समाचारनेपाली कांग्रेस

कांग्रेसमा बहस : लोकतन्त्र कि चुनाव महत्त्वपूर्ण ?

विरोध प्रदर्शनमा देशभर उत्साह तर अन्योल कायमै

काठमाडौं । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेस विरोध प्रदर्शनमा छ । पुस १३ गते १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, पुस २५ मा ३३० प्रदेश निर्वाचन क्षेत्र र माघ ३ मा पालिकास्तरमा विरोध प्रदर्शन गरेको कांग्रेसको प्रदर्शनमा उत्साह देखिन्छ। तर, नेताका अभभिव्यक्तिले अन्योल भने थपिरहेको छ । कांग्रेस संस्थापनमा देखिएको चुनावमा जाने हतारो र संस्थापनइतरको पहिला लोकतन्त्र र संविधानको रक्षा त्यसपछि निर्वाचन भन्ने सन्देशले कार्यकर्तादेखि नागरिकमा अन्योल सृजना गरेको छ ।
केन्द्रीय समितिकै सर्वसम्मत निर्णयबाट कांग्रेस आन्दोलनमा छ। तर, जनताका अगाडि उभिएर भने नेताहरु फरक फरक कुरा गर्न थालेका छन् । अझ संस्थापन पक्षले चुनावको हतारोमा लोकतन्त्र र संविधानको रक्षा विर्सिएको आरोपसमेत सुरु गरेका छन् ।

 
कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति देउवाले ओलीको कदममा साथ दिएको भन्दै निर्वाचनका कुरा र अदालतको कुरा गरेर जनतालाई भ्रमित पारेको आरोप लगाए ।
कोइरालाले भने, “पार्टी सभापतिजीको ढुलमुले चरित्रको कारण प्रतिनिधिसभा विघटन विरूद्धको आन्दोलन सशक्त हुन सकेन,  सभापतिकै कारण कांग्रेसले प्रतिगामी कदम रोक्न र त्यस विरूद्धको आन्दोलन प्रभावकारी बनाउन सकेन । बल्ल हामीले आन्दोलनमा जाने बनायौं ।” मानव अधिकार तथा शान्ति समाज मोरङको साधारण सभामा शनिबार विराटनगरमा नेता कोइरालाले यस्तो बताएका हुन् ।
“मुख्य प्रतिपक्षी दल भएर हामी कांग्रेसले खेल्नुपर्ने जति भूमिका थियो, त्यो सभापतिको कारण खेल्न सकिएन,” कोइरालाले थपे, “हाम्रो  चौतर्फी दबावपछि अब कांग्रेस पनि आन्दोलनमा जाने वातावरण तयार भएको छ ।”
नेता कोइरालाले यस्तो बताइरहँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भारतपुर महानगरको सभामा सभापतिलाई मोही माग्ने ढुंग्रो लुकाउने भन्दै प्रश्न उठाउँदै थिए । खासगरी देउवाले ‘प्रतिनिधिसभा विघटन असंबैधानिक’ भन्ने तर ‘निर्वाचनमा जानुपर्छ’ भन्ने अभिव्यक्तिलाई लक्षित गर्दै पौडेलले देउवामाथी यस्तो प्रश्न उठाएका हुन् ।
“हामी पहिला संविधान बचाउँछौं, पहिला लोकतन्त्र बचाउँछौं, त्यसमपछि यो संविधानमा टेकेर मात्र चुनावमा जान्छौं,” भरतपुर महानगर कांग्रेसको सभामा पौडेलले भने, “चुनाव आज नभए भोलि हुन्छ चुनावलाई कसैले रोक्न सक्दैन । तर, लोकतन्त्र बच्नुपर्यो । ७० वर्ष लगाएर ल्याएको संविधान छ । यसलाई जोगाउनुस् अनि चुनावको कुरा गर्नुस् ।” पौडेलले प्रधानमन्त्री ओली र पार्टीसभापतिलाई ‘एक तीर दो शिकार’ हुने गरी यो विषय उठाएका हुन् ।
“कम्युनिष्टहरु विभाजित हुँदा चुनाव आइहाल्यो हामी जितिहाल्छौं भनेर अत्तालिनु हुँदैन, कांग्रेस सिद्धान्तमा अडिएको पार्टी हो, हामी लोकतन्त्रमा अडिएको पार्टी हो । हामी लोकतन्त्र र संविधान बचाउँछौं अनि मात्र चुनावमा जान्छौं,” पौडेलले भने, “ओलीले अदातलाई धम्क्याउने अनि हामीचाहिँ चुनाव चुनाव भन्ने ? पञ्चायतका पालामा यस्ता चुनाव आए गए । लोकतन्त्र बच्नुपर्यो ।” उनले सभापति देउवालाई लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा पुनस्थापना र संविधानको रक्षा गर्ने वसषयमा प्रष्ट हुन आग्रह गर्दै पार्टीले असंवैधानिक भनेर गरेको निर्णय र सभापतिको निर्वाचन आकांक्षालाई ‘मोही माग्ने ढुंग्रो लुकाउने’ चरित्रकोरुपमा अर्थ्याए ।
त्यही वेला कांग्रेसका युवा नेता गगन थापा अफूसँग भएको बहुमत सम्हाल्न नसक्ने प्रानमन्त्री ओलीले वैशाखमा चुनाव गरेर कांग्रेसलाई सत्ता सुम्पिन्छन् भनेर विश्वास गर्नुलाई ‘केटाकेटीपन’ भनेर टिप्पणी गरेका छन् ।
“आफ्नो पदको रक्षाका लागि संविधानलाई कुल्चिएर, पार्टीलाई भाँणमा लैजान र देशलाई नै भडखालोमा हाल्न तयार हुने केपी ओलीले चुनाव गरेर कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छन् भनेर विश्वास गर्नु नै केटाकेटीपन हो,” थापाले भने, “कांग्रेसले संविधानको रक्षा अहिले गर्न सकेन भने भोलि पश्चातापको ठाउँ त बाँकी रहन्छ । तर, जनताबाट माफिसमेत नपाउने अवस्था बन्न सक्छ ।” उनले कांग्रेसको स्थापना नै विधि रक्षाका लागि भएकाे र त्यहिकारण जनताको विश्वास पनि पाइरहेको भन्दै विधि रक्षा नगर्ने कांग्रेस जनतालाई नचाहिएको बताए ।
गत पुस २५ को विरोध सभामा ‘सर्बोच्च भन्दा ठूलो अदालत जनता हुन् निर्वाचनमा जानुपर्छ’ भनेका देउवा माघ ३ को पालिकास्तरीय विरोध प्रदर्शनमा भने कतै संबोधन गर्न निस्किएनन् । पर्वत पुगेर अदालतलाई प्रभावित पार्न राष्ट्रपति र प्रधानमन्त्री लागेको भन्दै केही आक्रोसित देखिएका देउवा असंवैधानिक भनेको संसद विघटन सच्याउने पक्षमा भने अहिलेसम्म उभिसकेका छैनन् ।
कांग्रेसमा अव चुनावमा जाने संस्थापन र संसद पुनर्स्थापनाका लागि आन्दोलनमा जाने संस्थापनइतरबीच तानातान सुरु भएको छ । विराटनगर पुगेर डा. शेखरले आफ्नो बलमा आन्दोलनका लागि तानेको दावी सिद्ध हुन्छ वा संसद विघटन गर्दा राष्ट्रपति भण्डारीले कोट गरेका धारा टेकेर संसद विघटन सर्बोच्चबाट सदर हुन्छ भन्ने संस्थापनको अनुमानका आधारमा कांग्रेस चुनावी तयारीमा लाग्छ भन्ने टुंगो लागिसकेको छैन ।
कांग्रेसको विरोध प्रदशर्नमा देशभर एकप्रकारको उत्साह देखिएको छ । तर, नेताहरुका अभभिव्यक्तिले विरोध प्रदर्शन प्रधानमन्त्रीको कदमको खारेजीका लागि भइरहेको छ कि प्रधानमन्त्रीको घोषणा अनुरुप चुनावी तयारीका लागि भन्ने विषयमा कांग्रेस कार्यकर्ता र जनतामा अन्योल बढिरहेको छ ।

 

nema
Show More

Related Articles

Back to top button