breakingसमाचारविचार

महामारीको दीर्घकालीन नियन्त्रणका लागि बढीभन्दा बढी परीक्षण

कोभिड प्यान्डेमिक साप्ताहिक विश्लेषण

डा. प्रवीण श्रेष्ठजेठ ३०, २०७

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

कोरोना प्यान्डेमिकको बर्तमान लहरमा नेपाल र दक्षिण एसियामा मृत्यु निकै बढेको पाइयो। मृत्यु बढ्नुमा कोरोना संक्रमणको ठूलो भार र वर्तमान लहरमा देखिएका कोरोना संक्रमणका कालो ढुसी, कडा निमोनिया जस्ता समस्या आदि प्रमुख कारण हुन सक्दछन्। वास्तविक कोरोना मृत्यु अझै निकै धेरै हुन सक्दछ किनभने कोरोना परिक्षण नेगेटिभ आए पछि पनि मृत्यु हुनेको संख्या धेरै छ जुन सरकारी दर्तामा छुटेको पाइएको छ या त्यस्ता मृत्यु ब्यबहारिक कारणले गर्दा दर्ता नै गरिएन।

मृत्यु मात्रै धेरै हुनु र मृत्यु दर धेरै हुनु फरक कुरा हो। मृत्यु दर भन्नाले कति संक्रमितमा कति मरे भन्ने अर्थ लाग्दछ अर्थात् मृत्यु दर भनेको जम्मा संक्रमित मध्ये मृत्युको अनुपात हो। संक्रमण संख्यासंगै मृत्यु संख्या बढ्नु या घट्नु स्वाभाविकै हो तर मृत्यु दर घट्नु या बढ्नुमा कुनै विशेष कारण हुन सक्दछ, यो अध्ययनको विषय भित्र पर्दछ।

चित्र न. १ ले विश्व र दक्षिण एसियाको बिगत करीब डेढ महिनाको दैनिक मृत्यु दरको तुलनात्मक चित्र देखाएको छ। चित्रले एकातिर विश्व र दक्षिण एसियाको पछिल्लो समयको दैनिक मृत्यु दरको प्रबृत्ति देखाएको छ भने अर्कोतिर यी दुई समूहका मृत्यु दरको तुलना पनि देखाएको छ। चित्रमा देखाइए जस्तै विश्व र दक्षिण एसियामा दैनिक मृत्यु दर क्रमसः समानान्तररुपले बढ्दै गएको देखिन्छ। प्यान्डेमिकको सुरुवाती अवस्थामा दक्षिण एसियाको कोरोना मृत्यु दर विश्वको तुलनामा कम थियो अर्थात् त्यति बेला दक्षिण एसियाको दैनिक मृत्यु दर १% भन्दा कम थियो भने विश्वको करीब २%। पछिल्लो अवस्थामा वर्तमान लहर आएको बेला दक्षिण एसियाको मृत्यु दर क्रमसः बढ्दै गई विश्वको मृत्यु दरभन्दा उच्च हुन पुगी ३.५% नाघेको छ। दक्षिण एसियाका अधिकांश देशहरु कम बिकसित देश भएको हुनाले पनि स्वास्थ्य सेवाका कमी कमजोरीका कारण मृत्यु दर बढेको हुन सक्दछ। यसरी प्यान्डेमिक नियन्त्रणका उपायमा विश्वमा ठूलै प्रगति भइसकेता पनि मृत्यु दरमा क्रमिक वृद्धि हुँदै जानु दुखद कुरा हो भने दक्षिण एसियामा विश्वको तुलनामा मृत्यु दर झन् उच्च हुँदै जानु चिन्ता र अनुसन्धानको विषय भएको छ।

त्यस्तै चित्र न.२ ले दक्षिण एसियाली देशहरुको बिगत करीब दुई हप्ताको मृत्यु दरको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै देशहरुको मृत्यु दरको प्रबृत्ति फरक फरक छ। पछिल्लो समय पाकिस्तानको मृत्यु दर निकै उच्च देखिन्छ भने भारतको मृत्यु दर पनि उकालो लाग्ने क्रममा छ। अफघानिस्तान र श्रीलंकाको पनि त्यस्तै प्रबृत्ति देखिन्छ भने नेपालको मृत्यु दर उच्च भएता पनि स्थिर देखिन्छ। बंगलादेशको मृत्यु दर बिगतमा उच्च रहेता पनि पछिल्लो समय केही कम हुँदै आएको छ। तर समग्रमा दक्षिण एसियाली देशहरुको मृत्यु दर क्रमसः उकालो लागेकोनै प्रबृत्ति देखिन्छ।

प्यान्डेमिकको यस घडीमा दक्षिण एसियाको बिगत दुई हप्ताको समग्र दैनिक संक्रमण र दैनिक मृत्युको प्रबृत्ति चित्र न. ३ मा देखाइएको छ। चित्रमा देखाइए जस्तै दक्षिण एसियामा बिगत केही समयदेखि दैनिक संक्रमण र दैनिक मृत्यु घट्दै जाने क्रम जारी देखिन्छ। चित्रमा देखाइएजस्तै दक्षिण एसियाको दैनिक संक्रमण एक महिना अगाडि करीब ४३२००० भएकोमा हाल यो संख्या एक लाख जति भई क्रमसः घट्दै गएको छ। यद्यपि पछिल्लो हप्ता संक्रमण कम हुने दरमा केही कमी आई दैनिक संक्रमण केही स्थिर देखिन्छ। तर दैनिक मृत्युमा भने यस क्षेत्रमा खासै कमी आएको देखिन्दैन, उल्टो गतहप्ता केही बढ्न खोजेको देखियो। भारतको कोरोना सम्बन्धि तथ्यांकमाथि सर्बत्र संका उब्जिएको बेला जुन महिनाको ९ का दिन देखिएको मृत्युको संख्या हालसम्मकै भारतमा मात्रै नभई विश्वमै कुनै एक देशको सबैभन्दा उच्च एकै दिनको कोरोना मृत्यु हो। WHOका अनुसार भारतमा उक्त दिन जम्मा ६१४८ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। यसरी यस पटकको प्यान्डेमिकको नया लहरमा भारतले दैनिक संक्रमण र दैनिक मृत्युको विश्वकै नया किर्तिमान बनाएको छ। भारतमा मे ७ का दिन एकै दिन ४१४१८८ जना नया संक्रमण देखिएर दैनिक संक्रमणको किर्तिमान बनेको थियो। स्मरण राहोस् अमेरिकाको हालसम्मको एकै दिनको सबैभन्दा उच्च कोरोना संक्रमण यसै वर्षको सुरुवातीतिर करीब ३०५००० र मृत्यु ४४०० थियो भने ब्राजिलको एकै दिनको सबैभन्दा उच्च संक्रमण करीब ९७५०० र मृत्यु ३७०० थियो।

पछिल्लो समय संक्रमण संख्याको हिसाबले मात्रै होइन संक्रमण दर अर्थात् पोजिटिभिटीको हिसाबले पनि दक्षिण एसियाली देशहरुको कोरोना संक्रमणमा केही कमी आएको देखिन्छ। चित्र न. ४ले दक्षिण एसियाली देशहरुको गत दुई हप्ताको, जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत संक्रमण दरको प्रबृत्ति देखाएको छ। पछिल्लो समय नेपाल, भारत, माल्दिभ्स र पाकिस्तानको संक्रमण दर विस्तारै घट्दै गएको छ भने श्रीलंका र बंगलादेशको संक्रमण दर विस्तारै बढ्ने क्रम जारी देखिन्छ।

माथि उल्लेख गरिए जस्तै पछिल्लो अवस्थामा विश्व र दक्षिण एसियामा कोरोना संक्रमणमा केही कमी आइरहेको अवस्थामा विश्वको तुलनामा दक्षिण एसियाको संक्रमण अनुपातमा पनि केही हप्तादेखि कमी आएको छ। चित्र न. ५ मा विश्वको अनुपातमा दक्षिण एसियाको दैनिक नया संक्रमण र नया मृत्युको अनुपात देखाइएको छ। चित्रमा देखाइए जस्तै दुइ हप्ता अघिसम्म विश्वको करीब ४०% दैनिक नया कोरोना संक्रमण दक्षिण एसियामा देखिन्थ्यो भने पछिल्लो समय यो अनुपात २५% भन्दा तल झरेको छ। तर नयाँ मृत्युको हकमा दुइ हप्ता अघिसम्म विश्वको दैनिक कोरोना मृत्यु पनि करीब ४०% दक्षिण एसियामा देखिने गरेकोमा हाल पनि यो अनुपात ४०%कै हाराहारीमा रहनुले यस क्षेत्रमा कोरोना संक्रमणको प्रभाव अझै पनि पहिला जत्तिकै बाँकि छ भन्ने देखाउदछ। यद्यपि यसको मूल कारण अन्यत्रभन्दा भारतमा कोरोना मृत्यु नघट्नु नै हो।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा जुन १०का दिन सम्ममा ३१९०४८७५ जनामा यो संक्रमण लागिसकेको छ भने ४०७७५५ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, सन् सन् २०२१ जुन ६ देखि १२ (बि सं २०७८ जेष्ठ २३ देखि २९) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उतारचढ़ाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

दैनिक नया संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नया संक्रमितहरुको संख्या हो। गतहप्ता सन् सन् २०२१ जुन ६ देखि १२ (बि सं २०७८ जेष्ठ २३ देखि २९) जम्मा ७ दिनको नेपालभरिको दैनिक परिक्षण, नया संक्रमण र मृत्युको संख्या चित्र न. ६मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परिक्षणलाई मात्रै गन्ति गरिएको छ। यद्यपि हाल सरकारले पीसीआर कम गर्दै कोरोना एन्टिजेन टेस्ट बढाउंदै लागेको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, जेष्ठ २९ गते शनिबारसम्म, देशभरि जम्मा २१६७८  जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या ६०६७७८ पुगेको छ। बिगत करीब ८ हप्तादेखि गुणात्मक हिसाबले बढ्दै गएको नेपालको संक्रमण संख्या बिगत ३ हप्तादेखि केही कम हुँदै गई साप्ताहिक संक्रमण संख्या गतहप्ता ३१६७८ बाट २१६७८मा झरेको हो।

त्यसै गरी बिगत डेढ महिनाभन्दा लामो समयदेखि बढ्दै गएको कोरोना मृत्युमा पनि दुई हप्तादेखि केही कमी आएको छ र साप्ताहिक मृत्यु गतहप्ता ६३६बाट ५६७ पुगेको छ। यसरी कोरोना संक्रमण र कोरोना मृत्यु दुवै घट्दै आउनु सुखद समाचार हो।

चित्र न. ७ले नेपालको देशभरिको दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइए जस्तै गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा २५% देखिएको छ। दुई हप्ता अगाडि यो अनुपात ३२% थियो र बिगत केही हप्तादेखि यो अनुपात क्रमसः झर्दै गएको देखिन्छ। यसले के संकेत गर्दछ भने हाल नेपालमा संक्रमण काठमाडौँ उपत्यकाभन्दा काठमाडौँ बाहिर फैलिंदैछ। पछिल्लो समय कोरोना संक्रमण झापा, सुनसरी, मोरंग, कास्की, रुपन्देही, कैलाली आदि ठाउंहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate)

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परिक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउंदछ।

चित्र न. ८ले नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम २८.०%देखि अधिकतम ३२.०८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर २९% रह्यो। यसरी बिगत करीब डेढ महिनाभन्दा लामो समयदेखि निरन्तर उकालो लागेको नेपालको कोरोना संक्रमण दर अर्थात् पोजिटिभिटी बिगत केही हप्तादेखि कम हुँदै गएको छ।

संक्षेपमा माथिका तथ्यांकहरुबाट गतहप्ता दक्षिण एसिया, नेपाल र भारतमा प्यान्डेमिक लहर केही ओरालो लाग्दै गएको देखिन्छ जुन सुखद समाचार हो। कोरोना मृत्युमा पनि गतहप्तादेखि कमी आएता पनि संक्रमणको दाँजोमा मृत्युदर अझै पनि उच्च देखिन्छ। तर एक महिनाभन्दा लामो समयको कडा लकडाउन गर्दा पनि संक्रमण दर अझै २९% को हाराहारीमा हुनु चिन्ताको विषय हो। यदि यही दरमा संक्रमण दर कम हुँदै जाने हो भने पनि प्यान्डेमिक नियन्त्रणमा निकै लामो समय लाग्ने देखिन्छ। पछिल्लो समय परिक्षण पनि कम गरिंदै लगिएको छ। देशभरि दैनिक करीब ९०००-१२००० पीसीआर र करीब ५०००-६००० मात्रै एन्टिजेन परिक्षण गरिनु बर्तमान संक्रमण दरको अनुपातमा अति कम हो। WHOको मापदण्ड अनुसार नेपालमा अझै परिक्षण र कोरोना रोकथामका उपायहरु कम गर्ने बेला भइसकेको छैन। पछिल्लो समयमा काठमाडौँ बाहिर संक्रमण ज्यादा देखिनुले पनि थप परिक्षणको आवश्यकता औल्याउदछ र देशभरि उपयुक्त र दीर्घकालिन तरिकाले प्यान्डेमिक नियन्त्रण गर्नु पर्ने देखिन्छ ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउंछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

[email protected]

डा. श्रेष्ठ ग्वार्को ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन हुन्।

nema
Show More

Related Articles

Back to top button