breakingसमाचारविचारवी पी विचार

नेपालमा कलेजो प्रत्यारोपण : विकास भयो, गति लिन सकेन

२०७९ माघ २२ गते

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गर्दै चिकित्सकको टोली ।

१९ माघ, काठमाडौं । प्रा.डा. रमेशसिंह भण्डारीले एक दशक अगाडि नै सपना देखेका थिए-नेपालमा कलेजो प्रत्यारोपणलाई स्थापित गरेरै छोड्छु । सुरुको वर्ष चार-पाँच जना र त्यसपछि वार्षिक १०-१२ जना बिरामीमा कलेजो प्रत्यारोपण गर्ने । अनि जनशक्ति र पूर्वाधार विकास गर्दै नेपालमा कलेजो प्रत्यारोपण सेवालाई दिगो बनाउने । तर, उनको अपेक्षा अनुरूप कलेजो प्रत्यारोपण सेवा अगाडि बढ्न सकेको छैन ।

१९ वर्षीय छोराले कलेजो दान गरेपछि २०७९ पुस ३० गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कैलाली, टीकापुरका ५२ वर्षीय नन्दराज खनालमा प्रत्यारोपण भयो । चार वर्षमा भएको नवौं कलेजो प्रत्यारोपण हो यो । ६ वर्षको तयारीपछि शिक्षण अस्पतालमा पहिलो पटक २०७६ जेठ १८ मा कलेजो प्रत्यारोपण सफल भएको थियो ।

अंग प्रत्यारोपणमध्ये कलेजो प्रत्यारोपणलाई बढी जटिल मानिन्छ । नेपालमा वार्षिक २०० हाराहारी कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अनुमान छ । प्रत्यारोपण सेवालाई दिगो बनाउन नसके नेपालमा पीडा बढ्ने कलेजो र ग्यास्ट्रो सर्जन प्रा.डा. भण्डारी बताउँछन् ।

आजभोलि उनी सोच्छन्- देशमा बल्लतल्ल सुरु भएको कलेजो प्रत्यारोपण सेवा बन्द त हुने होइन ! ‘पहिलो वर्ष ४-५ प्रत्यारोपण गर्न सक्छौं भन्ने थियो, पहिलो ६ महिनामा ४ जनामा प्रत्यारोपण गर्न सक्यौं’ उनी भन्छन्, ‘कोभिडपछि केही प्रत्यारोण भए पनि लक्ष्यअनुसार सेवा बढाउन सकिएन ।’

शिक्षणमै कलेजो प्रत्यारोपण हुन्छ भन्ने सन्देश बिरामीमाझ नपुग्नु, पुगे पनि नेपाली विशेषज्ञ टिमको क्षमतामा विश्वास स्थापित हुन नसक्नुलगायत कारण पनि सेवा विस्तारमा बाधक बनेको प्रा.डा. भण्डारी बताउँछन् ।

त्यसबाहेक कलेजो लिने-दिने व्यक्तिको रक्तसमूह, कलेजोको आकार, शरीरको बनावट, कानुनले निर्धारण गरेको पारिवारिक नाता नमिल्नुलगायत अवरोध पनि छँदैछ ।

‘अस्पतालमा आएका बिरामीहरू पनि कोही अंगदाता नभएर, कोही पैसाको अभावमा कलेजो प्रत्यारोपण गर्न सकिरहेका छैनन्’ प्रा.डा. भण्डारी भन्छन्, ‘यावत् कारणले प्रत्यारोपण गर्ने बिरामी नपाइएला भन्ने आकलन गरिएको थिएन ।’

सन् २००९ मा अष्ट्रेलियामा लिभर सर्जरी अध्ययन गर्दा उनलाई लागेको थियो- नेपालमा पनि कलेजो प्रत्यारोपण सम्भव छ । एकवर्षे अध्ययन सकेर फर्किएपछि उनी प्रत्यारोपण सेवाका लागि टिम तयारीमा लागे । टिम पनि तयार भयो, तर निराश बनाउने प्रश्न आउँथ्यो- टिकाउन सक्छौं ?

सहकर्मीहरूको यो प्रश्नलाई प्रा.डा. भण्डारीले चुनौतीको रूपमा लिए । अहिलेका सबैजसो कलेजो प्रत्यारोपण सफल हुँदा उनको आत्मविश्वास पनि बढ्यो । आत्मविश्वासलाई दिगो बनाउन पर्याप्त बिरामी नपाउँदा भने अन्योल पनि थपिएको छ ।

धनी परिवारका बिरामीहरू भारतलगायत देश गएर प्रत्यारोपण गराउँछन् । आर्थिक स्रोत नहुनेहरूले भने नेपालमै पाइने उपचार सेवा पनि उपयोग गर्न नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था छ ।

‘महिनामा दुईजनासम्म बिरामीको कलेजो प्रत्यारोपण गर्ने जनशक्ति र प्रविधि हामीसँग छ, तर वार्षिक करिब ५० जना बिरामी भारत गएर प्रत्यारोपण गराइरहेका छन्’ प्रा.डा. भण्डारी भन्छन्, ‘उनीहरूलाई रोक्न सक्दा ठूलो रकम नेपालमै रहन्छ । तर, त्यसका लागि अहिलेको जनशक्ति, प्रविधि र पूर्वाधार अपुग हुन्छ ।’

निजी अस्पतालहरूले अहिले नै कलेजो प्रत्यारोपणमा आँट गर्ने सम्भावना उनले देखेका छैनन् । किनकि, यसमा लाग्ने २५ लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च बिरामीबाट लिएर मात्र पूर्ति हुन गाह्रो छ । अरू उपचारमा भएको नाफा यसमा खर्च गर्नुपर्ने हुन्छ । अस्पताल र चिकित्सक निःशुल्क भए पनि उपकरणमै ठूलो रकम खर्च हुन्छ ।

‘कलेजो प्रत्यारोपण सेवा थाल्नै गाह्रो हुन्छ । त्यसलाई जारी राख्न पनि सहज नहुने पूर्वानुमान गरिएकै विषय हो’ प्रा.डा. भण्डारी भन्छन्, ‘हामीलाई पहिलो प्रत्यारोपण नै सफल नहोला भन्ने डर थियो, अहिले सेवालाई दिगो बनाउन सकिन्न कि भन्ने अन्योल छ ।’

copied from online khabar

nema
Show More

Related Articles

Back to top button