विचार

बीपीको माटो र कांग्रेसको बाटो

एउटा राष्ट्रिय हैसियतप्राप्त जस्तो लाग्ने यसपल्टको वार्षिक कर्मकाण्ड सकियो। साउन ६ मा बीपी र साउन ७ मा पुष्पलाल स्मृति। र, कांग्रेसीहरुले बीपी स्मृति मनाए। अनि हाल सत्तामा रहेका कम्युनिष्टहरुले पुष्पलाल पुण्यतिथि मनाए, उनकै मार्गनिर्देशन र आदर्श पछ्याउँदै नेपालमा ०६२/६३ को परिवर्तन आएजस्तो व्याख्या गरेर।
केही वर्षअघि पूर्वमन्त्री खगेन्द्रजंग गुरुङले एउटा लामो अन्तर्वार्ता दिएका थिए यस स्तम्भकारलाई। राजा महेन्द्रले युवराजधिराज छँदैमा आफूलाई विशेष दूतका रुपमा चीन पठाएको स्मरण गरेका थिए उनले। माओत्से तुंग र चाउएनसँगको भेटपछि महेन्द्रले नेपाललाई स्वतन्त्र राख्न र दक्षिणको हस्तक्षेपलाई एउटा स्वीकार्य सीमाभित्र राख्न आफू राजसिंहासन समेत त्याग्न तयार रहेको सन्देश महेन्द्रको रहेको बुझाइ थियो गुरुङको। माओ र चाउ अनि उनका उत्तराधिकारीहरुले नेपालको राजसंस्थालाई राष्ट्रवादी मान्नु अकारण थिएन।

माटो आफ्नो उत्पत्ति, मातृभूमिप्रतिको समर्पण, सार्वभौमसत्ता र राष्ट्रियताको प्रतिक हुन्छ। माटोलाई सम्मान नगर्नेहरु सार्वभौमसत्ता, स्वतन्त्रता र प्रजातन्त्रप्रति मनसा, कर्मणा समर्पित हुनै सक्दैनन्। गिरिजा–सिटौला र माटो प्रसंगले अहिलेको नेपाली कांग्रेसको द्विविधा हैसियत र विश्वसनीयताको यथार्थ चित्रण गर्छ।

उनै गुरुङलाई पछि २०२७ पुस–माघतिर भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले बोलाइन्, जनजाति (भारतीय सेनामा कार्यरत या अवकाश प्राप्त सैन्यको शक्तिलाई ध्यानमा राख्दै) र मधेसी समूहलाई एक ठाउँमा ल्याई राजाविरुद्ध विद्रोह गराउने उद्देश्यका साथ दिल्ली बोलाइन्। सम्भवत यो कुरा थाहा पाएर नै होला, राजा महेन्द्रले गुरुङलाई दिल्ली जानुपूर्व भरतपुरस्थित दियालो बंगला बोलाए। र, ‘तिमीहरु मुलुकको स्वार्थ र एकताप्रति गम्भीर नभए राजसंस्था रहनुको अर्थ छैन’ भन्ने सन्देश दिए। गुरुङका सम्झना अझै ताजा छन्।
महेन्द्रले त्यहीँ भारत निर्वासनमा रहेका पुष्पलाललाई भेटेका थिए। भारतले पटकपटक नेपालको स्वतन्त्रतालाई अवमूल्यन गरेको र हस्तक्षेप बढाएकाले मिलेर काम गर्न र त्यसका लागि सत्ता लिन पुष्पलाललाई आग्रह गरेको, पुष्पलालले सोचेर, सल्लाह गरेर निर्णय दिने बताए पनि त्यसबारे निर्णय हुनुपूर्व नै महेन्द्रको निधन भएपछि नेपालको राजनीतिले शायद उनले सोचेभन्दा फरक मोड लिन पुग्यो। गुरुङले महेन्द्रको निधनको खबर इन्दिरा गान्धीबाटै पाए र सम्भवत त्यो विद्रोहको कार्ययोजना तत्कालका लागि टर्‍यो। पुष्पलाललाई राष्ट्रवादी र आफ्ना आदर्श मान्ने वर्तमान शासकहरुलाई यो विषय अवगत नभएको हैन, तर इतिहासलाई वस्तुनिष्ठ तरिकाले हेर्ने, बुझ्ने र त्यसलाई स्वीकार्ने चरित्र र साहसको उनीहरुमा सर्वथा अभाव देखिएको छ।
आफ्नै इतिहासको छायाँबाट टाढिने प्रयासमा नेपाली कांग्रेस पनि लागिपरेको छ। ऊ अब प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धनमा प्रतिबद्ध छ कि छैन, पार्टीभित्रै पनि अविश्वास र आशंका छ। साउन ६ गते बीपी कोइरालाको ३६औं स्मृति दिवसका अवसरमा गोविन्दराज जोशीको एउटा व्यंग्यात्मक टिप्पणीले पर्याप्त आशंका र संकेत दिन्छ। बीपी विचार राष्ट्रिय समाजमा आयोजित कार्यक्रममा उनले कथाको पारामा आफ्नो भनाइ राखे। त्यसको सारसंक्षेप यस्तो छ।
२०६२ को सेरोफेरोमा नेपालमा माओवादी द्वन्द्व चर्किएको बेला उनी दिल्ली पुगे, आफ्ना त्यसबेलाका विश्वासपात्र कृष्णप्रसाद सिटौलालाई लिएर। त्यहाँको शक्ति केन्द्र त्यसबेला राजसंस्था हटाई माओवादीलाई नेपालको शक्ति तथा सत्ताको केन्द्रमा ल्याउन अभ्यासरत थियो। मामिला पेचिलो र जटिल थियो। राति होटलमा फर्केपछि गिरिजाप्रसाद कोइरालाको छट्पटी बढ्यो। बीपीप्रति अत्यन्त आदर राख्ने गिरिजाले झट्ट सम्झे- बीपीको त्यो ‘प्रेस्क्रिप्सन’, ‘कहिल्यै कुनै संकट आइलागे मुलुकको एक मुठ्ठी माटो हातमा लिएर गम्नु, समाधान फुर्छ।’ त्यो मन्त्र धेरै कांग्रेसीले रट्ने गरेका छन् अहिलेसम्म। गिरिजाप्रसादले भुल्ने कुरै भएन।
अनि उनले सिटौलासँग एक मुठ्ठी माटो मागे। दिल्लीको त्यही होटल नजिकबाट सिटौलाले ‘एक मुठ्ठी माटो’ उठाएर गिरिजालाई दिए। १२ बुँदे त्यसैको उपज थियो। र, आज नेपालले भोगेको परिणाम त्यही हो। माटो आफ्नो उत्पत्ति, मातृभूमिप्रतिको समर्पण, सार्वभौमसत्ता र राष्ट्रियताको प्रतिक हुन्छ। माटोलाई सम्मान नगर्नेहरु सार्वभौमसत्ता, स्वतन्त्रता र प्रजातन्त्रप्रति मनसा, कर्मणा समर्पित हुनै सक्दैनन्। गिरिजा–सिटौला र माटो प्रसंगले अहिलेको नेपाली कांग्रेसको द्विविधा हैसियत र विश्वसनीयताको यथार्थ चित्रण गर्छ।
डा. गोविन्द केसीको यसपल्टको अर्थात् २७ दिनसम्म जारी अनशनलाई नेपाली कांग्रेसले संसदमा र खासगरी तरुण दलले सक्रियरुपमा समर्थन गर्‍यो। त्यसका अध्यक्ष जितजंग बस्नेतको टाउकोमा सरकारको लाठी बज्रियो र पाँच ‘स्टिच’ पर्‍यो। यो घटना र बीपी स्मृतिको सेरोफेरोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै अन्य वरिष्ठ नेताहरुले एउटा कुरा दोहोर्‍याए- ‘कांग्रेसलाई हिजोकै ठाउँमा पुर्‍याउँछौँ।’ देउवाले अर्को कुरा पनि भने, ‘कम्युनिष्टहरुलाई बीपीले मात्र चिन्नु भएको रहेछ।’ एक किसिमले १२ बुँदे पछि भूमिगत माओवादी र एमालेसँगको सहयात्रासँगै समर्पणले गर्दा नेपाली कांग्रेसले आफ्नो राष्ट्रियता र प्रजातन्त्र पक्षीय छवि गुमाएको छ। विदेशी खटनमा आफ्नो अडान छोड्ने पार्टीको ‘राष्ट्रियता’ सम्बन्धी छवि बाँच्दैन।
बीपीले आफू बाँचुन्जेल पुष्पलाल तथा कम्युनिष्ट पार्टीसँग मिलेर प्रजातन्त्रको लागि संघर्ष गर्न नमानेको, पटकपटक भारतको सुझावलाई अस्वीकार गरेको तथ्य सार्वजनिक जनकारीका विषय हुन्। उनको निधनको आठ वर्षपछि ०४६ को आन्दोलन बीपी लाइनभन्दा फरक भए पनि नेतृत्व नेपाली कांग्रेसको थियो र गणेशमान सिंहको ‘सर्वमान्य’ हैसियतलाई सबैले स्वीकार गरेका थिए। तर १२ बुँदेपछि भारत हुँदै ऊसँग नेपालको राजनीतिमा प्रवेश गरेका युरोपेली संघ र दातृ निकायको प्रभावमा नेपाली कांग्रेस नेतृत्वले माओवादीको नेतृत्व र केन्द्रीयतालाई स्वीकार गर्‍यो। त्यो उसको बाध्यता थियो। कृष्णप्रसाद भट्टराईले नेपाली माटो स्मरण गरी ‘आयातीत एजेण्डा’ को विरोधका साथ पार्टी त्यागे। तर सिटौला र गिरिजाका लागि नेपाली माटो अर्थहीन बनिसकेको थियो।
शेखर कोइराला जस्ता व्यक्तिहरु ‘राजासँग मेरो घाँटी जोडिएको छ’ भन्ने बीपी अहिले ज्युँदो भएको भए त्यही नै गर्नुहुन्थ्यो अथवा जनतालाई पाखा लगाएर गणतन्त्र कबुल गर्नु हुन्थ्यो भन्ने आशय राख्छन्। स्पटलाइटका सम्पादक केशव पौडेल बीपीको आत्मवृतान्त पढ्न आग्रह गर्छन् सामाजिक सञ्जालबाट शेखरजस्ता व्यक्तिहरुलाई। आफ्नो मृत्युपछि पार्टी र परिवारकै व्यक्तिहरुबाट आफ्नो भनाइ या मान्यताको गलत व्याख्या हुन सक्ने डर बीपीले व्यक्त गरेका छन्। बीपीको राजा र आफ्नो घाँटी जोडिएको अभिव्यक्ति आउँदा उनले देश र जनतालाई निरपेक्ष राखेका थिएनन्।
त्यसैले ‘हामीले कम्युनिष्टलाई चिनेका रहेनछौं या बीपीले मात्र चिन्नु भएको रहेछ’ अनि कांग्रेसलाई हिजौकै अवस्थामा पुर्‍याउँछौँ भन्ने अभिव्यक्ति दिँदा नेपाली कांग्रेसको नेतृत्वले स्पष्ट पार्नुपर्छ दुई तीनवटा कुरा। पहिलो ‘राजसंस्था’ र त्यसको असंवैधानिक समाप्ति, जनताको निर्णयको अधिकारबारे उसको संस्थागत धारणा के हो? दोस्रो बीपी कोइरालाको ‘मेलमिलाप’, गिरिजाको गणतन्त्र र कृष्णप्रसाद भट्टराईको ‘आयातीत एजेण्डा’ बारे कांग्रेसको संस्थागत मान्यता के हो? यी ऐतिहासिक र राजनीतिक एजेण्डाबारे कांग्रेसले आफूलाई स्पष्ट नगरेसम्म उसको राजनीति ‘प्रतिक्रियात्मक’ मात्र हुनेछ । गोविन्द केसीले अनशन तोडेपछि कांग्रेस शिथिल बन्नेछ राजनीतिक रुपमा।
देउवाविरुद्ध उभिएका रामचन्द्र पौडेलको सोच अझ सानो छ। एजेण्डा गुमाउँदै गएको पार्टीमा ४० प्रतिशत स्थान ओगट्न चाहन्छन् उनी। उता पौडेलजस्तै अध्यक्ष पदमा पराजित र देउवाद्वारा केन्द्रीय समितिमा मनोनीत सिटौलाले नेपालकै माटो उठाएर निर्णय लिन्छु भविष्यमा भन्ने अभिव्यक्ति दिन सक्लान् र?
जनताद्वारा कम्युनिष्ट पार्टीले चुनावमा विजय हासिल गर्नु प्रजातन्त्रको सफल अभ्यास हो। र, यता आएर डा. केसीको अनशनप्रति अन्त्यमा भने पनि लचकदार भएर, बढ्दो विरोधपछि इन्टरनेट सेवामा बढाइएको शुल्क फिर्ता लिएर ओलीले अन्त्यमा आँखा, कान र विवेक बन्द गरेर अब केही बोल्दिन, गर्दिन भन्ने सन्देश दिएका छन्। त्यसमा उनी कति अड्छन्, भविष्यले बताउनेछ।
तर, निर्वाचनमा पराजयसँगै आफ्नै इतिहास र नीति तथा सिद्धान्तबारे नेपाली कांग्रेस स्पष्ट नभएमा र हिजोकै अवस्थामा पार्टीलाई पुर्‍याउने घोषणालाई स्पष्टताका साथ व्यवहारमा नउतारेमा नेपाली कांग्रेसको भविष्य रहने छैन।

युवराज घिमिरे

साभार देश सनचार
nema
Show More

Related Articles

Check Also
Close
Back to top button