भागबण्डाको अनुशासन, सत्ताको ब्यापार
रेवती प्रसाद भुसाल,
गत आइतबार नेपाली कांग्रेसले तीन जना पुराना नेतालाई अनुशासनको कार्वाही गरेको समाचार आयो। राप्रपा त्यागेका सुनीलबहादुर थापा समेतका केही नेताहरु कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने समाचार पनि सुनिँदैछ। संगठनभित्र नयाँ सदस्य थपिनु खुशीको समाचार हो। तर पुराना र खारिएका नेताहरुलाई अनुशासनको कार्वाही गरेर निकाल्नु अवस्था श्रृजना हुनु दुखको कुरा हो । अप्रिय निर्णय र खुशीको समाचार एकै समयमा सुन्दा आम कांग्रेसजन बिस्मित भएका छन् । लगभग एकै समयमा आएका स्वागतको तयारी र बिदाइका यी समाचारले पार्टीभित्र अहिले हुर्किरहेको आत्मघाती चरित्र, सैद्धान्तिक बिचलन, नेतृत्वको निजी स्वार्थ केन्द्रित कार्यशैली उदांगो भएकोछ र नेपाली कांग्रेस नाविक हराएको समुद्रको मझधारमा उभिएको सामुन्द्रिक जहाज जस्तो देखिएको छ।
अनुशासन कि स्वार्थको सम्झौता
राजनीतिक पार्टीलाई एकतावद्ध गराइ संगठन चलाउने नीति नियम हुन्छन् । ती नीति नियमको सबैले पालना गर्नुपर्दछ। नीति नियम पालना नगर्ने हो भने संगठन अराजक बन्दछ । संगठनलाई चालु, गतिशील र सुसंगठित गर्नको निमित्त नीति, नियम, सिद्धान्त विपरितका आचरण गर्ने सदस्यलाई पार्टीले कार्वाही गर्नु पर्ने हुन्छ। अनुशासनको कार्वाही गर्नुपर्ने स्थिति आउनु पार्टीको लागि त्यसै पनि सुखद हुँदैन। तर पार्टीका सदस्यलाई संगठन प्रतिको निष्ठामा बाँध्न तथा पार्टीलाई अनुशासित बनाइ उर्जाशिल बनाउन नीति नियम तोडेको कुनै सदस्य अनुशासनको कार्बाही गरिनु अति आवस्यक भएको अवस्थामा सम्बन्धित सदस्यको पार्टीप्रतिको माया र आस्थामा बिचलन नआउने गरी यो अस्त्र प्रयोग गरिनु उचित मान्न सकिन्छ। तर अहिलेको कार्बाहीले धेरै प्रश्न उठाएको छ । यो प्रश्न उठाउने वातावरण स्वयं पार्टी सभापति र बरिष्ठ नेताज्यूका ब्यबहार तथा एक अर्काबीचको लेनदेन भागबण्डाबाट कुरा मिली सर्वसम्मत भएको भन्ने समाचारले श्रृजना गरेको छ ।
गोबिन्दराज जोशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेललाई असहयोग गरी हराएको र पुस्करनाथ ओझालाई सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई असहयोग गरी हराएको आरोप छ । दुबै जनाले असहयोग गरेका होइनौं, प्रचारमा हिडेनौं भन्नु भएको छ। केही केन्द्रीय सदस्य नेताहरुको सार्वजनिक भएको प्रतिकृयामा आरोप मनगढन्त छन् । असहयोग गरेको देखिने तथ्ययुक्त प्रमाण छैनन् भन्ने देखिन्छ । प्रचारमा हिडेनौं भनेपछि सहयोग गर्नु भएन भन्ने सम्मको अर्थ लाग्दछ । यसैलाई असहयोग मान्ने कि असहयोग गरेका अरु तथ्य पनि हुनुपर्ने प्रश्न उठ्दछ । पार्टीको तर्फबाट पटक पटक सांसद, मन्त्री, पार्टीको सहमहामन्त्रीसम्म भएका व्यक्तिहरु प्रतिनिधिसभाको निर्वाचन जस्तो महत्वपूर्ण निर्वाचनमा निष्कृय बस्नु त्यसै पनि उहाँहरुको प्रतिष्ठा र मर्यादा अनुकुलको आचरण होइन।
यसैलाई आधार मानेर कार्बाही गरिएको ठिकै हो भन्ने मान्न पनि सकिन्छ। तर यति सरल रुपमा यसलाई लिँदा यसले अरु धेरै अन्याय जन्माउन सक्छ। कांग्रेस पार्टी भित्र संघर्ष गरी इतिहास बनाएका र पार्टीमा निरन्तर कृयाशिल रहेका हजारौँ नेता कार्यकर्ता छन् । अनुशासनको कार्बाहीको ठीक मुल्यांकन गरिएन र पार्टीले गर्ने निर्णयलाई औचित्य नहेरी अन्ध समर्थन या पक्षधरताको आधारमा समर्थन या बिरोध गरियो भने यस्तो प्रबृतीले नेतृत्व निरंकुश बन्ने र संघर्षशिल, इमान्दार,जनप्रीय कार्यकर्ता अन्यायमा परी पार्टी अवसरबादीहरुको फौज मात्र बन्ने सम्भावना हुन्छ। गहिराइमा पुगेर बिश्लेषण नगरी गरिएको समर्थन भोली हामीलाई नै समाप्त पार्न आउने हतियार हुने सम्भावनातर्फ पनि ध्यान दिनु आवस्यक छ। तसर्थ नेतृत्वमा निरंकुसताले प्रशय नपाओस र संगठनमा अराजकता नहोस् भन्नका लागी अनुशासन कार्बाहीको ठिक मुल्यांकन गरिनुपर्दछ।
प्रथमतः यो कार्बाही भागबण्डामा भएको भन्ने आम धारणा छ। आम कांग्रेसहरु माझ चर्चा हुन्छ कि सभापति देउवा आफ्नी पत्नी आरजु राणालाई जिताउन सहयोग नगरेको साथै कैलालीमा आरजु राणालाई स्थापित गर्न अबरोध बन्ने हुनाले ओझालाइ कार्बाही गर्न चाहनुहुन्थ्यो । तनहुँमा रामचन्द्रजी र जोशीका बीचमा पहिले देखिनै द्वन्द भएकाले अहिलेको मौकाको उपयोग गरी जोशीलाई पाखा लगाउन चाहनुहुन्थ्यो। अनुशासन समितीमा यस्तै प्रकृतीका, कतीपय यो भन्दा पनी गम्भिर खालका बाह्रसय बढी उजुरी थिए। निर्वाचन भएको तीन वर्षसम्म अनिर्णित हुनुको कारण सभापति र बरिष्ठ नेताको स्वार्थको टकराव थियो। सभापतिजी जोशीलाई निर्दोष देख्नु हुन्थ्यो,ओझा र रामबहादुर बिष्टलाई दोषी। बरिष्ठ नेता ओझा र बिष्टलाई निर्दोष देख्नु हुन्थ्यो, जोशीलाइ दोषी। अन्तिममा बिकल्प दुइ मात्र बाँकी रहे। तीनै जनालाई कार्वाही मुक्त गर्ने या तीनै जनालाई डण्डा चलाउने। उहाँहरुले दोश्रो बिकल्प रोज्नु भयो। बाँकी रहेका अरु उजुरीमा ठूलो स्वार्थ नभएकाले सबैलाइ मुक्त गरियो। जोशी सहितका तीन जनाको स्वतन्त्र र निस्पक्ष परिक्षण गरिएन। हुन सक्छ तीनै जना निर्दोष थिए वा कुनै एक जना दोषी बाँकी दुई निर्दोष। भागबण्डामा भएको निर्णयले तीनै जनालाई दोषी देखायो । स्वतन्त्र परिक्षण गरिएको भए न्याय देखिने थियो, कार्यकर्तामा पनि अन्यायमा परिने होकि भन्ने डर रहने थिएन। भागबण्डामा गरिएको निर्णयले कार्यकर्ताहरुमा भबिष्यको लागी पनि नेतृत्वको स्वेच्छाचारी निर्णयको तरवार झुण्डाइ दियो। ७४ वर्षको स्वतन्त्रताको इतिहास भएको, हजारौं सहिदको बलिदान र बिपी कोइराला सुवर्णसमसेर कृष्ण प्रसाद भट्टराई जस्ता नेताहरुको बिरासत बोकेको पार्टी आदर्शच्युत भै अनुशासन समितीलाई स्वतन्त्र निर्णय गर्न नदिइ दुई नेताको स्वार्थ सिद्ध गर्ने साधन बन्न पुग्यो।
पार्टीमा अनुशासन कायम गर्न सर्व प्रथम नेतृत्व अनुशासित हुनुपर्दछ। बिपी कोइरालाका चेला हौ, उहाँकै पथमा हिडेका छौ भनी भाषण गर्न दुबै नेता प्रतिस्पर्धा गर्नु हुन्छ। भाषण गर्नु र ब्यबहारमा लागु गर्नुमा धेरै अन्तर छ। बिपीको अदालतको बयान दुबै नेतालाइ जानकारी छैन भन्ने मान्न कठिन हुन्छ। ‘गंगोत्रीमै फोहोर गरे पछी तल वहने गंगा कसरी शुद्ध बग्न सक्छिन।’ बिपीको यो भनाइ राजालाई मात्र होइन राजा हुन खोज्ने सबैलाइ हो। पार्टीको नेतृत्वनै स्वार्थमा गाँसिएर निर्णय गर्न लागे पछि तल कसरी अनुशासन कायम हुन सक्ला। यस्ता निर्णयले पार्टीका सदस्य दास बन्लान कि कार्यकर्ता ? कार्यकर्तालाइ दास बनाएर के पार्टीले जनमत जित्न सक्ला ? अनि नेताज्युहरु मठाधिस बनेर बस्नु हुने हो ? संघर्ष गरेर पंचायती दमनको अग्नीदाहबाट पनि भष्म नभइ खारिएर आउनु भएका नेताद्वयलाइ स्वार्थले यती धेरै अन्ध बनाउला भनेर त कल्पना पनि गरिएको थिएन। नेताहरुको स्वार्थ केन्द्रित निर्णयले आदर्श, सिद्धान्त र बिपीको पारदर्शी नेतृत्वबाट गौरवान्वित हुने देशैभरिका नेपाली कांग्रेसका कार्यकर्ताहरुको टाउको निहुरिएको छ।
प्रश्न पार्टीको टिकट बितरणको पनि छ। पहिले पनि प्रश्न उठेकै थियो, पार्टी हारको एउटा कारणमा अन्यायपूर्वक गरिएको टिकट बितरण पनि हो। मानबीय कमजोरी मानी सबै कार्यकर्ताले बिर्सिदिएका थिए।यो अनुशासनको कार्बाहीको मापदण्डले नेताहरुको बिकृत अनुहार देखाएको छ। त्यस समयमा पनि टिकट बितरण स्वार्थ केन्द्रित थियो र यहि प्रबृती रह्यो भने भबिष्यमा पनि स्वार्थ केन्द्रित बितरण हुनेछ। स्वार्थ केन्द्रित टिकट बितरणले अनुशासन कायम गर्न पनि सक्दैन र पार्टी लोकप्रीय पनि हुँदैन। प्रश्न तीन जना ब्यक्तीको होइन, प्रबृत्तीको हो। तीन जना दण्डित नेताहरु स्वतन्त्र साक्षले दोषी ठहर भए को भए निर्णयमा कसैले प्रश्न उठाउने थिएन। तर एक जनालाई कार्बाही गर्नको निमित्त अरु दुइ जना पनि बली चढाउनु पर्ने आत्मघाती निर्णयले सबैलाइ सोच्न बिबस बनाएको छ। यस्ता आत्मघाती निर्णयले पार्टी बलियो बन्दैन।अनुशासन मान्ने इमान्दार र नैतिकवान कार्यकर्ताले हो। इमान्दार कार्यकर्ताको तेजोबध गर्ने निर्णय हुन थाले पछी पार्टी अवसरबादी र दासहरुको जमघटको थलो बन्दछ।
नेपाली कंग्रेस आम नेपालीको भरोसाको केन्द्र हो। कम्युनिष्टले बहुमत ल्याएता पनी कम्युनिष्टको प्रजातन्त्रप्रतीको निष्ठामा नेपाली जनताले अझै बिश्वास गर्न सकेका छैनन। गएको चुनाबमा नेपाली कांग्रेसको निती सिद्धान्तले हारेको होइन नेतृत्वले हारेको हो। नेतृत्वले आचरण सुधार गरेर सक्षम नेतृत्व प्रदान गर्ने वा योग्य र बिबेकशिल नेतृत्व आउने हो भने कांग्रेसको भबिष्य उज्वल छ। कांग्रेस पार्टी कम्यनिष्ट पार्टी जस्तो फलामे अनुशासन लागु हुने पार्टी होइन, जस्मा नेतृत्वसंग असहमती हुदा साथ असहमती जनाउने माथी अन्याययुक्त ब्यबहार गरियोस। बदलाको भावना राख्ने ब्यक्ती लोकतन्त्रवादी होइन। सच्चा लोकतन्त्रबादी नभै नेपाली कांग्रेसको पद प्राप्त गर्न सकिएला नेपाली कांग्रेसलाइ लोकप्रीय र बलियो बनाउन सकिदैन। यस्ता निर्णयले नेताहरुको कद बढदैन। नेताहरुको कद घटदा आम कार्यकर्तानै बढी दुखित भएकाछन्। यो कुरा उहाँहरुले बुझीदिएर असल काम गरे जीवनको उत्तरार्धतीर लाग्नु भएका नेताहरुकै सम्मान बढने थियो।मञ्चमा जनता सामु भाषण गर्दा सम्मान साथ नाम लिन सक्ने बनि दिनुभए कार्यकर्ताहरु त्यसैमा खुसी हुने थिए।
पार्टी प्रबेस कि सत्ताको ब्यापार
सूर्यबहादुर थापा पुत्र सुनील बहादुर थापा समेतका ३१ जनाले राप्रपाबाट राजीनामा दिनु भयो। चर्चा छ उहाँहरु काँग्रेस प्रबेश गर्दै हुनुहुन्छ। यो लेख प्रकाशित हुदा सम्म वहाँहरु प्रबेश गरिसकेको हुने सम्भावना पनि छ। पार्टीमा सदस्य थपिनु नयाँ अनुहारहरु आउनु खुसीको कुरा हो। धनकुटामा कांग्रेसको जनाधार त्यती बलियो पनि छैन। उहाँहरुको प्रबेशले जनाधार बिस्तार होला जिल्लाको संगठन पनि बलियो बन्ला।प्रबेशको तयारी गर्नु भएको सत्य हो भने उहाँहरुलाई अग्रिम स्वागत छ। स्वागत गर्दा गर्दै उहासंग केही स्पष्टता जरुरी छ। नेपाली कांग्रेसमा प्रबेश गर्दै गर्दा नेपाली कांग्रेसको बिचार, सिद्धान्त,आदर्श र यस्का संस्कारहरुलाइ राम्रोसंग बुझी आत्मसात गरी प्रबेश गर्दै हुनुहुन्छ कि सत्ताको सिढी सहज बनाउन केहि समयको राजनितीक ब्यापार गर्दै हुनुहुन्छ ? यो अपेक्षा मेरो ब्यक्तीगत संतुष्टीको लागी होइन। यस्को उत्तरले तपाईहरुको आगामी भबिष्य र कांग्रेस बने पछीको बसाइ कती आत्मीय र सहज हुन्छ भन्ने कुराको निर्धारण गर्दछ।
सुनिए अनुसार सुनीलबहादुर थापा नेकाको महामन्त्री भएर आउन चाहनु हुन्थ्यो। महामन्त्री बनाउन सक्ने पदनै खाली नरहे पछि सहायक महामन्त्रीको चाहना राख्नु भएको छ। सायद नेका पार्टी सभापतिले सहायक महामन्त्री बनाउने आश्वासन पनि दिनुभएको छ। महामन्त्री सहायक महामन्त्री कार्यकारी पद हुन। यि पदको हस्ताक्षरबाट पार्टीका नेताहरु,समितीहरुलाई निर्देशन जारी हुन्छन। उहाँ पदाधिकारी भए पछी हस्ताक्षर गरी निर्देशन जानु स्वभाबिक छ। नेपाली कांग्रेसमा सात सालको क्रान्ती गर्ने पुस्ता नरहे पनी सत्र सालको पुस्ता अझै छ। पञ्चायतको दमन भोगेको त्यो पुस्ताका स्मृतीमा धेरै कुरा छन्। पार्टी प्रबेश गरी घुलमिल भै कार्यकर्ताको मायाबाट पदाधिकारी बन्दा कांग्रेसीहरुले सहर्ष स्विकार गर्दछन। नवबधुलाइ जसरी माया गर्छन। तर सिधै हाकिम बनेर निर्देशन जारी गर्दा त्यो निर्देशनको हस्ताक्षरमा उहाँका पिताको अनुहार देख्न पनि सक्छन। त्यस अनुहारसँग नेपाली कांग्रेसका सहिदहरुको सम्झना आउन सक्छ। जनमत संग्रहको सम्झना आउला,यस्तै धेरै कुराको पुनर्स्मृती हुन सक्छ। यि स्मृतीहरुले उकुसमुकुस बनी कार्यकर्ताले कहि मिटीङ बैठकहरुमा पोखे भने प्रबेशीहरुको मन अमिलो बन्नु स्वभाबिक छ। यस बिषयमा प्रबेश गर्ने गराउने शुरुमै सतर्क बने पछिको लागी सहजता हुन्छ।
सुनीलबहादुरजीहरुको प्रबेशमा कुनै कांग्रेसीको आपत्ती छैन। तर प्रबेशको तरिका सुन्दा आपत्तीलाग्दो छ। नेपाली कांग्रेसको सिद्धान्त,आदर्शलाइ मानेर यसको परिवारको सदस्य हुन चाहने सुनीलबहादुर वा उहाँ जस्ता जो कोहीलाई स्वागत गर्न नेपाली कांग्रेसका कार्यकर्ता तयार छन्। कार्यकर्ताको माया जितेर उच्च नेतृत्वमा पुग्नु भयो भनेपनि सम्मान गर्न तयार छन्। तर प्रबेश गर्दा नै निर्देशनकर्ता भएर आउने शैलीलाई इमान्दार कार्यकर्ताले पचाउन सक्दैनन। सुनीलजी साधारण सदस्य भएर आउन उहाँलाइ असहज होला। राप्रपाको महामन्त्री, मन्त्री परिषदको सदस्य बनी सकेको ब्यक्तीलाई साधारण सदस्य मात्र पाउनुहुन्छ भन्नु न्यायोचित पनि होइन। तर बेग्लै संस्कार र फरक इतिहासबाट आएको ब्यक्ती सिधै निर्देशनकर्ता बन्न खोज्नु र बनाउनु उहाँहरुकै हितमा हुदैन र यस्ले पार्टीभित्र आत्मीयता बढाउन अबरोध पुर्याउन सक्छ। बिधानले निर्वाचित हुनु पर्ने भनेको कार्यकारी पदमा आउन खोज्नु र ल्याउनु पार्टी प्रबेश नभएर राजनितीक ब्यापार जस्तो देखिन्छ। यस्तो ब्यापारले पार्टी हित हुँदैन ।
कस्तुरी मृगको बिना नाभीमा हुन्छ। नाभीको सुगन्ध चारैतर्फ फैलीन्छ। अज्ञानी मृगले नाभीबाट गन्ध आएको थाहा पाउँदैन खोज्दै भौतारिन्छ। हाम्रो नेतृत्व पनि कस्तुरी मृग जस्तो भएको देख्दा उदेक लाग्छ। कांग्रेसको यत्रो ऐतीहासिक पुँजी छ। यो पुँजीलाइ जोगाउन संरक्षण गर्न तदनुकुलको आचरण गर्नेहो भने दुइ तीन दर्जन नेताको लागी लेनदेन गर्नै पर्दैनथ्यो। लाखौं नेपाली यस्को सुगन्धले आफै आकर्षित हुने थिए। आफ्नो बिनाको कदर नगर्ने कहिले दायाँ कहिले बायाँ भौतारिएर राजनितीक ब्यापार मात्र गरिरहने हो भने जती सुनीलबहादुर भित्राए पनि नेपाली कांग्रेस बलीयो बन्दैन।
अन्त्यमा नेताजीहरुसंग एउटा प्रश्न–
तीन जना पुराना नेतालाई कार्बाही गरेर ढोका बाहिर पठाउनु भयो। तिनीहरुले तपाँइहरुलाई टेरेनन हटाइ दिनुभयो। तपाईहरुलाई संतुष्टी मिलेको होला। तीन जनाको ठाउँमा तीस जना भित्र्याउदै हुनुहुन्छ। धेरै आउने भए राम्रो भयो। तपाँईहरु आनन्दित हुनुभएको होला। प्रजातन्त्र ल्याउन लडेको पुस्तालाई लखेटने, पञ्चायतको पनि बहुदलको पनि तर मार्न सिपालु पुस्ता भित्राउने, संघर्ष गरेको इमान्दार कांग्रेसको तेजोबध गरेर कस्तो कांग्रेस बनाउँदै हुनुहुन्छ । कृपया झर्को नमानी कार्यकर्तालाई जवाफ दिनु हुन्थ्यो कि नेताज्यूहरु । जयनेपाल। ( लेखक नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं सांसद हुन्)