विचारनेपाली कांग्रेस

चक्रव्यूहमा कांग्रेस : अब देउवाको विकल्प को ? सुदर्शन आचार्य

नेपाली कांग्रेस आज व्यक्तिविशेषको महत्वाकांक्षाको चक्रव्यूहमा फसेको छ । राणा पञ्चायत हुँदै गणतन्त्रसम्मको यात्रामा उच्च मनोवल भएको कांग्रेसमा आज नेतृत्वकै कारण मनोवलमा भारी गिरावट आएको छ । ५२ प्रतिशत भन्दा ज्यादा जनताको मतको जगमा निर्मित वामपन्थी सरकारको राजनीतिक वेगलाई रोक्ने ‘नीति’ र ‘निष्ठा’ दुवैमा असफल बन्दैछ कांग्रेस नेतृत्व ।
संघर्षको पर्याय रहँदै आएको कांग्रेसमा देखा परेको यो विचलनलाई सामान्य मान्न सकिन्न । लोकतन्त्रको राजनीतिमा मूल्य, पद्दति र नैतिक पक्ष सशक्त हुृन्छ । तिनको अभावमा प्रजातान्त्रिक पद्दति नै डग्मगाउन पुग्दछ । आज कांग्रेसभित्र भएको पनि त्यही हो ।
आफैंले लोकतन्त्रको पाठ सिकाएको भनेर नथाक्ने कांग्रेस एक्लिन पुगेको छ भने नेपालका वामपन्थीले ५२ प्रतिशतभन्दा ज्यादा मतका आधारमा सरकार निर्माण गरेका छन् ।
सरकार बन्नु, राजनीतिक दलको साइज निर्वाचनमा सानो ठूलो हुनु लोकतान्त्रिक पद्दति भए पनि राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा लोकतान्त्रिक छविको विरासत पाएको कांग्रेसबाट उक्त विरासत समेत गुम्दै गएको स्थितिलाई सामान्य मान्न सकिन्न ।
अंकगणितका हिसाबले पार्टीभित्र र पार्टीको संसदीय दलमा बहुमतमा रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘राम्रो गरेर देखाउन’ हिजोका मितिमा कसैले रोकेको थिएन । पार्टी र भातृसंस्था समेत लगभग सबै उहाँतिर नै थिए । तर, लोकतन्त्रका लागि ७० वर्ष लडेको कांग्रेसभित्र ५० वर्ष राजनीतिक फाँटमै बिताउनुभएका देउवासँग अब न त समय, न त कार्यकर्ताको विश्वास नै बाँकी रह्यो ।
असार ५, ६ र ७ गते हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलामा आफूपक्षीय सभापतिहरु मदन अमात्य, कमल पंगेनी लगायतले देउवातिर औँला ठड्याउँदै पार्टी सञ्चालनको तौरतरिकाप्रति कटाक्ष गर्न पुगे । टिकट ‘वितरण’ गरिएको नभएर ‘बिक्री’ गरियो भन्नेसम्मको संगीन आरोप आफ्नै सामुन्ने कार्यकर्ताभन्दा माथि उठिसकेका जिल्ला सभापतिहरुले लगाउँदा सभापति देउवाले आगामी राजनीतिक यात्राबाट ‘विश्राममै भलाइ’ देख्नु पर्दथ्यो ।
इरानका राजा मोहमद रेजा पलवीसँग जोडेर आफ्नै सामुन्ने जिल्ला सभापतिहरु प्रस्तुत हुँदासमेत सभापति देउवाले ठोस निर्णय लिन सक्नुभएन ।
पार्टी एक भएर सम्भावित अधिनायकवादको विपक्षमा उभिने बताउँदै आउनुभएका सभापति देउवाले संविधान मस्यौदा समितिका संयोजक, कांग्रेस सभापतिका प्रत्यासी तथा तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्न बनेको सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला र ऐतिहासिक जनआन्दोलनका कमाण्डर गणेशमान सिंहका उत्तराधिकारी तथा संसदीय दलमा आफ्नै प्रतिस्पर्धी प्रकाशमान सिंह, र आफ्नै समूहबाट महामन्त्रीका प्रत्यासी अर्जुननरसिंह केसीलाई मकवानपुर भेलामा बोल्नबाटै वञ्चित गराइदिनुभयो ।
पूर्वमहामन्त्रीद्वय र महामन्त्रीका प्रत्यासीलाई अभिव्यक्तिबाट रोकेर दिन खोजेको एकताको सन्देश कस्तो थियो होला ?
पार्टी र सरकार प्रमुख पदमा पुगिसक्नुभएका देउवाको इतिहास पार्टी र मुलुकका लागि आजका मितिसम्म प्रतिकूल नै देखिएको छ । पछिल्लो निर्वाचनको पराजय र पार्टीभित्र गहिरिँदै गएको विचलनलाई रोक्न अब देउवा वा रामचन्द्र पौडेलसँग आशा राख्नु उहाँहरुकै हकमा पनि अन्याय हुनेछ । किनकि उमेरले ८० को हाराहारीमा पुगेका नेताबाट आशा राख्नु भनेको स्वयम् उहाँहरुप्रतिको अवमूल्यन पनि हो । देउवा र पौडेल स्वयमबाट मुलुक र पार्टीका लागि थप योगदान हुने भए ‘पत्नी’ र ‘पुत्र’ मोह उहाँहरुमा पलाउने थिएन ।
कांग्रेसलाई यतिबेला ‘मेजर अप्रेसन’ गरेर सामुहिक नेतृत्वको अवधारणामा लैजाँदा मात्र हिजोका मितिमा गिरेको र गिराइएको साख फिर्ता हुन सक्दछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा वास्तवमा कांग्रेसको साख गिर्न पुगेको छ ।
कांग्रेस सभापति देउवा जब दलाई लामाका मन्त्रीले आयोजना गरेको कार्यक्रमको मुख्य वक्ता बनाइए, त्यहीबाट सुरु भयो कुटनीतिक विफलता । यता मुलुकभित्र जब निजी स्वार्थका लागि चितवन कांग्रेसका नेता दिनेश कोइरालाको मेयर पदको उम्मेदवारी केन्द्रबाट खारेज गरेर कांग्रेसको राजनीतिक निष्ठा प्रचण्ड पुत्री रेणु दाहालको पाउमा समर्पण गरियो । त्यहीँबाट कांग्रेसको निष्ठामा कालो दाग लाग्न पुग्यो । कांग्रेसका वैधानिक फोरमहरुमा यसको लेखाजोखा नगर्ने हो भने भोलिको युगको प्रतिनिधित्व आजको कांग्रेसले गर्ने सक्दैन ।
कांग्रेसका लागि आजको समय चुनौतीपूर्ण छ । र, यो चुनौतीपूर्ण समयले कांग्रेसभित्रबाट नेता समेत निर्माण गर्दछ । कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीजस्ता नेता र गगनकुमार थापा, गुरुराज घिमेरे, प्रदीप पौडेल जस्ता युवा नेताले समयको बेग बुझेर पार्टी सञ्चालनमा आफूलाई तयार गर्दा मात्र कांग्रेसको निष्ठा जोगिन्छ । मौजुदा यी नेताहरुले एक्लै दौडेर प्रथम हुने अभिष्ट देखाए त्यसको प्रत्यक्ष फाइदा पुग्ने फेरि पनि देउवालाई नै हो । जुन फुटाएर राज गर्ने रणनीतिमा देउवा पारङ्गत नै छन् ।
आज कांग्रेसका सामु दर्जन एजेण्डमा सरकारले दिइसक्यो । तर, ती एजेण्डामा कांग्रेस लगभग मौन छ । सरकारको नीति तथा कार्यक्रमका बारे किन बोलेन कांग्रेस ? गणतन्त्रको उपहासै हुने गरी दिइएको बालकृष्ण ढुंगेलको आम माफीमा किन बेखबर छ कांग्रेस ? मूल्यवृद्धिले आकाश छुँदासमेत किन छोएन कांग्रेसलाई ? विधि र प्रक्रिया बाहिर गएर गरिएको निर्माण व्यवसायीमाथिको कार्वाहीमा किन चुक्क बोल्दैन कांग्रेस ?
सञ्चार क्षेत्रमा देखाएको राज्यको अनुदार शैलीदेखि विप्लव समुहको क्रियाकलापसम्ममा कांग्रेसको दृष्टिकोण के हो ? प्रधानमन्त्रीको भारत र चीन भ्रमणमा भए गरेका सन्धि सम्झौतामा कति अपडेट छ कांग्रेस ?
यी र यस्ता प्रश्नका सेरेफेरोमा कांग्रेसको दिलचस्वी पुगेको देखिन्न । पुगेको छ भने केवल हिजोको मितिमा सत्तामा रहँदा भए गरेका अन्सीन कामको-हरहिसाब । तसर्थ नेतृत्वका प्रति कांग्रेसमै भविष्य खोज्ने नेता कार्यकर्ताले गम्भीरतापूर्वक प्रश्न उठाउने बेला ढिलो भैसक्यो । आजका मितिको सोच र शैलीको कांग्रेसमा सम्भावित भोलिको भयावहलाई रोक्ने नैतिक साहस पटक्कै देखिन्न ।
नुवाकोटका कांग्रेस सभापति जगदिश्वरनरसिंह केसी, धादिङका सभापति रमेश धमला, सभापति देउवाका गृहजिल्ला डँडेल्धुराका सभापति कर्ण मल्लदेखि कालिकोटका हर्षबहादुर बम लगायतले आँखामा आँखा जुधाएर ‘धृतराष्ट्र’ देखि पार्टीलाई बन्धकी राखेकोसम्म भन्दै ‘मूल्य’ र ‘मान्यता’ को राजनीतिक गर्न या त पद त्याग्न सिधै आग्रह गरे मकवानपुर भेलामा ।
सभापतिकै सामुन्ने गरिएको उक्त आग्रह वास्तवमै विचलन उन्मुख पार्टीलाई जोगाउने सन्दर्भमा व्यक्तिगत लोप नराखी गरिएको आग्रह थियो ।
सँगै टिकट वितरणका नामक जन्माइएको बिक्रीको बेथितिदेखि एकताका नाममा फरक विचार बोक्नेहरु माथि गरिएको व्यवहारको कटाक्ष पनि थियो त्यो । महासमिति बैठकको पूर्वसन्ध्यामा आफ्नो विरुद्धमा कुन स्केलमा आवाज उठ्छ भनेर परीक्षण गर्न बोलाइएको भेलामा सिन्धु कांग्रेसका सभापति विकास लामाले गाएको गीतले चर्चा मात्र पाएन, कांग्रेसभित्र भाला रोप्ने समूह र भालाका पीडा सहेर कांग्रेस जोगाउने समूह गरी दुई समूह रहेको प्रष्ट्यायो ।
गीतको शब्द थियो –
छातीभरि भाला रोपी दुख्यो किन सोध्छौ,
जरै काटी पिपलुको सुक्यो किन सोध्छौ ।
अन्त्यमा, पार्टीको आन्तरिक जीवनदेखि राष्ट्रिय मुद्दाहरुमा कृष्णप्रसाद सिटौलादेखि प्रकाशमान सिंह, गगनकुमार थापा हुँदै प्रदीप पौडेलसम्म क्लियर हुन जरुरी छ । देशैभरका कार्यकर्तामा सत्ताद्वारा मनोवैज्ञानिक असर पार्ने कामको सुरुवाती प्रारम्भ भैसकेको छ । उद्योगी व्यापारीदेखि पेशागत संगठनहरुका जारा वैधानिकदेखि अवैधानिक निकायबाट कमजोर बनाउने कार्य देखा परिसकेका छन् ।
जसबाट प्रत्यक्ष हानी पुग्ने कांग्रेस र लोकतन्त्रलाई नै हो । कांग्रेसभित्रको आवश्यकताको कसीमा अब देउवा होइन, सिटौला, सिंह, केसी, थापा पौडेल लगायत छन् ।
सक्रिय राजनीतिको अन्तिम चरणमा विगतका ‘भूल’हरुको दोष पखाल्ने अवसर देउवाले पाएकै थिए, तर त्यसको उपयोग गर्न सकेनन् ।
लोकतन्त्रको यर्याय बनेको कांग्रेसभित्र अहिलेको संकटले मुलुकलाई जोगाउन नेता खोजिरहेको छ । जुन नेताले सरकार र जंगलमा रहेको दुवै वामपन्थीको वेगलाई मुलुकको हितका खातिर सही ट्रयाकमा’ ल्याउने भूमिका खेल्न सकोस् ।
(आचार्य कांग्रेस कार्यकर्ता हुन्)

२०७५ असार १२ गते १५:३६ मा प्रकाशित

nema
Show More

Related Articles

Check Also
Close
Back to top button