Uncategorized

‘बिख’ भएका, ‘इख’ नभएका हाम्रा राजनेताहरु

युवराज घिमिरे

बैशाख ३१, २०७८

एउटा अर्थहीन राजनीतिक अभ्यास हालै सम्पन्न भयो। प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारप्रति अविश्वास व्यक्त गर्‍यो। सरकारको नेतृत्व गर्ने उनको हैसियत खोसियो। ७८ घण्टाका लागि उनी पदमुक्त भए।

बिहीबार राति ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पुन: प्रधानमन्त्री नियुक्त गरिन्। वास्तवमा नेपालको संविधान कुनै अर्थमा जीवित छ भन्ने प्रमाणका रुपमा त्यसको धारा ७६ (२) र ७६ (३) को सक्रियताले सावित गरे।

७६(२) अन्तर्गत नेतृत्वको दाबी गर्ने साहस, चरित्र र गणित प्रतिपक्षका मुख्य नेता शेरबहादुरले देखाउन सकेनन्। त्यसपछि स्वत ७६ (३) सक्रिय भयो। राष्ट्रपति भण्डारी समक्ष बाध्यात्मक परिस्थिति उत्पन्न भयो, जुन शीतलनिवास र बालुवाटार अनुकूल पनि थिए।

शुक्रबार अपराह्न राष्ट्रपति भण्डारीले ओलीलाई शपथ ग्रहण गराउँदै गर्दा र त्यसअघिका ७८ घण्टामा मुलुकमा कोभिड १९ का कारण ज्यान गुमाएका करिब १ हजार नेपालीहरुको अन्त्येष्टि सम्पन्न भएपनि शोकको लहर व्याप्त छ मुलुकमा।

कोभिड १९ इतर रोगबाट ज्यान गुमाउनेहरुको संख्या कम छैन, तर मुलुक त्यो जानकारबाट बञ्चित छ। त्यस अर्थमा ओली झनै भाग्यमानी साबित भए। ती मृत्युको कुनै हिसाबले जिम्मेवारी उनले लिनै परेन। किनकि उनी प्रधानमन्त्री थिएनन्।

अक्सिजन र ‘लाइफ सेभिङ ड्रग्स’ को अभाव र तिनको व्यवस्थित वितरण नहुँदा राजधानी तथा बाहिरको अस्पतालहरुमा, सडकमा र घरघरमा महामारीबाट आक्रान्तहरुको छटपटी र जीवनको क्षणभंगुरता महसुस गर्दै जीवनलीला समाप्तितर्फ लागको नेपाली मानव जीवनका लागि शुक्रबार शीतलनिवासको विजय उत्सव या समारोहले के अर्थ राख्ला ? राजनीति जनताबाट टाढिएको योभन्दा ठूलो प्रमाण के होला र?

राष्ट्रिय शोकका बीच ओलीको पुन: सत्तारोहण भएको छ, त्यसले कतै आशा जगाएको देखिँदैन। नेपाली राजनीतिबाट ‘नैतिकता’ को प्राणपखेरु उडेको धेरै भयो। तर, संसदलाई ‘कुरी कुरी’ गर्दै उसले उसैले अस्वीकार गरेको तिनै व्यक्तिलाई आफ्नो नेता मान्ने परम्परा दुनियाँका कुनै कथित ‘लोकतन्त्र’ मा हुँदैन।

तर, ‘नैतिकता’ व्यक्तिको मान्यतामा परिभाषित र जीवित हुने हुँदा नैतिकताको अनुपस्थितिले सबैको राजनीतिक महत्वकांक्षालाई एकै हिसाबले प्रभावित गर्दैन। ‘मलाई संसदले अस्वीकार गरेको छ, म अरु कसैका लागि मार्गप्रशस्त गर्छु’ भन्ने साहस खोज्नु आफैँमा दुस्साहस हुनेछ।

विवेक र नैतिकताविहीन सत्ता अन्धो हुन्छ। उसमा शारीरिक अन्धोपनको शक्ति हुँदैन। शारीरिकरुपमा ‘चर्मचक्षु’ निस्क्रिय हुँदा विवेक र अन्तरात्माको चक्षु खुल्छ। सुरदास, मीरा बाई र नेपालको वर्तमान सन्दर्भमा विशाल आकाशमा उज्वल नक्षत्रका रुपमा देखा परेका रमेश प्रसाईँ त्यसका केही प्रतिनिधि उदाहरणमात्र हुन्।

शीतलनिवास र बालुवाटार अनि उनीहरु मातहत रहेका सबै दलीय राजनीतिक र प्रशासनिक संयन्त्र यो संरचनाहरुले पनि यी चार दिनका फजुल अभ्यासका क्रममा भएका, गरिएका र गराइएका राजनीतिक अपराधहरुको लेखाजोखा गर्नु आवश्यक छ। नेपाली जनताका बीच यी प्रसंगहरु सधैँ सन्दर्भ घटना (अपराध) का रुपमा अंकित रहने छन्, पछिसम्म।

एक हजारभन्दा बढी कोभिड १९ आक्रान्तहरुको ज्यान गए पनि अस्पतालमा भर्ती भएकाहरुलाई अहोरात्र बचाउन खटिएका र आफैँलाई जोखिममा पारेका नर्सहरु सन्तानलाई बचाउन परी आएमा आफूलाई नै मेटाउने मातृशक्तिको महानताका प्रतीक बनेका छन्।

उनीहरुमध्ये अधिकांशले पर्याप्त या सरकारी स्केल अनुरुपको तलब भत्ता समेत पाएका छैनन्। आफैँलाई बचाउने न्यूनतम सामाग्री र सुविधा (पिपिई)बाट उनीहरु वञ्चित छन्। त्यतिमात्र हैन, एउटा जीवन बचाउन उनीहरुले खाने, पिउने र दिशा पिशाब गर्ने नियमित शारीरिक आवश्यकतालाई नियन्त्रण गर्ने बाध्यतालाई दैनिकी बनाएका छन्।

मुलुकमा मृत्युको लहर जारी छ। औषधी नपाएर छटपटाउनेको संख्या बढ्दो छ। तर, झट्ट हेर्दा अहिलेको सत्ताको हानथापमा जित्ने र हार्ने एकै खालका, एकै चरित्रका छन्। जनताको सर्वोच्च प्रतिनिधि थलो मानिने त्यो बिचरा संसदको हार भएको छ। किनकि त्यसको अभिमतको मृत्यु चार दिन नै भएको छ।

वास्तवमा हजाऔँ फ्लोरेन्स नाइटिङ्गेलले अवतार लिएका छन् नेपालमा अहिले। तीसँगै सफाई कर्मचारीहरु, प्यारामेडिक र चिकित्सकहरु आफैलाई खतरामा पारेर नेपालीहरुलाई बचाउने अभियानमा युद्धरत छन्। त्यसलाई उनिहरु आफ्नो कर्तव्य ठान्छन्, किनकी उनीहरु राजनेता हेनन्।

नेपाली राजनीतिज्ञहरु समानान्तर रुपमा नेपालको अस्तित्व, अस्मिता, स्वतन्त्रता र स्वाभिमानलाई बन्धक राखेर सत्ताको नाङ्गो खेलमा लिप्त छन्, जसको पराकाष्ठाको भुक्तभोगीका रुपमा २०७८ बैशाख २७ देखि बैशाख ३१ सम्मका चार दिन क्यालेन्डरमा अंकित छन्। यद्यपी त्यसको लामो पृष्ठभूमि छ र दुरगामी परिणाम भोग्न बाध्य हुनेछन् नेपाल र नेपालीहरु आउने कयौँ दिनसम्म । यो अवधिमा को नांगिएन ?

आफूलाई तराईका ‘मसिहा’ र गान्धिवादी मान्ने महन्थ ठाकुर वास्तवमा अपहरित सांसदका नाइके बन्न पुगे। प्रजातन्त्रमा विचार, आवागमन, सम्पत्ति, रोजगारी र समानता तथा समान अवसरको हक र स्वतन्त्रता रहन्छ। तर विलासी होटेलमा कडा पहराबीच राखिएका सांसदहरुको शरीर र विचारमा नियन्त्रण गरेर विदेशी दूतावासमा दिशानिर्देश लिन जाने व्यक्ति कति नेपाली जनता र मुलुकको हितप्रति समर्पित होला?

तर महन्थ ठाकुर र राजेन्द्र महतोलाई मात्र त्यो आपराधिक र गैर राजनीतिक प्रवृत्तिका प्रतिनिधि मान्नु अपराध हुने छ। उपेन्द्र यादव र बाबुराम भट्टराई त्यही प्रकृतिका पात्र हुन्। ओलिको राजनीति व्यक्ति हत्याबाटै शुरु भएको हो। प्रचण्ड त सरदार नै भए।

माधवकुमार नेपाल नेपाली राजनीतिका बिचरा पात्र साबित भएका छन् फेरि। पार्टीको एकता या विभाजन आफ्नो आदर्श र सिद्धान्तका आधारमा हुनु प्रजातान्त्रिक हो। तर हिजो दरबार हत्याकाण्डमा छानबिन आयोग माग गर्दे ‘म त्यसमा छुट्नु हुन्न नि सरकार’ भनेपछि राजा ज्ञानेन्द्रबाट उक्त आयोगमा सामेल भएको भोलिपल्टै त्यसबाट बाहिरिएको चरित्रलाई उनले यसपल्ट पनि निरन्तरता दिएका छन्।

केका लागि ओलीको विरोध गरे, केका लागि संसदको महत्वपूर्ण ५ घण्टा खर्चे? केका लागि मतदान बहिष्कारवादी ती २८ को झुण्ड तयार गरे। र केका लागि ओलिसँग लम्पसार परे बिहीबार ?

यो उनका निजी मामिलाको विषय हैन। माधव नेपालसँग माथि वर्णित सबै पात्रहरु राजनीतिबाट पलायनका लायक मात्र सावित भएका छन्। र, कोरोना नियन्त्रणमा अहोरात्र खटिएका ती समग्र समर्पित नेपालीहरुका अभिशापका पहिलो ‘हकदार’ पनि बनेका छन् यिनीहरु ।

ओली र राष्ट्रपतिबाट कयौँ संवैधानिक विचलन भएका छन्। दलीय साँठगाँठबाट मुलुकमा प्रजातन्त्र र राष्ट्रियता माथी उनीहरुले व्यापक क्षति पुर्‍याएका छन्। त्यसले पुगेका क्षति र आन्तरिक राजनीतिमा वैदेशिक प्रभुत्व स्वाभाविक रुपमा स्थापित हुन गएको छ।

विलासी होटलमा नियन्त्रित सांसदहरुको आतिथ्य, नेता ठाकुर र महतोको लैनचौर, शीतलनिवास र बालुवाटार दौडधूप के एउटै षड्यन्त्रका पाटा हैनन् ?

तर, त्यसो भन्दा यी सबै अपराधबाट नेपाली कांग्रेस मुलुकको मुख्य राजनीतिक प्रतिपक्षमा निर्दोष छ भन्ने अवस्था छैन। २०६२–६३ को आन्दोलन, र अझ १२–बुँदेकोपछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसले नेपाली राजनीति र शान्ति प्रक्रियामा माओवादी केन्द्रीयता स्वीकार गरेर आफ्नो इतिहास र भावी राजनीतिमा नेपाली कांग्रेसको सान्दर्भिकताको मृत्युमा हस्ताक्षर गरेका थिए।

बाह्य जगतलाई आन्तरिक राजनीति माथिको निर्णायक अधिकार सुम्पिने क्रममा मन्थराको पुरुष अवतारमा देखिएका कृष्णप्रसाद सिटौला लगायतका दवाबमा कोइराला नेपाली राष्ट्रियता र अस्तित्वमा मियोको हैसियत बनाएको राजसंस्थालाई हटाउन तयार भएका हुन्।

बाह्य आदेश र भारतसँग सहकार्य गरेका पश्चिमा मुलुकहरुको आदेशमा । नेपाली कांग्रेस अहिले त्यही षडयन्त्रमा सहभागिताका कारण सामर्थ्य बिहीनताको प्रतीक बनेको छ। जनताको विश्वास छैन त्यो पार्टी र नेतृत्वमाथि।

कर्ताका रुपमा त्यस बेलाका दक्षिणका पात्र फेरिए होलान्। तर, दासत्व र बाह्य हुकुमलाई शिरोधार्य गर्नु पर्ने १२ – बुँदेको विरासतलाई ओली र भण्डारीले धानेकै छन्। त्यसैले महन्थ ठाकुर र उनको त्यो नांगो शैली अहिले भण्डारी र ओलीका लागि पाच्य बनेको मात्र हैन, त्यसबाट उनीहरुले फाइदा लिएका पनि छन्।

ओलीले आन्तरिक र बाह्य शक्ति केन्द्रसँग आफ्नो सत्ता जोगाउनका लागि फरक फरक समयमा फरकफरक ‘मित’ बनाएका छन्। हिजो पश्चिमा शक्तिले उनलाई मित मानेको बेला ओली सीके राउतलाई निस्तेज बनाउन सफल भए।

उनले र भण्डारीले प्रगाढ मितेरी लगाएको चीनले खुलेर उनीहरुलाई साथ दिए पनि बाम एकता जोगाउन ओलीमाथि राजीनामाको दबाब दिएपछि हिजो ‘नाकाबन्दी’ र सीमा मिचाइको खलनायक बन्दै आएको भारतसँग मितेरी लगाएका छन् ओलीले अहिले। त्यसैले महन्थ ठाकुर र महतो ओली समक्ष नतमस्तक हुनु परेको छ।

हुन सक्छ, सीमा नक्सा जारी गर्ने क्रममा सदनमा त्यसको पक्षमा उभिएका ठाकुर–महतोलाई एउटा पाठ पढाएको छ भारतले अहिलेका लागि। तर, सांसद अपहरण र उनीहरुको विचार तथा हिँडडुललाई नियन्त्रण गर्दै सरकार बनाउने खेल जारी रहनु र उता कोभिड १९ महामारीको ताण्डवमा सरकार उदासीन रहनुले नेपाली राजनीतिज्ञरु, सत्ता प्रतिपक्ष सबै नै नेपाल र नेपालीहरु विरुद्धका पक्ष त हैनन्? भन्ने सन्देश पनि प्रवलरुपमा गएको छ। वर्तमान संसदका सबै पक्ष र पात्र समेतले यो कुरा बुझेका छन्। बोल्न सक्छन् कि सक्तैनन्, त्यो अर्को विषय हो।

ओली कति दिन प्रधानमन्त्री रहलान्? संसद विघटन गर्लान् या बाँकी २२ महिना नै शासन गर्लान्? राजनीतिक रुपमा यी प्रश्नहरु जायज होलान। तर, जति दिन रहे पनि नेपाल र नेपालीका हितमा यी राजनीतिक दलहरु र नेतृत्व वर्ग सक्रिय रहने छैनन्।

किनकी यिनीहरुका धोती न टोपी या सुरुवाल र तिनीहरुले प्रतिकात्मक रुपमा बोकेका राष्ट्रियता, संस्कृति राष्ट्रिय स्वार्थ, हित र पहिचानको नियन्त्रण अन्यत्र कतैबाट भइरहेको छ, ‘पपेट शो’ मा जस्तै ।

बाबुराम भट्टराईले हिजो ‘यो मुलुकको चाबी अन्तै रहेछ’ र उनी जस्तै अन्य कसैले हामीले दरबारलाई हटाएर लैनचौरलाई स्थापित गरे छौँ’ भने पनि त्यसमा उनीहरुले पश्चाताप गरेको नभएर उनीहरुले चाहेको कुरा पूरा भएको अनुभूति गरेको देखिन्छ। अपराधबोधमा प्रायश्चितको झल्को पाइन्छ। तर त्यसलाई नै आफ्नो राजनीतिको अभिष्ट मान्नेबाट त्यो अपेक्षा गरिन्न।

विगत ४ दिनको राजनीतिक प्रहसन भनौँ या लम्पसारवादको कुरा गर्दा २०६३ को परिवर्तनका अगुवाका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले कहाँ छन् त नेपाली राजनीतिमा? के उनको अस्तित्व सुरक्षित छ त ? उनको हालत महन्थ ठाकुरको वर्तमान अवस्थासँग मिल्दोजुल्दो छैन र?

क्रान्तिकारीको ओज, चरित्र र साहसमा विचलन आउँदैन जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि । उनीहरु मुलुकलाई माया गर्न छोड्दैनन्। यो बिपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले अनि मनमोहन अधिकारीले आफै उदाहरण बनेर देखाएको कुरा हो। तर, पराधीनता स्वीकार्दै र महत्वाकांक्षा पूर्तिको लोभमा अन्धो बनेको नेपाली कांग्रेसले यो बुझ्न सकेन।

कृष्णप्रसाद भट्टराईले गणतन्त्र, धर्मनिरपेक्षता र संघियता जस्ता ‘आयातीत’ एजेन्डा अपनाएको नेपाली कांग्रेसलाई त्यागेका थिए। किनकि त्यसो नगर्नु उनका हिसाबले राष्ट्रियता, स्वतन्त्रता र प्रजातन्त्रका साश्वत मूल्यमा सम्झौता र समर्पण गर्नु थियो। तर कस्तो विडम्बना, उनकै बालसखा गिरिजाप्रसाद कोइराला, उनकै प्रिय उत्तराधिकारी देउवा, उनका परम मित्रद्वय गणेशमान पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधि स्वाभिमान, दूरदर्शिता र राष्ट्रप्रतिको त्यो समर्पणमा भट्टराई विरुद्ध उभिएका छन्, भट्टराईको उपेक्षासहित।

तर पनि ‘मूतको न्यानो’ कै रुपमा भए पनि सत्ता पाउन सकेनन् उनीहरुले । दलाली र बाह्य समर्पणको या आयातीत राजनीतिको आफ्नै नियम र परिणति हुन्छ। ठूला र अहिलेको अवस्थामा बढी सान्दर्भिक दलालहरु फेला परेपछि पुराना पाखा लाग्छन्, लगाइन्छन्। नक्कली गान्धीहरुमा अपराधिक राजनीतिको घिनलाग्दो दाग लाग्छ नै अन्तत ।

तर, हरेक पापको प्रायश्चित हुन्छ। गल्ती गर्नु मानिसको स्वभाव हो। तर त्यो गल्तीको भारबाट मुक्त हुन प्राप्त अवसर नगुमाउनु व्यक्तिको महानता बन्न सक्छ। प्रचण्ड, माधव नेपाल, देउवा, भट्टराई, उपेन्द्र यादव आदि फरक फरक दलमा भए पनि एक्लै आत्मालाई साक्षी राखेर केही बेर घोत्लिए भने उनीहरुले आफ्नो यथार्थ हैसियत बुझ्ने छन्।

त्यो बोझमा पिल्सने कि प्रायश्चित गर्ने निर्णय उनीहरुको । शीतल निवास र बालुवाटारका वर्तमान ‘आसामी’ (टिनेन्ट) को हैसियत र मनोव्यथा फरक छैन।

मुलुकमा मृत्युको लहर जारी छ। औषधी नपाएर छटपटाउनेको संख्या बढ्दो छ। तर, झट्ट हेर्दा अहिलेको सत्ताको हानथापमा जित्ने र हार्ने एकै खालका, एकै चरित्रका छन्। जनताको सर्वोच्च प्रतिनिधि थलो मानिने त्यो बिचरा संसदको हार भएको छ। किनकि त्यसको अभिमतको मृत्यु चार दिन नै भएको छ।a

एक अर्कोलाई ढाल्ने राजनीतिमा सबै नेता र दलहरुले आआफूसँग रहेको राजनीतिक ‘विष’ लाई सत्ता प्राप्तिको अश्त्रका रुपमा प्रयोग गरे एक अर्को विरुद्ध ।

तर स्वाभिमान, सिद्धान्त र राष्ट्रियता तथा प्रजातन्त्र प्रतिको समर्पण र हाम्रो प्रचलित मान्यतामा उल्लेख हुने ‘इख’ बिच अन्तर सम्बन्ध छ भने भन्नै पर्छ हाम्रा नेताहरुमा ‘इख’ नै छैन। उनीहरुको ‘विष’ मुलुक र समाजका लागी खराब मात्र सावित हुने छ।

बैशाख ३१, २०७८ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button