कांग्रेसको काँधमा समुद्रको बूढो !
- गोविन्द अधिकारी
- २०७५ असार ५ मंगलबार १३:२१:००
चुनाव सकिएको ५ महिनापछि पनि नेपाली कांग्रेसका नेताहरू हारको कारण खोजिरहेका छन् । उनीहरूबीच हारको कारणमा एकमत हुनसकेका छैनन् । एकथरी पार्टीले पाएको मत थोरै भएकाले हारियो भन्दैछन् भने अर्काथरी विपक्षमा मत धेरै भएकाले हारियो भन्दैछन् । चुनाव सकिएलगत्तै थालिएको यही विवाद अझै टुंगिएको छैन । कांग्रेसको अभ्यास हेर्ने हो भने सभापतिहरूको भेला यही विवादमा अल्झिने छ र टुंगोमा नपुगी समाप्त हुनेछ ।
हारको दोष
कांग्रेसको मत थोरै भएको भने पनि विपक्षीले धेरै मत ल्याए भने पनि कांग्रेस हारेको त हो । हारेपछि नेतृत्वले त्यसको नैतिक जिम्मेवारी लिनु त पर्थ्यो । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको हारको जिम्मेवारी स्वीकार गरेनन् । हारको कारण अन्तर्घात हो भन्नेजस्ता तर्क गरेर आफ्नो नेतृत्वको लाजमर्दो कमजोरीको ढाकछोप गर्न लागे । अर्को पक्षको पनि हारका लागि शेरबहादुर देउवामात्र जिम्मेवार हुन् भन्ने सिद्ध गर्नेबाहेक अरू कुनै ध्याउन्न देखिएन । दुवै पक्षले केन्द्रीय समितिको बैठकलगायत ६ महिनाको अवधि यसै बिताए । सभापतिहरूको भेलापछि महासमितिको बैठकसम्म पनि यो विवाद टुंगिनेछैन । किनभने हारका लागि जिम्मेवारहरू कोही पनि आफ्नो कमजोरी स्वीकार गर्न तयार छैनन् । सभापति देउवामाथि हारको दोष थोपर्ने समूहका अधिकांश आफैँ चुनाव हार्नेहरू छन् ।
संसदीय मर्यादा र भूमिका
संसदीय लोकतन्त्रको लामो र परिपक्व अभ्यास भएका मुलुकमा संसद्को चुनव हारेपछि पार्टीको नेतृत्व पनि छाड्ने गर्छन् । जनताले अस्वीकार गरेको पात्रले नेतृत्वको दाबा गर्नु लोकतान्त्रि चरित्र हुनैसक्तैन । जनताले तिरस्कार गरिसकेपछि राजनीतिक र नैतिक दुवै दृष्टिबाट नेतृत्व छाड्नुपर्छ । तर, देउवा वा उनका प्रतिस्पर्धी समूहबाट नैतिक र लोकतान्त्रिक राजनीतिको अपेक्षा गर्नु सायद मूर्खता हनेछ । पार्टीका युवा नेताहरू पनि दाइहरूकै दौराको फेर समातेर अगाडि बढेका हुन् । यसैले तिनले पनि ६ महिनासम्म चियाको कपमा आँधीबेहरी सिर्जना गर्नुभन्दा बढी केही गरेनन् । अब पनि सत्यलाई सत्यकै रूपमा रहन दिन यिनीहरू तत्पर देखिँदैन ।
सभापतिहरूले यिनलाई बाटो देखाउन सक्नुपर्ने त हो तर सक्लान्जस्तो देखिएको छैन । लगभग सबै जिल्ला सभापति ‘अन्तर्घाती’लाई कारबाही गर्नु नै पार्टी बलियो बनाउने रामवाण उपाय देखेजस्तो छ । यसैले हेटौँडाबाट पनि नेपाली कांग्रेसप्रति जनतालाई आकर्षित गर्ने कुनै जादूको छडी फेला पर्ने छैन । महासमितिको बैठकलाई जिम्मेवारी पन्छाउने काममात्र हुनेछ ।
अधिनायकवादको जोखिम
कांग्रेसले चुनावमात्र हारेको भए अर्को चुनावका लागि तयारी गरे पुग्थ्यो पनि होला । तर, देश नजानिदोगरी अधिनायकवादतर्फ उन्मुख हुँदैछ । अहिले लोकतन्त्रका सबै संस्थालाई कमजोर बनाउने चलखेल सुरु गरिएको छ । मुद्दा छिन्नेबित्तिकै कानुन मन्त्रीले फैसलामा टिप्पणी गरेर न्यायाधीशलाई तर्साउन थालिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘टी सर्टमात्र लगाएर’ छलफल गर्न मन्त्रीहरूले बोलाउन थालेका छन् । सुरुमा केही जनचासोका विषयमा विधि र प्रक्रिया मिचेर भए पनि जनताका पक्षमा काम गर्न खोजेको देखाउने र पछि त्यसैलाई दृष्टान्त बनाएर सबैतिर विधि र प्रक्रिया मिच्ने प्रवृत्ति देखिन थालेको छ । यातायात सिन्डिकेट भत्काउने नाममा प्रचलित कानुनलाई मिच्ने काम गरियो । जसरी भए पनि सिन्डिकेट तह लगाउनु सही काम हो भन्ने पारियो । तर, यातायात सेवामा सुधार त भएन । त्यसपछि तस्करीको सुन खोज्ने हल्ला मच्चाइयो । केही ‘भुरा माछा’ समातिए । सिंगो समाजको ध्यान त्यतै गयो । तस्करी गरिएको भनिएको सुन अहिलेसम्म फेला परेन । सायद ‘ठूला माछा’ पनि फेला पर्दैनन् । अरू केही नसकेको झोंकमा सरकारले ‘बाजेको सेकुवा‘ भन्ने एउटा ब्रान्डमाथि प्रतिबन्ध लगाइदियो । मानौ, तस्करीको मूल स्रोत नै सेकुवा हो । अहिले सरकार ठेकेदार र गैरसरकारी संस्थाविरुद्धको प्रचार अभियानमा लागेको छ ।
जोमाथि प्रहार गर्ने हो त्यसका विरुद्ध कथन (न्यारेटिव) निर्माण गर्ने, प्रचार गर्ने र अनि कारबाही गर्दा सरकारले ठीकै त गर्यो भन्ने भान पार्ने कपटी अधिनायकवादको बाटामा सरकार अगाडि सरेको छ । संसद् र सडकमा प्रतिपक्षको अस्तित्व पनि देखिएको छैन । लोकतन्त्रका संस्थामा प्रहार हुँदा वा लोकतान्त्रिक विधि र प्रक्रिया मिचिँदा पनि सरकारको विरोध गर्न साइत हेरेर बस्ने प्रतिपक्षले लोकतन्त्र जोगाउन सक्तैन । यसै पनि संसद्मा सरकारको नीति र कार्यक्रममा समर्थन गर्ने पार्टीले संसदीय विपक्षको मर्यादा र भूमिका जोगाउला भन्नु मूर्खता नै हो ।
भारतीय कांग्रेसका कमजोरी
नेपाली कांग्रेसका नेताले त उनीहरूमा कमजोरी र दोष देख्नै सक्तैनन् । यसैले भारतीय राष्ट्रिय कांग्रेसका बारेमा भएका टिप्पणीको चर्चा गरौँ । भारतमा पनि भारतीय राष्ट्रिय कांग्रेस कमजोर हुँदैगएको छ । केन्द्रमा भारतीय जनता पार्टी र प्रान्तहरूमा क्षेत्रीय दलहरू बलिया हुँदैछन् । कांग्रेस कमजोर हुनुको मूल कारण जनतासँग संवाद बन्द हुनुलाई मानिएको छ । कांग्रेसका नेता र सामान्य जनताले एउटै विषयलाई बेग्लाबेग्लै रूपमा बुझेकाले जनमतमा कांग्रेस खस्कँदै गएको निष्कर्ष निकालिएको छ । कांग्रेसका नेताको अर्को कमजोरीका रूपमा आत्मकेन्द्री प्रवृत्ति मानिएको छ । उनीहरू सबै विषयमा आफूलाई केन्द्रमा राखेर हेर्छन् र त्यस अवस्थामा जनता, राष्ट्र र पार्टी गौण हुन्छन् । नेपाली कांग्रेसका नेता त सर्वगुण सम्पन्न नै छन् क्यारे ! नत्र, उनीहरूले आफ्ना कमजोरी केलाउनु त पर्ने हो ।
नैतिक शक्ति र असल नियत
संसद्मा कमजोर भए पनि नैतिक शक्ति र असल नियत भए राजनीतिक दलको प्रभाव खासै कमजोर हुँदैन । जनताका पीरमर्कामा नबोल्ने नेता र पार्टीको अस्तित्व मेटिँदै जान्छ । सानो उदाहरण – किसानले उखुको पैसा पाएका छैनन् । सरकार मिल मालिकलाई कैदमा हालेर पैसा भुक्तान दिलाउने भन्दैछ । कांग्रेस न किसानका पक्षमा बोल्छ न सरकारी ज्यादतीका विरुद्ध नै बोल्छ । किसान र मालिक दुवैको हकका लागि बोलेको भए दुवैको समर्थन पनि पाउन सकिन्थ्यो । अहिलेको अवस्थामा त दुवैको समर्थन गुम्यो । समाजका यस्ता समस्या र सवाल अनगिन्ती छन् । सिम्रौनगढदेखि काष्ठमण्डपसम्मका ऐतिहासिक पुरातात्विक महत्त्वका सम्पदा सरकारको कोपभाजन बन्ने क्रम निरन्तर छ । कम्युनिस्टहरूले त यस्ता सबै सम्पदामा सामन्तवादको अवशेष देख्न सक्छन् । मासिएरै गए पनि उनीहरूलाई अहिले विस्मात नहुन सक्छ । तर, नेपाली कांग्रेस त बोल्नुपर्ने नि !
दाइका सामु नफुकेको धक
सायद अपराध बोधले कांग्रेसको बक नफटेको र धक नफुकेको हुनुपर्छ । दौराको फेर समातेको दाइ नेता नभए आउने चुनावमा पैसा र उमेदवारी नपाइने डरले पनि धेरैलाई मौन बनाएको हुनसक्छ । तर, यस्तै रहे कसैले पनि कांग्रेसलाई पैसा दिनेछैनन् । त्यति बेल दाइले पनि पैसा कसरी बाँड्लान् र ? अनि टिकट पाए पनि चुनाव त जितिनेछैन ।
चुनाव सकिनेबित्तिकै नैतिक जिम्मेवारी लिएर शेरबहादुर देउवाले सभापति पद त्यागेका भए अहिलेसम्म परिस्थिति धेरै अगाडि बढ्न सक्थ्यो । अब त देउवाले पद त्याग्नु र नत्याग्नुको कुनै अर्थ छैन । कारण, त्यसमा नैतिक पक्ष त बाँकी रहेन । यस्तै, संसदीय निर्वाचन हारेकाहरूले केन्द्रीय समितिबाट राजीनामा गरेको भए पनि एउटा तरंग उत्पन्न हुनसक्थ्यो । अब त्यो समय पनि सकियो ।
नेपाली कांग्रेसभित्र ममताको उदय
लोकतन्त्र जोगाउन कांग्रेसमा दीक्षित कार्यकर्तामात्रले सक्छन् भन्नु अतिशयोक्ति हुँदैन । लोकतन्त्रका निम्ति समर्पित अरू कुनै राजनीतिक शक्ति अझै देखिएको छैन । यसैले कांग्रेसभित्रैबाट विकल्प खोजेमा लोकतन्त्र कम्युनिस्टहरूको कपटी खेलबाट जोगिन सक्नेछ । त्यसका लागि सबैभन्दा उत्तम उपाय सभापतिहरूले विद्रोह गरेर हालका लागि भौगोलिक आधारमा क्षेत्रीय दलहरू बनाउनु उचित हुन्थ्यो । अहिलेका क्षेत्रीय दल साम्प्रदायियक छन् तर कांग्रेसका नेताहरू संलग्न क्षेत्रीय दलको प्रकृति राष्ट्रिय हुनेछ । त्यस प्रकारको राजनीतिक शक्तिले कम्युनिस्टहरूलाई तह लगाएर देशलाई अधिनायकवादको जोखिमबाट मुक्त गर्ने र कांग्रेसको बुइमा चडेका ‘सिन्दवाद र समुद्री बूढो’को कथाको समुद्री बूढाहरूबाट मुक्ति पाउने जुक्ति फेला पार्नेछ ।
नेपाली कांग्रेसमा ममता बनर्जीको उदय होला त ?