समाजमा वर्ग र वर्ण
प्रदीप गिरी
सन १९६० को दशकमा हिन्दुस्तानमा पढाइ गर्दा दुईजना नेताले मेरो पुस्तालाई बडो प्रभावित गरिरहेका थिए– डा. राममनोहर लोहिया र डा. भीमराव अम्बेडकर । लोहियाको चर्चित पुस्तकमध्ये एउटा ‘जातिप्रथा’ थियो । हामी राजनीतिक कार्यकर्ताका लागि त्यो पाठ्यपुस्तक थियो । सोही पुस्तकमा लोहिया बारम्बार अम्बेडकरको कुरा गर्छन् ।
डा. अम्बेडकर जीवनको उत्तराद्र्धमा लोहियासँग मिलेर पार्टी बनाउने प्रयत्नमा हुनुहुन्थ्यो, तर अम्बेडकर चाँडै बिते । जातिप्रथा यथावत् रहुन्जेल कुनै पनि समाजले सभ्यताको दावा गर्न सक्दैन, सम्पन्नता र समानताको कुरा त टाढाका भए । कुनै रोगलाई ठीकसँग नबुझी उपचार हुन सक्दैैन । हाम्रो बाल्यकालमा गाउँमा उपचार गर्ने हकिम हुन्थे । डाक्टरी नपढीकनै अभ्यासको भरमा एलोपेथीमार्फत उपचार गरिरहेका हुन्थे, हकिम । ज्वरो आयो भनेपछि एकपछि अर्को उपचार विधि चलाउँदै गयो, औषधिकै कारण बिरामी मर्न पनि सक्थ्यो– यस्तै हुन्थ्यो, हकिमको उपचार । हामीले समस्याको जडमा नपुगी समाधानको प्रयास थाल्नु भनेको तिनै गाउँले हकिमको उपचारजस्तै हुनेछ ।
अम्बेडकरजस्ता गहन अध्येता पनि जातिप्रथाबारे अनेक प्रयास गरेर अनेक बिन्दुबाट थालेर अनेक निष्कर्षमा पुग्ने गर्छन् । सहकर्मीको अम्बेडकरप्रति कति धेरै हिन्दू धर्मका ग्रन्थ, पुराणमा घोरिएको भन्ने गुनासो रहने गथ्र्यो । उनका एन्नाहिलेसन अफ कास्ट (सन् १९३६), हु वेयर द सुद्रास ? (सन् १९४६), ह्विच वे टु इमान्सिपेसन ? (सन् १९३६), द अनटचेबल्स : हु ह्वेर दे आर ह्वाइ द विकम अलटचेबल्स (सन् १९४८) जस्ता विभिन्न प्रकारका पुस्तकमा पुराणदेखि यावत् हिन्दू ग्रन्थबारे विश्लेषण गरिएको भेटिन्छ । लेखक आहूति पनि ‘वर्णाश्रम र वर्ग संघर्ष’ पुस्तकमा द्वन्द्वात्मक भौतिकवादमै केन्द्रित हुनुहुन्छ । पुस्तकको भूमिकामा जातिप्रथाको खोज गर्दाखेरि एक समयमा भारतीय उपमहाद्वीपमा बडो सूक्ष्म किसिमको व्यावसायिक विविधीकरण भएकाले जाति व्यवस्था उत्पति भएको भन्नुहुन्छ ।
वर्णव्यवस्थाको अध्येताहरूका अनुसार प्रत्येक समाजमा वर्ग हुन्छ, वर्ण पनि । भारतीय उपमहाद्वीपको अभिशाप के भइदियो भने यहाँ वर्ण जातिमा परिवर्तन हुन्छ । मुख्य समस्यै यही हो । जातिप्रथाको उन्मूलनविना समाज साँच्चै प्रगतिशील हुँदैन । हामीलाई लाग्छ, अमेरिकामा त जातिप्रथा छैन । अथवा बेलायत, जर्मनी नै भन्नुस् । हाम्रो जमानामा एउटा फिल्म खुब चलेको थियो– लभ स्टोरी । अर्बपतिको छोराले सामान्य परिवारकी कन्यासँग प्रेम गर्छन् । विवाह गर्न मान्दैनन् । त्यस्तै, अमेरिकामा डोनाल्ड ट्रम्पकी छोरी अथवा बाराक ओबामाकै छोरीले सामान्यजनस“ग सामान्यतया विवाह गर्दैनन् । नेपालमै पनि मारवाडी समुदाय एउटै जाति हो, तर त्यहाँ अलिकति धन कमाउनेबित्तिक्कै उसले न्यून आय भएका अन्य सहजातीयभन्दा आफूलाई भिन्न ठान्न थालिहाल्छ ।
जात मिल्या छ । दुवै बाहुन हुन् वा दुवै क्षेत्री हुन् । दुवै दलित हुन् वा दुवै जनजाति हुन् । तर, तीमध्ये धनीले आफूलाई सजातीयमै बेग्लै व्यवहार गर्न थाल्छ । एउटै जातिमा मान्छे सम्पन्न हुँदै गएपछि उसले आफूलाई वर्गको रूपमा हेर्न थाल्छ । वर्ग जो छ, अलिकति प्रभाव पायो भने त्यसले जातिको रूपमा व्यवहार गर्न थाल्छ । यसैले विद्वान्हरू भन्छन्, ‘प्रत्येक वर्गले वर्ण हुने लक्ष्य राख्छ, वर्णले वर्ग हुने लक्ष्य राखेको हुन्छ ।’ समाजमा अलि विशिष्टता हासिल गर्नेबित्तिक्कै म विशेष अधिकार खोज्छु । यदि कोही लेखपढ गर्ने मान्छे छ भने ‘उहाँ पढ्नुहुन्छ, बत्ती बाल्न दिऔँ भनिन्छ । जेलमा हामी १०–२० जना सँगै बस्थ्यौँ । तर, लेखपढ गर्ने बहानामा मलाई अबेरसम्म बत्ती बाल्ने, पढ्ने छुट थियो ।
मानव समाजमा दुईवटा चाहना छ– समानताको चाहना र न्यायको चाहना । न्यायको पक्षधरले भन्छ, त्यसले पढेर हुन्छ ? मलाई निद्रा लाग्दैन, बत्ती निभा । अर्कोले भन्छ म पढ्दै छु । वर्ग र वर्णलाई न्याय र समानताको चाहनाको द्वन्द्वको रूपमा समाजशास्त्रीले हेर्छन् । हामीले यी दुईको द्वन्द्वात्मक सम्बन्धलाई हरदम ख्याल राख्नुपर्छ । मान्छे विशिष्ट क्षेत्रमा योगदान पाउनेबित्तिक्कै आफूलाई छुट्टै देख्न थाल्छ– चाहे ती सांसद हुन्, विद्वान् हुन् वा पत्रकार । ‘क’ श्रेणीको पत्रकारले आफूलाई ‘घ’ श्रेणीको पत्रकारभन्दा छुट्टै देख्न थालिहाल्छ ।
वर्ग र वर्ण इतिहासमा सधैँ द्वन्द्वरत छन् । समाजमा वर्ग संघर्ष मात्रै छैन– वर्ग छ र वर्ण पनि छ । वर्ग र वर्ण सतत लडिरहन्छन् । वर्ग वा वर्ण स्थिर भएपछि वर्णबाट वर्गमा जाने सम्भावना समाप्त हुन्छ । त्यसपछि जातीयताको निर्माण हुन्छ । वर्ण के कारणले स्थिर भयो भन्ने कुराको सन्तोषजनक जवाफ मैले पाएको छैन । अब जे कारणले भए पनि हाम्रो समाजमा जातिप्रथा छ, भेदभाव छ । भेदभावले गर्दा अनेक कमी–कमजोरी र विकृति छन् । दक्षिण एसिया क्षेत्र यसै यत्तिको पिछडिएको छैन । आहूतिले लेखेको पुस्तक घोत्लिएर पढेँ, त्यसमा चैतन्य मिश्रले लेखेको भूमिका पनि पढेँ ।
मिश्र १६औँ–१७औँ शताब्दीमा यो भूभाग युरोपका कुनै पनि शक्तिभन्दा उत्पादक शक्तिका हिसाबले र उत्पादक सम्बन्धका हिसाबले निम्सरो थिएन लेख्छन् । त्यसो भए किन यति सजिलै अंग्रेजले शासन गरे, फ्रेन्चले सजिलै हराउन सके वा किन पुर्तगाली हावी भए त ? सजिलो हिसाबले व्याख्या गर्ने हो भने उत्पादन शक्ति र सम्बन्धका कारण समाज बाह्य आक्रमणसामु हार्ने हो भने यो क्षेत्रलाई पराजित गर्ने बेलायत, फ्रान्स, पोर्चुगलभन्दा हामी न्युन उत्पादन क्षमतामा थिएनौँ ? यो क्षेत्र पछाडि पर्नुको कारणमा कुनै चिज छ भने जातिप्रथाको जकड हो । जातिप्रथा अभिशाप हो । स्थिर वर्ण व्यवस्था नै त्यो अभिशाप हो, जसले मुस्लिमको आक्रमणसामु वा अंग्रेजको आक्रमणसामु भारत बारम्बार हा-यो । पानीपतको युद्धमा भन्नुस् वा महाराणा प्रतापको शासनमा भन्नुस् सबैमा यसैले भूमिका खेलेको छ ।
प्रगतिशील भनौँदो दाजु पनि भाइ राति १२ बजे आए पनि पिर मान्दैन, बहिनी १० बजेसम्म नआए ‘कता गई, के गरी ?’ भनिरहेको हुन्छ । आमा–बुवामा पनि यही हुन्छ– बहिनी, छोरी, नातिनीले प्रेम गर्ली भन्ने होइन कि कुजातसँग प्रेम गर्ली भन्ने चिन्तामा हुन्छन् ।
अब जस्तै अयोग्य भए पनि युद्धको नेतृत्व क्षेत्रीको हातमा हुनुपर्ने । एउटा फुटबल टिम त बनाउने, तर त्यसमा सबै खेलाडी एउटा जात विशेषको राख्नुपर्ने भयो भने कसरी त्यो टिम राम्रो हुन सक्छ ? समाज विविधताले भरिएको छ, तर सेनाको नेतृत्व विशुद्ध क्षेत्रीको हुने गथ्र्यो । शूद्रलाई नजिक आउन पनि नदिने । ब्राह्मणको लास भुइँमा लडिरहेको छ भने पनि शूद्रले छुन हुन्थेन । छुँदा ब्राह्मणलाई नि पाप लाग्ने, दलितलाई पनि पाप लाग्ने मान्यता थियो । यो क्षेत्रमा भएका सबै युद्धलाई यस्ता कुराले प्रभावित गरेका छन् । एउटा घाइते सिपाही छटपटाउँदै पानी मागिरहेको हुन्छ, छेउमा एउटा दलितसँग पानी छ । अब दलितले भन्छ– तपाईंलाई पानी दिँदा मलाई पाप लाग्छ । अवस्था यस्तो थियो । सेना पनि जाति व्यवस्थाका कारण जर्जर थियो ।
हाम्रो समाजको अर्को सबैभन्दा खराबी, महिलालाई प्रतिबन्ध । एकदम प्रगतिशील भनौँदो दाजु पनि भाइ राति १२ बजे आए पनि पिर मान्दैन, बहिनी १० बजेसम्म नआए ‘कता गई, के गरी ?’ भनिरहेको हुन्छ । आमा–बुवामा पनि यही हुन्छ– बहिनी, छोरी, नातिनीले प्रेम गर्ली भन्ने होइन कि कुजातस“ग प्रेम गर्ली भन्ने चिन्तामा हुन्छन् । जात मिलेको छ, डाक्टर/इन्जिनियरसँग प्रेममा भए आपत्ति छैन । जुन कारणले जातिप्रथा जड भयो, त्यही कारणले नारी स्वतन्त्रता पनि जड भयो । युरोप, अमेरिकामा नारी अपेक्षाकृत स्वतन्त्र छन् । जातिप्रथाको जडता अपेक्षाकृत कम छ । जातिप्रथा हु“दै नभएको होइन, यहाँ जति कडा र क्रुर छैन । यो सबमा भूमिव्यवस्था पनि जोडिएको छ ।
राजनीतिक परिवर्तनपछि जग्गा खोस्ने, वितरण गर्ने आदि क्रान्तिकारी कुरा हुन्छन् । खासगरी मधेसमा वर्षौं होइन, पुस्तौँदेखि एउटै भूमिमा बसिरहेको दलितको नाममा पनि लालपुर्जा छैन । २०६२/०६३ को आन्दोलन सफल भएपछि प्रचण्ड र बाबुराम भट्टराई त माओवादीले कब्जा गरेको जग्गा फिर्ता होइन, वितरण गर्नुपर्छ भन्थे । कांग्रेसका गिरिजाप्रसाद कोइराला वा शेरबहादुर देउवालाई चाहिँ माओवादीले कब्जा गरेको जग्गा कसरी फिर्ता गराउने भन्ने पिर थियो ।
मैले पटक–पटक र प्रस्टसँग भनेको छु– जग्गा बाँड्ने र फिर्ता गर्ने कुरा पछि गर्दै गर्नुहोला, पहिला बसोवास गरेको ठाउँमा बसोवास गर्नेकै स्वामित्व कायम रहोस्, एउटा अध्यादेशमार्फत यति गर्दिनुस् । मेरो अनुरोध स्विकारिएको भए बहुसंख्यक दलित लाभान्वित हुन्थे । कम्तीमा आफू बसिरहेको जमिन तिनको हुन्थ्यो, तर नेताले गर्दिएनन् । दलित आन्दालनले उठाउनुपर्ने प्रमुख माग, जो दलित जहाँ बसिरहेको छ, अब त्यसमा १० वर्षदेखि बसिरहेको होस् अथवा ५० वर्षदेखि बसिरहेको हुन सक्छ– स्वामित्वका लागि आन्दोलन गरिनुपर्छ । कुनै दलको दायरामा बसेर होइन, सबै दलका दलित अझ दलबाहिरका दलितलाई पनि समेटिने गरी हुनुपर्छ । यो किन आवश्यक भने भोलिका दिनमा कुनै एउटा दलले यसलाई मतका लागि प्रयोग गर्न नसकोस् । मेरो एउटा चिन्ता यसमा छ ।
वर्ग र वर्ण इतिहासमा सधैँ द्वन्द्वरत छन् । समाजमा वर्गसंघर्ष मात्रै छैन– वर्ग छ र वर्ण पनि । वर्ग र वर्ण सतत लडिरहन्छन् । वर्ग वा वर्ण स्थिर भएपछि वर्णबाट वर्गमा जाने सम्भावना समाप्त हुन्छ । त्यसपछि जातीयताको निर्माण हुन्छ । वर्ण के कारणले स्थिर भयो भन्ने कुराको सन्तोषजनक जवाफ मैले पाएको छैन ।
दोस्रो शिक्षाका बारेमा भन्छु । अम्बेडकरले पनि यसबारेमा धेरै भनेका छन् । त्यस्तै, आहूतिजी वैचारिक क्षेत्रमा एक्लोजस्तो देखिनुहुन्छ । उहाँले यत्रो गर्नुभएको छ । आजको दिनमा नेपालको शिक्षाको कुरा गर्ने हो भने सरकारी स्कुल लगभग गाउँ–गाउँमा छन् । वडा–वडामै छन् । कुनै पनि सरकारी स्कुलमा किन पढाइ हुँदैन ? कुनै पनि हुने–खानेको छोराछोरी सम्पन्नका छोराछोरी सरकारी स्कुलमा पढ्दैनन् । किनकि त्यहाँ कहीँकतै जान नसक्ने दलित पढ्छन् । त्यो स्कुलको अवस्था सुधार नभइन्जेल दलितको अवस्था सुधार हुँदैन । दोस्रो बिन्दु यो हो । मलाई के लाग्छ भने दलितका बच्चाहरू पढ्छु भन्दाभन्दै घरको वातावरणले गर्दा पनि गाह्रो देखिन्छ । त्यसैले प्रत्येक स्कुलमा दलितको लागि छात्रावासको व्यवस्था गरिनुपर्छ ।
तेस्रो, चुनावको विषयमा भन्नुपर्नेछ, दलितले एउटा दलितवादी आन्दोलन र पार्टीको माध्यमबाट चुनावमा भाग लिनुपर्छ । जस्तो भारतमा मायावती र काशिरामले गरे । तर, यसरी बन्ने पार्टीले चुनावको समयमा बडो उदारतासाथ संयुक्त मोर्चा बनाउनुपर्छ । तिनले संयुक्त मोर्चा बनाउँदा जनजाति, मधेसी र अरू विभिन्न प्रकारका पीडित वर्ग र सबैभन्दा बढी महिलालाई समेटेर, यो आन्दालन तिमीहरूको पनि हो भनेर चिनाउन सक्नुपर्छ । चौथो, चुनाव प्रणालीमार्फत भइरहेको दलीयकरणको विषयमा बोल्छु, आफू नेपाली कांग्रेसबाट निर्वाचित सदस्य हुदाँहुदै पनि यसबारे मेलै बोल्नुपर्छ ।
समानुपातिकको नाममा हरेक दलले केही दलितलाई केही सिट दिन्छन् । त्यो दलित आन्दोलनका लागि सबैभन्दा घातक विषय भएको छ । यदि दलितलाई सिट दिने हो भने दलितले दलितका माझबाट डा. अम्बेडकरले गान्धीसँग मागे गरेजस्तै एउटा अलग ‘इलेक्टोरेट’को माग गर्नुपर्छ । सबै पार्टीका उम्मेदवार नेताको कृपा पात्र भएर सांसद हुन पाइने स्थिति हुँदा सधैँ गाउँमा बसिरहेका मेरै पार्टीका दलित नेताले गाउँ जान छाडेका छन् । त्यसैले दलितलाई प्रतिनिधित्व गराउने निर्वाचन प्रणालीलाई बदल्नुपर्नेछ ।
(दलित रीडर र मार्टिन चौतारीले संयुक्तरुपमा आयोजना गरेको दलित बहस शृंखलाको तेस्रो भागमा गिरिले दिएको मन्तव्यको सम्पादित अंश)
नयाँ पत्रिकाबाट साभार