आग्रह गरेका थिए । तर सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई चार्टर्ड फ्लाइटमार्फत नै स्वदेश फर्काउने नीति लियो ।
अब भने सरकारले पनि कुनै गन्तव्यबाट नियमित फ्लाइट गराउन सकिन्छ कि भनेर छलफल भने सुरु गरेको छ ।
सहसचिव लामिछानेका अनुसार केही सहज गन्तव्यबाट नियमित उडान थाल्नेबारे छलफल सुरु भएको छ । तर नेपालले चाहेर मात्रै नियमित उडान सम्भव नहुने भएकाले सम्बन्धित देशको नीति र विधिका आधारमा निर्णय गरिने लामिछानेले बताए ।
‘सबै गन्तव्यमा नियमित फ्लाइट खोल्न सकिँदैन तर जुन गन्तव्यमा सम्भव छ। त्यहाँबाट नियमित फ्लाइट खोल्न सकिन्छ कि भनेर छलफलमा छौं,’ उनले भने, ‘तर नेपालमै पनि संक्रमणको दर बढ्दो क्रमममा रहेकाले निर्णय लिन कठिन छ ।’
सम्बन्धित देशले पनि नेपालबाट नियमित फ्लाइट गर्न चहानुपर्ने भन्दै लामिछानेले सबै पक्षको अध्ययन र विश्लेषण गरेर मात्रै निर्णय गर्न सकिने बताए ।
स्राेतः अनलाइन खबर

nema
Show More

Related Articles

Back to top button