नेपाली कांग्रेसविचार

लज्जास्पद पराजयपछिको हास्यास्पद निर्णय

– देवप्रकाश त्रिपाठी
संसदीय निर्वाचनमा काङ्ग्रेस पराजयको मूल कारण दुई कम्युनिस्ट पार्टीहरूबीचको गठबन्धन भएको निष्कर्षमा काङ्ग्रेसका नेताहरू पुगेका छन्, यस्तो निष्कर्षलाई गलत मान्नु नपर्ने हुन सक्छ, किनभने एमाले र माओवादीको गठबन्धन नबनेको भए नेपाली काङ्ग्रेसले इतिहासकै सर्वाधिक शर्मनाक पराजय व्यहोर्नुपर्ने थिएन । तर, पार्टी नेतृत्व ‘यो’ भन्दा पनि सही निष्कर्षमा पुग्न सक्थ्यो, किन पुगेन प्रश्न उठाउन सकिन्छ ।
काङ्ग्रेसले आफ्नो पराजयको प्रमुख कारण ‘चुनावी प्रतिस्पर्धामा अन्य दलहरूसमेत उत्रनु’लाई मानेको भए यस्तो निष्कर्ष शतप्रतिशत सही हुन सक्थ्यो । निर्वाचनमा अन्य दलहरूले उम्मेदवार खडा नगरिदिएको भए वा तिनले काङ्ग्रेसलाई माथ गर्ने स्तरमा चुनावी अभियान सञ्चालन नगरिदिएका भए वा मतदाताहरूले अर्को पक्षलाई भन्दा काङ्ग्रेसको उम्मेदवारलाई मन पराइदिएको भए गत निर्वाचनमा नेपाली काङ्ग्रेसले ऐतिहासिक विजय हासिल गर्न सम्भव थियो । तर, परिस्थिति त्यसरी अघि बढेन, कम्युनिस्ट पार्टीहरू एकताबद्ध भए, आफ्ना एजेण्डा र नीति तथा कार्यक्रम स्पष्ट रूपमा अघि सारे, चुनावी अभियानलाई पनि प्रभावकारी किसिमले अघि बढाए, नेतृत्वप्रति विश्वास र भरोसा जगाए, त्यसैको परिणाम काङ्ग्रेस पराजित र वामपन्थी विजयी बन्ने परिस्थिति बन्यो ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको करिब एक महिना लामो छलफलपश्चात् कुनै सुनौलो निष्कर्ष निकालिने, भविष्यको कार्यदिशा स्पष्ट पारिने र पार्टी थप एकताबद्ध हुने आशा काङ्ग्रेस पार्टीका आमकार्यकर्ता तथा शुभेच्छुकहरूले गरेका थिए । तर, आफैँभित्र असहमति र विभाजनको एउटा विषाक्त रेखा कोर्दै काङ्ग्रेसले आफ्नो बैठक सिध्याइदिएको छ र त्यस्तो निष्कर्ष निकालेर दुनिया हँसाएको छ, सायद यति लक्ष्मणसिंह खड्काले पनि हँसाउन सकेका छैनन् । पराजयको कारण कम्युनिस्ट एकता र पराजयको जिम्मेवारी काङ्ग्रेसका सबैले लिनुपर्ने भन्ने निष्कर्षमा कार्यसमिति पुग्नु भनेकै काङ्ग्रेस सुध्रन तयार नहुनु हो, आफ्नो घर ठूलो देखाउन अर्काको घर भत्कने दिनको प्रतीक्षा गर्ने मनोदशामा काङ्ग्रेस पुग्नु हो ।
०६३ को परिवर्तनअघिसम्म काङ्ग्रेस र कम्युनिस्टबीचको विशिष्ट भिन्नताको महसुस आमरूपमा गरिन्थ्यो, हरेक नेपालीमा काङ्ग्रेस र कम्युनिस्टबीचको भिन्नता छुट्याउन सक्ने क्षमता किन थियो भने दुई पक्षबीच आँखैले बुझ्ने किसिमका अन्तर थिए । जो मानिस धर्म, परम्परा, संस्कृति मान्दैन र धर्मनिरपेक्षतासहितको गणतन्त्रात्मक अवस्था चाहन्छ, जसले समग्र देशको भन्दा एउटा वर्गविशेषको हितप्रति ज्यादा वैचारिक सरोकार राख्छ र, जो समानता तथा समाजवादी क्रान्तिको नाममा निजी सम्पत्तिको अधिकार रुग्ण तुल्याउँदै राज्य नियन्त्रित अर्थतन्त्रका पक्षमा वकालत गर्थे तिनले मतदान गर्ने समयमा उम्मेदवार गौण ठान्थे, आफ्नो आस्था र विचार समूहलाई मतदान गर्दथे ।

रामकृष्ण ढकाललाई सुनेर मानिसले उनको तारिफ गर्छन्, नारायणगोपालको जस्तै आवाज भनेर सन्तुष्टि पनि लिन्छन्, तर उनलाई नारायणगोपालचाहिँ ठान्दैनन् । नारायणगोपालसँगै तुलना गरेर रामकृष्णलाई मूल्याङ्कन गर्न थालियो भने उनलाई अति न्यून अङ्क प्राप्त हुन सक्छ । त्यस्तै काङ्ग्रेसले धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्रको पक्षपोषण या व्याख्यान या प्राप्तिको दाबी जतिसुकैपटक गरे पनि मानिसले काङ्ग्रेसलाई कम्युनिस्टजस्तै ठान्ने मात्र हुन् ठ्याम्मै कम्युनिस्ट मान्नचाहिँ खोज्दैनन् ।

जसलाई आफ्नो धर्म, परम्परा र संस्कृतिसहितको आर्थिक समृद्धिको चाहना हुन्छ, जो संवैधानिक राजतन्त्रसहितको बहुलवादमा आधारित संसदीय प्रजातन्त्र चाहन्छन्, र वर्गविशेषको नभई समग्र राष्ट्रिय हितको मान्यता राख्दछन्, जो निजी सम्पत्तिको अधिकारका पक्षमा छन् तिनले रोज्ने पार्टी भनेकै काङ्ग्रेस मात्र थियो । पार्टीका नेता र उम्मेदवारप्रति असन्तुष्टि रहँदारहँदै पनि गैरकम्युनिस्ट विचार समूहका मानिसका निम्ति काङ्ग्रेस बाध्यात्मक रोजाइको पार्टी बनेको थियो । ०६३ को परिवर्तनसँगै काङ्ग्रेसमा वैचारिक स्खलन शुरु भयो र ०७२ मा संविधान जारी हुँदासम्म काङ्ग्रेसले आफूलाई कम्युनिस्टभन्दा केवल संरचनागत अन्तरमा सीमित ग¥यो । आफूलाई कम्युनिस्ट घोषणा नगरेका, गर्न नचाहेका या गर्न सङ्कोच मान्नेहरूको समूहमा काङ्ग्रेस रूपान्तरण हुँदा मानिसले काङ्ग्रेस पार्टीको औचित्यमाथि प्रश्न उठ्न सक्छ भन्ने काङ्ग्रेसका नेताहरूले ठानेनन्, नठान्नुको परिणाम काङ्ग्रेसलाई मिल्न थालेको छ ।
०४६ को राजनीतिक परिवर्तन काङ्ग्रेसको एजेण्डालाई कम्युनिस्टले स्वीकार गर्नुको परिणाम थियो र, परिवर्तनपछिका चुनावी परिणाम पनि सामान्यतया काङ्ग्रेसकै पक्षमा हासिल हुने गर्दथ्यो । तर, ०६३ को परिवर्तन काङ्ग्रेसले कम्युनिस्ट एजेण्डालाई ग्रहण गर्नुको परिणाम हो र चुनावी परिणाम पनि सोहीअनुरूप हासिल हुँदै गएको छ । काङ्ग्रेस नेतृत्वले हजार दाबी गरे पनि धर्मनिरपेक्षता, गणतन्त्र, सङ्घीयता र समानुपातिक–समावेशिताका निम्ति जनता काङ्ग्रेसलाई ‘क्रेडिट’ दिन तयार भएनन् । कम्युनिस्टले काङ्ग्रेसलाई समेत आफ्नो सैद्धान्तिक एवम् वैचारिक मार्गमा हिँडाएको घटना–सन्दर्भका रूपमा जनताले बुझेका छन् । रामकृष्ण ढकाललाई सुनेर मानिसले उनको तारिफ गर्छन्, नारायणगोपालको जस्तै आवाज भनेर सन्तुष्टि पनि लिन्छन्, तर उनलाई नारायणगोपालचाहिँ ठान्दैनन् । नारायणगोपालसँगै तुलना गरेर रामकृष्णलाई मूल्याङ्कन गर्न थालियो भने उनलाई अति न्यून अङ्क प्राप्त हुन सक्छ । त्यस्तै काङ्ग्रेसले धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्रको पक्षपोषण या व्याख्यान या प्राप्तिको दाबी जतिसुकैपटक गरे पनि मानिसले काङ्ग्रेसलाई कम्युनिस्टजस्तै ठान्ने मात्र हुन् ठ्याम्मै कम्युनिस्ट मान्नचाहिँ खोज्दैनन् ।
रसियामा दक्षिणपन्थी राष्ट्रवादी नेतृत्व लामो समयदेखि सत्तामा छ, छिमेकी मित्रराष्ट्र भारतमा पनि दक्षिणपन्थी राष्ट्रवादी शक्तिकै पक्षमा सत्ता र जनमत देखिएको छ, अमेरिकाजस्तो शक्तिशाली मुलुकसमेत दक्षिणपन्थी राष्ट्रवादी शक्ति सत्तामा पुगेको स्थितिमा नेपालका प्रजातन्त्रवादी भनिने काङ्ग्रेसका नेताहरूमा चाहिँ ‘वामपन्थी क्रान्तिकारी’ बन्ने रहर जाग्नु आफैँमा ‘विनाशकाले विपरीत बुद्धि’को परिणाम हो भन्न सकिन्छ । काङ्ग्रेसले आफ्नो मूलभूत विचार–मान्यता परित्याग नगरीकन अघि बढेको भए यसप्रकार उतार–चढावको सामना गर्नु नपर्ने हुन सक्थ्यो । पटक–पटक भएको निर्वाचन परिणामहरूले काङ्ग्रेसको कम्युनिस्टीकरणलाई नरुचाएको सङ्केत दिँदादिँदै पनि काङ्ग्रेस नेतृत्वले चुनावमा पराजयको मूल कारण वैचारिक स्खलन भएको तथ्य स्वीकार गर्न खोजेन । यसले काङ्ग्रेस पार्टीको उत्थानलाई धेरै पछाडि धकेल्ने खतरा पैदा गरेको छ, र आफ्नो उत्थानका निम्ति कम्युनिस्टको पतन पर्खनुपर्नेजस्तो निरीह स्थितिमा काङ्ग्रेस पार्टी पुगेको छ ।

पटक–पटक भएको निर्वाचन परिणामहरूले काङ्ग्रेसको कम्युनिस्टीकरणलाई नरुचाएको सङ्केत दिँदादिँदै पनि काङ्ग्रेस नेतृत्वले चुनावमा पराजयको मूल कारण वैचारिक स्खलन भएको तथ्य स्वीकार गर्न खोजेन । यसले काङ्ग्रेस पार्टीको उत्थानलाई धेरै पछाडि धकेल्ने खतरा पैदा गरेको छ, र आफ्नो उत्थानका निम्ति कम्युनिस्टको पतन पर्खनुपर्नेजस्तो निरीह स्थितिमा काङ्ग्रेस पार्टी पुगेको छ ।

काङ्ग्रेस पार्टीको पराजयका कारणहरू केलाउँदा निम्नानुसारको तस्बिर देखिन आउँछ, जसलाई काङ्ग्रेस नेतृत्वले स्वीकार गर्न चाहिरहेको छैन ।
(क) विचारभूमिविहीनता : नेपाली काङ्ग्रेसको पराजयको पहिलो कारण उसले आफ्नो मौलिक विचार परित्याग गर्नु र कम्युनिस्टको भन्दा बेग्लै विचारभूमि तयार गर्न नसक्नुलाई मान्न सकिन्छ । २०४७ सालको संविधान निर्माणका क्रममा काङ्ग्रेस हिन्दूराष्ट्रको पहिचान यथावत् राख्ने पक्षमा उभिएको हो र त्यसो गर्दा एउटा बलियो जनमतको समर्थन काङ्ग्रेसलाई स्वतः प्राप्त हुन पुगेको थियो । संवैधानिक राजतन्त्रसहितको बहुलवादमा आधारित संसदीय प्रजातन्त्र र समाजवादी आर्थिक कार्यक्रम काङ्ग्रेसको पहिचान बनेको थियो । आफ्नो बनिबनाउ पहिचान मेटेर कम्युनिस्ट एजेण्डाको पछि लाग्दा काङ्ग्रेस विचारविहीन झुण्डमा रूपान्तरित भएको छ । विचारविहीनता राजनीतिमा दीर्घायु हुन सक्दैन ।
(ख) अप्रभावी नेतृत्व : अन्य पार्टीको तुलनामा नेपाली काङ्ग्रेसको नेतृत्व अनेकौँ कारणले अप्रभावी र अक्षम मानिन्छ । न विषयवस्तुको ज्ञान राख्ने, न विषयलाई तर्कपूर्ण ढङ्गले प्रस्तुत गर्न सक्ने, न सर्वस्वीकार्य व्यवहारमा प्रस्तुत हुन सक्ने अवस्थाको मानिसलाई काङ्ग्रेसले मुख्य नेता बनाएर उभ्याएको छ । नेताहरूको व्यक्तित्वले राजनीतिक दलको प्रभाव विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । तर, काङ्ग्रेस सभापतिको विचार र व्यवहार आममानिसमा वितृष्णा र चिढ पैदा गर्ने प्रकारको रहँदै आएको छ, निर्वाचनमा पनि यसको असर परेकै हो, तर यो वास्तविकतालाई काङ्ग्रेस कार्यसमितिले स्वीकार गर्न चाहेन ।
(ग) नेतृत्वको गलत कार्यनीति र रवैया : शेरबहादुर देउवा नेतृत्वमा गत वर्ष गठन भएको सरकार चुनावी प्रयोजनका लागि थियो । काङ्ग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्रीले पार्टीको उचाइ र लोकप्रियता बढ्ने कुनै कार्यक्रम आफ्नो समयमा अघि सार्न सकेनन् । बरु पटक–पटक विवादास्पद झमेला पैदा गरेर काङ्ग्रेसप्रतिको विश्वास र भरोसमा क्षति पुऱ्याउने काम देउवाबाट भयो । सासूलाई जापानको राजदूत बनाउने, बदनाम बनिसकेकी श्रीमतीलाई देशकै सबैभन्दा सुरक्षित स्थान खोजेर चुनावी मैदानमा उतार्ने, आईजीपी नियुक्तिमा अपरिपक्व तथा अनपेक्षित शैली प्रस्तुत गर्ने र राजदूत नियुक्तिमा योग्यताभन्दा ‘अन्य’ कुराहरूलाई प्राथमिकता दिनेजस्ता कार्यले देउवाको कद मात्र घटाएको थिएन, काङ्ग्रेसप्रतिको जनभरोसामा पनि गम्भीर क्षति पुऱ्याएको थियो । यसको असर पनि निर्वाचनमा परेको देखिन्छ, तर काङ्ग्रेस कार्यसमितिले यो तिक्त यथार्थलाई स्वीकार गर्न खोजेन ।
(घ) रुग्ण चुनावी अभियान : काङ्ग्रेसले जनसाधारणलाई प्रभावित गर्न सक्ने किसिमको चुनावी घोषणापत्र जारी गर्न सकेन । यसका रचनाकारहरूले जनतालाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने कोणबाट घोषणापत्र तयार गरेनन्, बरु आफ्नो बौद्धिकता प्रदर्शन गर्ने साधनका रूपमा घोषणापत्रलाई प्रयोग गरे । फलस्वरूप काङ्ग्रेसको घोषणापत्र जनसाधारणका निम्ति ग्राह्य र पाच्य हुन सकेन । नाराहरू पनि मतदातालाई आकर्षित गर्ने प्रकारका तर्जुमा भएनन्, ‘हामीभित्र म’ भनेको के हो बुझ्ने कार्यकर्ता भएनन् । अमूर्त कलाजस्तो नबुझिने शब्दावलीलाई मनोगतवादी ढङ्गले नाराका रूपमा प्रस्तुत गरियो । कार्यकर्तासम्मले नबुझेको कुरा जनसाधारणले बुझ्ने विश्वास गर्न सकिँदैन । त्यसैगरी सङ्गठन परिचालन गर्न र चुनावी अभियानलाई रौनकपूर्ण बनाउन पनि काङ्ग्रेस असमर्थ रह्यो, तर काङ्ग्रेसको केन्द्रीय कार्यसमितिले यसलाई कमजोरीका रूपमा स्वीकार गरेन ।
(ङ) गलत कार्यनीति : स्थानीय निर्वाचनमा माओवादीसँग चुनावी गठबन्धन गर्नु काङ्ग्रेसको गम्भीर भूल थियो । शेरबहादुर देउवा प्रचण्डका जालमा यसरी अल्झिएका थिए कि उनी प्रचण्डप्रति ढुक्क थिए र माओवादीसँग लामो समयसम्म सहकार्य गर्ने मानसिकतामा देखिन्थे । तर, प्रचण्ड भने देउवा र काङ्ग्रेसलाई उपयोग मात्र गर्दै थिए । माओवादीसँग चुनावी गठबन्धन बनाएपछि त्यसले बहुआयामिक तर नकारात्मक असर पारेको देखिन्छ । अप्राकृतिक चुनावी गठबन्धनले कार्यकर्तामा अन्योल, निराशा र विचलनको स्थिति पैदा गरेको थियो । जीवनभरि माक्र्सवाददेखि माओवादसम्मको आलोचना गर्दै आएका कार्यकर्ता एवम् समर्थकहरूलाई कम्युनिस्टको पक्षमा मतदान गर्न बाध्य तुल्याइनु हुन्नथ्यो, देउवाले कम्युनिस्टलाई मतदान गर्न काङ्ग्रेसलाई बाध्य बनाए । यसको दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । काङ्ग्रेसले माओवादीसँग चुनावी तालमेल गरेपछि नेकपा एमाले पनि नराम्रोसँग झस्कियो । स्थानीय चुनावमा काङ्ग्रेस–माओवादी तालमेल भएकै कारण एमालेले संसदीय निर्वाचनमा माओवादीलाई काङ्ग्रेसबाट छुट्याएर आफ्नो कित्तामा ल्याउने चाल चलेको हो । माओवादीले कुनै पनि दिन एमालेसँग सहकार्यका निम्ति ‘छलाङ मार्न’ सक्छ भन्ने सामान्य विश्लेषण गर्न नसक्नु नेतृत्वको गम्भीर भूल हो, काङ्ग्रेस कार्यसमितिले यसलाई पनि भूलका रूपमा स्वीकार गर्न आनाकानी गरेको छ ।

काङ्ग्रेसले चुनावमा पराजयको कारणबारे जुन प्रकारको निष्कर्ष निकालेको छ, यसले काङ्ग्रेसका नेताहरू आफू सुध्रन र पार्टीलाई सुधार्न किमार्थ तयार छैनन्–हुँदैनन् भन्ने स्पष्ट गरेको छ । कम्युनिस्टहरूको बर्बादीमा मात्रै आफ्नो भविष्य देख्ने मनोदशामा काङ्ग्रेसका नेताहरू भएको बुझियो, तर कम्युनिस्टहरूले निरन्तर आफ्नो स्थिति अनुकूल बनाइरहे भने काङ्ग्रेसको भविष्य के होला, यो प्रश्नको जवाफ सभापति देउवाबाट चाहिँ प्राप्त नहुने अब निश्चित भएको छ ।

(च) आर्थिक अभाव : ‘बहादुर एवम् क्रान्तिकारी’ र प्रगतिशील नेताहरूले निर्वाचनलाई अधिक खर्चालु बनाइदिएका छन् । एउटा निर्वाचन क्षेत्रमा कम्तीमा दुई करोडदेखि बाह्र करोडसम्म खर्च गर्नुपर्ने स्थिति बनेको छ र, यस्तो स्थिति बन्नुमा दलका नेता–कार्यकर्ताबाहेक अरू कसैको भूमिका रहेको ठहर गर्न सकिन्न । यसरी चुनाव खर्चिलो भए पनि काङ्ग्रेस नेतृत्वले उम्मेदवारहरूका निम्ति अर्थ व्यवस्थापन गर्न सकेन । सभापति शेरबहादुर देउवाले आफू र आफ्नी पत्नी उम्मेदवार बनेकोबाहेक बाँकी सबै क्षेत्रलाई उपेक्षा गरेको महसुस काङ्ग्रेसका उम्मेदवारहरूले गरेका थिए । उम्मेदवारहरूमध्ये पनि ‘आफ्ना’जतिलाई बढीमा पन्ध्र लाखसम्म उपलब्ध गराइएको र ‘गुड बुक’मा नपरेकाहरूलाई दुई वा तीन लाख रुपैयाँ मात्र चुनाव खर्च दिएको बताइन्छ । निर्वाचनमा आर्थिक अव्यवस्था पनि पराजयको कारण हो भन्ने कुरालाई काङ्ग्रेस कार्यसमितिले आत्मसात् गर्न सकेको छैन ।
(छ) उम्मेदवार चयन त्रुटिपूर्ण : नेपाली काङ्ग्रेसले पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा व्यक्तिको योग्यता, क्षमता, इमानदारी, प्रतिबद्धता र विजयी बन्न सक्ने सम्भाव्यताजस्ता पक्षहरूलाई ध्यान दिएको पाइएन । राम्राभन्दा आफ्ना मानिसलाई ‘टिकट दिलाउने’ होड चल्यो, नेताहरूले भागबन्डाका आधारमा उम्मेदवार चयन गरे । कहाँ कसलाई उम्मेदवार बनाइँदा विजय प्राप्त गर्न सकिन्छ भन्ने सामान्य विश्लेषणसमेत नगरीकन टिकट वितरण गरिएकोले पनि काङ्ग्रेसको पराजय भएको हो ।
उल्लिखित सातबाहेक पराजय हुनुका अन्य केही कारण पनि छन् र, काङ्ग्रेस नेतृत्वले ठहर गरेजस्तै कम्युनिस्ट पार्टीहरूको गठबन्धनलाई पनि पराजयको एउटा कारण मान्न सकिन्छ । तर, काङ्ग्रेसले मुख्य मानेको यो कारणचाहिँ कुस्ती प्रतिस्पर्धामा उत्रिएको एउटा खेलाडीले आफ्नो हारको कारण ‘प्रतिस्पर्धा गर्ने व्यक्ति आफूभन्दा बलियो भएकोले’ भनेजस्तै हो । काङ्ग्रेसले चुनावमा पराजयको कारणबारे जुन प्रकारको निष्कर्ष निकालेको छ, यसले काङ्ग्रेसका नेताहरू आफू सुध्रन र पार्टीलाई सुधार्न किमार्थ तयार छैनन्–हुँदैनन् भन्ने स्पष्ट गरेको छ । कम्युनिस्टहरूको बर्बादीमा मात्रै आफ्नो भविष्य देख्ने मनोदशामा काङ्ग्रेसका नेताहरू भएको बुझियो, तर कम्युनिस्टहरूले निरन्तर आफ्नो स्थिति अनुकूल बनाइरहे भने काङ्ग्रेसको भविष्य के होला, यो प्रश्नको जवाफ सभापति देउवाबाट चाहिँ प्राप्त नहुने अब निश्चित भएको छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button