breakingअन्तर्वार्तासाहित्य

बीपीको साहित्यमाथि अन्याय भएको छ ‘खासमा बीपी साहित्यकार नै हुन्’

डा. ज्ञानु पाण्डेसँग तीनवटा ‘प्र’ का विशेषण जोडिन थालेका छन् । अर्थात् प्राध्यापक पाण्डे, प्राज्ञ पाण्डे र बीपीकी स्वघोषित प्रेमिका पाण्डे । महिला समालोचकका रुपमा नाम कमाएकी पाण्डेले ‘विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासमा अस्तित्ववाद’ विषयमा विद्यावारिधि गरेकी छन् ।
पाण्डे त्रिभुवन विश्वविद्यालय नेपाली विभागकी प्राध्यापक हुन् । हाल उनी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञका रुपमा समालोचना विभाग सम्हालिरहेकी छन् ।
साहित्यकार पोषण पाण्डेकी छोरी भएका कारण पनि उनलाई साहित्यमा स्थापित हुन सजिलो भयो । त्यति मात्र होइन, पोषण पाण्डेले नै ज्ञानुलाई बीपीका विषयमा विद्यावारिधि गर्न उक्साएकाथिए । पोषण पाण्डे तिनै साहित्यकार हुन्, जसले बीपीका यौनमनोवैज्ञानिक कथालाई अघि बढाएर ‘भिनाजुको स्विटर’ र अन्य दर्जनौँकथा लेखेका थिए ।
साउन ६ गते नेपालभरि नै बीपी कोइरालाको स्मृति दिवस मनाउने गरिन्छ । यसपटक पनि मनाइँदैछ । नेपाली कांग्रेसका तर्फबाट मनाइने ती स्मृति दिवसमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चा भने निकै कम हुने गरेको छ ।
तर, ज्ञानु पाण्डे यस्ती महिला हुन्, जसले राजनीतिका बीपीभन्दा साहित्यकार विश्वेश्वरप्रसादलाई बढी महत्व दिनुपर्ने ठान्छिन् । यही कारण उनलाई विश्वेश्वरकी साहित्यिक प्रेमिका पनि भन्ने गरिन्छ ।
श्रीहर्ष कोइराला अध्यक्ष रहेको बीपी ट्रस्टकी उनी सदस्य हुन् । उनका चार पुस्तक प्रकाशित छन् । बीपी स्मृति दिवस पारेर अनलाइनखबरका अश्विनी कोइरालाले ज्ञानुसँग बीपीका साहित्यिक आयामबारे कुरा गरेका थिए ।
साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालाई कतिपटक भेट्नु भयो ?
प्रत्येक दिन । हो, जुन दिनदेखि विश्वेश्वरप्रसाद कोइरालाका साहित्य पढ्न थालेँ, त्यसयता उनलाई प्रत्येक दिन भेटिरहन्छु । जब मेरो नामअघि कसैले डाक्टरको फुर्को जोड्छ, मलाई उनकै याद आउँछ । बीपी भनेको विचार हो । उनकै कृतिमाथि विद्यावारिधि गरेका कारण यो स्वाभाविक पनि हो ।

कांग्रेस र कम्युनिस्टको लडाईंमा बीपीका साहित्य पनि परे । एक समय यस्तो आयो, जसरी हुन्छ, विश्वेश्वरप्रसाद कोइरालाका कृतिमा दोष देखाउने

अनि बीपी कोइरालालाई कतिपटक भेट्नुभयो ?
एकपटक पनि भेटेकी छैन । जुन बेला उहाँ अन्तिमपटक काठमाडौं आउनु भयो, म पद्मकन्या क्याम्पसमा स्नातकोत्तर गर्दैथिएँ । त्यतिखेर लजाउने उमेर पनि थियो होला, अघि  पर्नै सकिनँ ।
त्यसोभए तपाईंलाई बीपीकी प्रेमिका किन भनियो ?
बीपीकी प्रेमिका नै भनेको सुनेकी छैन । कलेजतिर साहित्य पढाउने शिक्षकहरुले मेरो विश्वेश्वरप्रसादप्रतिको प्रेम देखेर जिस्क्याउने गर्नुहुन्थ्यो । हिजोआज पनि शिक्षकहरुले आफ्ना विद्यार्थीलाई बीपी पढ्ने भए ज्ञानु जस्तै पढ्नू भन्नुुहुन्छ रे ! कतिपयले बीपीकी साहित्यिक मानसपुत्री पनि भन्छन् भन्ने सुनेकी छु ।
त्यस्तो भन्दा कस्तो लाग्छ ?
एकजना महान् व्यक्तिको नामसँग जोडिन पाउँदा खुसी लाग्छ ।
तर, विश्वेश्वरप्रसाद कोइरालाले नेपाली समाजलाई सस्तो यौनवादी साहित्य दिए भन्ने गरिन्छ नि !
तपाईंले त्यो बेलाको कुरा गर्नुभयो, जब पञ्चायती शासनमा राजनीतिज्ञ बीपी कोइरालाको मानमर्दन गर्नु शासकहरुको बाध्यता थियो । पञ्चायती व्यवस्थाका सबैभन्दा ठूला सत्रुलाई महान् साहित्यकारको उपाधि दिनसक्ने समय थिएन । तापनि बीपीका कृति कति आवश्यक र गम्भीर थिए भने पञ्चायतकालमा पनि विश्वेश्वरप्रसाद कोइरालाको नाममा उनका पुस्तक स्कुल–कलेजमा पढाइ हुन्थे ।
बीपी साहित्यमा यस्ता व्यक्ति बन्न पुगे, जब आधुनिक नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको आदर्शोन्मुख यथार्थवाद हाबी थियो । यस्तो बेलामा मानिसका मनोजगतमा कस्ता कुरा खेल्छन् भन्ने कुरा बीपीका साहित्यमार्फत् बाहिर आए । मानिस यौनबाट पृथक छैन भन्ने कुरा नेपाली साहित्यमा पहिलोपटक स्थापित भयो । पञ्चयतभन्दा पृथक मानिसले बीपीलाई त्यो स्तरको आरोप लगाउन सक्तैन ।
डा. गोविन्द भट्टजस्तो चर्चित समालोचकले विश्वेश्वरप्रसाद कोइरालाको कृतिमाथि औंला उठाउनुभएको छ । सानो उदाहरणः ‘तीनघुम्ती कि छाडावादलाई प्रश्रय ?’ एउटा समालोचनाको शीर्षक नै यस्तो छ । के भन्नुहुन्छ ?
गोविन्द भट्ट त्यो बेलाका प्रगतिवादी साहित्यकार थिए । त्यो बेला कांग्रेस र कम्युनिस्टको लडाईंमा बीपीका साहित्य पनि परे । एक समय यस्तो आयो, जसरी हुन्छ, विश्वेश्वरप्रसाद कोइरालाका कृतिमा दोष देखाउने किनभने हरेक दिन बीपीका कृति लोकप्रिय हुन थाले । कथा लेखे कथा नै हिट, उपन्यास लेखे उपन्यास नै हिट । यता राजनीतिमा त बीपी सत्ताकै सत्रु थिए । त्यसैले यस्ता विरोध हुनु स्वाभाविक नै थियो ।
गोविन्द भट्टले पारिजातको ‘शिरिषको फूल’लाई कागजको फूल भनेर लेखेका छन् । त्यतिमात्र होइन, पारिताजका पछिल्ला कृतिलाई उत्कृष्ट मानेका छन् । यसो गर्नुको कारण के थियो भने पारिजात पछिल्लो समयमा कम्युनिस्ट दर्शनबाट प्रभावित भएकी थिइन् तर आज पारिजातबाट ‘शिरीषको फूल’ हटाइदिनुहोस्, पारिजात बाँकी नै रहन्नन् । नेपाली साहित्यकारमाथि कसरी राजनीति हाबी हुन्छ भन्ने यी दुई उदाहरण नै काफी छ ।
भनेपछि बीपी देवताजस्तै महान्हुनुहुन्थ्यो ?
होइन, मान्छे जस्तै । कमी–कमजोरीसहितको मान्छे । उहाँले मान्छे जस्तो छ, साहित्यमा ठीक त्यस्तै उतार्नुभयो । मानिस कामुक छ । मानिस मनबाट सञ्चालित छ । मानिस नियतिको दास हो । र, मानिस आफू जे छ, अरुको कारण होइन, आफ्नै कारण हो । त्यसकारण आफू बन्न आफैँ सक्षम हुनुपर्छ र लगातार प्रयास गर्नुपर्छ । यो उहाँको दर्शन हो ।
खासमा म बीपीप्रति आकर्षित भएको कारण पनि यही नै थियो । कलेज पढ्दा शिक्षक र समालोचकले बीपीलाई छाडावादी र यौनवादीको आरोप लगाउँथे । सुरुमा पढ्दा त्यस्तै लाग्थ्यो तर गम्भीर अध्ययन गर्दै जाँदा मैले त बीपीका जस्ता साहित्य त कसैले लेखेको छैन भन्ने महसुस गर्न थालेँ । जति पढ्दै गएँ, व्यक्ति स्वतन्त्रतालाई ठूलो महत्व दिएको पाउन थालेँ । महिला स्वतन्त्रता, यौन स्वतन्त्रता र आत्मिक स्वतन्त्रता ।
अघि तीन घुम्तीको कुरा उठिहाल्यो, त्यो उपन्यासमा इन्द्रमायाले आफ्नो लोग्ने पीताम्बर जेल गएको बखत रमेशसँग यौनसम्बन्ध राख्छे । छोरा पाउँछे र हाकाहाकी लोग्नेलाई भन्छे, ‘मेरो शरीरमा मेरो अधिकार छ ।’ झट्ट हेर्दा यो छाडा नै लाग्छ तर त्यसभित्रको गाम्भीर्य हेर्नुस्, त्यसले दिने व्यक्ति स्वतन्त्रताको अर्थ बुझ्नुस् । खासमा महिलालाई पनि यौनको आवश्यकता पर्छ । लोग्ने आफ्नो रहरले राजनीति गर्छ र जेल जान्छ भन्दैमा इन्द्रमायाले आफ्नो यौनआकांक्षा पिल्स्याएर राख्नुपर्छ भन्ने छैन ।
मानिसले भन्छन्, रमेशले इन्द्रमायालाई फकायो, फसायो । म भन्छु, इन्द्रमायाले रमेशको भोग गरी, आफ्नो आवश्यकता पूरा गरी । सन्तान पाउन सक्तिन कि भन्ने जुन डर थियो, त्यसलाई पनि उसले रमेशमार्फत पूरा गरी । बीपी बुझ्न सामान्य पाठक भएर पुग्दैन ।
साहित्यकारका रुपमा बीपीले जे दिन सक्थेँ, यौनमै अल्झेर धेरै दिन सकेनन् भन्ने लाग्दैन ?
नौ रसमध्ये यौन पनि एक रस हो । साहित्यकारहरुले व्यवस्थितरुपमा लेखेर त्यसबाट आफू पनि तृप्त हुन्छन् र पढ्ने पाठकलाई पनि तृप्ति दिन्छन् । यो मैले भनेको होइन, स्वयं फ्रायडले भनेका हुन् । बीपीले परस्त्री गमन गरेको कुरा जेल जर्नलमा खुलस्त गरेका छन् । अर्थात् उनले आफूलाई ढाँटेका छैनन् । बीपीको सबैभन्दा ठूलो आँट यही हो । यस्तो आँट त्यो स्तरको मानिसले मात्रै गर्न सक्छ । तर बीपीका साहित्यमाथि अन्याय भएको छ । खासमा बीपीले साहित्यमार्फत् जे दिन खोजेका थिए, त्यो अझै हामीले बुझ्न सकेका छैनौं ।
बीपीले साहित्यमार्फत् दिएको मुख्य सन्देश के हो भन्ने लाग्छ ?
 

पहिलो सन्देशः ठूला मानिस थरिथरिका हुन्छन्, असल मानिस एकथरि मात्रै हुन्छन् । ठूलो भनेको असल हुनु हो । त्यसैले मानिसले ठूलो बन्नेतिर होइन, असल बन्नेतिर लाग्नुपर्छ ।
दोस्रो सन्देशः मानिसको जीवनमा नियतिको ठूलो हात हुन्छ । त्यसमा उहाँले एउटा उदाहरण दिनु भएको छ । एउटा किसानले मंसिरको सपना देखेर बर्खायाममा बिऊ रोप्छ । धान रोप्छ । लहलह बाली लाग्न थाल्दा भकारी भरिएको सपना देख्छ तर धान काटुनु केहीअघि अचानक ठूलो हावा–पानी आएर खेतभरि पानी भरिन्छ । बाली नष्ट हुन्छ । योबेला किसानलाई दुःख लाग्छ, रातभर पीडामा निदाउन सक्तैन । यस्तो पीडाका कारण अर्को वर्ष उसले खेती गर्न छाड्छ त ?अर्को वर्ष फेरि बाली भित्राउन ऊधान रोप्न थाल्छ । जीवन भनेकै यही हो ।
तेस्रो सन्देशः राजनीतिमा म समाजवादी हुँ, तर साहित्यमा आराजकतावादी हुँ । साहित्य यसकारण महत्वपूर्ण छ, राजनीतिमा लाग्दा नियम, कानुन र जनभावनाको कदर गर्नुपर्छ । यो अप्ठ्यारो बाटो हो । लामो बाटो पनि हो । यसका लागि ठूलो साहस र तपस्या चाहिन्छ तर साहित्यमा मानिस खुला हुन सक्छ । आफू जस्तो हो, साहित्यमा त्यस्तै उतार्न सक्छ । यसका लागि उसले समाज, कानुन र सरकारको मुख ताक्नु पर्दैन । आफूलाई उतारे पुग्छ ।
चौथो सन्देशः हरेक व्यक्ति आफ्नो न्यायाधीश हो । आफ्नो जीवनलाई कस्तो बनाउने भन्ने निर्णय उसको आफ्नै हो । आफू जस्तो छ, त्यस्तो हुनुमा कसैले पनि अरुलाई दोष दिन मिल्दैन ।
पाँचौँ सन्देशः केही नरोज्नु पनि नरोज्नुलाई रोज्नु हो । अर्थात् तिमी जे गर्दैनौ, त्यो पनि तिम्रो निर्णय हो ।
छैंठौ सन्देशः नेपाली समाजमा नारी मात्र पीडित छैनन्, पुरुष पनि पीडित छन् । नारी परम्पराका कारण पीडित छन् । पुरुष पुरुषत्व देखाउनु पर्ने कारणले पीडित छन् ।
बीपी तत्कालीन अवस्थामा प्रमुख राजनीतिक नेता थिए । यसले गर्दा उनको साहित्यलाई कस्तो असर गर्यो ? बीपीको व्यक्तित्व उनका साहित्यका लागि बरदान भयो कि अभिशाप?
बरदान पनि भएको छ र अभिशाप पनि । अभिशाप यसकारण कि एकथरिले उनलाई देवता बनाउने प्रयास गरे । विशेषगरी नेपाली कांग्रेसका कार्यकर्ताहरुले उनको कृतिलाई उच्च मूल्यांकन गरे । तर त्यसभित्रका गुदी कुरा लिने प्रयास गरेनन् ।
अर्कोतर्फ उनका विरोधीले उनका कृति पढ्दै नपढी त्यसको बिरोध गरे तर जे गरे पनि नेपाली साहित्यमा बीपीको उपस्थितिले फाइदा भएको छ । कम्तिमा उनी कहिल्यै पनि चर्चाभन्दा बाहिर रहेनन् । उनको पुस्तक पढ्नेहरु आइरहे । जबकि उनी जत्तिकै अन्य साहित्यकारहरु पुस्तकालयमा सीमित हुन थालेका छन् ।
राजनीतिमा नलागेका भए बीपी साहित्यकार हुन्थे ?
खासमा बीपी साहित्यकार नै हुन् । बाध्यताले उनलाई राजनीतिज्ञ बनाएको हो । उनी राजनीतिमा लाग्नुअघि नै साहित्यकारका रुपमा चर्चित भैसकेका थिए । पहिलोपटक बनारसमा कलेजमा पढ्दा उनले हिन्दीमा कथा लेखेका थिए ।

बीपीका साहित्यमाथि अन्याय भएको छ । खासमा बीपीले साहित्यमार्फत् जे दिन खोजेका थिए, त्यो अझै हामीले बुझ्न सकेका छैनौं

उनको पहिलो नेपाली कथा ‘चन्द्रवदन’ वि.स.१९९२ सालमै प्रकाशित भएको थियो । जबकि उनी त्यसको केही पछि त्यो पनि राणा शासनको अत्याचारका कारण राजनीतिमा आएका थिए ।
नेपाली कांग्रेस पार्टी नै त्यसको १०–१२ वर्षपछि स्थापना भएको हो । बरु राजनीतिमा आएका कारण बीपीले जति लेख्नुपर्दथ्यो, लेख्न सकेनन् । धन्य, उनलाई पञ्चायती व्यवस्थाले जेल हाल्यो र केही कृति हामीले पढ्न पायौं ।
एउटा अन्तिम प्रश्न, बीपीका विषयमा तपाईंलाई सबैभन्दा प्रभावित पर्ने कुनै कुरा छन् ?
हेर्नुस्, बीपी व्यक्ति होइनन्, कहिल्यै नमर्ने विचार हुन् । त्यसकारण मलाई उनका रहेका कुराले प्रभावित पार्छ । तैपनि सोधिहाल्नुभयो, त्यसैले त्यो महत्वपूर्ण घटना भन्छु ।
बीपीलाई क्यान्सर लागेका कारण अन्तिम अवस्थामा हुनुहुन्थ्यो । बहुदलले हारेको कारण देशमा तत्काल प्रजातन्त्र आउने कुने सम्भावना थिएन ।
देशका दुई ठूला पञ्चायतविरोधी शक्ति कांग्रेस र कम्युनिस्ट विभाजित भएका थिए । यसलाई पञ्चायतले सक्दो सदुपयोग गरिरहेको थियो ।
यस्तो बेलामा भारतको टेलिग्राफ दैनिकले उनको अन्तरवार्ता प्रकाशित गर्याे । त्यसको अन्तिम प्रश्न थियो, ‘तपाईंको जीवन असफलतामै बित्यो । राणा शासन ढाल्नुभयो तर पञ्चायत अझ बढी शक्तिशाली भएर उदायो । तपाईंले देखेका सपना पूरा भएनन् र अहिले तपाईं मृत्युको मुखमा हुनुहुन्छ । यो असफलतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
यो प्रश्नमा बीपीले जे उत्तर दिनु भएको छ, त्यो हरेक नेपालीले मनन् गर्नुपर्छ । म त यसलाई विश्वका हरेक व्यक्तिले मनन् गर्नुपर्छ भन्ने ठान्छु ।
त्यो उत्तर के थियो ?
‘जन्मिएको मानिस एक दिन मर्छ, यो सत्य हो । असफलता होइन । बरु एउटा मानिस जन्मिएपछि के उद्देश्य राख्छ । त्यो उद्देश्यमा मानिसले आफूले चाहको कुरा कसैसँग नझुकेर अनि कहिले पनि नरुकेर लगातार गर्छ कि गर्दैन, त्यसबाट उसको जीवन कस्तो हो भन्ने मूल्यांकन गर्नुपर्छ । मैले कहिल्यै पनि प्रजातन्त्रको बिरुद्ध सम्झौता गरिनँ । राष्ट्रियताका विरुद्धपनि सम्झौता गरिनँ । यस अर्थमा मैले सोचेको कुरा भलै मैले देख्न पाइनँ तर त्यसको प्रयास गरिरहेँ, गरिरहन्छु । अब भन्नुस्, म कसरी असफल ? मानिसको मूल्यांकन उसले के प्राप्त गर्योसँग होइन, के उद्देश्य राखेर कसरी बाँच्यो त्योसँग सम्बन्धित छ ।’

२०७५ साउन ६ गते १०:३० मा प्रकाशित

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button