सबैभन्दा पहिले कांग्रेस कहाँ चुक्यो र बिग्रियो भन्ने समस्या पहिचान गर्नु जरुरी हुन्छ
कुलचन्द्र वाग्ले
अहिले कांग्रेस नेताहरूले दुईवटा थेगो प्रत्येक कार्यक्रममा दोहोर्याइ, तेहेर्याइ भन्न थालेका छन् । एउटा पार्टी एकता, अर्को कम्युनिस्ट सरकारको अधिनायकवादी व्यबहार । यिनै विचारको सेरोफेरोमा ती नेताको भाषण तानिएका र लम्बिएका हुन्छन् । ‘पार्टी एकता’ वा ‘गुटबन्दी अन्त्य’को आग्रह पार्टी सभापतिदेखि सबैले आआफ्नो अनुकूल उपयोग गरिएको शब्द हो । गुटबन्दी कार्यकर्ताको तल्लो पंक्तिसम्म पुर्याइएको भए पनि केही पदाधिकारी र सदस्यसमेत कार्यकर्ताको ठूलो समूह गुटबन्दी चाहँदैनन् । नचाहनेहरू गुट, उपगुटको दबदबा छिचोल्न नसक्ने अवस्थाले थिचिएका छन् । गुटबन्दीको सहउत्पादन तेरोमेरोबाट हुने गरेको पक्षपातले वाक्कदिक्क कार्यकर्ताको जत्था पनि ठूलै भइसकेको छ । गुटबन्दी कार्यकर्ताको होइन नेताहरूकै उपज हो । निष्ठावानभन्दा स्वार्थी समूहले गुटउपगुटलाई मलजल गर्ने नै भयो ।
पहिलो, गुटबन्दी पीडित कांग्रेस नेताको एकता आग्रह, अनि अधिनायकवादी प्रवृत्ति । कांग्रेसमा आन्तरिक प्रजातन्त्रको कमी लामो समयदेखि बहसको विषय हो । यसलाई कांग्रेसकै नेता, कार्यकर्ताले उजागर गरेका हुन् । आन्तरिक प्रजातन्त्र खस्केको र गुटबन्दी मौलाएको कारण के हो ? नेतृत्वको कौशलहीन अनुदार कार्यशैली यसको कारण हो । अहिलेको नेतृत्वसँग कतै सच्चिने इच्छा वा सम्भावना छ भने त्यही हानीकारक कार्यशैली सच्चिनु पर्ने पहिलो आवश्यकता हो । सच्चिएको उदार छविसँगै आदर्श एवं कार्यकर्ताको रक्षक हुने प्रत्याभूति दिएमात्र नेताहरूको एकता अनुरोधले काम गर्नेछ । जो सच्चिएको बाटो हिँड्न खोज्छ कांग्रेसको भावी नेता उही हुन्छ । आफू नसुध्रिई अरूलाई वा अर्काको भय देखाएर गरिने एकताको आग्रह क्षणिक होला तर दूरगामी परिणामको हुनेछैन ।
स्थानीयदेखि प्रादेशिक र संघीय चुनावको पराजयलाई गम्भीर समीक्षा गरेको जानकारी बौद्धिक समुदायलाई समेत दिन नसकेको कांग्रेसले अहिलेसम्म कुनै रणनीति र नयाँ एजेन्डा तय गरेको पनि देखिएको छैन । चुनावको बेला आफ्ना भातृ संस्थासमेतलाई प्रभावकारी परिचालन गर्न नसकेको परिणाम कम्युनिस्ट एकतालाई मात्रै देखाएर पुग्दैन । न पराजयको दोष पार्टीभित्रको अन्तर्घातलाई दिएर नै नेतृत्व पन्छन मिल्छ । अन्तर्घातभन्दा टिकट वितरणमा खोट थियो कि ?
विगतका कमजोरीलाई पन्छाएर कांग्रेस सच्चिनै पर्छ । सच्चिने अवसर पनि छ । सरकारबाट फुर्सद पाएको कांग्रेसले जतिसक्दो चाँडो आफ्नो विधान र नियमलाई समयानुकूल बनाएर संगठन सुदृढीकरणमा जुट्नु पर्ने हो । सबैलाई समेटेर गुट उपगुटको व्यवस्थापन गर्ने बेला पनि जुरेको छ । कुनै पनि राजनीतिक दलभित्र समूह हुन्छन् । विचार वा व्यवहार मिल्ने कारण कुनै नेताकार्यकर्ता कोही नेताकार्यकर्तासँग नजिक हुन पुग्छन् । स्थानीय, क्षेत्रीय अथवा भौगोलिक कारण कतिपयको सामिप्य हुनसक्छ । तर, त्यस्तो निकटता स्वार्थी समूहको गुटबन्दीमा फैलनु हुँदैन । नेताले दल र कार्यकर्ताप्रति, कार्यकर्ताले नेता र दलप्रति समभाव राख्ने अवस्था बन्नु र बनाइनु पर्छ । नेताले बनाएको गुट नेताले नै तोड्न सक्छन् । गुटको कित्तामा टाँसेर पार्टीप्रति इमानदार कार्यकर्तालाई भित्तामा पुर्याउनु भएन । कार्यकर्ताले पनि कुनै नेताको अनावश्यक ताबेदारी नगर्नु नै बेस ! यस दिशातर्फको कदम नै कांग्रेस सच्चिनुको पाटो र बाटो दुवै हो ।
नेपाली कांग्रेस नसच्चिए हुन्छ के ? यसका दुई सम्भावनामध्ये पहिलो अधिनायकवादको प्रभुत्व कायम हुन्छ । दोस्रो नेतृत्वको वा कांग्रेसकै विकल्प खोजिनेछ । कांग्रेसमा आन्तरिक प्रजातन्त्र जेजस्तो अवस्थामा होस् तर मुलुकको राजनीतिमा प्रजातन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा ऊ दृढ छ । कांग्रेसको आदर्श नै यही हो । कमजोर जुनसुकै कारणले भए पनि प्रतिपक्ष कमजोर हुँदा नै प्रजातान्त्रिक व्यवस्था भएका मुलुकमा तानाशाही शासन लादिएका छन् । यतिबेला नेपालमा विचार र प्रशिक्षणले कम्युनिस्ट नाम र संस्कारको सरकार छ । जसको सैद्धान्तिक धरातल एक दलीय अधिनायकवाद नै हो । संविधानमा बहुलवाद लेख्न यही एक दलीय सिद्धान्तले यिनलाई गाह्रो परेको थियो ।
एक दलीय विचारको ज्यादै बलियो सरकार र बहुलवादी विचारको कमजोर प्रतिपक्ष नेपालको प्रजातान्त्रिक प्रणाली भन्नोस् वा लोकतान्त्रिक नागरिकलाई कडा चुनौती र जोखिम हो । यस्तो चुनौतीको सामनाका लागि रणनीतिक योजनासहित गतिशील संगठनको तयारी गरेन भने कांग्रेसले लोकतान्त्रिक जनमतको रक्षा गर्न सक्तैन । परिणाम, पार्टीभित्रै नेतृत्वको र देशमा लोकतन्त्रको रक्षाका लागि कांग्रेसकै विकल्प खोजिन बेर लाग्दैन । कांग्रेसजन सजग हुन आवश्यक छ ।
अहिले नै संघर्ष गनुपर्ने होइन । कांग्रेसको प्राथमिकता जनमत निर्माण र संगठन व्यवस्थापन नै हुनुपर्ने थियो । तर, सरकारले केही अलोकतान्त्रिक कदम चालेका कारण कांग्रेसलाई संघर्ष बाध्यता भइदियो । सबैको साझा हुन प्रयत्न गर्नुपर्ने सरकारले उल्टै अनेक क्षेत्रमा राजनीतिकरणमात्रै होइन, थप कम्युनिस्टीकरण गर्न थाल्यो । प्रधानमन्त्रीको मोह एकल वा केन्द्रीकृत शक्ति आर्जनतर्फ देखियो । निर्वाचनको मतलाई प्रतिपक्ष वा भिन्न मतप्रति उपेक्षा गर्न पाउने हतियार बनाइयो । सुध्रिने बेला छ तर यस्तो सरकारी रबैया नसुध्रिए कांग्रेसले दोहोरो भूमिका – सडक संघर्ष र संगठन कार्यलाई सँगसँगै गर्नुपर्ने भयो । विचार नै संगठन हो, संगठन विचारको संवाहक । नेपाली राजनीतिमा मौलाएको विचारहीनताले कांग्रेस पनि ग्रसित हुँदैछ । सत्ताले संगठन चुसेको भुत्ते कांग्रेसलाई यतिबेला वैचारिक धार उद्याउने वा उजिल्याउने समय छ । आन्तरिक बहस, प्रशिक्षण र प्रकाशन जिरोबाट दोहोरो, तेहोरो अंकमा बढाउने अवसर छ ।
नेपाली कांग्रेसले जरुरी तयारी नगरे लोकतान्त्रिक संविधानमाथि दुई तिहाइको डन्डा बर्सिने सन्देश आइसकेको छ । संविधान उल्लंघनको सुरु सरकारले आरम्भदेखि नै गर्यो । प्रतिनिधि सभा सदस्यको शपथ नै नलिई तत्कालीन नेकपा (एमाले) अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदको शपथ लिनु संविधान र नियमको उल्लंघन थियो । पार्टी दबाब अथवा बाध्यता वा दलीय संमोहन किन हो ? संविधानको संरक्षक राष्ट्रपतिले पनि विधि सच्याउन उनलाई निर्देश गर्नुभएन । संविधानको उल्लंघन भएको विषयमा त राष्ट्रपतिलाई निर्देशन दिने अधिकार हुनुपर्ने हो ।
सरकारी स्वेच्छाचारिता सबै निकाय वा पेसा व्यवसायको स्वतन्त्रतामाथि दुई तिहाइको ग्रहण साबित हँुदैछ । आरम्भबाटै संविधानको उल्लंघनको निरन्तरताले अन्ततः प्रजातन्त्र र राष्ट्रियता दुवै जोखिममा पर्नेछन् । त्यसपछि मौलिक नागरिक अधिकारमात्रै कसरी जिउँदो बच्ला र ? यसकारण कांग्रेस सच्चिनै पर्छ । बढ्दो जोखिम रोकेर देश, लोकतन्त्र र नागरिक सम्प्रभूता जोगाउन कांग्रेस सच्चिनुको विकल्प यतिबेला छैन ।