कार्यकर्ताको इच्छाअनुसार पार्टीलाई पुनर्जीवन दिन आगामि महाधिवेशनमा सभापति पदमा मेरो उम्मेदवारी रहनेछ ः के.वी गुरुङ
चावहिलबाट लेखेको चिठीमा बीपीले ‘प्रिय साथी केबी’ भनेर सर गरी ‘त्यहाँका साथीहरूलाई मेरो जय नेपाल’ भनेर टुंग्याएका छन्।
बीपी कोइरालाले जीवनको उत्तराद्र्धमा के के गरे होलान् ? उनको अवस्था कस्तो थियो होला ? उनमा पार्टी र देशका लागि कस्तो चिन्तन थियो होला ? यिनै विषयमा उनले लेखेको एउटा चिठी यसपटक बीपी स्मृति दिवसका बेला सार्वजनिक भएको छ। यो चिठी बीपीले कांग्रेस नेता कुलबहादुर (केबी) गुरुङलाई २०३८ साल मंसिर २८ गते लेखेका थिए, जति बेला झापा कारागारबाट मुक्त भई केबी इलाममा बस्न थालेका थिए। त्यही आसपास बीपीसँग चारपाँचपटक पत्राचार भएको केबीले सुनाए। तर, ती चिठी उनीसँग संगृहीत छैनन्। उनका सहयोगी विमल गुरुङका अनुसार बीपीले प्रत्युत्तरमा लेखेको यो चिठी केबीका भाइ नेवज गुरुङमार्फत सार्वजनिक भएको हो।
बीपीको जीवनको अन्तिम समय अर्थात् उनले अन्तर्वार्ता दिएका बेला दैनिक दुईतीन घन्टा आफूसँगै रहेको नेवजले सुनाए। दाइले लेखेको चिठी आफूले नै बीपीकहाँ पु¥याएको सुनाउँदै उनले भने, ‘बीपी समयको ख्याल गर्नुहुन्थ्यो। आफैं चिठी लेख्नुहुन्थ्यो।’ यो चिठी त्यही बेलादेखि आफूसँग सुरक्षित रहेको सुनाउँदै उनले अहिले सान्दर्भिक होला कि भनेर सार्वजनिक गरेको बताए। ‘बीपीले चिठीमा संगठनमा जोड दिनुभएको छ, संगठनबिना पार्टी चल्दैन’, उनले भने, ‘अहिले कांग्रेसको संगठन छ भन्ने लाग्दैन। पार्टी संस्थागत ढंगले चलेको छैन, अति व्यक्तिगत छ।’ उनका अनुसार बीपीले एकतामा जोड दिएका छन्। त्यसो भए कांग्रेसमा एकता छैन र ? भने, ‘एकता भइदिएको भए देउवा, पौडेल, सिटौला गुट हुन्थ्यो र ? भागबन्डामा पार्टी चल्नु कसरी एकता भयो ? ’, उनले प्रश्न गरे, ‘बीपी, सुवर्णशमशेर, गणेशमान सिंहमा जस्तो अरू नेताहरूमा त्यागको भावना छैन। अनुशासन छैन। पार्टी संस्कृति छैन। कांग्रेस भन्ने के रह्यो र ? ’
अहिलेका नेतामा बीपीमा जस्तो नेतृत्व क्षमता पनि नरहेको देख्ने उनले सामूहिक नेतृत्व प्रणालीमा जान आवश्यक रहेको बताए। ‘अहिलेका नेताले व्यक्तिगत नेतृत्व दिन सक्दैनन्’, उनले भने, ‘कांग्रेसका नेताहरूले बीपीकै दुहाई दिइरहेका छन्। बीपीकै कतिपय कुरा आउटडेटेड भइसके। मेलमिलापको नीतिको व्याख्या राम्ररी भएको छैन।’ राष्ट्रियताको सन्दर्भमा बीपीले मेलमिलापको नीति अघि सारेको उनको ठम्याइ छ।
बीपीले आफूलाई असाध्यै रोग लागेको र कठोर उपचार केमोथेरापी हुँदै गरेको उल्लेख गर्दै रोगभन्दा पनि उपचारबाट परेसान रहेको कुरा चिठीमा लेखेका छन्। ‘तर, म सधैं दुई घन्टा बेहान साथीहरूसँग भेट्छु र आफ्नो राजनीतिक विचार र हाम्रो मेलमिलापको नीतिको व्याख्या गर्छु’, बीपीले चिठीमा लेखेका छन्, ‘मैले आजकल टेपमा इन्टरभ्युज पनि दिने गरेको छु। हिफाजत धेरै लिनु परेको छ तर दैनिक कार्यहरू पनि गर्दै जाँदै छु।’
त्यस्तै चिठीमा बीपीले लेखेका छन्, ‘अब तपाईंहरूमा बढी जिम्मेदारी आयो। केन्द्रले पनि अधिक सक्रिय र संगठित हुनुपर्छ र जिल्लाको बलियो संगठनमा मैले जैले पनि जोड दिएको छु। हाम्रो नीतिको अनुसरण भइरह्यो र साथीहरूमा एकताको भाव कायम भइरह्यो भने मैले आफ्नो पार्टीको ठूलो भविष्य देखेको छु। यत्रो विरोधका बाबजुद हाम्रो पार्टी ऐले पनि सबभन्दा जनप्रिय र यस पार्टीका कार्यकर्ता अरू पार्टीका भन्दा संख्या र योग्यतामा बढी छन्।’
चाभेलबाट लेखेको चिठीमा बीपीले ‘प्रिय साथी केबी’ भनेर सुरु गरी ‘त्यहाँका साथीहरूलाई मेरो जय नेपाल’ भनेर टुंग्याएका छन्। ‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’का संकलक गणेशराज शर्माले आफ्नो भूमिकामा लेखेअनुसार बीपीको घाँटीमा केराउको दानाबराबरको नदुख्ने गिर्खा फोक्सोबाट फैलिएको क्यान्सरको लक्षण हो भनी २०३८ साल कात्तिक १० गते डा. सुन्दरमणि दीक्षितले निदान गरेका थिए। यसबाट बीपीको मृत्यु ६ महिनाभित्र हुन सक्ने भनिएको थियो। यही रोगको उपचार क्रममा बीपीले केमोथेरापीको उल्लेख चिठीमा गरेको सजिलै बुझ्न सकिन्छ। २४ भदौ १९७१ मा जन्मिएका बीपीलाई ६ साउन २०३९ मा क्यान्सरले नै लगिछाड्यो। अर्थात् यो चिठी लेखेको झन्डै सात महिनापछि बीपीले भौतिक रूपमा यो संसारबाट बिदा लिएका थिए।
बीपीले चिठीमा पार्टीको भविष्यका लागि मेलमिलापको नीतिमा जोड दिएको देखिन्छ। बीपी २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासबाट नेपाल फर्किएका थिए। तर, मेलमिलाप नीति लिएर नेपाल आउँदा राजाले के गर्छन् भनेर परीक्षणका लागि बीपीले अरूलाई नै पठाउन चाहे। नेता केबीका अनुसार गणेशमान सिंहको बुझाइमा त्यस बेला भारत बस्नु ‘स्लो पोइजन’ र नेपाल आउनु ‘सुसाइड’ गर्नुसरह थियो। नेपाल फर्किंदा मारिन सक्ने सम्भावना बढी थियो। यस्तो सम्भावना देख्दादेख्दै बीपीको मेलमिलाप नीति अंगीकार गरी केबीसहित धर्म गौतम र वासु कोइराला तीनजना नेपाल आउन तयार भए। बीपीले पटनामा तीनै जनासँग भोजन गर्ने इच्छा व्यक्त गरे। भोजनका क्रममा उनीहरूलाई ‘दही चिउरा’ खुवाइएको थियो। राणाकालमा फाँसी दिन लागिएका व्यक्तिलाई अन्तिमपटक यसरी ‘भाचाखुची’ खुवाउने चलन थियो। मेलमिलाप नीतिको परीक्षणका लागि आउन लागेका तीन भाइलाई पनि ‘अन्तिम भोज’ खुवाइएको थियो।
‘मविरुद्ध त हातहतियार खरखजाना मुद्दा थियो’, केबीले भने, ‘फाँसीको सम्भावना हुँदाहुँदै पनि बीपीका आशय बुझेर मेलमिलाप नीतिको परीक्षणका लागि हामी आउन तयार भयौं।’ उनका अनुसार जहाजमा एकजना आफूलाई कालिम्पोङका व्यापारी भनेर चिनाउने व्यक्ति पनि थिए। ‘उनलाई हाम्रो गुप्तचरी गर्न खटाइएको रहेछ’, उनले भने, ‘हाम्रो पछि यति धेरै गुप्तचर खटाइएको रहेछ भनेर काठमाडौं आएपछि मात्र थाहा भयो।’ उनका अनुसार भारतबाट तीनजना को–को नेपाल आउँदै छन् भनेर यता यकिन थिएन। यहाँ बीपी, गणेशमान र गिरिजाप्रसाद कोइराला आउँदै छन् भन्ने आशंका रहेछ। तर, राजाले के गर्छन् भनेर बीपीले केबीहरूलाई परीक्षणका लागि कात्तिक २५ गते नै पठाएका थिए। तीनैजना काठमाडौं विमानस्थलबाट पक्राउ परे। केबी र धर्मलाई हनुमानढोका हिरासतमा राखेर झापा कारागार पठाइयो। पुस १६ गते बीपीलाई विमानको ढोकाबाट पक्राउ गरी सुन्दरीजल कारागार लगियो, जहाँ उनले यसअघि नै लगातार आठ वर्ष बन्दी जीवन व्यतीत गरेको आत्मवृत्तान्तमा उल्लेख छ।
केबीका अनुसार आफूहरू मारिने हल्ला चलिरहेकै बेला जनमतसंग्रह घोषणा भई कारागारबाट मुक्ति मिल्यो। २०३६ सालमा जनमतसंग्रह भयो। बहुदल पक्षले हार बेहोर्नु परे पनि बीपीले परिणाम अस्वीकार गरेनन्। गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, किसुनजी (कृष्णप्रसाद भट्टराई)हरूले संघर्ष गर्नुपर्ने प्रस्ताव गरे तर बीपीका अगाडि उनीहरूको जोड चलेन। बीपीले प्राप्त जनमतलाई जोगाएर अघि बढ्नुपर्ने बाटो सुनाए, संघर्ष गर्नुपर्छ भन्नेहरू सेलाएर गए। त्यही बेला मिलेर आन्दोलन गर्नुपर्ने प्रस्ताव लिएर सहाना प्रधान आए पनि बीपीले महत्व दिएनन्। बरु जनमतसंग्रहमा ‘पहेँलोमा भोट हालेर अहिले आन्दोलनको कुरा लिएर आएको’ भन्दै बीपीले हप्काएको केबीले सुनाए।
कम्युनिस्टसँग होइन, मेलमिलाप
कतिपय बीपीका आलोचक भारतमा आफ्नो कुराको सुनुवाइ नभएपछि मेलमिलापको नीति लिएर स्वदेश फर्किएको आरोप लगाउँछन्। केबीले भने जे गरे पनि देशमै गर्नुपर्छ भनेर मेलमिलापको नीति लिएर स्वदेश फर्किएको सुनाए। उनका अनुसार भारत आफ्नो इच्छाअनुसार हिँडाउन चाहन्थ्यो तर बीपी त्यस्तो चाहन्थेनन्। त्यही भएर पनि ज्यानको बाजी थापी मेलमिलापको नीति अँगालिएको उनको भनाइ छ। उनका अनुसार अहिले यो दर्शनकै रूपमा विकसित भइसकेको छ। त्यसो भए बीपीले कम्युनिस्टसँग चाहिँ किन मेलमिलाप गर्न इन्कार गरे ? ‘मेलमिलापको नीति भनेकै राजासँगको कुरा थियो’, उनले भने, ‘कम्युनिस्टले त प्रयोग गरेर छाडिदिने हुन्।’ उनका अनुसार जनमतसंग्रहपछि सहाना प्रधानको प्रस्ताव बीपीले अस्वीकार गरेका थिए। कांग्रेसले राणाविरोधी आन्दोलनमा कम्युनिस्टलाई साथ लिएको थिएन।
केबीका भनाइमा कम्युनिस्टलाई राजा महेन्द्रले पुनर्जीवन दिलाएका हुन्। २००६ सालमा गठित नेपाल कम्युनिस्ट पार्टी छिन्नभिन्न अवस्थामा रहेका बेला महेन्द्रले संगठित हुने अवसर दिएको उनको भनाइ छ। बीपीजस्तै केबीलाई पनि कम्युनिस्टसँगको सहकार्य निको लागेको रहेनछ। पार्टी सभापति शेरबहादुर देउवाका पालामा आफ्ना कार्यकर्तालाई माओवादीलगायत अन्य पार्टीका चुनाव चिह्नमा भोट हाल्न लगाइएकोमा उनको चर्को असन्तुष्टि छ। उनले देउवालाई पार्टी सभापतिमा जिताउँदा गरेको समर्थन यिनै असन्तुष्टिलाई लिएर फिर्ता लिए। पार्टी नेतृत्व बीपी विचार र आदर्शबाट विचलित भएपछि नैतिकताको हिसाबले महाधिवेशनमा दिएको समर्थन फिर्ता लिएको उनको भनाइ छ।
२०१५ सालको निर्वाचनमा दुई तिहाइ मत ल्याएको कांग्रेस संघीयता कार्यान्वयनका क्रममा भएका प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा कमजोर प्रतिपक्षमा सीमित हुनुमा उनले पार्टी नेतृत्वको यस्तै कमजोरी औंल्याए। त्यसो त कांग्रेस–कम्युनिस्ट मिलेर २०४६ सालमा पञ्चायत ढल्यो, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि राजतन्त्र अन्त्य भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो। तर, कांग्रेस कमजोर बन्दै जानुमा बीपीले अघि सारेका विचार, नीति तथा आदर्शलाई नेतृत्वले भुल्दै जानु कारक रहेको उनको ठम्याइ छ। बीपीपछि कांग्रेसमा बलियो नेतृत्वको अभाव खड्किएको हो त ? केबीले जनमतसंग्रह पछिको अवस्थाबारे सुनाउँदै भने, ‘बीपीले प्राप्त जनमतलाई बचाएर अघि बढ्नुपर्ने बताउँदा तीन नेता चुप लागेपछि उनीहरू बीपीमा निर्भर रहेछन् भन्ने प्रस्ट देखियो।’ पछिल्लो समय त पार्टी नेतृत्व पैसा, पद र नातावादमा फसेको उल्लेख गर्दै उनले अहिले कांग्रेस भन्यो भने गाउँमा बास नपाउने अवस्था बनेको सुनाए।
यसरी जोडियो बीपीसँग सम्बन्ध
केबीका अनुसार बीपी गृहमन्त्री भएका बेला २००८ सालमा इलाम पुगेका थिए। इलामको टुँडिखेलमा आमसभा भएको थियो। त्यस बेला छात्र संघका तर्फबाट मागपत्र बुझाउन जाने टोलीमा केबी पनि थिए, बीपीसँग त्यही नै उनको पहिलो भेट थियो। ‘हामीले आफ्ना माग तत्काल पूरा गर्नुपर्ने अडान लियौं, उहाँले क्याबिनेटमा कुरा राखिदिने भन्नुभयो’, उनले भने, ‘तर, पछि गल्ती महसुस भएपछि माफी माग्न हामी धजे डाँडासम्म कुदेर गयौं।’ उनका अनुसार इलाममा पहिलोपटक प्रगतिशील छात्र संघ गठन भएको थियो। २००३–०४ सालतिर अरूले कांग्रेसी भन्दा उनलाई गर्व महसुस हुन्थ्यो, उनै केबी दार्जिलिङमा पढे, त्यसपछि काठमाडौं आए। २०१२–१३ सालतिर काठमाडौं आएपछि तरुण दलमा आबद्ध हुँदै उनी बीपीको निरन्तर सम्पर्कमा पुगे। विभिन्न तहका जिम्मेवारी सम्हाल्दै पार्टीमा महामन्त्रीसम्म बने। पहिलो संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर ३ बाट निर्वाचित उनले ज्येष्ठ सदस्य (७३ वर्ष)को हैसियतमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य भई गणतन्त्रको घोषणा गरे। संविधानसभा अध्यक्षमा सुवास नेम्बाङ निर्वाचित हुनुअघिसम्म उनले कार्यभार सम्हालेका थिए।
कांग्रेस केन्द्रीय सदस्य उनलाई राष्ट्रपति पदका उम्मेदवार बनाइयो तर पराजय बेहोर्ने अवस्थामा पार्टीले अघि सारेको भन्दै उनले असन्तुष्टि जनाए। उनी अहिले बीपी विचार राष्ट्रिय समाजका सभापति भई पार्टीलाई पुनर्जीवन दिन भन्दै अभियानमा लागेका छन्। ‘कांग्रेस हुनुको नाताले कांग्रेस खोजिरहेको छु, कांग्रेसहरूको माझमा’ भन्दै आएका उनले अहिले कांग्रेस गाउँमा रहेको सुनाए। उमेरले ८४ वर्ष पुगेका उनले राजनीतिक वि श्राम नलिने सुनाउँदै भने, ‘राजनीतिमा ज्यानले विश्राम लिन सक्छ, विचारले वि श्राम लिँदैन।’ त्यसो भए अबको महाधिवेशनमा तपाईं सभापति उम्मेदवार बन्ने हो त ? भने, ‘कार्यकर्ताको इच्छाअनुसार पार्टीलाई पुनर्जीवन दिन सभापति पदमा मेरो उम्मेदवारी रहनेछ। म उम्मेदवार बने गुटउपगुटमा लागेका साथीहरूले मलाई सहयोग गर्ने विश्वास छ।’
साभार ः अन्नपूर्ण पोष्ट