सोमबारबाट९५ दिनपछि नेप्सेमा नियमित कारोबार
कोभिड–१९ का कारण चैत १० गतेबाट बन्द रहेको सेयर कारोबार ९५ दिनपछि सोमबारबाट नियमित हुने भएको छ । आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिको बैठकले नियमित कारोबार समय एक घन्टा घटाएर सोमबारबाट बजार खोल्ने निर्णय गरेको हो । यसबीच दुई दिन कारोबार खुला गरेर बजार पुनः बन्द गरिएको थियो । यसअघि नियमित कारोबार समय ५ घन्टाको हुने गरेकोमा अब भने कारोबार अवधि ४ घन्टामा सीमित हुने भएको हो ।
बजारमा मूल्य परिवर्तन, सर्किट ब्रेकर लाग्ने अवस्था भने चैत १० गते बजार बन्द हुनुअगावैका आधारमा हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । बजार ४ प्रतिशतले बढ्दा पहिलो र त्यसपछि ५ प्रतिशत र ६ प्रतिशतसम्म बढ्दा सर्किट ब्रेक लाग्ने चलन छ ।
मूल्य घटबढ सीमा १० प्रतिशत नै कायम छ । यद्यपि, सो सीमा पुगेपछि मूल्य पुनः घटेर कारोबार गर्न सकिने व्यवस्था छ । सो दिन बिहान धितोपत्र बोर्डले बजार खोल्न नेप्सेलाई निर्देशनसमेत दिएको थियो । ‘हामीले यसअघि दुई दिन बजार खुला गर्दा धेरै लगानीकर्ताले भुक्तानी माध्यम छनोट गर्न सकेका थिएनन्, औसत भारित मूल्य अनलाइनमा प्रविष्टि गर्न पनि सकिरहेका थिएनन्,’ धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘अब कारोबार गर्न चाहनेले भुक्तानीका लागि एकै दिन बैंकमा पुगेर सबै काम सक्न सक्छन्, भारित मूल्यको फाइल पनि अनलाइन नै ट्रान्सफर हुन सक्ने व्यवस्था गरिएको छ ।’
यसअघि केही लगानीकर्ताले सेयर धितो कर्जाको सीमा ६५ बाट बढाएर ८० प्रतिशत पु¥याउनुपर्ने, ब्रोकरहरूले दिन सक्ने मार्जिन कर्जा सुलभ बनाउनुपर्ने, सबैलाई अनलाइन प्रणालीमा जोड्नुपर्ने, कनेक्ट आइपिएसको प्रयोग गरेर अनलाइन कारोबार गर्ने सीमा १० लाखबाट बढाउनुपर्ने र ५ प्रतिशत पुँजीगत लाभकरलाई अन्तिम कर मान्ने व्यवस्थापछि मात्रै कारोबार सुचारु गर्नुपर्ने माग राख्दै आएका थिए । केही दिनअघि भने धितोपत्र बोर्ड र लगानीकर्ताबीच बजारलाई अवरुद्ध नगर्ने सहमतिसमेत भएको थियो ।
बजार खोलेपछि अनलाइन कारोबार गर्नेहरूले समेत दोहोरो डिम्याट खाता खोल्न पाउने सुविधा मिलाउन लगानीकर्ताले आग्रह गरेका छन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘कि त अनलाइनबाट कारोबार गर्नेलाई पनि दुईवटा खाता खोल्ने सुविधा दिनुपर्छ, कि त एकभन्दा बढी ब्रोकरबाट आफ्नो डिम्याट खातामा पहुँच हुने व्यवस्था हुनुपर्छ ।’
सबैतिरबाट बजार खोल्नुपर्ने दबाबपछि गत आइतबार धितोपत्र बोर्डले बजार खोल्न अध्ययन समितिसमेत बनाएको थियो । समितिले समेत बजार खोल्नुपर्ने प्रतिवेदन पेस गरेको बुझिएको छ ।
तपाईंको प्रतिक्रिया
