विचार

गान्धीवादी नेता रामहरि जोशीलाई सम्झिँदा

काठमाडाैं, ३१ असार  जोशीले मधेसी जनताको अधिकार तथा समावेशिताको पक्षमा सधैँ जोडदार रूपमा आफूलाई उभ्याइरहनुभयो
‘मानिसलाई गहुँ पनि चाहिन्छ, गुलाब पनि चाहिन्छ, धान पनि चाहिन्छ, धाननाच पनि चाहिन्छ । मकै पनि चाहिन्छ, मादल र मारुनी पनि चाहिन्छ । अनि मात्र समाजको सन्तुलित र सर्वांगीण विकास हुन सक्छ ।’ यी अभिव्यक्ति नेपाली राजनीतिका गान्धीवादी नेता स्वर्गीय रामहरि जोशीको हो ।
उहाँले यी कुरा ‘आत्मकथा तथा नेपाली कांग्रेससँग गाँसिएका सम्झनाहरू’ नामक पुस्तकमा उद्धृत गर्नुभएको छ । विसं १९८२ मा सर्लाहीको मलंगवामा जन्मनुभएका जोशीले आफ्नो सम्पूर्ण जीवन नै राजनीति र समाजसेवामा व्यतीत गर्नुभयो ।

सन् १९४७ मा उहाँ कलकत्ताको बंगवासी कलेजमा बिएस्सीको छात्र हुँदा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । जसमा उहाँ छात्र प्रतिनिधिको हैसियतले सहभागी हुनुहुन्थ्यो । उहाँ कांग्रेसका संस्थापकमध्ये एक हुनुहुन्थ्यो ।
आजीवन अविवाहित जोशी कांग्रेसको मात्र होइन, नेपाली राजनीतिकै एक निष्ठा र आदर्शको प्रतिमूर्तिका रूपमा परिचित हुनुभयो । विद्यार्थी जीवनमा निकै अब्बल जोशी अध्ययनको सिलसिलामा कहिल्यै दोस्रो हुनुभएन ।
उहाँले गाउँको सामान्य पढाइ सकेर भारतको सीतामढीमा माध्यमिक शिक्षा हुँदै काशी हिन्दु विश्वविद्यालयमा आइएस्सी र कलकत्ता विश्वविद्यालयमा बिएस्सीसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।
जोशीमा त्यही वेलादेखि नै राजनीतिको रस पसिसकेको थियो । भारतीय स्वतन्त्रता आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी हुनुभएका उहाँमा गान्धीवादी विचारधारा पनि बिस्तारै पस्दै थियो । बिपी कोइराला, गणेशमान सिंह, मातृकाप्रसाद कोइरालालगायत कांग्रेसका संस्थापक नेतालाई उहाँले कांग्रेस पार्टीकै स्थापनाको सिलसिलामा भेट्नुभएको हो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल डेमोक्रेटिक कांग्रेसबीच एकतापश्चात् ‘नेपाली कांग्रेस’ को जन्म भयो । पार्टी अध्यक्ष मातृकाप्रसाद कोइराला हुनुभयो । कोइरालाले महामन्त्रीमा जोशीलाई प्रस्ताव गर्नुभएको रहेछ ।
तर, उहाँले अझै आफू त्यो पद वहन गर्न लायक नभएको र स्नातक अध्ययन गर्दै गरेकाले अस्वीकार गर्नुभएको कुरा बारम्बार भन्ने गर्नुहुन्थ्यो । त्यसपछि महामन्त्रीमा महेन्द्रविक्रम शाह र कोषाध्यक्षमा सुवर्णशमशेर रहनुभयो ।
कांग्रेस स्थापनापश्चात् सर्लाही घर आउनुभएका जोशीले किसानलाई एकीकृत गरेर तत्कालीन सरकारविरुद्ध पर्चा छरेर विद्रोहको सुरुवात गर्नुभयो । त्यही अभियोगमा आफ्नै पिता तीर्थलाल जोशीले उजुरी दिएपछि उहाँ गिरफ्तार हुनुभयो ।
 

कांग्रेसको पछिल्लो घटनाक्रम तथा गतिविधिबाट असन्तुष्ट जोशी कांग्रेस नेतृत्वप्रति सधैँ प्रश्न गरिरहनुहुन्थ्यो

 
००७ सालको क्रान्तिपश्चात् नेपालमा प्रजातन्त्र स्थापनासँगै सर्लाहीको मलंगवामा पब्लिक हाइस्कुल स्थापना गर्नुभयो । उहाँले सो विद्यालयमा प्रधानाध्यापकका रूपमा धेरै वर्ष अध्यापन गराउनुभयो । शिक्षाबाटै समाज र राजनीतिको मुहार फेर्न सकिन्छ भन्ने विश्वास जोशीमा थियो ।
विशेषगरी दलित, गरिब र पिछडिएका वर्गप्रति उहाँ सधैँ विभिन्न जागरण कार्यक्रम लगेर उनीहरूलाई मूल प्रवाहमा ल्याउन लागिरहनुहुन्थ्यो । मधेसलाई अत्यन्तै माया गर्नुहुन्थ्यो । मनबाटै मधेसी जनताप्रति प्रेमभाव भएका नेताका रूपमा उहाँलाई लिइन्छ ।
मधेसी जनताको अधिकार तथा समावेशिताको पक्षमा सधैँ जोडदार रूपमा आफूलाई उभ्याइरहनुभयो । मधेस आन्दोलनपूर्व नै उहाँ ‘मधेसमा ठूलो विद्रोह हुनेछ’ भन्नुहुन्थ्यो ।
तर, विडम्बना मधेस आन्दोलनमा तिनै मधेसप्रति सधैँ प्रेम गर्ने जोशीको मलंगवास्थित घरमा आगो लगाइयो । त्यो वेला पनि उहाँको मधेसप्रेम घटेन । बरु मधेस आन्दोलनका घाइतेलाई भेट्न कहिले टिचिङ अस्पताल त कहिले वीर अस्पताल पुग्ने गर्नुहुन्थ्यो ।
सर्लाहीबाट दुईपटक प्रतिनिधिसभा निर्वाचनमा विजयी बन्नुभएका जोशी गिरिजाबाबुको प्रथम मन्त्रिमण्डलमा शिक्षा तथा पर्यटनमन्त्री बन्नुभयो । एक प्रसंगमा उहाँ आफूलाई मन्त्री नभन्नु भन्नुहुन्थ्यो ।
मन्त्री आजभोलि जस्तो चरित्रका पनि बन्ने भए, मन्त्रीको इज्जत रहेन । त्यसैले त्योभन्दा एक साधारण नाम नै ठीक छ भन्ने उहाँको सोच थियो । जोशी राजनीति गर्ने मानिसको चरित्र स्वच्छ रहनुपर्छ भन्नेमा दृढ हुनुहुन्थ्यो । उहाँले सादा जीवनलाई नै सधैँ आफ्नो परिचय बनाउनुभयो ।
भ्रष्टाचार र लोभले मुलुक बिग्रिएको भन्दै जोशीले राजनीतिक जीवनमा कुनै लोभ गर्नुभएन । एकपटक जापान सरकारले उहाँलाई गाडी उपहार दिएको भए पनि उहाँले त्यसलाई फिर्ता गरिदिनुभएको थियो ।
राजनीतिक मात्र नभएर उहाँ साहित्यिक व्यक्तित्व पनि हो । हिन्दी तथा अंग्रेजी भाषामा समेत सिद्धहस्त उहाँले नेपालको नोभेम्बर क्रान्ति, रामवृक्ष बेनीपुरीको नेत्रदान नाटकको नेपाली अनुवाद, लक्ष्मीप्रसाद देवकोटाको ‘बापु’ कविताको हिन्दी अनुवाद, आत्मकथा तथा नेपाली कांग्रेससँग गाँसिएका सम्झनाहरू, अँध्यारोबाट उज्यालोतिरलगायत करिब दर्जनजति पुस्तकको लेखन तथा सम्पादन गर्नुभएको छ ।
उहाँले लेखेको नेपालको अमर सहिद हाइस्कुलमा पढाइन्थ्यो, तर पञ्चायती व्यवस्था आएपछि त्यसमाथि प्रतिबन्ध लगाइयो । भारतमा रहँदा महाकवि लक्ष्मीप्रसाद देवकोटा र स्व.जोशी एउटै कोठामा महिनौँसम्म बसेको तथा विभिन्न कवि तथा साहित्यिक सम्मेलनको आयोजनासमेत गरेको पाइन्छ । यसबाट पनि प्रस्ट हुन्छ, उहाँ एक साहित्यिक मन भएको व्यक्ति हुनुहुन्थ्यो ।
जीवनको उत्तराद्र्धमा पनि जोशीलाई जोकोही भेट्न जाँदा उहाँ सधैँ लेखपढ गरिरहनुहुन्थ्यो । केही नयाँ अध्ययन गर्ने, खोज्ने तथा त्यसको विश्लेषण गर्ने बानी थियो उहाँमा । उहाँमा दूरदर्शिता पनि थियो ।
कांग्रसको पछिल्लो घटनाक्रम तथा गतिविधिबाट असन्तुष्ट जोशी कांग्रेस नेतृत्वप्रति सधैँ प्रश्न गरिरहनुहुन्थ्यो । बिपी कोइरालाको सहयोद्धाका रूपमा काम गर्नुभएका जोशी वर्तमान कांग्रेसका नेताबाट कुनै आश नभएको टिप्पणी गरिरहनुहुन्थ्यो । तर, उहाँ युवाप्रति भने असाध्यै भरोसा गर्नुहुन्थ्यो । नयाँ पुस्ताले मात्र सशक्त नवीन कांग्रेस बनाउन सक्छ भन्ने विश्वास उहाँमा थियो ।
राजनीतिमा लागेर लिने होइन, समाज र राष्ट्रलाई दिनुपर्छ भन्ने विचारलाई सधैँ सार्थकता प्रदान गर्न अहोरात्र लागिरहने जोशीबाट समकालीन राजनीति गर्नेहरूले सिक्न जरुरी छ । ठूलो जमिनदार परिवारमा जन्मिए पनि सधैँ गरिबको पक्षमा वकालत गरिरहने जोशीले सम्पूर्ण जीवन नै राष्ट्रसेवामा समर्पित गर्नुभयो । राजनीति गर्ने पछिल्लो पुस्ताले रामहरि जोशीको त्यो आदर्श र बलिदानबाट धेरै सिक्न जरुरी छ ।
(कार्की नेविसंघ केन्द्रीय सदस्य हुन्)

नयाँ पत्रिकाबाट साभार गरिएको ।
nema
Show More

Related Articles

Back to top button