breakingसंस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजको सातौ वार्षिक साधारण सभामा सहभागिहरूले दिएको मन्तव्य

बीपी विचार राष्ट्रिय समाजको सातौ राष्ट्रिय साधारण सभा जेठ १८ गते काठमाडौमा प्रारम्भ भयो । समाजका सभापति श्री केबी गुरुङ्गले पानसमा दीप प्रज्वलित गरी यसको समुद्घाटन गर्नुभयो । मुलुकका सतहत्तरै जिल्लाको सहभागिता रहेको यस साधारण सभाको उद्घाटन सभामा सभापति, सह–सभापतिले मन्तव्य, महासचिवले राजनैतिक प्रस्ताव र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै प्राज्ञ विभागका संयोजक सहप्रा.डा. वासुदेव खनालले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । यसमा विभिन्न विद्वान् राजनीतिज्ञहरूले समीक्षा गर्नुभयो ।
मन्तव्य ः
सभापति श्री केबी गुरुङ्ग ः राजनीति विचारबाट चल्नुपर्छ । विचार र क्रियाकलाप बीचको तालमेल हुन नसक्दा विचलन आउँछ । अहिले नेपाली काङ्ग्रेसमा त्यही भएको छ । नेपाली काङ्ग्रेस बीपी विचार सिद्धान्त र आदर्शबाट परिचालित हुन सकेन । त्यसैले राजनीतिमा विचलन आएको हो ।
सत्र सालको राष्ट्रिय दुर्घटना पछि मुलुकले धेरै संकट र झमेला भोग्दै आएको छ । राजा स्वयंले राष्ट्रियता खतरामा पुगेको महसूस गरी एकताबद्ध हुन सबै राजनैतिक शक्तिलाई आह्वान गर्नु भएको थियो । देश र प्रजातन्त्रको भविष्यबारे गम्भीर चिन्तन एवं मनन गरी बीपीले राष्ट्रियता एकता र मेलमिलापको नीति अबलम्बन गर्नुभएको हो । राष्ट्रमा धेरै किसिमका खतरा देखेर नै हतियार विसाएर प्रजातान्त्रिकरणको शर्तमा राजालाई सहयोग गर्ने राजनीतिक चिन्तन भएको हो । जनमत संग्रहको घोषणा त भयो तर निकासको गोरेटो छेकेर स्वभाविक राजनीतिक गति अवरुद्ध गरियो । संवैधानिक राजतन्त्रको हिमायती नेपाली काङ्ग्रेसलाई भित्तामा पु¥याउने कोशिश भयो । । लामो संघर्ष पछिका घटनाक्रममा राजा फालिए तर राष्ट्रको खतरा सोच्नै नसक्ने गरी गहिरिदैआएको छ अब फेरि मुलुक बचाउन नेपाली काङ्ग्रेसले गरेका २००७ सालदेखि २०४६ साल सम्मका संघर्षलाई निरन्तरता दिनुपर्ने भएको छ । बीपीकोे चिन्तनलाई आत्मसात गरी पुनः आन्दोलन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ । यसको लागि तत्पर रहन समस्त बीपी विचारका अनुयायीलाई आह्वान गर्दछु ।
सह–सभापति श्री गोविन्दराज जोशी ः काङ्ग्रेसले बीपी बनाएन, बीपीले नेपाली काङ्ग्रेस बनाउनु भएको हो । हामी उहाँले बनाउनु भएको काङ्ग्रेसका अनुयायी हौँ । त्यसैले बीपीको विचार, सिद्धान्त आदर्श बुझ्न बुझाउन हामीले बि.स. २०६९ सालमा बीपी विचार राष्ट्रिय समाज गठन गरेका हौँ । बीपीको विचारलाई सुस्पष्ट गरी बलियो बनाउन सक्यौं भने स्वभाविक रूपले नेपाली काङ्ग्रेस बलियो हुन्छ । सबल काङ्ग्रेसबाट मात्रै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जग सुदृढ बन्न सक्छ ।
बीपीले जीवनको उत्तराद्र्धमा महसुस गर्नुभएको थियो( उहाँको मृत्युपछि बीपी विचारको आत्मसात हुने छैन । एकता, सहकार्य र सहमतिको मर्म अनुकुलको राजनीतिक गति अल्मलिने छ । पद, स्वार्थ र सत्ताको लागि चरम उपयोग गरिने छ । यी र यस्तै कारणले उहाँको जीवनकालमा राजा र कम्युनिष्ट सित सहमति, सहकार्य र एकता हुन सकेन । आज राष्ट्रियता र मेलमिलाप सत्ता प्राप्तिको सेतु बनाइएको प्रसंगले बीपीले आफ्नो जीवनकालमा महसुस गर्नु भएको आशंकालाई पुष्टि गरेको छ ।
नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा बीपी विचार जनस्तरमा पु¥याउनु पर्ने विषयमा छलफल हुदैन, भए पनि औपचारिकतामा मात्र सीमित रहन्छ । एकता र मेलमिलापको नीतिलाई सत्ताको भा¥याङ बनाउन प्रयोग गरिन्छ । सही अर्थमा बीपीको विचार व्याख्या गरी जनस्तरमा पु¥याउन बीपी विचार राष्ट्रिय समाज गठन गरिएको हो । बीपी विचारलाई जनस्तरसम्म पु¥याउने भनेको नेपाली काङ्ग्रेसलाई बलियो र गतिशील बनाउनु हो । बीपी विचार विना राष्ट्रियता र प्रजातन्त्रको संबद्र्धन र संरक्षण सम्भव छैन । यस अर्थमा पनि बीपी विचार राष्ट्रिय समाज नेपाली काङ्ग्रेसको समानान्तर संस्था नभई सहयोगी संस्था हो । नेपाली काङ्ग्रेसलाई सवल सशक्त र गतिशील बनाउनु संस्थाको लक्ष्य हो ।
महासचिव विनयध्वज चन्दः बीपी जीवित छदै, ४० वर्ष अघि वीवीसीले बीपीसित लिएको अन्तरवार्ता हालसालै प्रकाशित भएको र त्यसमा अन्तरनिहित विषय केलाउँदा बीपीको अभीष्ट स्पष्ट हुन्छ । उहाँले बीबीसी सँगको प्रश्नहरूको जवाफमा “आफूलाई सत्तामा पुग्ने रुचिले क्रान्ति नगरेर देश र जनताको समुन्नति आफ्नो राजनीतिक अभीष्ट भएकोले क्रान्ति गर्नु परेको हो” भन्नु भएबाट स्पष्ट हुन्छ –बीपीको राजनीति जनमुखी थियो । राष्ट्र र राष्ट्रियता प्रति प्रतिबद्ध थियो । बीपी विचार राष्ट्रिय समाज त्यही भावना र मर्मलाई आत्मसात गरेको दवाव समूहको रूपमा काम गर्ने संस्था हो भन्ने स्पष्ट हुन्छ ।
नेपाली काङ्ग्रेसमा वैचारिक विचलन, गुट–उपगुट र भागबण्डाको राजनीति विस्थापित गरी बीपी विचारको राजनीतिक बाटोमा हिडाउने लक्ष्यका साथ बीपी विचार राष्ट्रिय समाज गठन भएको तथ्यलाई उजागर गर्ने बेला भएको छ । सत्ताका आकाँक्षीहरूलाई समाजप्रति वितृष्णा हुन सक्छ । त्यस्तो बादल हटाएर बीपी विचारलाई सुपुष्ट गर्ने प्रयास हुँदै आएको पनि छ । यसका लागि बीपी विचार बारे निबन्ध प्रतियोगिताको आह्वान गर्दा ४०० जना विद्वत वर्गको सहभागिताले बीपी विचारको सान्दर्भिकता, औचित्य र आवश्यकताको पुष्टि गरेको छ । यी सबैको मूल्याङ्कन र जनचाहनालाई दृष्टिगत गरी बीपी विचार राष्ट्रिय समाज सतहत्तरै जिल्लामा विस्तार गर्दा प्रजातन्त्रको स्थापना, विकास र सम्वद्र्धनका लागि उल्लेख्य लगानी गर्नु भएका त्यागी कर्मनिष्ट प्रजातन्त्रवादीहरूको सहभागिताले समाजको उपयोगितालाई प्रदर रूपमा उद्घाटित गरिदिएको यथार्थमा हाम्रो सामु छर्लङ्ग छ । सभा विस्तार भई आज राष्ट्रिय स्तरमा गुणात्मक उपस्थितिमा सातौ साधारण सभाको आयोजना हुनु उत्साहप्रद औँ सुखद उपलव्धी मान्नुपर्ने हुन्छ ।
कोषाध्यक्ष श्रीमती गीता रेग्मी ः बीपी विचार राष्ट्रिय समाजकी कोषाध्यक्ष श्रीमती गीता रेग्मीले आर्थिक वर्ष २०७४÷७५ को लेखा परीक्षकको प्रतिवेदन पेश गर्नुभयो ।
डा. वासुदेव खनालः कार्यक्रममा बीपी विचार राष्ट्रिय समाज प्राज्ञ विभागका संयोजक सहप्रा. डा. वासुदेव खनालले बीपी विचार राष्ट्रिय समाजको अवधारणा पत्र प्रस्तुत गर्नुभयो । अबधारणा पत्रमा नेपाली काङ्ग्रेसको स्थापनाको पृष्टभूमिका साथैै बीपीको विचारका सन्दर्भमा प्रष्ट्याइएको छ । उक्त अबधारणा पत्रमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्याख्याको साथै राष्ट्रिय एकता र मेलमिलापको औचित्य र आवश्यकताबारे सुस्पष्ट दृष्टिकोण समेटिएको छ । बीपी विचार राष्ट्रिय समाजको दायित्व र कार्य प्रणाली प्रष्ट्याउने यो विस्तारित कार्यपत्रमाथि विश्लेषक राजनीतिज्ञहरूले समीक्षा र टिप्पणी गर्नुभएको थियो ।
समीक्षा र टिप्पणी ः बीपी विचार राष्ट्रिय समाजका सभापति, सहसभापति, महासचिवको राजनीतिक प्रस्ताव र डा. वासुदेव खनालद्धारा प्रस्तुत अवधारणामा पत्रमा राजनीतिज्ञहरू श्री लक्ष्मणप्रसाद घिमिरे र श्री लोकेश ढकालले टिप्पणी गर्नुभएको थियो भने राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपाली काङ्ग्रेसका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
श्री अरुणकुमार सुवेदी ः बीपी विचार र नेपाली काङ्ग्रेसको समीक्षात्मक विवेचना गर्न पाउँदा आफू सौभाग्यशाली भएको उल्लेख गर्दै नेपाली काङ्ग्रेस र नेपाल विद्यार्थी संघको स्कुलिंगबाट आफू आजको अवस्थामा आएको गौरवगाथाको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– बीपी विचार आधुनिक नेपालको महत्वपूर्ण सम्पदा हो । प्रधानमन्त्रीको रूपमा राष्ट्र र जनतालाई बलियो बनाउन बीपीले महत्वपूर्ण नीति र कार्यक्रम अख्तियार गर्नु भए पनि छिमेकी र शक्तिराष्ट्रहरूको खेलप्रतिको उदासिनता र इजरायललाई कुटनितिक मान्यता प्रदान गर्दा उत्पन्न विषम परिस्थितिको यथोचित विवेचना हुन नसक्दा १७ सालको दुखद घटना घटेको विचार राख्नुभयो । बीपी जस्तो वहुआयामिक व्यक्तित्व समेतलाई अन्धकारमा राख्न सक्ने यस भू–भागको राजनीतिक चलखेल आफ्नो लागि सदा रहस्यमय रहँदै आएको उल्लेख गर्दै आफू नेपाली काङ्ग्रेसका राजनीतिक गतिविधिलाई जरैदेखि सुधारको आवश्यकता औंल्याउनुभयो । सुवेदी अगाडि भन्नुहुन्छ – नेपाली काङ्ग्रेसको गतिहिनता, अकर्मव्यता र नीतिहीनताले मुलुक आक्रान्त बन्यो । कम्युनिष्टहरू हावी भए । यहाँ पनि कंवोडियाको हुनसेन प्रजातन्त्रको आधिपत्यको हुने प्रवल संभावना देखिदैछ । २०४६ सालको आन्दोलनपछि स्थापित प्रजातान्त्रिक सरकारले समाजवाद र आधुनिकताको पहिचान गर्न नसक्दा अलमलिनुपरेको तिक्तावस्थाले कम्युनिष्टहरूको अवसरवादिता हलक्क बढ्ने अवसर पायो । काङ्ग्रेस शनै शनै कम्युनिष्ट विशेषत प्रचण्डको एजेण्डामा लहसिन थाल्यो । यसले नेपाली काङ्ग्रेस सैद्धान्तिक क्षयीकरण अकल्पनीय ढंगले भयो । संघीयता र गणतन्त्रलाई बीपी विचारसित हिडाउन खोज्नु भनेको प्रचण्डलाई आत्मसात गर्नु हो । अहिले नेपाली काङ्ग्रेस आफ्नो गौरवशाली इतिहास, दृष्टिकोण र सुन्दर भविष्यको परिकल्पनाहरूबाट पूर्णतस् विमुख छ । सिद्धान्तहिन थोत्रो घरजस्तै देखिन्छ । संकट र अस्थिरताको चक्रव्युहमा परेको काङ्ग्रेसबाट निकट भविष्यमा कुनै सकरात्मक सोचको अपेक्षा राख्ने संभावना देखिदैन । अवको स्थितिमा परम्परागत विस्थापति शक्ति, असुरक्षा महसुुस गरेका छिमेकी, संस्कृति र परम्पराप्रति संवेदनशील सैन्य शक्तिको तालमेल हुन सक्दा प्रजातन्त्रको संभावना रहला अन्यथा नेपाली काङ्ग्रेसको स्थिति कोमिनताङ र अमेरिकाको जर्ज वाशिंगटनको लिवरल पार्टीको अवसान भए जस्तै हुने अवस्था आफूले देखेको खुुलस्त गर्नुभयो ।
राजनीतिज्ञ लक्ष्मणप्रसाद घिमिरे ः बीपी विचारको विवेचना गर्दै संविधानका प्रस्तावनामा हाम्रो पूर्खाको वीरगाथा र संस्कृतिको तिरस्कार गरी भविश्यलाई अन्धकार बनाउने प्रपञ्चको तुष उल्लेख भएको मौजुदा परिस्थितिले वार कि पार को अवस्थामा पु¥याएको धारणा राख्नुभयो । समयले छिमेकीहरूको मान्यता र दृष्टिकोणमा समेत आमूल परिवर्तन ल्याएको तर नेपाल जातजाती, गुटउपगुट र क्षेत्रियताको दलदलमा फसेको चर्चा गदै उहाँले बीपी विचारको राजनीतिले मात्र समस्या समाधान गर्न सक्ने धारणा राख्नुभयो ।
लोकेश ढकाल ः नेपाली काङ्गे्रसका जुझारु नेता लोकेश ढकालले अमृतको घडा पनि विषाक्त बन्न पुगेको अवस्थालाई बीपी विचार भन्ने गरिएको उद्दण्डता प्रति आक्रामक अभिव्यक्ति राख्दै अगाडि भन्नुयो– बीपीको राजनीतिक विधामा शोधखोज र अनुसन्धान हुन नसकेको हुनाले यस्ता गलत काम हुदै आएका छन् । बीपी विचार राष्ट्रिय समाजले त्यसको प्रारम्भ गरी जनस्तरमा पु¥याएर नेपाली काङ्गे्रेसलाई बलियो बनाउने काममा विशेष सक्रियता देखाउन परमावश्यक रहेको धारणा राख्नुभयो ।
तारानाथ रानाभाट ः पूर्वसभामुख तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तारानाथ रानाभाटले भौगोलिक, सांस्कृतिक धरातलमा उभिएको बीपी विचार सुसंस्कारित राजनीतिक चिन्तनको मूलधार धमिल्याउँदा संकटको दलदलमा फस्नु परेको यथार्थलाई मनन गरी समाजले सबैको सम्मान र इज्जत राख्ने बीपी विचारलाई ब्यवहारमा उतार्ने दवाव समूहको रूपमा काम गरोस् भन्ने शुभेच्छा ब्यक्त गर्नुभयो ।
सहभागीहरूका तर्फबाट मन्तब्य राख्ने क्रममा प्र्रदेश सभापति, जिल्ला सभापति÷प्रतिनिधिहरूले बीपी विचारको आवश्यकता र औचित्यबारे गहन विचार ब्यक्त गर्नुभएको थियो । बीपी विचारका तीन आधार स्तम्भहरू परंपरागत शक्ति, जनशक्ति र राजनीतिक शक्तिको समय सापेक्ष ब्याख्या हुनुपर्ने धारणाका साथै जातीय, क्षेत्रीय, धर्मनिरपेक्ष, संघीय शासन र गणतन्त्रका विसंगतिले सिंगो मुलुक आक्रान्त बनेको स्थितिमा बीपी विचार स्पष्ट हुनुपर्ने राय प्रस्तुत भएका थिए ।
नेपाली काङ्गे्रसमा बलशाली हुँदै आएको अहंकार र अनुत्तरदायी प्रकृतिको अन्त्य गर्न अनुशासन र कर्तब्यबोध परमआवश्यक हुने कुराको ज्ञान दिन बी.पी विचारको अनुशरण अत्यावश्यक रहेको चर्चा भयो । बी.पी विचार राष्ट्रिय समाजले बीपीको पछिल्लो दिनका अनुभव, धारणा र अभिब्यत्तिलाई बीपी विचारको ब्याख्यानमाला बनाउन सक्नुपर्छ । जसरी बुद्धत्वलाई बुद्ध धर्ममा उल्लेख गरिएको छ । कम्युनिष्टहरूसितको सहकार्य त्रुटिपूर्ण रहेको संदर्भमा चर्चा हुँदै गर्दा सत्र सालको दुर्घटना पछि राजा महेन्द्रलाई डाक्टर केशर जंग रायमाझी, कमलराज रेग्मी जस्ता कम्युनिष्ट नेताले सघाएको र संसदको पुनःस्थापना गर्न माग गर्ने पुष्पलाललाई गद्धार भन्ने कम्युनिष्टहरू सित सहकार्य गर्नु भयंकर भूल रहेको अधिकांश सहभागीको भावना प्रकट भयो भने राष्ट्र र जनताप्रति इमान्दार नरहने कम्युनिष्टहरूसित सहकार्य गर्न नहुने भन्ने आम धारणा पाइयो ।
अधिकांश वत्ताले बीपीको विचार जनमानसमा पु¥याउनुपर्ने धारणा राख्दै विचार कर्मशील, आधुनिकता र सांस्कृतिक रूपान्तरणको पृष्ठपोषक हुने गरी ब्याख्या गरिनुपर्ने सुझावहरू प्रकट भएका थिए । बीपी विचार राष्ट्रिय समाजलाई सशक्त र चुस्त दवाव समूहको रूपमा विकसित गर्नुपर्ने सुझाव प्रस्तुत भएका थिए ।
कम्युनिष्टहरूले प्रजातान्त्रिक समाजवादको अवधारणा चोरेका छन् । बहुदलीय जनवाद, समाजवाद, नौलो समाजवाद बीपीकै विचारलाई आधार मानेर आफ्नो अनुकूल हुने गरी ब्याख्या गरेका हुन् । कम्युनिष्टको खोल भित्रको ब्याख्या त्रुटिपूर्ण रहेको र कथित वैज्ञानिक समाजवादी सोचभित्र मानिसलाई बस्तु सरह मानिएको सन्दर्भमा पनि नेपाली काङ्गे्रस मौन रहनु रहस्यमय छ । बीपीले भन्नुभएको थियो—मानिस ब्रेडले होइन, बे्रनले सञ्चालित हुन्छ, त्यसको ब्याख्या हुन सकेको छैन । मध्यमार्गको रूपमा कम्युनिष्टहरू स्थापित भइसक्दा पनि प्रगतिवादीहरूको आँखा खुल्न नसक्नु र प्रजातान्त्रिक आवरणभित्र बसेका कथित विद्वान्हरूबाट बीपी विचार धमिल्याउन खेल्दै गरेको भूमिकाबारे समाजले अनुसन्धान गरोस भन्ने आमधारणा रहेको पाइयो ।
दुई दिनसम्म चलेको सातौैँ साधारण सभामा ५५ जना सहभागीहरूले आ—आफ्नो समस्या र विचार राख्नुभएको थियो । वक्ताहरू निम्नअनुसार हुनुहुन्थ्यो ।
१) श्री दिपक कुमार पटेलः सभापति, प्रदेश नंवर १, बीपी विचार राष्ट्रिय समाज पर्सा
२) श्री चीनु पोखरेल ः नेपाल महिला संघ केन्द्रीय सदस्य
३)श्री अनन्त राज न्यौपानेः
५) श्री राजन पन्त ः बीपी विचार राष्ट्रिय समाज केन्द्रीय सदस्य (पाल्पा)
६)श्री चुन्नीशरण यादव ः प्रदेश नं—२, सभापति, समाजको केन्द्रीय सदस्य
७)श्री ललीता किङ्सिङ् मगर ः सांसद काभे्र
८)श्री शान्ता रिजाल ः मोरङ
९)श्री चिरन्जिवी शर्मा ः म्याग्दी
१०)श्री भुपेन्द्रबहादुर थापा ः सभापति, उदयपुर
११)श्री विश्वनाथ दाहाल ः काठमाडौैँ
१२)श्री लवश्री न्यौपाने ः रामेछाप
१३)श्री सुवास लोहनी ः विदेश शाखा प्रतिनिधि, जापान
१४)श्री रामकुमार रम्देल ः खोटाङ
१५)श्री दगदीशप्रसाद ओली ः सुनसरी
१६)श्री रेवतीप्रसाद भुसाल ःसभापति, प्रदेश नम्वर ५
१७)श्री देवकी गौतम ः सहसचिव, बीपी विचार राष्ट्रिय समाज चितवन
१८)श्री नेत्रलाल ओली ःकर्णाली प्रदेश सल्यान
१९) श्री खत्रीराज न्यौपाने ः मोरङ
२०)श्री माधवराज नेपालः पाल्पा
२१) श्री कविराज न्योपाने केन्द्रिय सदस्य बीपी विचार राष्ट्रिय समाज
२२) श्री खेमराज पौडेल ः उपसभापति, गण्डकी प्रदेश, बीपी विचार समाज
२३) श्री चैतन्यराज भट्टराई ः ओखलढुङ्गा
२४) श्री टंक गैरे ः स्याङ्जा
२५) श्री केशव भट्टराई ः सभापति सुनसरी समाज
२६) श्री हर्कलाल गिरी ः सभापति, झापा, समाज
२७) श्री शरद भट्टराई ः सभापति, रूपन्देही, समाज
२८) श्री खेमराज सेढाई ः सभापति, प्रदेश नम्बर ३
२९) श्री डेकेन्द्रराज कंडेल, सभापति, लमजुङ, समाज
३०)श्री अरुण किशोर राठोर ः सभापति बर्दिया, समाज
३१)श्री विष्णुबहादुर शाही ः सभापति जुम्ला , समाज
३२)श्री परशुराम गिरी ः सचिव, गण्डकी प्रदेश, समाज
३३) श्री राधा श्रेष्ठ, सदस्य लमजुङ, समाज
३४) श्री रमेशसिँह भण्डारी ः सभापति बैतडी,समाज
३५)श्री द्रोणराज उपाध्याय ः सभापति पर्वत
३६)श्री हरि खनाल ः सभापति, इलाम, समाज
३७) श्री राजन दहाल ः केन्द्रीय सदस्य धनुषा
३८) श्री बीरबहादुर हमाल ः सभापति, प्रदेश नंवर ७ , समाज
३९) श्री हरिभक्त तिवारी ः धादिङ
४०)श्री दुर्गाबहादुर राना ः सभापति, नवलपुर, समाज
४१)श्री दीलकुमारी राई
४२)श्री लक्ष्मण सिंह थापा ः सभापति गुल्मी
४३) श्री सुनिल कुमार भण्डारी ः केन्द्रीय सदस्य
४४) श्री सुरेश कोइराला ः संयोजक , धनुषा, समाज
४५) श्री भरतबहादुर विष्ट , कन्चनपुर
४६) श्री खगेन्द्र हमाल ः सभापति, रोल्पा, समाज
४७)श्री हेमाशर्मा ओली ः प्रतिनिधि, सल्यान, समाज
४८)श्री हरिशरण पण्डितः तनहुँ, प्रतिनिधि
४९) श्री माधवप्रसाद आचार्य ः मकवानपुर, प्रतिनिधि
५०)श्री औसत न्यौपाने ः कास्की
५१)श्री सुनिल सापकोटाः सुनसरी
५२) श्री शिव कटवाल ः उदयपुर
५३)श्री चिरञ्जिवी अर्याल ः नवलपरासी
५४ ः श्री सुकुलराज गुरुङ ः तनहुँ
५५) श्री मंगल म्याङ्वो ः ताप्लेजुङ
५६)श्री शुशीला सुवेदी ः दाङ, नेपाल शिक्षक संघ
जेठ १९ गते दोस्रो सत्र पछि समापनको कार्यक्रम निर्धारित गरिएको थियो । त्यस अघि सहभागीहरूको तर्फबाट विधान संसोधनबारे राखिएका कार्यक्रम विस्तार र विदेशमा शाखा खोल्ने प्रस्ताव जिल्ला कार्य समितिमा मनोनयन आदि स्पष्ट पार्नु हुँदै सह–सभापति श्री गोविन्दराज जोशीले मुलुकको नियम कानूनलाई दृष्टिगत राखेर कार्यक्षेत्र तोकिएको छ । जिल्ला जिल्लाको समाज दर्ता गराउँदा विधान अनुरूप हुने गरी गर्नु पर्ने अवस्था रहेको जानकारी गराउनु भएको थियो । उहाँले सामाजिक संस्थाको भूमिकालाई दृष्टिगत गरी नेपाली काङ्ग्रेस पार्टीको संगठन निर्माण गर्नुपर्ने स्थितिप्रति ध्यान आकर्षित गराउनु भएको थियो । यसलाई सविस्तार व्याख्या गर्दै श्री जोशीले भन्नु भयो– “बीपीका अनुयायीलाई समेट्न सक्ने अवस्थामा मात्रै बीपीको विचारको प्रतिनिधित्व हुन्छ । महाधिवेशनमा बीपी विचारका अनुयायीलाई जिताउन सकियो भने नेपाली काङ्ग्रेसमा बीपी विचारको सम्वोधन हुन सक्ने स्थिति सिर्जना हुन्छ । नेपाली काङ्ग्रेसको अधिवेशन अगावै समाजको नेतृत्व चयन गर्नुपर्ने हुन्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्याख्या गर्न सक्ने नेतृत्व चयन हुन सकेमा मात्रै समाजको प्रभावकारी प्रतिनिधित्व हुन सक्छ । धर्मबारे बोल्दा बीपी कोइराला आफैले लेख्नुभएको २०१५ सालको घोषणापत्रलाई आधार मानेर धार्मिक स्वतन्त्रताको वकालत गर्नुपर्ने हुन्छ ।”
सहभागी साथीहरूलाई सहभागीताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै श्री जोशीले प्रत्येक व्यक्तिले नयाँ प्रविधिको सामान्य जानकारी जस्तै एस एम एस पढ्ने बानी बसाउने इमेल खोली त्यसमा प्राप्त हुने पत्रहरू सूचनाहर पढ्ने बानी बसाउन विशेष अनुरोध गर्नुभयो ।
त्यस अघि महासचिव श्री विनयध्यज चन्दले राजनीतिले र अवधारणा पत्र पारित गर्न प्रस्ताव राख्नुहँुदा सर्व समितिले केहि परिमार्जन का साथ पारित भएको घोषणा भएको थियो ।
दुबै दिनका कार्यक्रमहरू सहमहासचिव श्री रामबहादुर गुरुङ्गले सञ्चालन गर्नुभएको थियो ।
अन्त्यमा समापन मन्तव्य दिनु हुँदै समाजका सभापति श्री केबी गुरुङ्गले बीपी विचारको सान्दर्भिकता, औचित्य र आवश्यकता सहभागीहरूको समर्पित भावले पुष्टि गरेको भन्नु हुँदा करतल ध्वनिबाट उहाँको मन्तव्यको समर्थन गरिएको थियो । दुई दिनसम्म टाढा टाढाबाट आउनुभएका साथीहरूले बडो उमंग, उत्साह र जिज्ञासाका साथ बीपी विचार बारे मन्तव्य प्रकट गर्नुभयो । त्यसबाट आफू प्रभावित भएको कुरा व्यक्र गर्नुभयो । सभापतिले बीपी विचारका अनुयायीहरूले देशको नाजुक अवस्था, नेपाली काङ्ग्रेसको दिशा विहिनता र जनआकांक्षा समेतलाई आत्मसात गरी संगठन विस्तार गर्नुपर्ने कठिन स्थितिको विवेचना गर्दै राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको स्थापनाका लागि संघर्ष गर्दै आउनुभएका क्रान्तिकारी साथीहरूले समयले खोजेको चुस्तदुस्त संगठन निर्माण गर्नुहुने कुरामा विश्वस्त छु भन्नुभयो । सहभागी साथीहरू, सभामा सघाउनुहुने सबै प्रति आभार व्यक्त गर्दै बीपी विचार राष्ट्रिय समाजको सातौँ साधारण सभाको धुम्वाराही काठमाडौमा समापन गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button