अन्तर्वार्ता

‘पुस्तक बेचेरै वार्षिक दुई–चार लाख डलर कमाउने बाटो खुल्यो’ कृष्ण धरावासी भन्छन्, ‘प्रज्ञा प्रतिष्ठान दलको झोला बोक्ने लेखकको चमेना गृह’


कृष्ण धरावासी प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने लेखक हुन् । उनी कुनै पनि राजनीतिक दलसँग नजिक छैनन् तर उनको लेखन र नेपाली राजनीतिबीच केही रमाइला सन्दर्भ जोडिएका छन् । जस्तो, नेपालमा पञ्चायती शासन आएको वर्ष (२०१७) उनी जन्मे । पञ्चायतविरुद्धको पहिलो विद्यार्थी आन्दोलन (२०३६)मा उनी प्रत्यक्ष संलग्न भए । २०४६ सालमा पहिलो प्रजातान्त्रिक आन्दोलनको सफलतासँगै उनको पहिलो कृति ‘बालक हराएको सूचना’ प्रेसमा पुग्यो । २०४८ सालको निर्वाचनसँगै उक्त पुस्तक बाहिर आयो । नेपालको प्रजातान्त्रिक आन्दोलन परिपक्व हुँदै गर्दा उनी पनि लेखनमा प्रसिद्ध हुँदै गए । र, २०६२–६३ को गणतान्त्रिक आन्दोलनताका निस्केको ‘राधा’ उपन्यासले मदन पुरस्कार पायो । पहिलो जनआन्दोलनताका पनि उनले ‘महानन्द पुरस्कार’ पाएका थिए । उसो त उनले राष्ट्रिय प्रतिभा पुरस्कार, युवा मोती पुरस्कार र उत्तम–शान्ति पुरस्कार पनि प्राप्त गरेका छन् ।

लेखेरै बाँच्ने आधार बनाउने लेखकमध्ये कृष्ण धरावासी पहिलो पुस्ताका लेखक हुन् । कृषि विकास बैंकका अधिकृत हुँदा उनी महिनाको जति तलब बुझ्थे, पुस्तकको रोयल्टी पनि करिब उती नै बुझ्थे । यहि कारण समयअघि नै उनले पूर्णकालीन लेखक हुने इच्छा गर्दै बैंकको जागीरबाट स्वेच्छिक अवकास लिएका थिए । आज पनि लेखन समाजमा कसैले लेख्नकै लागि छँदाखाँदाको जागीर छाडे भने ‘धरावासी हुन खोजेको’ भनेर फुर्को जोड्ने गरिन्छ ।
अहिलेसम्म २८ वटा पुस्तक प्रकाशन गरिसकेका कृष्ण धरावासी ५ वर्षे अमेरिका बसाइपछि नेपाल फर्किएका छन् । अमेरिका बसेकै बेला ५ पुस्तकको प्रकाशन, ‘भोर’ चलचित्रको कथा र ‘राधा’ उपन्यासलाई अन्तर्राष्ट्रियकरण गरेका कारण धेरैले उनी नेपाल फर्कने विश्वास गरेका थिएनन् । तर आफू मात्रै होइन, श्रीमती मञ्जु विमलीको बैंक अकाउन्टसमेत बन्द गरेर नेपाल फर्किएको थाहा पाएपछि उनीप्रति हाम्रो चासो जाग्यो । 
प्रस्तुत छ, कृष्ण धरावासीसँग अनलाइनखबरका साहित्य संयोजक अश्विनी कोइरालाले गरेको अन्तरंग कुराकानीः
तपाईं नेपाल फर्कनुभएको रहेछ । कति समयका लागि फर्कनु भएको ?

अमेरिका बस्नुको पहिलो सर्त हो, बैंकमा अकाउन्ट खोल्नु । हामीले त भएको अकाउन्ट पनि बन्द गरेर आएका हौं । मैले नेपालबाट जाँदा नै ५ वर्ष अमेरिका बस्ने योजना बनाएको थिएँ । तर ५ वर्ष ३ दिन भएछ । तीन दिन बाटो खर्च भनेर चित्त बुझाएका छौं ।
‘राधा’ अमेरिकी प्रकाशन गृहले छापेपछि धेरै लेखकहरु नेपाली साहित्यका लागि बाटो खुल्यो भन्दै थिए । तपाईंले पनि फेसबुकमा ‘विश्वबजारका लागि राधाको प्रकाशन कोशेढुंगा हो’ भन्नु भएको थियो । तपाईं फर्केपछि त्यो अलपत्र भएन र ?
नेपाली पुस्तकलाई कुन स्तरको अनुवाद गराउने, कसरी प्रकाशन गृहसम्म पुग्ने, त्यसको व्यवस्थापन कसरी हुन्छ भन्ने कुराको पूरा ज्ञान ‘राधा’ले गराएको छ । यसअघि नेपाली पुस्तक अंग्रेजीमा अनुवाद पनि हुन्थ्यो र छापिन्थ्यो पनि । तर केही अपवादबाहेक अमेरिकी प्रकाशन गृहले छाप्ने गरेका थिएनन् । नेपालमै अनुवाद गरेर वा छापेर उता पुर्याइने गरेको रहेछ ।

विदेशमा सबैभन्दा बढी तलब शिक्षक, प्राध्यापक र लेखकले खान्छन् । किनभने उनीहरुलाई सरकारले बौद्धिक सम्पती मानेको छ । मैले अमेरिकामा कुनै पनि लेखक गरिब देखिनँ

खासमा हामीले उनीहरुसम्म पुग्ने बाटो पत्ता लगाएका रहेनछौं । मैले मेरा कुनै पुस्तक अंग्रेजीमा अनुवाद गर्ने सोच बनाउँदा सजिलै अमेरिकी बजारमा पुग्छु भन्ने सोचेको थिएँ । होइन रहेछ । पुस्तक प्रकाशनको आफ्नै नियम हुँदा रहेछन् । यो नबुझेकाले मैले निकै दुःख पाएँ । अब चिन्ता गर्नुपर्दैन, मैले अमेरिकी प्रकाशनसम्म कसरी पुग्ने, कसरी विश्वबजारसम्म पुग्ने भन्ने कुरा थाहा पाएको छु । यसले अरु पुस्तकका लागि बाटो खोलेको छ । यसका लागि म अमेरिका बस्नै पर्दैन । अहिलेको जमानामा जहाँ बसे पनि यसका लागि उचित सल्लाह दिन सकिन्छ ।
‘राधा’को अंग्रेजी संस्करणलाई त्यहाँका पाठकले कसरी लिएका छन् ? आर्थिकरुपमा यसले केही सकारात्मक संकेत देखाएको छ कि रहर मात्रै पूरा भयो ?

छापिनुअघि अनुवाद र सेल पब्लिकेसन्सका लागि मेरो झण्डै ५ लाख खर्च भयो । तर छापिइसकेपछि यसले राम्रै संकेत देखाएको छ । ३–३ महिनामा रोयल्टी दिने रहेछन् । पहिलो तीन महिनामा मैले एक हजार एक सय डलर बुझेको छु । यसको अर्थ हो, नेपाली १ लाख १५ हजार रुपैयाँ । यसलाई मैले राम्रै मानेको छु । यति पैसा मैले यता आफ्ना २८ पुस्तकबाट पाउँछु होला । किनभने नेपालीमा चल्ने भनेका मेरा दुई–चार पुस्तक मात्रै हुन् । राधाको अंग्रेजी संस्करण धेरैजसो अनलाइन भर्सनमा गएको छ । अनलाइन ब्यापारमा पहिलो तीन महिना भनेको केही पनि होइन । यो बढ्दै जाला भन्ने आशा राखेको छु ।
जहाँसम्म प्रतिक्रियाको कुरा छ, छाप्नुअघि नै मैले एकजना इरानी र चार जना अंग्रेजी भाषाका अन्त्यन्त विद्वान र साहित्यमा रुचि राख्ने व्यक्तिहरुलाई पढ्न दिएको थिएँ । उहाँहरुले अमेरिकन अंग्रेजी भाषामा अनुवाद भएकाले यसले राम्रो गर्छ भन्नु भएको थियो । छापिएपछि अन्तर्राष्ट्रिय समालोचकहरुको दुईवटा रिभ्यू आएका छन् । एकजना प्रोफेसरबाट सानो तर गज्जब प्रतिक्रिया पाएको छु । यसबाट म उत्साहित छु ।
‘राधा’ नेपाली साहित्यको उत्कृष्ट कृति भएकाले विश्वबजारमा जानु भएको हो ?
‘राधा’ले नेपाली साहित्यको प्रतिनिधित्व गर्छ, यो नै उत्कृष्ट भनेर गएको होइन । मैले त्यो दावी गर्न सुहाउँदैन । पाठकले मूल्यांकन गर्नुहोला । तर नेपाली साहित्यको राम्रो अनुवाद गरेर अमेरिकी प्रकाशन गृहसम्म पुग्ने हो भने नेपाली साहित्यले सानो समूहलाई भए पनि आकर्षित गर्नसक्छ भन्ने कुरामा म सुरुदेखि नै विश्वस्त थिएँ । अरुले नपढे पनि गैरआवासीय नेपालीका सन्तानहरुले यस्ता पुस्तक पढ्छन् भन्ने मेरो विश्वास थियो र छ । यसका लागि अरुको मुख ताक्नु हुँदैन, आफै लाग्नुपर्छ भनेर सानो पहल गरेको मात्रै हो । साथी सञ्जीव (साहित्यकार सञ्जीव उप्रेती) अंग्रेजीमा राम्रो भएकाले मलाई हिम्मत आएको थियो । उनी अंग्रेजी साहित्यका अध्यापक र साहित्यिक व्यक्तित्व भएकाले यो काम सजिलै हुन्छ भन्ने सोचेको थिएँ । उनले आफूभन्दा अनुभवी भन्दै अर्का युवा प्राध्यापक महेश पौडेललाई यो काम दिन अनुरोध गरे । उनले पनि गम्भीररुपमा सहयोग गरे । यसरी काम अघि बढेको हो । नभन्दै सुरुवात राम्रो भएको छ । यसलाई अघि बढाउनुपर्छ । सञ्जीवजस्तो साथी नभएको भए मैले यो हिम्मत गर्ने थिइनँ । अर्को कुरा महेशजस्तो कुशल अनुवादक नभएको भए पनि आजको अवस्था आउने थिएन ।
नेपालमा अंग्रेजी पाठकले मनपराउने खालका पुस्तक कति होलान् ? यसको बजार कहाँ देख्नु भएको छ ?

एकैपल्ट दुईवटा तर गम्भीर प्रश्न गर्नुभयो । पहिले बजारकै कुरा गर्छु ।
हामीलाई थाहै छ, नेपाल बाहिर ४० लाखको हाराहारीमा नेपालीहरु छन् । तीमध्ये १० लाखभन्दा बढी परिवारसहित बसोबास गर्छन् । ती सबै गैरआवासीय नेपालीका सन्तान नेपाली भाषा राम्ररी लेखपढ गर्न सक्दैनन् तर उनीहरुको हृदयमा नेपाल छ र नेपाली साहित्य पढ्न चाहन्छन् । यसरी अंग्रेजी भाषी नेपालीका एउटा परिवारले आफ्ना सन्तानका लागि एउटा पुस्तक मात्रै किन्ने हो भने पनि १० लाख पुस्तक बिक्री हुन्छ । के नेपालमा वार्षिक १० लाख पुस्तक बिक्री हुन्छन् ? मेरो विचारमा राधाले पुस्तक बेचेरै नेपालले दुई–चार लाख डलर आम्दानी गर्ने वातावरणको सिर्जना गरेको छ ।
अर्को कुरा, यूरोप र अमेरिकाका सयौं विश्वविद्यालयमा साउथ एसियन फ्याकल्टी छन् । ती फ्याकल्टीमा कति विद्यार्थी पढ्छन् भन्ने तथ्यांक त छैन तर हजारौं विद्यार्थी पढ्छन् । त्यहाँ लाखौं पुस्तक चाहिन्छन् । ती पुस्तकमध्ये ९९ प्रतिशत पुस्तक भारतीय लेखकले लेखेका छन् । साउथ एसियन भनेको भारत मात्रै होइन भन्ने त्यहाँका प्राध्यापकहरुले नबुझेका होइनन् तर पुस्तक अभावले उनीहरु भारतीय लेखककै भरमा फ्याकल्टी चलाइरहेका छन् । ती विश्वविद्यालयमा नेपालजस्तो विविध भाषा, संस्कृति र भूगोलका विषयमा एउटा पनि पुस्तक पुग्न सकेका छैनन् । केही होलान् तर अंग्रेजी लेखकले नेपालका विषयमा आफ्नै तरिरकाले लेखेका पुस्तक छन् ।
यसरी गैरआवासीय नेपालीका सन्तान र यूरोप–अमेरिकाका दक्षिण एसियाली विभागका विद्यार्थीहरुलाई मात्रै हाम्रा पुस्तक पुर्याउन सक्ने हो भने बजार प्रशस्त छन् । तर यसका लागि स्तरीय अनुवाद हुनुपर्याे । त्यसका लागि प्रज्ञा प्रतिष्ठान र नेपालका विश्वविद्यालयहरुसँग स्पष्ट योजना र भिजन हुनुपर्याे ।
अघिल्लो प्रश्नमा जाउँ । विदेशमा नेपाली साहित्यको यी नमूना पुस्तक हुन्, यिनीहरुले नेपालको साहित्यको भार थेग्न सक्छ भन्ने कति पुस्तक होलान् ?

धेरै कम छन् । ५० वटा पुस्तक भए भाग्य । किन ? भन्नुहोला । किनभने हामीसँग भएका राम्रा मनोविज्ञानका पुस्तक उनीहरुलाई यो हाम्रो पुस्तक भनेर देखाउन मिल्दैन । सिग्मन फ्रायड जन्मेकै डेढ सय वर्ष भैसक्यो । यो बीचमा उनीहरुले मनोविज्ञानका कस्ता पुस्तक निस्किए, हामी कल्पना गर्न सक्छौं । यस्तो बेलामा बीपी कोइरालाको उत्कृष्ट पुस्तकहरु समेत हामी उनीहरुलाई देखाउन सक्तैनौं । अरुका साहित्यकार त धेरै टाढाका कुरा । शैली–शिल्प–प्रस्तुतिमा उनीहरु धेरै अघि छन् र हामीले उनीहरुबाटै सिकेर बामे सरेका हौं भन्ने कुरा बिर्सन मिल्दैन । हामीले सक्ने भनेको नेपाली कला, संस्कृति र यहाँका घटनाहरुलाई यहीँ कै शैलीमा प्रस्तुत गर्ने हो । त्यस्ता पुस्तक कति छन् ? एकदमै थोरै । हिन्दु मिथोलोजी र ब्राह्मण संस्कृतिका विषयमा भारतीय लेखकहरुले धेरैअघि लेखेर विश्वबजारमा पुगिसकेका छन् । यता हामी धेरैजसो लेखकहरु अहिले पनि ब्राह्मण संस्कृति र हिन्दुबहुल छौं । त्यही कुरा लेखिरहेका छौं ।
हामीले दिनसक्ने भनेको तराईका भित्री कथाहरु, हिमालका शेर्पाहरु, पहाडका किराँत संस्कृतिका अनौठा पाटाहरु हुन् । तर यस्ता कुरामा हामीले कति कलम चलाएका छौं ? प्रतीक ढकालले लेख्नु भएको ‘हिमाल पारी’ पुस्तक अनुवाद भएको छ । त्यसले पनि राम्रो गरिरहेको छ । बाँकी सबै कामचलाउ छन् । कतिपय विषयलाई हामीले राजनीतिक चश्मा लगाएर लेखेका छौं ।
हामीले के लेख्यौं भन्ने खोज्न अन्त जानु पर्दैन, म आफ्नै उदाहरण दिनसक्छु । म झापामा ४० वर्ष बसेँ । मैले सतीप्रथाको कथा लेखेँ । पहाडबाट बसाइँ सरेको गाथा कहेँ तर त्यहीँका कोचे, मेचेका बारेमा, उनीहरुको दुःख र बसाइँको बारेमा ४० पेज पनि लेखेको रहेनछु । यो कुरा मलाई अमेरिका गएपछि बोध भयो । काठमाडौंको चिया पसलमा ‘हाम्रो मुनामदन अंग्रेजीमा भएको भए नोबेल पुरस्कार पाउँथ्यो’ भनेर गफ गर्नु एउटा कुरा हो । विश्व बजारमा कस्ता कुरा आइसकेका छन् भनेर बुझ्नु अर्को कुरा हो ।
भनेपछि अनुवाद हुनसक्ने हो भने पनि हामीसँग विश्वबजारमा गौरवका साथ देखाउने कृति नै छैनन् भन्ने बुझ्नु पर्याे ?

छैनन् भनेको होइन, कम छन् भन्ने अभिप्राय हो । तर भएका पनि विश्वबजारमा जान सकेका छैनन् ।
केही पुस्तक अनुवाद भइरहेका छन् । जस्तो राधा पनि अनुवाद भयो…

के ‘राधा’ नेपाली भाषाको मानक पुस्तक हो ? मैले अघि नै भनेँ, त्यो कसरी छापियो भन्ने कुरा । हामीसँग एउटा गतिलो पुस्तक भयो भने त्यसलाई त्यही स्तरमा अनुवाद गर्नसक्ने मान्छे छैनन् । किनभने हामीले त्यसतर्फ ध्यान नै दिएका छैनौं ।
कसले ध्यान दिएको छैन ?

विश्वविद्यालयले । प्रज्ञा प्रतिष्ठानले । सरकारले ।
कसो हुनुपर्दथ्यो ?

मेरो विचारमा विश्वविद्यालयमा एउटा अनुवाद विभाग हुनुपर्दछ । उक्त विभागले अनुवाद साहित्य पढ्ने–पढाउने । अनुवाद गर्ने कला सिकाउने । विश्वका उत्कृष्ट पुस्तक कसरी अनुवाद हुन्छन्, सिक्ने सिकाउने र उत्कृष्ट जनशक्ति उत्पादन गर्नुपर्छ । यस्ता व्यक्तिले बजारमा सजिलै रोजगारी पाउँछन् भन्ने कुरा अनुवादकको अभाव भएका कारण म पनि भन्न सक्छु । हामीले कुरा त धेरै गर्यौं तर विश्वस्तरका पुस्तक र ती पुस्तक अनुवाद गरेर विश्वबजारमा पढाउने सानो पहल पनि गर्न सकेका छैनौं ।
खासमा देश हुनका लागि साहित्य र कला पनि माथि हुनुपर्छ । यस अर्थमा हामी देश हुनै सकेका छैनौं ।
किन यसो भएको होला ?
किनभने सरकारले हामीलाई राष्ट्रिय सम्पत्ति मानेको छैन । तपाईंलाई थाहै होला, राष्ट्रिय उद्योगलाई सरकारले कर मिनाह गर्छ । विभिन्न किसिमका सुविधा दिन्छ र उत्पादन गर्न प्रोत्साहन गर्छ । कृषिका लागि बैंकमा सहुलियत दरमा ऋण दिन्छ । बिउ बिजन र मलमा उनुदान दिन्छ । किनभने त्यो राष्ट्रिय महत्वको कुरा हो । तर कुन लेखकलाई सरकारले यस किसिमको प्रोत्साहन र अनुदान दिएको छ ? उनीहरुको उत्पादनले पेट भरिँदैन तर धेरैको मस्तिष्कको भोक मरेको छ भन्ने कुरा सरकारलाई थाहै छैन । किनभने कानुन बनाउने ठाउँमा ढुंगा हान्ने र बन्दुक बोक्ने मानिस पुगेका छन् । उनीहरुलाई मस्तिष्कलाई खुराक दिने मानिस किसान झैं श्रम गरिरहेको छ भन्ने थाहै छैन ।

प्रज्ञा प्रतिष्ठान पार्टीको झोला बोकेर निर्वाचनमा सहयोग गरेका व्यक्तिहरुका लागि खोलिएको संस्था हो । म जस्तो मानिसलाई त्यहाँ लैजान्छन् भन्नु नै मूर्खतापूर्ण कुरा हो

म वार्षिक रुपमा पुस्तक बिक्रीबाट पाएको पैसामध्ये १५ प्रतिशत कर तिर्छु । एउटा लेखकले दिमागको नसा फुलाएर लेख्छ । कति रात नसुती एउटा पुस्तक तयार गर्छ र बिक्री भएको पुस्तकमा कर तिर्छ । वर्षको अन्त्यमा मैले तिरेको कर मलाई नै फिर्ता दिने हो भने मलाई कति गौरव लाग्दो हो ? मैले थाहा पाएअनुसार कतिपय बेस्ट सेलर लेखकले सरकारलाई कर तिरेका छैनन् । किनभने लेखकले कर तिरे पनि, नतिरे पनि उनीहरुलाई सरकारले वास्ता गरेको छैन । जुन दिन कर तिर्ने लेखकलाई सरकारले सम्बोधन गर्न थाल्छ, सबै लेखकले कर तिर्न थाल्छन् । यति कुरा पनि उनीहरुले बुझेका छैनन् । हामी अन्तर्राष्ट्रिय रुपमा उभिन पनि सरकारले लेखनको वातावरण मिलाउन यस्ता प्रोत्साहन प्याकेज बनाउनु पर्छ ।
प्रज्ञा प्रतिष्ठानलाई केही करोड दिएर पुग्दैन । खासमा प्रज्ञा प्रतिष्ठान भनेको दलको झोला बोक्ने लेखकको चमेना गृह नै त हो । परिणाम ल्याउन ठोस काम गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय ‘प्राक्टिस’ के रहेछ ? विकसित देशका लेखकहरुले राम्रो लेख्नसक्नुको कारण के होला ?

विदेशमा सबैभन्दा बढी तलब शिक्षक–प्राध्यापक र लेखकले खान्छन् । किनभने उनीहरुलाई सरकारले बौद्धिक सम्पत्ति मानेको छ । मैले अमेरिकामा कुनै पनि लेखक गरिब देखिनँ । उनीहरुलाई भेट्न नै हम्मेहम्मे पर्छ । यहाँजस्तो चियापसलमा सजिलै कवि–लेखक भेटिँदैनन् । यसको कारण के भने उनीहरुलाई सरकारले विभिन्न प्रोजेक्टका काम दिएको हुन्छ । एकपल्ट हामी चार जना लेखक जर्मनी गएका थियौं । त्यहाँ नगरपालिकाले लेखकलाई प्रपोजल लेखेर पुस्तक लेख्न लगाउँदोरहेछ । त्यस्तो पुस्तक लेख्ने लेखकलाई एकान्तमा बस्ने घर, खानपीन र वर्षको अन्त्यमा पुस्तक लेखेबापत आकर्षक रकम दिँदो रहेछ । पुस्तक प्रकाशनपछि रोयल्टी पनि दिइँदो रहेछ । नोबेल पुरस्कार विजेता लेखकसमेत टाउन राइटर भएर बस्नुमा गौरव मान्दा रहेछन् ।
एकपटक लेखक भएर सार्वजनिक पहिचान भएको व्यक्तिले चाहेको विषयमा आनन्दले लेख्न र सरकारी निकायबाट त्यसको उचित पारिश्रमिक पाउँदो रहेछ । यही कारण त्यहाँका पुस्तक राष्ट्रिय भावनाले ओतप्रोत छन् । ती पुस्तक पढेर जनता पनि राष्ट्रिय भावनाले ओतप्रोत हुन्छन् । उनीहरु नयाँनयाँ प्रयोग गर्छन् । नेपालमा त्यस किसिमको अवसर दिन सकिँदैन र ? तर बन्दुक बोकेका र ढुंगा हानेका व्यक्तिबाट यस किसिमको सोच आउँछ भन्ने लाग्दैन ।
नेपालमा गरिबलार्ई दुई छाक खान गाह्रो छ । लेखकलाई यस्तो सुविधा कसरी दिन सकिन्छ र ?

मुख्य कुरा योजना हो । उदाहरणका लागि कृषि विकास बैंक र टेलिकमजस्ता सरकारी संस्थाले वार्षिक अर्बौं कर तिर्छन् । त्यो रकममध्ये केही करोड रुपैयाँ छुट दिएर त्यो पैसा लेखक कविलाई देश दौडाहामा पठाउने र त्यसको खर्च ती संस्थाले उठाउनेवित्तिकै गाउँगाउँबाट कति राम्रा कुरा आउँथ्यो होला । आज त एउटा कवि कोठामा बसेर गजल लेख्न विवश छ । काठमाडौंको महंगी लेख्न विवश छ । गाउँका कथा उसको आँखामै पर्दैन । किनभने ऊ आफ्नै समस्याले किचिएको छ । अरुको कथा कसरी देख्छ, त्यसले उसलाई कसरी द्रवित बनाउँछ ?
तपाईं नेपाल आउनु भएको छ । नेपालमै बसेर केही गर्ने योजना छ कि फेरि दिक्क भएर अमेरिका फर्कनुहुन्छ ?

घुम्न जानु एउटा कुरा हो । बस्नेगरी हामी दुवैजना उता जान्नौं । मैले अमेरिका बसेर पनि लेखपढ बाहेक केही गरिनँ । पाँच वर्ष बस्दा पाँच पुस्तक लेखें । यहाँ पनि त्यही गर्छु । अझै पनि नेपाली साहित्यमा केही गर्न सकिन्छ कि भन्ने लागेको छ ।
के प्रज्ञा प्रतिष्ठानमा जान लाग्नु भएको हो ?

म प्रजातान्त्रिक आन्दोलनमा लागेको मानिस हुँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यक्तिगत सम्बन्ध छ । तर अहिले कम्युनिस्ट सरकार छ । नेपालमा राजनीतिसँग नजिक भएका साहित्यकारका संस्थाहरु छन् । ती संस्थामा पार्टीको झोला बोकेर निर्वाचनमा सहयोग गरेका व्यक्तिहरु छन् । प्रज्ञा प्रतिष्ठान उनीहरुका लागि खोलिएको संस्था हो । मजस्तो मानिसलाई त्यहाँ लैजान्छन् भन्नु नै मूर्खतापूर्ण कुरा हो । मजस्तो मानिस ‘म प्रज्ञा प्रतिष्ठानका लागि उपयुक्त पात्र हुँ’ भन्दै धाउँदै कोही पुग्दैन । त्यसकारण यो कुरा असम्भव हो ।
यद्यपि कसैले तपाईंले ‘यो काम गरिदिनु पर्यो’ भन्छ भने सकेको काम गर्नु हाम्रो कर्तव्य हो । मेरो विचारमा बजारमा आम मानिसले राम्रा भनेका साहित्यकारलाई नै प्रज्ञा प्रतिष्ठानमा लैजानुपर्छ । बजारले नचिनेका मानिसलाई होइन ।
 

२०७५ जेठ २६ गते ९:११ मा प्रकाशित
साभार अनलाइनखबर

nema
Show More

Related Articles

Back to top button