Uncategorized

यी हुन् जनताको दु:खका कारण

राजनीति र नैतिकता अविभाज्य छन् । नैतिकता व्यक्ति र समाजलाई खराब कार्यबाट बचाउनका लागि आवश्यक छ ।

हाम्रो समाजमा चाहे नागरिक हुन् या राजनीतिज्ञहरू यी सबैले साझा हितभन्दा व्यक्तिगत रुचिलाई प्राथमिकता दिएको देखिन्छ ।


ADVERTISEMENT


नैतिकता बिस्तारै सार्वजनिक क्षेत्रबाट टाढा जाँदै छ। इमान्दारी, पारस्परिक व्यवहार, निष्पक्षता, जिम्मेवारी, निष्ठा र दक्षताजस्ता सामाजिक सद्गुणहरू शासकको नैतिक मूल्य मात्र नभई नैतिक योग्यता पनि हो ।

नैतिकता र धार्मिक मूल्यहरूको सम्बन्ध अतुलनीय छ। नैतिक मूल्य र मान्यतालाई नेपालका राजनैतिक पार्टीहरूले आफ्नो फाइदाका लागि विनास गर्दै गए ।



हिन्दु राज्यबाट धर्मनिरपेक्ष बनाउनु यसको ज्वलन्त उदाहरण हो । धार्मिक मूल्य मान्यताहरूको शिक्षा स्कूल, कलेजबाट हटाइनुका साथै धार्मिक मूल्य मान्यताहरूको वातावरण विनास गरिएको छ। त्यसैले नैतिकता पनि बिस्तारै घट्दै गयो। अहिले आएर नेपालीका किशोर र युवाहरू जुन समाजको ठूलो वर्ग हुन् उनीहरू अनैतिक र भ्रष्ट वातावरणमा हुर्कँदैछन् ।

विगत ३१ वर्षमा हाम्रो देशमा पूर्वाधार परिवर्तन र अरू केही राम्रा कुरा नभएका होइनन्, तर राजनीतिमा नीति र नैतिकता बिस्तारै फितलो हुँदै गयो । नैतिकताविनाको समाज र विकासले लामो दौरानमा समाजलाई एक दिन नराम्रोसँग खाडलमा हाल्नेछ ।

हुन त अरिस्टोटलले आफ्नो समाजमा नै खुशी हुनु र अरूलाई खुशी पार्ने प्रयास गर्नु नै नैतिक जिम्मेवारी हो, भनेका थिए । तर हाम्रो समाजले प्राथमिक मूल्यहरू दिनप्रतिदिन बिर्सिएको भान हुन्छ ।

नागरिकहरू आफ्नो गुट वा पार्टीको मात्रै फाइदा हुने गरेर माग अघि सार्छन् भने त्यो मागलाई शासकहरूले आफ्नो फाइदाका लागि मात्रै पूरा गर्नका लागि पहल गर्छन् ।

समाज विकास र कल्याणका लागि आर्थिक र सामाजिक नीति नैतिकताका आधारमा निर्माण हुनुपर्छ ।

Machiavelli भन्छन्- मानिसहरू स्वभावले कपटी हुन्छन् । त्यसैले शासकहरू आफ्नो शक्तिलाई कायम राख्न कुनै पनि अनैतिक भ्रमकारी उपायहरूको प्रयोग गर्दछन् ।

३१ वर्षको प्रजातान्त्रिक अभ्यासमा नेपाली जनताले केवल छलकपट मात्र भोगेका छन् । पद र पैसाका लागि नेपाल यति धरै राजनैतिक प्रयोग भयो जुन अरू मुलुकमा बिरलै हुने गर्छ हाम्रो समाजमा आज भ्रष्टाचार राजनीतिको एउटा महत्त्वपूर्ण औजार भएको छ।

कुनै समय राजनीति भनेको प्रतिज्ञा थियो, आज यो धन कमाउने सजिलो साधन भएको छ। नैतिकताविनाको राजनीति र राजनीतिज्ञहरू नै स्वतन्त्र राष्ट्रका लागि अत्यन्त दुर्भाग्य हुन्छन् । 

चुनावी राजनीतिबाट आएका सरकारहरू न त सर्वशक्तिमान् हुन् न त सर्वज्ञ नै। चुनाव केवल एउटा महत्त्वाकाङ्क्षी विषय हो। चुनावी राजनीतिले दैनिक जीवनमा आश्चर्यजनक परिवर्तन भने ल्याउँदैन रहेछ भनेर बिस्तारै प्रमाणित हुँदै गएको छ। चुनावी राजनीतिबाट आएको सरकारले नेपालमा धेरैजसो क्षुद्र महत्त्वाकाङ्क्षाहरूबीचको अन्तहीन झगडा, शक्ति र पैसाको बीचमा समतुल्य सम्बन्ध, न्यायमाथि ढोङ गर्ने कानून, विशेषाधिकारलाई सुदृढ पार्ने नीतिलाई नै बढावा दिँदै आएको छ। भित्तामा पोतिएका उम्मेदवारहरूको नाम, फोटो र उनीहरूले गरेका प्रतिज्ञाले किनिएको भोटले आजसम्म पनि आमजनतालाई चोटभन्दा अरू केही दिएको छैन ।

शिक्षाको गुणस्तर बढाउने, स्वास्थ्य सेवा र स्वास्थ्य प्रणालीको विकास गर्ने, आधारभूत आवश्यकता र सेवाहरू जनतासामु पुर्‍याउने, शान्ति सुरक्षा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, गरीबी उन्मुलन गर्नेजस्ता चुनवअगाडि गरिएका प्रतिज्ञाहरू कहिल्यै पूरा हुँदैनन् । यिनै एजेन्डामा फोहोरी खेल खेल्दै सरकार चलि नै रहन्छ । राजनीति गर्नका लागि झुटो कला कहिल्यै परिवर्तन हुँदैन, तर यसकाविरुद्ध हाम्रो सहिष्णुता बिस्तारै परिवर्तन हुँदै गएको छ ।

हुन त प्रजातन्त्रलाई अहिलेसम्म सबैभन्दा राम्रो व्यवस्था मानिन्छ तर वास्तविक प्रजातन्त्र जहिले पनि असफल भएको छ । यो मानव प्रकृतिकै विरुद्ध छ। एक मानिसले अर्को मान्छे वा एक वर्गले अर्को वर्गमाथि शासन गर्ने कुरा मानव प्रकृतिविरोधी हो। जहाँ एकले अर्कालाई नियन्त्रण गर्छ त्यहाँ सधैँ उत्पीडन हुन्छ ।

लोकतन्त्र पनि चुनावबाट उत्पादन भएको व्यवस्था हो। सबै व्यवस्थाहरू क्रान्तिबाट नै आउने गर्छन्। चाहे त्यो जंगलबाट प्रयोग गरिएको गोली होस् या सडकमा हानिएको गोली होस्। फरक यत्ति हो बन्दुक र गोलीको लडाइँमा मान्छे मर्छन्, तर चुनाव पनि एउटा यस्तो द्वन्द्व हो जसमा तुरुन्तै हत्या भने हुँदैन । कागजको गोली (मतपत्र) प्रयोग गरेर जनतालाई बिस्तारै मार्ने काम गरिन्छ।

हामीजस्ता थुप्रै युवाहरूले आफ्नै देशमा हुँदा भोट हालेर पठाएकाहरूले हामीलाई हातमुख जोर्नका लागि बिदेसिन बाध्य बनाउँदै गर्दा हामी देशमा नभएका बेला हाम्रा हक र अधिकारका लागि अरू कसैले हालेको भोटले हाम्रो भविष्य निर्धारण गर्छ भनेर कसरी विश्वास गर्ने ? यो सत्य हो मतदान लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कार्य हो तर जसले भोट हाल्छ उनीहरूले केही पनि निर्णय गर्न सक्दैनन्, जसले जसका लागि भोट गणना गर्छन् त्यसले अरू सबैका लागि निर्णय गर्ने क्षमता राख्छ ।

झुटो आश देखाउँदै भाषण गरेर शासन गर्दै रासन कुम्ल्याउने भ्रमजीवीहरूका माझमा काम गरेर थोरै भए पनि पैसा कमाएर माम खाने श्रमजीवीलाई अहिलेसम्म भएका विभिन्न परिवर्तनले जीवनशैलीमा कुनै परिवर्तन ल्याउन सकेको छैन। राजनीतिक संस्थाहरूको अस्तित्व आफैँमा अपर्याप्त छ ।

नेपालमा प्रत्येक चुनावी अभियानहरू झुट, हेराहेरी, प्रतिज्ञाहरू, हिंसा, शक्तिको दुरुपयोग, त्रासदी र अनिश्चितता तथा मतदाताहरूको बुद्धिको अपमानले भरिएको छ। नागरिकहरूको उदासीनता र अनिश्चिततालाई अहिलेसम्म कसैले मलम लगाउन सकेको छैन । चुनाव केवल नेता र कार्यकर्ताका लागि मात्र खुशीको कारण बनेको छ 

स्वतन्त्रता र लोकतन्त्र वैचारिक कर्तव्य मात्र होइन तर के गर्ने आजकल चुनाव हारेको नेतालाई जिताउन, चुनाव जितेको मान्छेले आफ्नो पद त्याग गर्नुपर्ने अवस्था छ। यो कस्तो लोकतान्त्रिक अभ्यास हो ? के जनताको भोटको कुनै मूल्य छैन ? चुनाव नेपाली लोकतन्त्रका लागि एउटा जाल भएको छ जसमा हरेकचोटि चर्को भाषणको आडमा नेपाली जनताहरू जालभित्र पर्छन् 

यहाँ निर्वाचनविना लोकतन्त्र सुदृढ हुँदैन भन्दै गर्दा चुनावी प्रक्रिया नैतिकरूपमा ह्रास हुँदै आएको छ । राजनीतिक दलले अन्य दल र नेताहरूसँग मिलेर अनैतिक चुनावी धोखाधडी र युक्तिहरू सञ्चालन गर्दै जसरी भए पनि चुनाव जित्ने संस्कारले खराब प्रतिनिधिहरू र खराब सरकारहरूको जन्म दिन्छ।

३१ वर्षको राजनैतिक प्रयोगले कुनै बेला चप्पल पड्काएर काठमाडौँ छिर्नेहरूलाई सम्पन्न बनायो भने देशका लागि केही गर्नुपर्छ भन्नेलाई बिदेसिन बाध्य बनायो ।

छात्रवृत्ति जेहनदार छात्रहरूलाई नभएर नेताका छोराछोरीका लागि मात्रै भयो। शिक्षा प्रणाली परीक्षा प्रणालीमा परिवर्तित भयो। आयोग समस्या समाधानका लागि नभएर आफ्ना मान्छे भर्ने स्थान भयो।

विकास निर्माणका काम आफन्तलाई ठेक्का दिने यन्त्र बन्यो । हामी त्यस्तो समाजमा छौँ जहाँ व्यापारीभन्दा राजनीतिज्ञहरू धनी छन् ।

बुढापाका भन्ने गर्छन्, ‘जुन देशमा राजनीतिज्ञ र समाजसेवी व्यापारी हुन्छन्, त्यो देशमा जनता सधैँ भिखारी हुन्छन्।’

भ्रष्ट लोकतन्त्रलाई नैतिक लोकतन्त्रमा परिवर्तन गर्न त्यति सजिलो छैन । जब सिद्धान्त मर्छ तब विचारधारा पनि मर्छ । विचारधाराले राजनीतिमा अत्यावश्यक भूमिका खेल्छ ।

विचारधाराले राजनीति गर्नेहरूको मूल्य र प्राथमिकतालाई श्रेणीकरण गर्न मात्र सहयोग पुर्‍याउँदैन यसले राजनीतिक वैधानिकताको उद्देश्य परिपूर्ति गर्दछ । विचारधाराविना सिद्धान्त, सिद्धान्तविना प्रतिष्ठा र प्रतिष्ठाविना राजनीति हुँदैन । जुन राजनीति सही बाटोमा नै हिँडेको छैन त्यो राजनीतिले कसरी समाजलाई सही गन्तव्यमा पुर्‍याउन सक्ला ?

चुनाव जितेर सत्तामा जानु भनेको मोजमस्ती अनि आफ्नो र आफ्नाको स्वार्थ पूरा गर्नु हो भन्ने मान्यता बिस्तारै बढ्दै गएको छ र जसरी भए पनि अनि जोसँग मिलेर पनि सत्तामा जाने र पद लिने भर्‍याङ नेपाली राजनीतिमा यत्रतत्र देखिन्छ । राजनीति नैतिकताविना सफलतापूर्वक सञ्चालन हुन सक्दैन। नीति जसले नैतिकतालाई बेवास्ता गर्दछ, सधैँ खराब नीति हुन्छ।

१९९१ मा भूटानको जीडीपी प्रतिव्यक्ति $ ४६८ थियो भने नेपालको $२०२ थियो। २०१९ मा आएर भुटानको जीडीपी प्रतिव्यक्ति $3,287 भयो भने नेपालको $1,071 मात्रै थियो। यो ३१ वर्षमा हामीले के पायौँ र के गुमायौँ त्यो सर्वविदितै छ।

क्यालकुलेटरले गर्ने हिसाब त गर्दै गरौँला तर श्रीमानको कमाइले नयाँ फरिया, चोली र सिन्दुर लगाएर माइत जाने आशामा बसेकी श्रीमतीको सिन्दुर पुछिएकै छ ।

छोराले कमाएको पैसाले एउटा बुलाकी लगाएर राम्री बुहारी भित्राउँदा आँगनमा धुलो उडाउँदै रत्यौली खेलुँला भन्ने आमाहरू छोराको लास हेरेर कुनामा भक्कानो छोडी रोइ नै रहेका छन्।

छोराले पैसा कमाएर ल्याएपछि फाटेको इस्टकोटको सट्टा नयाँ कोट लगाएर कान्छो छोराको बिहे धुमधामसँग गर्ने रहर पूरा नहुँदै कैयौँ बुढा बा छोराको मलामी गएकै छन् ।

दाइले जुत्ता ल्याएपछि चप्पल लगाउनुपर्दैन भन्ने आशामा बसेको भाइ, तिहारमा टीका लगाएर उपहारको प्रतीक्षामा बसेकी बहिनी, साथी फर्केर आएपछि घुम्न जाने आशामा बसेका बालसखाहरूको सपना अकस्मात् त्यसबेला चकनाचुर हुन्छ, जब विदेशबाट बाकसभरि उपहारको सट्टा बाकसभित्र रहेको आफन्तको लास लिन एयरपोर्ट जान बाध्य हुन्छन्।

यी सबै दु:खी, गरीब र असहाय नेपालीहरूको दुखेको मनको हिसाब कसले, कहिले, कसरी र कुन क्यालकुलेटरमा गर्ने?

आर्थिक समृद्धितिर अगाडि बढ्न सकिएला तर सामाजिक मूल्य मान्यता, धर्म संस्कृति, नैतिकता, हजारौं मानिसको जीवन आहुतिको हिसाब कसले गर्ने ?

आफ्नो छिमेकीको रगतले पोतिएको समाजले अझ पनि विखण्डनकारीहरूको स्वार्थका लागि समाजलाई पछाडि धकेल्न विभिन्न बहाना खोजिरहेका छन्।

नैतिकताको प्रश्न शासकलाई मात्रै लागू हुँदैन। कतै हामी जनता नै नैतिक मूल्य र मान्यताको विषयमा कमजोर भएका त होइनौं ?

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

nema
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button