विचार

रामनवमी, वाल्मीकि रामायण र रामराज्य

– डा.वासुदेव खनाल

१. विषयप्रवेश
पौरस्त्य साहित्य मात्र होइन विश्व साहित्यमा वाल्मीकि आदिकविको रूपमा परिचित छन् । वाल्मीकिद्वारा रचित महाकाव्य रामायण आदिमहाकाव्यको रूपमा विश्वमै परिचित छ । वैदिक साहित्यपछि उदय भएको लौकिक साहित्य वेदाङ्गका नामले चिनिन्छ जसलाई षडङ्ग पनि भन्ने गरिन्छ । यिनै वेदाङ्गमध्ये एक वा एकभन्दा धेरै अङ्गका आधारमा जुन साहित्यको सिर्जना भएको छ ती साहित्यलाई अध्ययनका दृष्टिले विभिन्न नामले विभाजन गरिएको देखिन्छ । लौकिक साहित्य अन्तर्गत पर्ने वाल्मीकि रामायण सबैभन्दा प्राचीन महनीय आदिकाव्यको रूपमा विश्वमा परिचित छ । वाल्मीकि रामायणबाट नै लौकिक संस्कृतमा कवित्वमय सृर्जनात्मक काव्यधाराको प्रवर्तन भएको हो । रामायणमा रामको जीवन चरित्रका साथ राम–रावणको युद्धको काव्यात्मक ढङ्गले वर्णन गरिएको छ । नेपाली भूमिमा रचना गरिएको वाल्मीकि रामायण नेपालको गौरव तथा बहुमूल्य राष्ट्रिय निधि हुँदा हुँदै पनि राष्ट्रले यसको महत्त्वको पहिचान अहिलेसम्म गर्न सकेको छैन । लौकिक संस्कृत साहित्यको सर्वप्रथम रचना तथा आदिकाव्य वाल्मीकि रामायण नै हो । रामायणको मुख्य वर्णित विषय राम–रावणको युद्ध मात्र होइन रामायणमा अलङ्कृत भाषाको माध्यमबाट मानव जीवनको चरित्र चित्रण पनि हो । यति मात्र होइन यहाँ प्रकृतिको रमणीयताको पनि वर्णन गरिएको छ । रामायणको माध्यमद्वारा नै संस्कृत साहित्यमा वैदिक शैलीभन्दा भिन्न एक नयाँ काव्यशैलीको सूत्रपात भएको देखिन्छ । जसको माध्यमबाट सर्वप्रथम मानव चरित्रको अङ्कन गरिएको छ । रामायण नै वास्तवमा लौकिक साहित्यको प्रथम काव्यधारा हो जसले रामायणकालदेखि लिएर अहिलेसम्म मानवमनलाई आप्लावित गरिरहेको छ र भविष्यमा पनि यसले निरन्तरता पाउने निश्चित छ ।

वाल्मीकि रामायणको प्रादुर्भाव शिकारी(निषाद)को बाणबाट बिद्ध क्रौंञ्चपक्षीको करुणावस्था देखेर कविको भावाकुल हृदय द्रवीभूत हुँदै काव्यको माध्यमबाट प्रस्फुटित भएको हो, यो कविको करुणा विगलित भावको द्रवणशील अभिव्यक्ति हो । रामायणमा भारतवर्षीय जीवनपद्धति, सांस्कृतिक चेतनालाई भावात्मक रूपमा वर्णन गरिएको छ । रामायण भारतवर्षको संस्कृति, समाज, धर्म एवं चिन्तनपद्धतिको आकर ग्रन्थ हो । रामायणलाई चतुर्विंशति संहिताको नामले चिनिन्छ । किनभने यसमा चौबीसहजार श्लोकहरू रहेका छन् भने छसय पैचालीस सर्ग रहेका छन् । आदि काव्य रामायण केवल काव्य मात्र नभएर मानव जीवनको पवित्रताको काव्यमय मार्ग हो । भारतवर्षमा सिर्जित महाकाव्यको सिद्धान्तले कविताको माध्यमबाट मानव जीवनका लागि आवश्यक पुरुषार्थ चतुष्टयलाई सँगसँगै लिएर अगाडि बढाउन सिकाउँछ जुन कुरालाई आदिकाव्य रामायणको माध्यमबाट स्पष्ट पारिएको छ ।
आदिकवि वाल्मीकि र महर्षि वेदव्यास भारतवर्षमा प्रचलित काव्य र इतिहासका मात्र जनक होइनन् उनीहरू यहाँको प्राचीनतम दर्शनका प्रवर्तक पनि हुन् । रामायण एवं महाभारतलाई नै आधार मानेर यिनै महाकाव्यहरूको उपवृंहण गौतम, कणाद, जैमिनि आदि जस्ता आचार्यहरूले सूत्रबद्ध रूपमा गरेका छन् । श्रुति अर्थात् वेदपछि स्मृतिलाई मुख्य मानिन्छ तथापि भारतवर्षमा प्रचलित दर्शनको दीर्घकालीन इतिहास रामायण एवं महाभारतमा सुरक्षित छ । धर्मशास्त्र, अर्थशास्त्र, समाजशास्त्र आदि सबै शास्त्रहरू रामायण एवं महाभारतमा विद्यमान रहेकाले धर्मसूत्र, श्रौतसूत्र, गृह्यसूत्र, कल्प, स्मृति आदि मात्र होइन आश्वलायन, साङ्ख्यायन, लाटायन, बौधायन, याज्ञवल्क्य, पराशर आदि सबैको परम्परा पनि रामायण र महाभारतमा समाहित भएको देखिन्छ । धर्मशास्त्र अर्थात् स्मृतिहरूको एक लामो परम्परा तथा इतिहास रामायण तथा महाभारतको आन्तर्यमा रहेको कुरा महाभारत तथा रामायणको सूक्ष्मातिसूक्ष्म अध्ययनबाट स्पष्ट हुन आउँछ ।
महाकवि कालिदासका दुई आधारग्रन्थ रामायण र महाभारत हुन् । कालिदासको युगसम्म वाल्मीकि र वेदव्यास भगवान् विष्णुको रूपमा पूजित थिए । विष्णुधर्माेत्तर पुराणमा सम्पूर्ण विद्यार्थीहरूले आफ्नो पाठ प्रारम्भ गर्नुभन्दा पहिले वाल्मीकि र वेदव्यासलाई स्मरण गर्नुपर्ने कुराको उल्लेख छ । त्यहाँ भनिएको छ– विद्याको कामना गर्नेले वाल्मीकि एवं व्यासको पूजा गर्नुपर्दछ । विष्णुधर्मोत्तर पुराणबाट वाल्मीकिका साथ वेदव्यासको विषयमा बडो महत्त्वपूर्ण सूचना प्राप्त हुन्छ । विष्णुधर्मोत्तर पुराण भारतवर्षमा रहेको संस्कृतिको एक विशाल विश्वकोश नै हो जसमा सय–दुईसय–पाँचसय–हजारवर्षको इतिहासमात्र होइन हजारौं वर्षको परम्परा र इतिहास रहेको छ । विष्णुधर्मोत्तर पुराणसम्म आइपुग्दा नपुग्दै महर्षि वाल्मीकि र व्यास इतिहासको प्रवाहमा भगवान् विष्णुजस्तै प्रतिष्ठित भइसकेका थिए ।
२. चरित्र नै धर्म
धर्मका पर्यायवाचीको रूपमा परिचित वाल्मीकिको दृष्टिमा चरित्र नै धर्म हो । वाल्मीकि रामायणको प्रारम्भिक अध्ययनबाट नै उनको वर्णनको विषय स्पष्ट हुन आउँछ त्यसैले नै वाल्मीकिले रामायण प्रारम्भ गर्ने सन्दर्भमा यो संसारमा चरित्रले युक्त को छ ? भन्ने प्रश्नको उत्तर खोजी गर्ने सन्दर्भमा सम्पूर्ण रामायणको निर्माण भएको देखिन्छ । अर्थात् वाल्मीकिको जिज्ञासा समाधान गर्ने सन्दर्भमा तथा चरित्रवान् व्यक्तिको खोजीको क्रममा आदिकाव्य महाकाव्यको जन्म भएको हो । महर्षि वाल्मीकिका लागि चरित्र र धर्म पर्यायवाची शब्द हुन् । वाल्मीकिको दृष्टिमा श्रीराम चरित्रका प्रकट मूर्ति हुन् अर्थात् शरीरधारी धर्म हुन् । श्रीरामको वर्णन गर्दै तथा श्रीरामको प्रशंसा गर्ने सन्दर्भमा धर्मज्ञ, धर्मिष्ठ, धर्मभृतां वर आदि विशेषण दिएर पनि वाल्मीकि थाक्दैनन् । महर्षि वाल्मीकिले आफ्नो मन, कर्म र वाणीले श्रीरामको जुन चरित्रका सम्बन्धमा वर्णन गरेका छन् त्यसबाट धर्मको नयाँ व्याख्या प्राप्त हुन्छ । त्यसैले वाल्मीकि भन्दछन्– श्रीराम सनातन धर्मका बीज हुन् भने अन्य सबै मनुष्य त्यो वृक्षका पात, फूल र फल हुन् । चरित्रको आदर्शमा शरीर एवं मन दुबै समाविष्ट हुन्छन् । चरित्रले युक्त मनुष्यले नै जीवनलाई मूल्यवान् एवं आकर्षक बनाउन सक्दछ त्यसैले चरित्रमा यस्तो मोहनी हुन्छ जुन अन्यत्र प्राप्त गर्न सकिदैन । जसलाई हामीले राष्ट्रिय आदर्शका विधाताको रूपमा पनि लिन सक्दछौं । धर्म र सत्यरूपी महावृक्षको जुन अमर बीउ वाल्मीकिले रोपेका थिए त्यो वृक्षको रूपमा मात्र परिणत भएको छैन, त्यो वृक्षको सुगन्ध संसारमा फैलिएको छ तर वत्ति मुनिको अध्यारो भने जस्तै त्यस्ता आदिकवि महर्षि वाल्मीकिलार्ई आज नेपालले चिन्दैन । यो नेपाल र नेपालीकै दुर्भाग्यको कुरा हो । नेपाल आदिकवि वाल्मीकिको त्यो तपोभूमि हो, जहाँ बसेर महर्षि वाल्मीकिले संसारकै आदिकाव्य वाल्मीकि रामायणको रचना गरेका थिए ।
वाल्मीकिको दृष्टिमा यो संसारमा दुई प्रकारका मानिसहरू रहन्छन् । ती दुईप्रकारका मनुष्यहरूमध्ये एक प्रकारका मनुष्य अल्पसत्वले युक्त अर्थात् पराक्रमले हीन रहेका छन् त्यस्ता मनुष्यलाई लोकमा साधारण मनुष्यका नामले जानिन्छ जसलाई प्राकृत नरको संज्ञा पनि वाल्मीकिले दिएका छन् । दोस्रो प्रकारका जो धीर तथा चरित्रवान् मनुष्य रहेका छन् उनीहरूले धर्म एवं सत्यका आदर्शलाई कर्मको माध्यमले अर्थात् आफ्नो जीवनमा प्रत्यक्ष गरेर देखाउँछन् । यिनै र यस्तै प्रकारका मनुष्य मानव समाजका प्रेरणाका श्रोत बन्नुपर्ने धारणा महर्षि वाल्मीकिको छ । त्यसैले त महर्षि वाल्मीकिले मर्यादा पुरुषोत्तम रामको चरित्रलाई वाल्मीकि रामायणको माध्यमबाट उद्घाटन गरे ।
हामीले हाम्रो जीवनमा पनि अनुभव गरिरहेका छौं, साधारण प्रकारका मनुष्यहरूको यो संसारमा कुनै कमी छैन तर जीवनको मर्यादामा पूर्णतया उत्रने सत्यसन्ध, दृढव्रत मनुष्य भने कमै पाइन्छन् अर्को शब्दमा भन्दा यस्ता मनुष्य एक युगमा एक–दुई मात्र जन्मन्छन् । वाल्मीकिले रामायणको माध्यमबाट जुन चरित्रको चयन गरेका छन् ती धीर पुरुष नै उनका केन्द्र हुन् । कवि र कविले रचना गरेको काव्यलाई फरक ढङ्गले व्याख्या र विश्लेषण गर्न सकिदैन अथात् कविलाई काव्यमा वर्णित आदर्श व्यक्तिको व्यक्तित्वबाट अलग गर्न सकिदैन । यसैले वाल्मीकि र वाल्मीकिका आदर्श चरित्र श्रीरामलाई एक–अर्काबाट अलग गर्न सकिदैन । मानवको मानवताका सम्बन्धमा दार्शनिकहरूको दृष्टिकोण फरक हुन सक्दछ । कसैको मतमा मनुष्य मनन गर्ने प्राणी हो भने कसैको दृष्टिमा मनुष्य केवल बाह्य साधनबाट आफ्नो काम सम्पन्न गर्ने व्यक्ति हो । यस्तै कसैको विचारमा औजारहरूको माध्यमले आफ्नो काम सम्पन्न गर्ने व्यक्ति हो । कसैले यसलाई एक बुद्धिजीवी प्राणीको रूपमा परिभाषित गर्लान् भने कसैले हिडडुल गर्ने प्राणीहरूमध्ये सबैभन्दा विकसित प्राणीको रूपमा परिभाषित गर्लान् । तर वाल्मीकिको परिभाषा यी सबै परिभाषा भन्दा पृथक र विलक्षण रहेको छ । वाल्मीकिको दृष्टिमा मानिस एक चरित्रवान प्राणी हो र चरित्रवान् मनुष्यले नै जीवनलाई मूल्यवान् र आकर्षक बनाउन सक्दछ । वाल्मीकि भन्दछन् चरित्र नै धर्म हो । वाल्मीकिको दृष्टिमा चरित्रको आदर्शमा शरीर र मन दुबै समाविष्ट हुन्छन् । चरित्रवान् त्यो हो जसको शारीरिक विकास र नैतिक विकास समान हुन्छ । वाल्मीकि रामायणको प्रारम्भमा तपस्वी वाल्मीकि प्रश्न गर्दछन् यो समयमा लोकमा गुणवान्, वीर्यवान्, धर्मज्ञ, कृतज्ञ, सत्यवादी, दृढव्रती, चरित्रले युक्त, सम्पूर्ण भूतादिको हित गर्ने, विद्वान्, सुन्दर, जितेन्द्रिय र क्रोधलाई जितेको को छ ? वाल्मीकिको यो प्रश्नको उत्तरमा नारदले श्रीरामका अनेक गुणहरू प्रस्तुत गर्दछन् ।
३. असाधारण व्यक्तित्त्व वाल्मीकि
कर्ममय धर्म, सत्य र चरित्र महर्षि वाल्मीकिका लागि इष्ट थियो जसको व्याख्याका लागि उनले रामकथाको आश्रय लिए । वाल्मीकि आफ्नो युगका असाधारण व्यक्ति थिए । उनले आफ्नो युगको आदर्शका साथ ब्राह्मणधर्म र क्षात्रधर्मको समन्वय गरेर तत्कालीन धर्मसम्बन्धी मान्यतालाई सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । वाल्मीकिको धर्म सम्बन्धी आदर्शलाई व्यासले पनि प्रजा पालन र राष्ट्रको धारणका लागि रहेको उल्लेख गरेका छन् । उनले वाल्मीकि रामायणका अनेक स्थलमा आफ्नो दृष्टिकोणको व्याख्या गरेर धर्मद्वारा तथा धर्मको माध्यमद्वारा सबै वर्णको पालन गर्नु राजाको श्रेष्ठ धर्म भएको कुरा उल्लेख गरेका छन् ।
महर्षि वाल्मीकिले रामायणको धेरै स्थानमा धर्माधर्मको व्याख्या र विश्लेषण सुन्दर ढङ्गले गरेका छन् । समाजमा धर्मको मर्यादा टुटेको अवस्थामा, सत्यसम्बन्धी धारणा फितलो बन्न पुग्दछ । मनुष्यभित्र क्रोध पनि छ र सत्य पनि, धर्म पनि छ, अधर्म पनि त्यस्तै असत्य पनि । यी द्वन्द्व सबै क्षेत्रमा रहन्छन् । धीर मनुष्य त्यही हो जसले यसको दिव्यभावलाई ग्रहण गर्दछ । वेदको ज्ञान राख्ने व्यक्ति पनि जब रजोगुणले युक्त हुन्छ त्यहाँ महान् अनर्थ पनि उपस्थित हुन सक्दछ । यदि श्रीराम धर्मबन्धनबाट च्यूत भएको अवस्थामा के गर्दथे होला ? त्यसको परिकल्पना गर्दै श्रीरामले आफ्ना भाई लक्ष्मणलाई भन्दछन्– हे लक्ष्मण ! यदि मैले चाहेँ भने आफ्नो वाणको माध्यमबाट एक्लैले पनि अयोध्यापुरी तथा समस्त भूमण्डललाई निष्कण्टक बनाएर अधिकारमा लिन सक्दछु, तर पारलौकिक हित साधनमा बल एवं पराक्रम कारण हुन सक्दैन । श्रीरामले लक्ष्मणलाई अगाडि भन्दछन्– हे निष्पाप लक्ष्मण ! म अधर्म एवं परलोकदेखि डराउँछु । यसर्थ आज अयोध्याको राज्यमा आफ्नो अभिषेक नगराएको हँु । यही धर्मबन्धनको कुरालाई लिएर भरतको प्रसङ्गलाई पनि आदिकवि वाल्मीकिले सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । म धर्मको बन्धनमा बाँधिएको छु । यसर्थ यस्तो महान् पाप गर्ने एवं दण्डनीय मातालाई कठोर दण्ड दिएर मार्न पनि सक्दिन । यसै प्रसङ्गमा भरत अगाडि भन्दछन्– जसका कुल एवं कर्म दुबै शुभ रहेका थिए, ती महाराज दशरथबाट उत्पन्न भएर धर्म एवं अधर्मलाई जान्दा जान्दै पनि मैले मातृवधरूपी लोकनिन्दित कर्म कसरी गरूँ ? । महाराज मेरा गुरु, श्रेष्ठ यज्ञकर्म गर्ने, ठूला एवं बूढा राजा पिता एवं देवता नै हुनुहुन्छ जो यो समयमा परलोकवासी पनि भइसक्नुभएको छ, यसर्थ ठूलो सभामा मैले उहाँको निन्दा पनि गर्न सक्दिन । हे धर्मज्ञ रघुनन्दन ! यस्तो मनुष्य कुन छ, जसले धर्मलाई जान्दा जान्दै पनि स्त्रीको प्रिय गर्ने इच्छाले यस्तो धर्म एवं अर्थले हीन कुत्सित कर्म गर्न सक्दछ । लोकमा एउटा प्राचीन किंवदन्ती रहेको छ र भनिन्छ अन्त्यकालमा सबै प्राणी मोहित हुन्छन्, उनीहरूको बुद्धि नष्ट हुन्छ । राजा दशरथले यस्तो कठोर कर्म गरेर त्यो किम्बदन्तीको सत्यतालाई प्रमाणित गरिदिनुभयो ।
४. माताको सेवा गर्न नपाएकोमा श्रीरामले आफूलाई धिक्कारेको प्रसङ्ग
अयोध्याबाट वनवासका लागि निस्केको पहिलो रातमा श्रीरामले आफ्ना भाइ लक्ष्मणलाई आफूले माता कौसल्याको सेवा गर्न नपाएको प्रसङ्ग कोट्याउँदै भन्दछन्– मेरी माताले लामोसमयसम्म मेरो पालन–पोषण गर्नुभयो र आफूले बडो कष्ट सहेर मलाई ठूलो बनाउनुभयो । जब पुत्रबाट सुख प्राप्त हुन्छ भन्ने बेला आयो त्यो बेलामा मैले आफूलाई माता कौसल्याबाट अलग गरिदिएँ, मलाई धिक्कार छ । हे सुमित्रानन्दन ! कुनै पनि सौभाग्यवती स्त्रीले कहिल्यै पनि यस्तो पुत्रको जन्म नदेऊन् जस्तो म छु । किनभने मैले मेरी आमालाई अनन्त शोक दिइरहेको छु । हे शत्रुदमन ! जो मेरो लागि शोकमग्न रहने मेरी माताका लागि मैले कुनै उपकार गर्न सकिन । मजस्तो पुत्र हुनुभन्दा नहुनु नै वेश थियो । मजस्तो पुत्र उत्पादन गरेर उहाँलाई के मिल्यो र ? । मबाट विछोड भएका कारण माता कौसल्या वास्तवमा मन्दभागिनी बन्नुभयो । शोकको समुद्रमा परेर अन्यन्त दुःखले आतुर भएर सुत्नुभएको होला ।
५. श्रीरामको स्थानमा सीताको राज्याभिषेक गर्न गुरु वसिष्ठको आग्रह
वनवासका लागि सीता पनि तयार भएको देखेपछि तथा सीताले वल्कल लगाउन नजानेर श्रीरामले सीतालाई वल्कल लगाइदिएको प्रसङ्ग वाल्मीकि रामायणमा आउँछ । यसैप्रसङ्गमा अयोध्यावासीहरूले आफ्ना पिताको आज्ञाको पालनका लागि श्रीराम वनवासका लागि गए पनि सीतालाई वनमा नजान आग्रह गरे । उनीहरूले श्रीरामको स्थानमा सीतालाई हेरेर चित्त बुझाउने अनेक प्रसङ्ग वाल्मीकिले रामायणको माध्यमबाट प्रस्तुत गरेका छन् । सीतालाई वनमा नलैजान आमाहरूले आग्रह गर्दा गर्दै श्रीरामले सीतालाई वल्कल लगाइदिएपछि पति श्रीरामसमान शील एवं स्वभावले युक्त सीताले वल्कल धारण गरेको देखेर राजगुरु वसिष्ठको आँखा आँसूले भरिए । त्यसपछि सीतालाई रोक्दै वसिष्ठले कैकेयीलाई भने । हे दुर्बुद्धि कैकेयी ! तिमीले आफ्नो मर्यादालाई उल्लङ्घन गरेकी छौं । तिमी कैकेयराजकी जिउँदी कलङ्क हौ । तिमीले आफ्ना पति दशरथलाई धोखा दिएर आफ्नो सीमालाई पनि पार गरिसक्यौ । हे शीललाई परित्याग गर्ने दुष्टा ! देवी सीता वनमा जाँदैनन् । रामका लागि बनाइएको यो सिंहासनमा सीता नै बस्ने छन् । पत्नीहरू सम्पूर्ण गृहस्थहरूका आधा अङ्ग हुन् । यसैगरी सीता पनि श्रीरामकै आत्मा हुन् । अतः उनको स्थानमा यिनैले यो राज्यको पालन गर्ने छिन् । यति मात्र होइन महर्षि वसिष्ठले विदेहनन्दिनी सीता श्रीरामका साथ वनमा गएको अवस्थामा हामी पनि यिनका साथ वनमा जाने छौं । यो सारा नगर नै उनका साथ जाने छ र अन्तःपुरका रक्षकहरू पनि जाने छन् । आफ्नी पत्नीका साथ श्रीरामचन्द्र जहाँ निवास गर्दछन् त्यहीँ यो राज्य र नगरका मानिसहरू धनदौलत एवं आवश्यक सामग्री लिएर जाने छन् भन्ने चेतावनी समेत दिए । महर्षि वसिष्ठले अयोध्यावासी नर–नारी मात्र होइन भरत एवं शत्रुघ्न पनि चीरवस्त्र धारण गरेर वनमा बस्ने छन् र त्यहीँ बसेर आफ्ना जेठा दाजु श्रीरामको सेवा गर्ने छन् भन्ने चेतावनी पनि दिए । महर्षि वसिष्ठले तिमी वृक्षहरूका साथ एक्लै बसेर यो निर्जन वनमा पृथिवीको राज्य गर्नका लागि कैकेयीलाई चेतावनी दिदै भन्दछन्– हे कैकेयी ! तिमी अत्यन्त दुराचारी छौ र प्रजाहरूको अहितमा लागिरहेकी छौ । महर्षि वसिष्ठले कैकेयीलाई चेतावनी दिदै यो पनि भने– याद राख, श्रीराम जहाँ राजा छैनन् त्यो राज्य राज्य रहँदैन अर्थात् जङ्गल बन्दछ तथा श्रीराम जहाँ निवास गर्ने छन् त्यो वन स्वतन्त्र राष्ट्र बन्ने छ । यसै प्रसङ्गमा महर्षि वसिष्ठले कैकैयीलाई भन्दछन्– हे देवि ! सीता तिम्री बुहारी हुन् । यिनका शरीरबाट वल्कल वस्त्र हटाएर तिमीले यिनलाई लगाउनका लागि उत्तम वस्त्र एवं आभूषण देऊ । यिनका लागि वल्कल कदापि उचित हुँदैन । यस्तो कुरा गरेर वसिष्ठजीले जानकीलाई वल्कल वस्त्र पहिराउनका लागि निषेध गरे । उनले फेरि भने– हे केकयराजकुमारी ! तिमीले श्रीरामका लागि मात्र वनवास मागेकी थियौ(सीताका लागि होइन) अतः यी राजकुमारी वस्त्राभूषणहरूले विभूषित भएर सदा श्रृङ्गार गरेर वनमा श्रीरामका साथ निवास गरून् । राजकुमारी सीता मुख्य–मुख्य सेवकहरूले सहित तथा सवारीका साथ सबै प्रकारका वस्त्राभूषण लगाएर आवश्यक उपकरणले सम्पन्न भएर वनको यात्रा गरून् । तिमीले वर माग्ने समयमा सीताको वनवासका सम्बन्धमा कुनै चर्चा गरेकी थिइनौ । ब्राह्मणशिरोमणि अप्रतिम प्रभावशाली राजगुरु महर्षि वसिष्ठले यस्तो भनेको अवस्थामा पनि सीताले आफ्ना प्रियतम पतिले समान नै वेशभूषा धारण गर्ने इच्छा व्यक्त गर्दै उक्त चीर(वल्कल) धारणबाट विरत हुन चाहिनन् ।
६. राजगद्दिको उद्देश्य राष्ट्रकल्याण
महर्षि वाल्मीकिले रामायणको माध्यमबाट राजाको राजगद्दि राष्ट्र तथा जनताको कल्याणका लागि हुनुपर्ने कुरामा जोड दिएका छन् । अन्यायमा परेका प्रजालाई न्याय दिनु र धर्मको परिपालन गर्नु राजाको प्रमुख कत्र्तव्य
हो । राजाले नै सज्जन र दुर्जनलाई छुट्याउनुपर्दछ । महर्षि वाल्मीकिको विचारमा अराजक राष्ट्र एक क्षणका लागि पनि उपयुक्त हुन सक्दैन । अराजक राष्ट्रमा जङ्गलराज हुन्छ र त्यसमा सबै प्रकारका मर्यादाहरू उल्लङ्घन हुन्छन् । नारदस्मृतिको प्रारम्भमा भनिएको छ– जुन समयमा मनु, प्रजापतिले राज्य गर्दथे त्यतिबेला यो पृथ्वीमा रहेका मानिसहरू धर्मनिष्ठ तथा सत्यवादी थिए । (त्यो समयमा द्वेष, मत्सर आदि नभएकोले विधि (व्यवहार)को आवश्यकता पनि हुँदैनथ्यो) । यसै प्रसङ्गमा अगाडि भनिएको छ– मनुष्यमा धर्म नष्ट भएपछि विधि(व्यवहार)को आवश्यकता प¥यो त्यही व्यवहारलाई दृष्टिगत गरी दण्डादण्डको व्यवस्था गर्नका लागि राजा(शासक)को आवश्यकताको महसूस गरिएको हो त्यसैले राजा(शासक)लाई दण्डधर भनिएको हो ।
नारदको यो वचनबाट प्राचीनकालमा पृथ्वीमा रहेका सबै मानिसहरू सत्यवादी थिए मानिस–मानिसका बीच ईष्र्या एवं द्वेषको भावना थिएन । सबै मानिसहरू न्यायपरायण, आचारवान्, उदार एवं शुद्ध व्यवहार गर्ने हुन्थे यस्तो अवस्थामा मुद्धामामलाको अस्तित्व हुने कुरै भएन । प्राचीनकालमा कुनै यस्तो समय पनि थियो जुन समयमा न अन्याय हुन्थ्यो न अन्यायका विरुद्ध विवाद तथा न मुद्धा, यस्तै न प्राड्विवाक थिए न न्यायाधीश, न न्यायालय न वादी–प्रतिवादी नै थिए । पछि मानिसमा धर्मकाप्रति आस्था घटेपछि राग, द्वेष, ईष्र्या, मात्सर्य तथा विरोधको भाव उत्पन्न भयो जसको परिणाम स्वरूप समर्थ पुरुषले असमर्थ पुरुषलाई दबाउने प्रवृत्तिको विकास यसबाट भयो । समाजलाई कुनै न कुनै हदसम्म यसबाट मुक्त राख्नका लागि अर्थात् समाजमा रहेका यस्ता अराजकताको निवारण र सम्पूर्ण लोकको रक्षाका लागि राजा(शासक)को सृष्टि ब्रह्माले गरेको कुराको उल्लेख मनुस्मृतिमा गरिएको छ ।
हुन त मनुष्य–मनुष्यका बीच द्वेष, मात्सर्य तथा वैरभाव नै हुँदैनथ्यो भन्ने कुरा अविश्वसनीय नै लाग्दछ । अन्यथा समाजका व्यक्तिहरूसँग कुनै पनि सम्बन्ध नराख्ने तपोलीन एकान्तवासी मुनिका पनि प्रशंसक, निन्दक एवं उपेक्षक बन्दछन् भन्ने नीतिवचन झूठो ठहरिन्छ । मानव समाजमा हुने कुनै पनि कार्यप्रति वास्ता नराख्ने व्यक्तिका त प्रसंशक, निन्दक र उपेक्षक हुन्छन् भने सामाजिक न्यायका लागि क्रियाशील व्यक्तिका निन्दक तथा प्रशंसक नहुने कुरै भएन । जब समाजमा अराजकताको सृजना भयो त्यसलाई नियन्त्रणका लागि राजाको सृष्टिभएको हो भन्ने मनुको वचन सार्थह ठहछ । मनु आदि स्मृतिशास्त्रका निर्माताहरूले राजाको उत्पत्ति दैवी उत्पत्तिको सिद्धान्तका आधारमा भएको उल्लेख गर्दै ईश्वरले समस्त संसारको रक्षाका लागि इन्द्र, वायु, यम, सूर्य, अग्नि, वरुण, चन्द्र एवं कुबेरको शाश्वत मात्रा अर्थात् सारभूत अंशलाई निकालेर राजाको सृष्टि गरेका हुन् । राजाले यी आठ प्रकारका विशेष देवताहरूको सारभूत अंशलाई ग्रहण गर्ने भएको हुनाले उल्लेखित आठवटा देवताभन्दा पनि श्रेष्ठ स्थान प्राप्त गर्ने कुराको उल्लेख मनुले गरेका छन् । राजपद अत्यन्त पवित्र रहेको उल्लेख गर्दै यो पदमा जुन कुनै व्यक्ति आसीन हुन्छ त्यो परम देवताको रूपमा पूजित हुने भएकाले आफ्नो प्रभावका कारण अग्नि, वायु, सूर्य, चन्द्र, धर्मराज(यम), कुबेर, वरुण एवं इन्द्र पनि बन्दछ भन्ने कुराको उल्लेख पनि मनुस्मृतिमा गरिएको छ ।
मनुस्मृतिमा भनिएको छ–राजा चाहे बालक नै किन नहोस्, यो मनुष्य नै हो भनेर अपमान गर्नु हुँदैन किनभने राजामा धेरै देवता मनुष्यको रूपमा बसेका हुन्छन् । धर्मशास्त्रीय ग्रन्थहरूमा मात्र होइन राजा(शासक)लाई सबैभन्दा प्राचीन मानिएको ऋग्वेदमा पनि वरुण एवं यमको नामले सम्बोधित गरिएको भेटिन्छ । यजुर्वेदमा पनि राजालाई यम, कुबेर, वरुण, इन्द्र आदि देवताका रूपमा आह्वान गरिएको छ । यस्तै अथर्ववेदमा पनि इन्द्र, सोम, वरुण, मित्र, यम, सूर्य आदि देवताहरूको अंशको रूपमा राजालाई लिइएको देखिन्छ । ऋग्यजुसाम वेदमा मात्र होइन ब्राह्मणग्रन्थहरूमा पनि राजाको उत्पत्तिका सम्बन्धमा वर्णित दैवी सिद्धान्तलाई समर्थन गरेको पाइन्छ । यस्तै रामायण एवं महाभारतमा पनि राजालाई देवस्वरूप मानिएको छ ।
शुक्रनीतिमा पनि राजाको निर्माण इन्द्र, वायु, यम, सूर्य, अग्नि, वरुण, चन्द्र एवं कुवेर गरी आठवटा देवताहरूको अंशबाट भएको कुराको उल्लेख गरिएको छ । यही प्रसङ्गमा एक अर्को स्थानमा राजालाई प्रजाकी माता, पिता, गुरु, भ्राता र मित्र मानिएको छ । साथै राजालाई यम र कुबेर समानका देवताको रूपमा पनि परिभाषित गरिएको छ । वैदिक साहित्यमा राजालाई साक्षात् देवताको अवतार नमानेर राजामा देवतामा रहेका कतिपय विभूतिहरू समावेश भएको मानिन्थ्यो भने स्मृतिशास्त्रको निर्माणको सन्दर्भमा त्यो विचारधारामा आमूल परिवर्तन भएको देखिन्छ । जसले गर्दा स्मृतिकालमा आइपुग्दा नपुग्दै राजालाई इन्द्र, वरुण, कुबेर आदि देवता समान सम्झन थालियो र राजालाई साक्षात् देवताकै अवतार मान्ने परम्पराको पनि विकास भएको देखिन्छ ।
७. राजामा देवत्त्वको आधान
मनुले चाहे राजा बालक नै किन नहोस्, यो मनुष्य नै त हो भनेर अनादर नगर्न निर्देश गर्दै राजामा देवताहरू मानिसको रूपमा रहने कुराको उल्लेख गरेका छन् । महाभारतको पनि यस्तै मत रहेको छ । महाभारतमा एक अर्को प्रसङ्गमा राजा र देवताका बीच अन्तर नभएको पनि उल्लेख गरिएको छ । राजाको महत्त्वलाई अझ प्रष्ट्याउँदै त्यहाँ भनिएको छ–राजाले राजत्व प्राप्त गरेपछि यो पृथिवीमा विष्णुको रूप प्राप्त गर्दछ । पुराणहरूले पनि राजालाई दैवी उत्पत्तिको सिद्धान्तमा समर्थन गरिएको देखिन्छ । विष्णुपुराणमा राजा वेनको मुखबाट भनिएको छ– ब्रह्मा, विष्णु, महेश, इन्द्र, वायु, यम, सूर्य, वरुण, धाता, पूषा, पृथिवी र चन्द्रमा तथा अन्य जति पनि देवता श्राप दिनका लागि तथा कृपा गर्नका लागि समर्थ छन् ती सबै राजाको शरीरमा वास गर्दछन् यसर्थ राजालाई सर्वदेवमय भनिएको हो । शुक्रनीतिले पनि राजालाई दैवी उत्पत्तिको सिद्धान्त स्वीकार गरेको देखिन्छ । त्यहाँ भनिएको छ– राजाको निर्माण इन्द्र, वायु, यम, सूर्य, अग्नि, वरुण, चन्द्र र कुबेर गरी आठवटा देवताहरूको अंशबाट भएको हो । यही प्रसङ्गमा शुक्रनीतिको अन्य स्थानमा भनिएको छ– राजा प्रजाका माता, पिता, गुरु, दाजुभाइ र मित्र पनि भएको उल्लेख गर्दै राजालाई यम र कुबेर समान मानिएको छ । तथापि शुक्रले सबै राजामा त्यस्तो गुण हुन नसक्ने कुराको उल्लेख गर्दै सात्विक, राजसिक र तामसिक गरी तीन किसिमका राजा हुन सक्ने बताएका छन् । सात्विक, राजसी र तामस भेदले राजा तीन प्रकारका हुन्छन् । जुन राजाले सत्त्व आदि गुणको अधीनमा रहेर राज्यव्यवस्था सञ्चालन गर्दछ त्यही राजा नै उत्तम राजा हो । यस्तै राजस गुणले युक्त भएर राज्यव्यवस्था सञ्चालन गर्ने राजा मध्यम र तामस गुणले युक्त भएर राज्यव्यवस्था सञ्चालन गर्ने राजा अधम राजा हो । जुन राजा(शासक) पाखण्डी, लोभी, भोगी, विलासी, ठग र शठ रहेको छ । जसले मन, वचन र कर्मलाई अलग–अलग राख्दछ, जसले सधै कलहलाई प्रिय ठान्दछ, जसले सधै नीच मनुष्यका साथ सम्बन्ध बनाउँछ, जो स्वेच्छाचारी तथा नीतिविरुद्ध चल्दछ र छलकपट गर्दछ त्यस्तो राजा अधम राजा हो । त्यस्तो अधम राजा मरेपछि पनि पशु तथा वृक्षादि स्थावर योनिमा जन्म लिन्छ । जुन राजा सात्विक गुणले युक्त हुन्छ त्यो राजा देवांशको भागी बन्दछ । जो तामसी छ त्यो राक्षसांशको भागी बन्दछ र जुन राजा राजसी छ त्यो मानवांशको भागी बन्दछ । यसर्थ राजाले सदा सात्विक गुणमा नै मन लगाउनुपर्दछ ।
८. धर्मानुसार शासन गर्ने राजाको वशमा देवता पनि
जुन राजा(शासक)ले नीतिपूर्वक दण्डको विधान गर्दछ, देवता पनि त्यस्तो राजाको वशमा हुन्छन् भने मनुष्यको त के नै कुरा रह्यो र ? महाभयजनक, समीचीन दण्डबाट धर्मात्मा राजाले सबैलाई आफ्नो वशमा पार्नुपर्दछ । इन्द्रियजयी राजाले नै प्रजालाई आफ्नो वशमा पार्न सक्दछ यसर्थ राजालाई दिन–रात आफ्ना इन्द्रियहरूलाई वशमा पार्नका लागि क्रियाशील हुन निर्देश शास्त्रकारहरूले गरेका छन् । जुन राजाले इन्द्रियहरूलाई जित्न सक्दछ त्यही राजाले प्रजालाई आफ्नो वशमा राख्न सक्दछ भन्ने मनुको पनि कथन छ । यसका लागि कामबाट उत्पन्न हुने दश(शिकार गर्नु, जुआ खेल्नु, दिनको समयमा सुत्नु, कसैको दोष वर्णन गर्न रमाउनु, नयाँ–नयाँ स्त्रीका साथ रमण गर्नु, सधै नशामा चूर हुनु, निरन्तर नृत्यादिमा रमाउनु, गीत मात्रै सुनिरहनु, वाद्यवादन सुन्नमा लागि रहनु र व्यर्थ भ्रमण गर्नु) र क्रोधबाट उत्पन्न हुने आठ(चुगलखोरी, अन्यायपूर्वक वधबन्धनादि कार्य गर्नु, अपकार, अर्काको गुणलाई सहन नसक्नु, अर्काको गुणमा पनि दोष देख्नु, अरू व्यसनलाई आफूबाट टाढा राख्नु) व्यसनबाट टाढा रहन पनि मनुले निर्देश गरेका छन् । राजाले राज्यमा सर्वप्रथम स्वतःस्फूर्तरूपमा स्वधर्म पालनका लागि अभिप्रेरित गर्नुपर्दछ । यदि सबैबाट स्वधर्म पालन भएन भने दण्डको प्रयोग गरेर भए पनि स्वधर्मको पालन गराउनुपर्दछ भन्ने शास्त्रको निर्देश छ । धर्मशास्त्रीयग्रन्थहरूमा धर्मस्थापनाका लागि राजाको निर्माण गरिएको र त्यसका लागि राजाले जनतालाई अभिप्रेरित गर्नुपर्दछ । जगत्मा धर्मको स्थापनाका लागि स्वधर्म पालन अनिवार्य शर्त हो । तथापि मनुष्य समाज यस्तो समाज हो, जहाँ स्वधर्म परायण मनुष्य प्राप्त गर्न दुर्लभ हुन्छ । अभिषिक्त भएको होस् या नभएको राजा सदा धर्मपरायण हुनुपर्दछ । यदि राजाले आफ्नो दण्डधर्मलाई परित्याग गरिदिन्छ भने उसको तेज नष्ट हुन्छ । यो संसारमा प्रत्येक प्राणीले विधिविधान अनुसार जब आफ्नो धर्मको पालन गर्दछन् त्यो अवस्थामा जगत्मा सुख एवं शान्ति फैलिएको हुन्छ । जसले गर्दा प्रत्येक प्राणी सुखी एवं सन्तुष्ट रहेर आफ्नो जीवन व्यतीत गर्दै आफ्नो जीवनको परं ध्येय मोक्ष प्राप्त गर्न तल्लिन रहन्छन् ।
९.दण्ड
बुद्धि, बल, शौर्य र नीति अनुसार प्रजा पालन गर्ने राजाले उचित दण्डको प्रयोग गरेको अवस्थामा त्यो सदा अछिद्र रहन्छ अर्थात् शत्रुले पनि उसको कमजोरी पत्ता लगाउन सक्दैन । अधर्मपरायण(अशुचि) मनुष्यहरूलाई स्वधर्म पालनका लागि विवश गर्न उनीहरूलाई दण्डित गर्नु आवश्यक हुन्छ । यही उद्देश्यलाई प्राप्त गर्नका लागि मनुले दण्डको उत्पत्ति गरेको उल्लेख गर्दै प्राणी मात्रको रक्षक आत्माबाट उत्पन्न ब्रह्मतेजबाट निर्मित दण्डको सिर्जना ईश्वरले गरेको कुरा बताएका छन् । दण्डका कारण सम्पूर्ण स्थावर एवं जङ्गम प्राणीहरूले भोग प्राप्त गर्दछन् र आफ्नो धर्मबाट विचलित पनि हुँदैनन् । त्यो दण्ड नै राजा हो, त्यही पुरुष हो, त्यही नेता हो तथा शासित एवं चारै आश्रमका धर्मको प्रतिभू पनि हो । दण्डले नै सम्पूर्ण प्रजाको शासन गर्दछ, दण्डले नै उनीहरूको रक्षा गर्दछ, सबै सुतिसकेपछि पनि दण्ड जागिरहन्छ । त्यही दण्डको डरका कारण नै चोरले चोरी गर्दैनन् त्यसैले विद्वान्हरूले दण्डलाई नै धर्म मान्दछन् । दण्डको अभावमा सम्पूर्ण वर्ण दुष्टाचरणमा प्रवृत्त हुन्छन्, समस्त मर्यादा नष्ट हुन्छन् र समस्त लोक नै कर्तव्य विमूढ बन्दछ । यो लोकमा जसमा सम्पूर्ण अधिकार रहन्छन् त्यसैलाई दण्ड भनिन्छ भनी महाभारतमा पनि भनिएको छ । दण्डले नै यो संसारका प्राणी तथा अप्राणी जगत्लाई उनीहरूको स्वधर्म पालनका लागि विवश गर्ने क्षमता राख्दछ भन्ने धर्मशास्त्रीय मान्यता छ । दण्डको समुचित प्रयोग भएको अवस्थामा जगत्को कल्याण हुन्छ भने दण्डको अनुचित प्रयोग भएको अवस्थामा दण्डको प्रयोग गर्ने र दण्डित दुबै नाश हुने अवस्था पनि आउन सक्ने भएकाले दण्डको प्रयोगमा बडो सावधानी अपनाउनका लागि धर्मशास्त्रीय ग्रन्थहरूमा निर्देश गरिएको छ । त्यसैले मनुले भनेका छन्–सम्यक प्रकारले प्रयोग गरिएको दण्ड प्राणी मात्रको कल्याणको कारण बन्दछ भने त्यसको विपरीत प्रयोग गरिएको दण्ड प्राणीमात्रको नाशको कारण बन्दछ । त्यसैले मनुले देश, काल, शक्ति र विद्याको तत्त्वलाई राम्ररी विचार गरेर अन्यायी मनुष्यलाई अपराधानुसार दण्ड दिनका लागि निर्देश गरेका छन् । वर्तमानमा राष्ट्रको सर्वोपरि संविधान भएजस्तै प्राचीनकालमा राष्ट्रको सर्वोपरि स्थान धर्म र दण्डको थियो । यसैले धर्मशास्त्रीय वाङ्मयमा विश्वकल्याणलाई दृष्टिगत गरेर यस्तो व्यक्तिको निर्माणको आवश्यकताको महसुस गरिएको छ जसले दण्डको प्रयोग सम्यक् प्रकारले गर्न सकोस् । धर्मशास्त्रीय वाङ्मयमा पहिलो स्थान धर्म र दण्डलाई दिइएको छ । हरेक व्यक्तिमा दण्डको प्रयोग गर्ने क्षमता हुँदैन त्यसैले जुनसुकै व्यक्तिलाई राजा(शासक) बनाउन सकिदैन । यस्तो दण्डको धारण गर्ने अधिकारक त्यस्तो व्यक्तिलाई मात्र छ जो सत्यवादी, समीक्षापरायण(गुण–दोषलाई सम्यक् प्रकारले समीक्षा गर्न सक्ने) बुद्धिमान, धर्म, अर्थ र कामको वास्तविक रहस्यलाई जानेको होस् । स्मृतिहरूमध्येको सबैभन्दा पुरानो मानिने मनुस्मृतिमा अराजकताका कारण लोकमा डर त्रासको सिर्जना भएपछि लोकको रक्षाका निम्ति अर्थात् धर्म र दण्डको प्रयोगका लागि ईश्वरबाट शासक(राजा)को सिर्जना भएको कुराको उल्लेख गरिएको छ । दण्डलाई युक्तियुक्त प्रयोग गर्नका लागि जुन पुरुषको निर्माण गरियो जसलाई राजा(शासक)का नामले सम्बोधित गरियो । जसले प्रजालाई रञ्जन(प्रसन्न) बनाउँछ त्यही नै राजा हो अर्थात् त्यस्तो व्यक्तिलाई राजाको नामले चिनिन थालिएको हो । धर्मशास्त्रीय वाङ्मयमा वर्णन गरिएको राजाको स्थान सर्वोपरि नभएर दोस्रो हो । धर्मशास्त्रीय मान्यता अनुसार दण्डमा रहेको तेजलाई शास्त्रोक्त संस्कारले रहित राजाले धारण गर्न सक्दैन । राजधर्म विपरीत आचरण गर्ने व्यक्तिले दण्ड धारण गरेको अवस्थामा बन्धुवान्धाव सहित त्यो राजा नाश हुन्छ भन्ने शास्त्रको निर्देश छ ।
यस्तो दण्डको प्रयोग कस्तो राजाले गर्न सक्दछ भन्ने सम्बन्धमा पनि धर्मशास्त्रीय वाङ्मयमा निर्देश गरिएको छ । जस अनुसार शुचि(पवित्र), सत्यप्रतिज्ञ, शास्त्रानुसार आचरण गर्ने, सहयोगी पनि त्यस्तै आचरणले युक्त र बुद्धिमान् राजाले दण्डको प्रयोग गर्न सक्दछ । यसबाट स्पष्ट हुन्छ दण्डको धारण र त्यसको प्रयोग गर्ने अधिकार त्यही राजा(शासक)लाई मात्र हुन्छ जो धर्मपरायण छ । यसरी लोकमा धर्मस्थापनाका लागि दण्डको निर्माण भएको स्पष्ट हुन्छ । राजाले दण्ड धारण गरेर प्रत्येक प्राणीलाई आफ्नो धर्मको पालनका लागि विवश गर्नुपर्दछ । यसका लागि राजाले आफूलाई सधै योग्य बनाइराख्नुपर्दछ । जनतालाई विश्वासमा पारेर धन लुट्ने, चाटुकार, तस्कर, जबरजस्ती लुट्ने लुटेरा र कायस्थ लेखक तथा गणक आदिबाट जनताको विशेष रक्षा गर्नु शासकको परं कर्तव्य हो । राजाले दण्डको प्रयोग गर्दा मनोमानी नगरेर दण्डनीतिलाई सर्वोपरि बनाउनुपर्दछ । दण्डनीति राजा आफैले नबनाएर ब्रह्मशक्तिलाई बनाउन दिनुपर्ने कुराको उल्लेख शास्त्रकारहरूले गरेका छन् ।
१०. दण्डनीतिको निर्माता ब्रह्मशक्ति
राष्ट्रमा दण्डको समुचित प्रयोगका लागि दण्डनीति आवश्यक हुन्छ । जसको निर्माणका लागि राजाले ब्रह्मशक्तिको आश्रय लिनुपर्दछ भन्ने धर्मशास्त्रीय मान्यता छ । वैदिक सनातन हिन्दू परम्परामा ब्रह्मशक्ति रूपी निधि ब्राह्मण वर्गमा रहेकोले दण्डनीतिको निर्माण पनि यही ब्रह्मशक्तिबाट भएको देखिन्छ । राजालाई ब्रह्मशक्तिबाट निर्मित दण्डनीतिको समुचित प्रयोग गर्ने मात्र अधिकार रहेको छ । समाजमा कसैले स्वधर्म पालन गरेन तथा आफ्नो धर्मबाट विचलित भयो भने त्यसलाई दण्डित गरेर आफ्नो धर्म पालनका लागि विवश गर्नु राजाको कर्तव्य हो । यसरी क्षात्रशक्तिलाई ब्रह्मशक्तिले सदा निर्देेश गरेको देखिन्छ । ब्रह्मशक्तिबाट गरिएको पथप्रदर्शन अनुसार शासन गर्नु राजाको कर्तव्य र दायित्त्व पनि हो । त्यसैले मनुले भनेका छन्– जसरी ब्राह्मण रहित क्षत्रियले वृद्धि प्राप्त गर्न सक्दैन त्यसैगरी क्षत्रिय रहित ब्राह्मणले पनि वृद्धि प्राप्त गर्न सक्दैन । यसै कारणले गर्दा ब्राह्मण एवं क्षत्रियले एकले अर्कोलाई सहयोग गरेर यसलोक र परलोक दुबैमा वृद्धि प्राप्त गर्न सक्दछन् ।
यसरी मनुले क्षात्रशक्तिलाई ब्रह्मशक्तिको अधीनमा रहेर लोककल्याण गर्न निर्देश गरेको देखिन्छ । मनुका अनुसार राजा राज्यको सम्प्रभु नभएर सुव्यवस्था गर्ने व्यवस्थापक मात्र हो । यस विषयमा राजालाई स्वामित्वको अधिकारबाट निषेध गर्दै मनुले भनेका छन्–ब्राह्मण(ब्रह्मशक्ति) प्राणी मात्रको धर्मरूपी कोशको रक्षाको कारण रहेकाले ब्राह्मण(ब्रह्मशक्ति) सबैका स्वामी हुन् । तर दण्ड प्रयोगको क्षेत्रमा ब्राह्मण(ब्रह्मशक्ति) पनि राजाको अधीनमा रहन निर्देश गरिएको छ । यसै प्रसङ्गमा मनुले अगाडि भनेका छन्– ब्राह्मण धर्मको मूल हो भने राजा अग्रणि नेता हो । धर्मशास्त्रमा वर्णित ब्रह्मशक्ति र क्षात्रशक्तिको सामञ्जस्य एवं ब्रह्मशक्तिको अधीनमा क्षात्र शक्ति रहेको अवस्थामा प्राणीमात्रको कल्याण हुन्छ भन्ने कुराको ज्ञान धर्मशास्त्रीय वाङ्मयको अध्ययनबाट हुन्छ । यो सिद्धान्तको स्थापना यजुर्वेदमा पनि गरिएको छ । यजुर्वेदमा त्यो राष्ट्रलाई सर्वसुख सम्पन्न मानिएको छ जहाँ ब्रह्मशक्ति र क्षात्रशक्ति दुबै एक–अर्कोसँग मिलेर विचरण गर्दछन् तथा जहाँ विद्वान्(ब्राह्मण) अग्र नायकलाई सहयोग गर्दछन् त्यो राष्ट्रलाई मैले पुण्य(सर्व सुख सम्पन्न) सम्झन्छु । यसकारण राजा आफ्नो कर्तव्य पालनका लागि ब्रह्मशक्तिको अधीनमा रहनुपर्दछ । ब्रह्मशक्तिद्वारा धर्मको जुन व्याख्या गरिन्छ त्यसैको सीमामा रहेर राजालाई दण्डको सम्यक प्रयोग गर्न निर्देश शास्त्रकारले गरेका छन् । यही कारणले धर्मशास्त्रीय परम्परामा आदर्श राजाको परिकल्पना गरिएको छ र उसको राजपद स्वच्छन्द होइन कतिपय प्रतिबन्धले प्रतिबन्धित भएका कारण सीमित अधिकारले युक्त रहेको छ । कार्य व्यस्तताका कारण शासका(राज स्वयंले व्यवहार हेर्न नभ्याएमा सभासद्हरूका साथ सम्पूर्ण धर्म जानेको ब्राह्मणलाई नियुक्त गर्नुपर्ने कुराको उल्लेख योगीश्वर याज्ञवल्क्यले गरेका छन् । वेदधर्म जानेका त्रिवेदी चारजनाको परिषद् वा अथवा अध्यात्मलाई जानेको एउटा भए पनि जे बोल्दछ त्यही नै धर्म हो भन्ने याज्ञवल्क्यको वचन छ । शासकले धर्मशास्त्रअनुसार क्रोध र लोभले विवर्जित भएर विद्वान् ब्राह्मणहरूका साथ व्यवहारहरू हेर्न निर्देश योगीश्वर याज्ञवल्क्यले गरेका छन् । मन्त्री र ब्राह्मणहरूको सल्लाहको आधारमा आफ्नो बुद्धि र विवेक प्रयोग गरेर राजाले राज्यव्यवस्था सञ्चालन गर्नुपर्दछ । मन, वचन र कर्मले यत्नपूर्वक धर्मको आचरण गर्न, जुन धर्म स्वर्गका लागि बाधक र लोक निन्दित छ त्यो त्याग्नका लागि निर्देश पनि योगीश्वर याज्ञवल्क्यले गरेका छन् । वेदविद्यामा पारङ्गत चार वा तीन होऊन् तिनीहरू जे बोल्दछन् त्यो धर्म हो तर अन्य हजार नै किन नहोऊन् उनीहरूले बोलेको धर्म हुनसक्दैन भन्ने कुरालाई मनन गर्दै जसले मन्त्र जानेको छैन, जो व्रती छैनन्, जसले आफ्नो वर्णोचित कर्म गर्दैनन् त्यस्ता हजार नै किन नहोऊन् तिनीहरूको परिषद् बन्न सक्दैन भन्ने वसिष्ठको मतलाई दृष्टिगत गरी त्यस्ता व्यक्तिहरूलाई राजकाजका कुनै पनि कार्यमा लगाउनुहुँदैन भन्ने शास्त्रको निर्देश छ ।
११. धर्म र अर्थको परित्याग गरी कामको सेवन गर्दाको परिणाम
अयोध्या छोडेर वनतर्फ प्रस्थान गरिसकेपछिको पहिलो रात श्रीरामले सुरुमा त कामको प्रशंसा गरेका छन् । जसमा भनेका छन्– आफूमाथि आएको यो सङ्कट एवं राजाको मतिभ्रान्तिलाई देखेर मलाई यस्तो लाग्दछ अर्थ एवं धर्म भन्दा कामकै गौरव धेरै देखिन्छ । कामकै वशमा परेका कारण पिताजीले मलाई पनि परित्याग गरिदिनुभयो । वास्तवमा कुन अज्ञानी पुरुष होला जसले एक स्त्रीको वशमा परेर आफ्नो आज्ञाकारी पुत्रको परित्याग गरेको
होस् । जसले अर्थ एवं धर्मको परित्याग गरी केवल कामको अनुशरण गर्दछ त्यो त्यसरी छिटै आपत्तिमा पर्दछ जसरी महाराज दशरथ आपत्तिमा परेका छन् । यो निश्चय पनि सत्य होे भनेर श्रीरामले आफ्ना भाइ लक्ष्मणलाई सम्झाउने प्रसङ्गमा यो कुरा भनेका हुन् ।
१२. बुद्धियोगका उदाहरण श्रीराम
सुख–दुःख, लाभ–हानि, जीवन–मरण आदिका सम्बन्धमा समान धारणा राख्ने बुद्धि नै प्रज्ञा हो । यही नै प्राचीन ऋषिमहर्षिहरूको बुद्धियोग हो र जसको उदाहरण श्रीराम हुन् । गीतामा पनि समान अविचल रहने बुद्धिलाई नै प्रज्ञा भनिएको छ । राज्याभिषेकको तयारी भइरहेको अवस्थामा वनवासको समाचार प्राप्त गर्दा पनि श्रीरामको मुखाकृतिमा जुन परिवर्तन देखिएन । जसको वर्णन महर्षि वाल्मीकिले रामायणको माध्यमबाट गरेका छन् । उनले भनेका छन्–राज्यको नाशबाट उनको मुखाकृतिको श्रीमा कुनै अन्तर आएन, वन जाँदै गर्दा तथा यो पृथिवीलाई छोड्दै गर्दा पनि उनको चित्तमा थोरै पनि परिवर्तन भएन । त्यो समयमा श्रीरामले कैकेयीलाई भनेको कुरालाई वाल्मीकिले यसरी प्रस्तुत गरेका छन्– हे देवी म अर्थपरायण रहेर यो जगत्मा बाच्न चाहँदैन । मलाई हजुरले ऋषिहरू समान निर्मल धर्मका अनुगामी सम्झनुहवस् ।
वाल्मीकिको दृष्टिमा भरत र राम दुबै धार्मिक रहेका छन् । चित्रकूटको मन्दाकिनीको किनारमा भरतले श्रीरामको प्रज्ञाको वर्णन गर्दै भनेको प्रसङ्गलाई वाल्मीकिले यसरी प्रस्तुत गरेका छन्– हे राम ! लोकमा यस्तो अन्य को छ, जो हजुरजस्तो होस् । कुनै पनि दुःखबाट हजुरलाई कुनै व्यथा हुँदैन र कुनै कल्याणबाट पनि हजुर हर्षित हुनुहुन्न । हजुरका लागि मृत्यु र जीवन हुनु र नहुनु पनि बरावर नै हो । यस्तो बुद्धि जसको छ त्यस्तो व्यक्तिलाई परिताप कहाँ हुन्छ ? वाल्मीकिले श्रीराम प्रजाको हितमा कार्य गर्ने स्वजन र धर्मको रक्षा गर्ने एक निष्ठावान् व्यक्तिको रूपमा चित्रित गरेका छन् । वाल्मीकिको दृष्टिमा चरित्रै नै जीवनको सक्रिय मार्ग हो । आफूलाई केन्द्रमा राखेर निस्तेज स्वार्थी जीवन जसले बिताउँछ, त्यस्तो जीवन अत्यन्त हेय पनि हो । त्यस्तो व्यक्तिबाट जीवनको गहन दण्डकारण्य पार हुन सक्दैन । यसै सन्दर्भका वाल्मीकिले उल्लेख गरेका छन्– श्रीराम वनवासमा रहेको अवस्थामा ऋषिमुनिहरूले आएर श्रीरामलाई भन्दछन्– हे राम ! हजुर धर्मज्ञ र धर्मवत्सल पनि हुनुहुन्छ । हामीले हजुरलाई याचकभावबाट होइन, धर्मको भावले भन्दछौं । राजाले छोरालाई जस्तै जनतालाई पालन गर्नुपर्दछ । वनमा कन्दमूलको भोजन गर्ने मुनिजनले जुन तपस्या गरिरहेका छन् उनीहरूले प्राप्त गरेको तपस्याको फलको एक चौथाई भाग प्रजाको रक्षा गर्ने राजाले प्राप्त गर्दछन् । पम्पा, मन्दाकिनी एवं चित्रकूट आदि स्थानमा रहने मुनिजनलाई राक्षसहरूले सताउने गरेका छन् । ऋषिमुनिहरूको यो कुरा सुनेर श्रीरामले आफ्नो धनुषतर्फ हेर्दै प्रतिज्ञा गर्दछन्– मेरो वनागम अत्यन्त फलदायी रह्यो, मैले हजुरहरूका शत्रुको रूपमा रहेका जो राक्षसगण छन् उनीहरूको वध अवश्य पनि गर्ने छु ।
१३. श्रीरामको प्रतिज्ञाप्रति सीताको चिन्ता
आफ्ना पतिको कल्याण चाहने सीता यसप्रकारको आफ्ना पतिको प्रतिज्ञाप्रति चिन्तित भइन् र भन्न थालिन्–हे राघव ! हजुरले कहिल्यै पनि झूठो बोल्नुहुँदैन । तथापि विना वैर कसैकाप्रति रुद्र भाव राख्नु पनि त उचित हुँदैन । मैले स्नेहका कारण आदरभावले यो कुरा गरेकी हूँ, शिक्षा दिएकी भने होइन । हामी वनमा आएका छौं, वनवासीले शस्त्र उठाउनु उपयुक्त हुँदैन, किनभने कहाँ तपस्वीको वृत्ति, कहाँ क्षात्रधर्म ? यी दुबैमा मेल खाँदैन, यहाँ हामीले देशधर्म नै पालन गर्नु उचित होला । शस्त्रको सेवनबाट बुद्धि मलिन हुन्छ । अयोध्या फर्किसकेपछि फेरि क्षत्रियधर्म पालन गर्नुहोला । कहाँ शस्त्रधारण र कहाँ वनवास ! कहाँ क्षत्रियको हिंसामय कठोर कर्म, कहाँ सबै प्राणीहरूमाथि दया रूप तप यी परस्पर विरुद्ध देखिन्छन् । अतः हामीहरूले देशधर्मको नै पालन गर्नुपर्दछ । राज्य त्याग गरेर वनमा आइसकेपछि हजुर मुनिवृत्तिमा नै रहेको अवस्थामा नै मेरी सासु र ससुरालाई अक्षय प्रसन्नता मिल्ने छ । धर्मबाट अर्थ प्राप्त हुन्छ, धर्मबाट नै सुखको उदय हुन्छ र धर्मबाट नै मनुष्यले सबै कुरा प्राप्त गर्दछ अतः यो संसारको सार नै धर्म हो । चतुर मनुष्य भिन्न–भिन्न वानप्रस्थोचित नियमद्वारा आफ्नो शरीरलाई क्षीण बनाएर यत्नपूर्वक धर्मको सम्पादन गर्दछन्, किनभने सुखदायक साधनबाट सुखको हेतुभूत धर्मको प्राप्ति हुन सक्दैन । हे सौम्य ! प्रतिदिन शुद्धचित्त भएर तपोवनमा धर्मको अनुष्ठान गर्नुहवस् । त्रिलोकमा जे जे छ त्यसका सम्बन्धमा हजुर यथार्थ रूपले विदित नै हुनुहुन्छ । मैले नारी जातिको स्वाभाविक चपलताको कारण नै हजुरको सेवामा यी सबै कुरा निवेदन गरेकी हुँ । वास्तवमा हजुरलाई धर्मको उपदेश दिनका लागि को समर्थ छ र ? हजुरले यो विषयमा आफ्ना भाइ लक्ष्मणका साथ विचार गर्नुहवस् फेरि हजुरलाई जे ठीक लाग्दछ अविलम्बतापूर्वक त्यही नै गर्नुहवस् । यसअघि सीताले श्रीरामलाई तरबारको प्रसङ्ग पनि बताएकी थिइन् जुन तरबारको प्रयोग एक मुनिको तपस्या भङ्ग गर्नका लागि इन्द्रले गरेका थिए । निरन्तर तरबार साथमा रहेका कारण वनवासी मुनि नरकका भागी भएका थिए, त्यस्तै मुनिवृत्तिबाट जीविका चलाउने हजुरले वनका राक्षसहरूलाई मार्नु उचित हुँदैन किनभने ती राक्षसहरूले हजुरको केही पनि बिगारेका छैनन् । तथापि श्रीराम क्षत्रिय थिए, उनका नसा नसामा क्षत्रियको रगत बगेको थियो त्यसैले सीताको धर्मवादको युक्ति श्रीराममा लागू भएन । सीताको त्यो वचनको उत्तरमा श्रीरामले भन्दछन्– धर्मलाई राम्ररी जानेकी जनककिशोरी ! तिम्रो म माथि ठूलो स्नेह छ । यसैले तिमीले मेरो हितमा कुरा गरेकी छौं । क्षत्रियको कुलधर्मको उपदेश गर्दै तिमीले जुन कुरा बतायौं त्यो तिम्रा लागि योग्य छ । हे देवि ! तिमीलाई मैले कसरी उत्तर दिऊँ, तिमीले पहिले नै यो कुरा गरिसकेकी छौ, क्षत्रियहरू यसर्थ धनुष उठाउँछन् कोही दुःखी भएर हाहाकार गर्न नपरोस् । श्रीरामले सीतालाई भन्दछन्– ती ऋषिमहर्षिहरू अत्यन्त दुःखी भएर मसँग आए । मैले उनीहरूको दुःखको कथा सुनेर मैले उनीहरूलाई भनें यो मेरा लागि लज्जाको विषय हो । हजुरहरू जस्ता ब्राह्मण ऋषिमहर्षिहरू मसँग आउनका लागि कष्ट उठाउनु प¥यो । किन म आफैले हजुरहरूको त्यो कष्टलाई हटाउन सकिन ? यति भनेर मैले ती मुनिहरूका सामुन्ने ती राक्षसहरूलाई मार्ने प्रतिज्ञा गरेको छु । त्यो प्रतिज्ञाको पूर्ण पालन गर्नु नै मेरो धर्म हो । जबसम्म मेरो यो जीवन रहन्छ, तबसम्म त्यो व्रतबाट म पछाडि हट्न सक्दिन । हे सीते ! चाहे मैले आफ्नो प्राण नै गुमाउन किन नपरोस्, त्यो प्रतिज्ञा पूरा गर्नका लागि लक्ष्मणका साथ मैले तिमीलाई नै छोड्नु परे पनि छोडेर मैले त्यो प्रतिज्ञा पूरा
गर्नुपर्दछ । ती ऋषिमहर्षिहरूले नभनीकनै मैले यो कार्य सम्पन्न गर्नुपर्ने थियो भने प्रतिज्ञा गरिसकेपछि त न गर्ने कुरै भएन । तिमीले मप्रतिको स्नेहका कारण यो कुरा गरेकी हौ । हे सीते ! तिम्रो यो कुराबाट म अत्यन्त सन्तुष्ट
छु । किनभने कोही पनि आफ्ना लागि प्रिय नभइकन उपदेश दिदैन । हे शोभने ! तिम्रो यो कथन तिम्रा लागि त योग्य छ नै तिम्रो कुलका लागि पनि सर्वथा योग्य छ ।
१४. श्रीरामद्वारा लोकायतपक्षको खण्डन
दशरथका विभिन्न मन्त्रीहरूमध्ये लोकायत पक्षका अनुयायी पनि भएको कुराको उल्लेख वाल्मीकि रामायणमा गरिएको छ । लोकायतपक्षलाई पूर्वपक्षको रूपमा प्रस्तुत गरेर लोकायतमतका पक्षपाती जावालिकको मतलाई प्रस्तुत गर्दै भनिएको छ– परलोक केही पनि होइन, धर्मबन्धन पनि केही होइन, जुन कुरा प्रत्यक्षमा छ त्यही नै सबै हो, यसर्थ हे राम ! राज्यमा आफ्नो अधिकार कायम गर, फेरि भरतले पनि त यही कुरा गरिरहेका छन् । जावालिको यो युक्तिलाई श्रीरामले तर्कपूर्ण ढङ्गले प्रस्तुत गरेका छन् । सोही प्रसङ्गमा श्रीराम भन्दछन् । म आर्य हूँ र आर्य भएर अनार्यको जस्तो क्रियाकलाप मबाट हुन सक्दैन । कुलीन भएर अकुलीनको आचरण मैले गर्न सक्दिन । काममा वशीभूत भएर सबै लोकलाई डुबाउने खालको आचरण मबाट सम्भव छैन । राजा तथा शासकले जस्तो आचरण गर्दछन् प्रजाजनले पनि त्यस्तै आचरण गर्दछन् । सत्यको पालन नै राजाको दयाप्रधान धर्म हो, सनातन आचार हो, अतः राज्य सत्यस्वरूप हो र सत्यमा नै सम्पूर्ण लोक प्रतिष्ठित छ । झूठो बोल्ने मानिससँग मानिसहरू त्यसरी डराउँछन् जसरी सर्पसँग डराउँछन् । संसारमा सत्य नै धर्मको पराकाष्ठा हो र त्यही नै सबै मूल हो । यो जगत्मा सत्य नै ईश्वर हो । सत्यको आधारमा नै धर्मको स्थिति रहेको छ । सत्य नै सबैको जरो हो र सत्यभन्दा माथि कुनै परम् पद छैन । दान, यज्ञ, होम, तपस्या एवं वेद यी सबैको आधार सत्य नै हो, यसर्थ सबै सत्यपरायण हुनुपर्दछ । सत्य नै सनातन राजवृत्त हो । राज्य सत्यमा आधारित हुनुपर्दछ । सत्यबाट नै लोक प्रतिष्ठित रहेको छ, ऋषि एवं देवताले पनि सत्यलाई श्रेष्ठ मान्दछन् । झूठोबोल्ने मानिसबाट मानिसहरू त्यसरी डराउँछन् जसरी सर्पदेखि डराउँछन् । सत्यपरायण धर्म नै सबैको मूल हो । सत्य नै लोकको ईश्वर पनि हो । धर्म सत्यमा आश्रित छ, सत्यभन्दा अरु केही पनि छैन । सबै सत्यमा टिकेको हुनाले सत्यबाट नै लोकको पालन हुन्छ र त्यही सत्यबाट नै कुलको पालन हुन्छ । यसै प्रसङ्गमा श्रीराम भन्दछन्– मैले अवश्य पनि सत्यको रक्षा गर्ने छु, । मेरा लागि लोभ, मोह, अज्ञान आदि कुनै पनि कारणले सत्यको मर्यादालाई उल्लङ्घन गर्नु समुचित हुँदैन । यसै प्रसङ्गमा श्रीरामले भन्दछन्– मैले सुनेको छु जसले आफ्नो प्रतिज्ञा झूठो गरेका कारण धर्मबाट भ्रष्ट हुन्छ त्यो चञ्चल चित्तले युक्त पुरुषले दिएको हव्य एवं कव्य देवता एवं पितृले ग्रहण गर्दैनन् । मैले यो सत्यरूपी धर्मलाई समस्त प्राणीहरूका लागि हितकर एवं सबै धर्ममा श्रेष्ठ सम्झेको छु । सत्पुरुषले जटा–वल्कल आदि धारणरूप तापस धर्म पालन गर्दछन् । यसर्थ मैले उनीहरूलाई अभिनन्दन गर्दछु । जो धर्मयुक्त प्रतीत हुने त्यो धर्मलाई मैले परित्याग गर्दछु जसको सेवन नीच, क्रूर, लोभी एवं पापाचारी पुरुषले गरेका छन् । मनुष्यले आफ्नो शरीरले जुन पाप गर्दछ, त्यसलाई पहिले मनद्वारा कर्तव्यरूपले निश्चय गर्दछ, फेरि जिब्रोको माध्यमद्वारा अनृतकर्म(पाप)लाई वाणीको माध्यमद्वारा अरूलाई भन्दछ, त्यसपछि अरूको सहयोगले त्यसलाई शरीरको माध्यमले सम्पन्न गर्दछ । यसरी एउटै पाप कायिक, वाचिक र मानसिकको भेदले तीन प्रकारको हुन्छ । पृथिवी, कीर्ति, यश एवं लक्ष्मीले सधै सत्यवादी पुरुषको चाहना गर्दछन् र शिष्ट पुरुषले सत्यको नै अनुसरण गर्दछन्, अतः मनुष्यले सदा सत्यको नै सेवन गर्नुपर्दछ । गुरुको समीपमा गरिएको त्यो प्रतिज्ञा अटल रहेको हुन्छ र त्यसलाई कुनै पनि प्रकारले तोड्न सकिदैन । यसै सन्दर्भमा श्रीरामको कथन छ– मैले वनमै रहेर बाहिर एवं भित्रबाट पनि पवित्र रहेको भोजन नियमित गर्ने छु र पवित्र फल, मूल एवं फूलहरूद्वारा देवता एवं पितृहरूलाई तृप्त गर्दै आफूले गरेको प्रतिज्ञाको पालन गर्ने छु । के गर्नुपर्दछ र के गर्नु हुँदैन भन्ने निश्चय मैले पहिले नै गरिसकेको छु । अतः फल–मूल आदिबाट पाँच इन्द्रियहरूलाई सन्तुष्ट गरेर निश्छल, श्रद्धापूवर्कक लोकयात्राको निर्वाह गर्ने छु । यो कर्मभूमिलाई पाइसकेपछि जो शुभ कर्म हो त्यसको अनुष्ठान गर्नुपर्दछ किनभने अग्नि, वायु तथा सोम पनि आफ्नो कर्मको माध्यमबाट तत् तत् पदका भागी भएका हुन् । देवराज इन्द्र सय यज्ञहरूको अनुष्ठान गरेर स्वर्गलोक प्राप्त गरेका हुन् । महर्षिहरूले पनि उग्र तपस्या गरेर दिव्य लोकमा स्थान प्राप्त गरेका हुन् । यसै प्रसङ्गमा श्रीरामले भन्दछन्–सत्य, धर्म, पराक्रम, समस्त प्राणीहरूप्रति दया, सबैसँग प्रिय वचन बोल्नु तथा देवता, अतिथि एवं ब्राह्मणहरूको पूजा गर्नु यी सबैलाई सज्जनहरूले स्वर्गलोकको मार्ग बताएका छन् । पिताको आदेश पालन गर्नका लागि वनवास बस्ने दृढ निश्चयका साथ वनमा पुगेका श्रीरामलाई फर्काउने सन्दर्भमा महर्षि जावालिले जुन नास्तिक तर्क प्रस्तुत गरे ती तर्कको खण्डन गर्दै आफ्ना पिताजीले महर्षि जावालिलाई याजकमा नियुक्त गरेकोमा निन्दा गरेको प्रसङ्ग अत्यन्त रोचक रहेको छ । जसबाट यो स्पष्ट हुन्छ, पिताको आज्ञा पालन आवश्यक छ तर पिताले गरेका गलत कामलाई निरन्तरता दिनु आवश्यक छैन भन्ने तर्क श्रीरामको यो कथनबाट प्रमाणित हुन्छ । यसै सन्दर्भमा श्रीरामले आफ्ना पिताजीको त्यो कार्यको निन्दा समेत गरेका छन् । महर्षि जाबालिलाई उत्तर दिदै श्रीरामले भनेका छन्– हजुरको बुद्धि विषममार्गमा स्थित छ, हजुरले वेदविरुद्धको मार्गको आश्रय लिनुभएको छ । हजुर घोर नास्तिक एवं धर्मको मार्गबाट कोसौं टाढा हुनुहुन्छ । यस्तो पाखण्डमयी बुद्धिद्वारा अनुचित विचार प्रचार गर्ने हजुरलाई मेरा पिताजीले जो आफ्नो याजक बनाउनुभयो, पिताजीको यो कार्यको मैले निन्दा गर्दछु । जो धर्ममा तत्पर रहेका हुन्छन् उनीहरूले सत्पुरुषहरूको सङ्गत गर्दछन्, जो तेजले सम्पन्न छन्, जसमा दानरूपी गुणको प्रधानता छ, जसले कहिल्यै पनि कुनै प्राणीको हत्या गरेका छैनन्, जो दोषले रहित छन् यस्ता श्रेष्ठ मुनि नै यो संसारमा पूजनीय हुन्छन् । श्रीरामका यी कुरा सुनेर जावालिले आफू नास्तिक नभएको उल्लेख गर्दै देश, काल, परिस्थितिलाई अवलोकन गरेर आफूले यस्तो कुरा गरेको बताउँदै भनेका छन्– हे रघुनन्दन ! न त म नास्तिक हूँ, न नास्तिककै कुरा गर्दछु । परलोक आदि केही छैन भन्ने मेरो मत होइन । म अवसर देखेर फेरि आस्तिक भएँ र लौकिक व्यवहारको समयमा आवश्यकता अनुसार पुनः नास्तिक पनि हुन सक्दछु अर्थात् नास्तिकले जस्तो कुरा गर्न
सक्दछु । यो समय यस्तो आएको थियो, जसले गर्दा मैले नास्तिकले जस्तै कुरा गरें । हे श्रीराम ! मैले जुन कुरा भनेको थिएँ, यसको उद्देश्य हजुरलाई सहमत बनाएर कुनै पनि हिसावले हजुरलाई अयोध्या फर्काउनु थियो ।
१५. सबैका आ–आफ्नै धर्मबन्धन
वाल्मीकिले जुन सत्यधर्मको परिकल्पना रामायणको माध्यमबाट गरेका छन् त्यसमा हरेक व्यक्ति आफ्नो धर्मबन्धनमा बाँधिएको हुनुपर्दछ । हामी आफ्नो जीवनमा जुन स्थानमा रहेका छौं, त्यहीं रहेर हामीले धर्मको पालन गर्नुपर्दछ यही नै वास्तवमा महर्षि वाल्मीकिको अभिप्राय हो । विद्यार्थीका लागि आफ्नो धर्म छ, गुरुको आफ्नो धर्म छ । माता, पिता एवं दाजुभाइको आप्mनै धर्म छ । यस्तै राजा एवं प्रजा पनि आ–आफ्नो धर्ममा बाँधिएका हुन्छन् । जसरी आकाशमा प्रत्येक नक्षत्र तथा ग्रह आ–आफ्नो मार्गमा रहेका छन् जसले गर्दा त्यहाँँ कुनै स्खलन छैन, एक–अर्कासँग ठोक्किने डर छैन । त्यसैगरी हरेक क्षेत्रका व्यक्तिले पनि आ–आफ्नो धर्मको पालन गरेर एक–अर्काको अधिकार र कर्तव्यको कदर गर्दै प्रगति गर्न सक्दछौं । हामीले कल्पना गरौं, जब मानव जीवनमा नीति र अनीतिका बीचको बन्धन भताभुङ्ग हुन्छ, हाम्रो समाज कहाँ पुग्दछ । श्रीरामले लक्ष्मणलाई भन्दछन्– हे लक्ष्मण ! म अधर्म एवं परलोकदेखि डराउँछु । यसर्थ आज अयोध्याको राज्यमा आफ्नो अभिषेक नगराएको हुँ ।
१६. आश्रमहरूमध्ये श्रेष्ठ गृहस्थाश्रम
वाल्मीकि रामायण गार्हस्थ धर्मको घरिपरि घुमेको देखिन्छ । राजा दशरथको आदर्श पितृत्त्व, कौशिल्याको आदर्श मातृत्त्व, सीताको आदर्श सतीत्त्व, भरतको आदर्श भ्रातृत्त्व, लक्ष्मणको अनन्य भक्ति, सुग्रीवको आदर्श बन्धुत्त्व र श्रीरामको आदर्श पुत्रत्त्व भारतवर्षीय गार्हस्थ धर्मको अभिन्न अङ्गका आदर्श नै हुन् । चार आश्रमहरूमध्येको श्रेष्ठ आश्रम गृहस्थाश्रम भएको धर्मज्ञहरूले बताएका छन्, हजुर धर्मज्ञ नै हुनुहुन्छ यस्तो आश्रमलाई हजुरले कसरी त्याग्नुहुन्छ अर्थात् क्षत्रियको धर्म राज्याभिषिक्त भएर प्रजाहरूको रक्षा गर्नु हो । प्रत्यक्षलाई त्यागेर अनिश्चित मार्गको उपासना गर्नु क्षात्रबन्धुहरूको काम हुन सक्दैन । मानिसले जन्मदै प्राप्त गरेका तीन ऋणहरूको परिशोधन नै जीवनको ध्येय हो भन्ने भरतका यी आदर्शहरूका सम्बन्धमा श्रीरामको कुनै मतभेद छैन तथापि आफ्ना पिताको सत्य प्रतिज्ञाको पालन नै उनले श्रेष्ठ मान्दछन् । वाल्मीकिको दृष्टिमा सत्य नै धर्मको मूल हो । त्यसैले उनले आफ्ना आदर्श पात्र श्रीरामको माध्यमबाट जीवनमा सत्य प्रतिज्ञाबाट अडिग रहन प्रेरित
गर्दछन् । वाल्मीकिको दृष्टिमा सत्य छोडेको अवस्थामा जीवन र लोक दुबैमा सङ्कट उत्पन्न हुन्छ । महर्षि वाल्मीकिले आफ्नो महाकाव्यमा प्रस्तुत विभिन्न पात्रहरूको चरित्रको माध्यमबाट लोकलाई लोकदूषण तथा लोकसङ्कर नगर्नका लागि प्रेरित गरेका छन् । हाम्रो परम्परामा नारीलाई विशेष महत्त्व दिइएको छ भन्ने कुराको प्रमुख उदाहरण वाल्मीकि रामायण नै हो । वाल्मीकि रामायणमा नारी पात्रहरूको चित्रण विशेष रूपले गरिएको छ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ को अत्यन्त उच्चतम आदर्शले युक्त परम पवित्र भारतवर्ष संस्कृति एवं सभ्यताको प्रधान केन्द्र हो भन्ने कुरा वाल्मीकि रामायणको अध्ययनबाट स्पष्ट हुन्छ । नारी अक्षयशक्तिको उद्गमस्थल हुनुको साथै शाश्वत सौन्दर्यका अभिव्यञ्जना पनि हुन् । नारीलाई नरसमानधर्मा पनि भनिएको छ । नारीको शुचिता, व्यवहार कुशलता, मृदुलतापूर्ण दृढता तथा त्यागयुक्त सेवाभावना नै वास्तवमा हाम्रो संस्कृतिको आधारशीला हुन त्यसैले श्रीरामले सीतालाई भनेका छन– हे सीता तिमी आफ्नो कुल अनुरूप व्यवहार कुशल पनि छौ र तिमी मेरी सहधर्मिणी हुनुको साथै मेरा लागि प्राणभन्दा पनि प्यारी छौ । महाकवि कालिदासले पनि रघुवंश महाकाव्यको अजविलाप तथा कुमारसंभवको रतिविलापको प्रसङ्गमा पत्नीलाई गृहिणी, मन्त्राणि, एकान्तकी सखी, ललितकलादिमा शिष्याको सङ्ज्ञा दिएका छन् ।
वैदिक अनुशासन अनुसार गृहस्थ पुरुषका जति पनि धार्मिक कृत्यहरू रहेका छन् ती सबै धार्मिक कृत्य पत्नीका साथमा हुन्छन् अर्थात् पत्नी साथमा नभएर गरिएको कुनै पनि यज्ञ पूर्ण हुँदैन भन्ने धार्मिक सनातन मान्यता रहेको छ । त्यसैले त्रेतायुगमा सीता दोस्रो पटक वनमा गएको अवस्थामा श्रीरामको राज्याभिषेक तथा अश्वमेध यज्ञ गर्ने सन्दर्भमा सुनकी सीता अर्थात् सीताको अनुपस्थितिमा सीताको सुनको प्रतिमा बनाएर राज्याभिषेक तथा अश्वमेध यज्ञ सम्पन्न भएको वर्णन वाल्मीकि रामायणमा पाइन्छ । वैदिक सनातन परम्परामा धेरै धार्मिक कृत्य र उपचारहरू हुन्छन् ती सबै कृत्य तथा उपचारहरूमा नारीको उपस्थिति तथा सहयोग अनिवार्य रहेको देखिन्छ । कामको साधनामा स्त्रीको सहयोग अपरिहार्य रहेको देखिन्छ त्यसैले नारी सृष्टिका अद्भुत विभूति पनि हुन् । पत्नीको सहयोगबाट धर्मसम्मत काम भगवत् गीता अनुसार मनुष्यको दिव्य धर्म बन्दछ ।
१७. भक्तिमार्गको अनुपम ग्रन्थ
वैदिक सनातन परम्परामा भक्तलाई भक्तिमार्गमा डो¥याउने अनेक शाखा तथा प्रशाखाहरूमध्ये रामभक्ति पनि एक हो । श्रुति, स्मृति, पुराण, रामायण एवं महाभारत आदि प्रसिद्ध ग्रन्थहरूमध्ये रामायणलाई भक्तिमार्गको अनुपम ग्रन्थ मानिन्छ । आस्तिक तथा धर्मप्राण सनातन परम्पराको भक्तिशाखामा रामनामको महिमा वर्णनातीत
छ । भक्तिमार्गका अनुयायीहरूका लागि यो नाम अमूल्य निधिमात्र होइन जीवनसर्वस्व पनि हो । विश्वकै सबैभन्दा पुरानो आदि महाकाव्य रामायणका नायक राम हुन् भने नायिका सीता हुन् । जसको चरित्रको थोरै अंश पनि आफूमा समाहित गर्न सकेको अवस्थामा तथा जसले श्रीराम र सीताको शुद्ध स्वरूपलाई जानेर यथार्थमा साधना गर्दछ त्यसले अनायाश नै भवसागर पार गर्दछ अर्थात् मानव जातिका पुरुषार्थ चतुष्टयमध्ये अन्तिम पुरुषार्थ मोक्ष प्राप्त गर्न सफल हुन्छ भन्ने विश्वास पनि वैदिक सनातन परम्परामा रहेको छ । अर्को शब्दमा भन्दा भक्तको अन्तःकरणमा भक्तिको थोरै पनि आभास हुन्छ भने भक्तलाई पुरुषार्थ चतुष्टय धर्म, अर्थ, काम र मोक्षरूप चतुवर्ग प्राप्त हुन्छ । साधारण जनसमूदायलाई भक्तिमार्गमा आकर्षित गर्नका लागि प्राचीनकालदेखि अनेक महात्माहरू क्रियाशील रहेको देखिन्छ ।
१८. र अन्त्यमा
श्रीरामको जन्मकथा, सीता र श्रीरामको विवाह, श्रीरामका साथ सीता र लक्ष्मणको वनवास, रावणद्वारा सीताको हरण, राम एवं सीताको विरहव्यथा, सुग्रीव–जाम्बवान् आदि बाँदर र भालुहरूको सहायताबाट रावणादि राक्षसहरूको वध गरी सीताको पुनप्र्राप्ति, सीतारामको अयोध्यामा पुनरागमन र सीताको परित्याग, लवकुशको जन्म र श्रीरामका साथ लवकुशको मिलनलगायतका विषयवस्तुहरूलाई रामायणमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको
छ । हिमालयबाट निस्केका सयौं नदनदीहरूबाट सिञ्चित भारतवर्ष साँचै नै कविले वर्णन गरेजस्तै ‘स्वर्गादपि गरीयसी’ अर्थात् स्वर्गभन्दा पनि रमणीय रहेको छ । इतिहास साक्षी छ, यहाँको ऊर्वरता र रमणीयताप्रति विदेशीहरूले प्राचीनकालदेखि आँखा लगाएको तत्थ्य अहिले पनि कसैका सामु लुकेको छैन । आर्यजातिको जन्म र कर्म भूमिको रूपमा परिचित यो क्षेत्रमा सभ्यता र संस्कृतिको विकास गरेर हाम्रा ती ऋषि तथा महर्षिहरूले विश्वमै सभ्य आर्यजातिको परिचय दिएका थिए । आर्यजातिको यो धन–धान्यपूर्ण परमैश्वर्यप्रतिको आकर्षण विदेशी दस्युहरूका लागि आँखी बन्न पुग्यो जसको फलस्वरूप विदेशी दस्युहरूले यस क्षेत्रमा पटक–पटक आक्रमणका साथ यहाँको अर्थवैभवलाई मात्र लुटेनन् सांस्कृतिक धरोहरहरू समेत नष्ट गरेको इतिहास छ । ती लुटेराहरू कुनै न कुनै रूपमा अहिले पनि क्रियाशील छन् । त्यसैको पछिल्लो परिणाम नेपालको संविधान २०७२ मा धर्मनिरपेक्षता
लादिनु हो ।
विदेशीहरूको चक्रव्यूहमा परेर संविधानमा लादिएको धर्मनिरपेक्षताको परिणाम स्वरूप अहिले नेपालमा जताततै अराजकताका सङ्केत देखिएका छन् । वाल्मीकि रामायण अहिलेसम्म धेरै संस्करणहरू विभिन्न प्रकाशन संस्थाहरूबाट प्रकाशित भइसकेका छन् । यो महान् ग्रन्थ विभिन्न संस्कृत व्याख्याका साथ दर्जनौं भाषामा अनुवाद भइ प्रकाशित छ । अहिलेसम्म नेपाली भाषामा अनुवाद हुन नसकेको महान् ग्रन्थ वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरेको छु । गीताप्रेस गोरखपुरबाट प्रकाशित वाल्मीकि रामायणलाई आधार मानी तयार गरिएको प्रस्तुत महान् ग्रन्थ देशमा रामराज्यको अनुभूति दिलाउनका लागि सहायक बन्न सकोस् ।
 शुभमस्तु 

nema
Show More

Related Articles

Check Also
Close
Back to top button