नेपाली कांग्रेसविचार

कांग्रेस सुधार्ने हो भने…

चुनावमा भएको लज्जाजनक हारको समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समितिको बैठक ‘खोदा पहाड निकला चुहा’ हिन्दीको यो उखान पुनरावृत्ति गर्दै समाप्त भयो । एक महिनाभन्दा बढी चलेको बैठक आरोप-प्रत्यारोपमा समाप्त भयो । ७० वर्षको इतिहासमा यति गहिरो नीतिहीन र गतिहीन कांग्रेस यसभन्दा पहिले कहिल्यै देखिएको थिएन । चुनाव परिणामले भन्दा नेताहरूमा रहेको विचारशून्यता र लघुताभासले कार्यकर्ता र शुभचिन्तक यतिबेला आहत भएका छन् ।
चुनावमा भाग लिएपछि हारजित सामान्य हो, कहिले हारिन्छ र कहिले जितिन्छ । कांग्रेस इतिहासमा सबभन्दा लामो समयसम्म चलेको केन्द्रीय समिति बैठकमा नेताहरू आपसमा जसरी आरोप-प्रत्यारोपमा उत्रिए र त्यहाँ जुन स्तरको भाषा प्रयोग गरियो, यसले बूढी मरीभन्दा पनि काल पल्क्यो भन्ने चिन्ता आम प्रजातन्त्रवादीमा छ । विश्वबाट पलायन भएको सर्वसत्तावाद गत निर्वाचनबाट ढोल बजाएर र कर्नाल फुकेर नेपालमा पुनस्र्थापित भएको सन्दर्भमा कांग्रेस किंकर्तव्यविमूढ हुनु आम प्रजातन्त्रवादीका निम्ति ठूलो चिन्ताको विषय हो ।
कांग्रेस हार्नुको पहिलो र प्रमुख कारण भारतले लगाएको नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्नु मात्र होइन कतिपय मन्त्रीले प्रकारान्तरबाट त्यसको समर्थन गर्नु ।
निर्वाचनमा कांग्रेसका उम्मेदवार जिताउन महामन्त्री डा. शशांक कोइराला र विश्वका धनाढ्य व्यक्तिहरूको अभिलेख राख्ने सुप्रसिद्ध अमेरिकी पत्रिका ‘फोब्र्स’ का अनुसार विगत पाँच वर्षदेखि एक अर्ब डलरभन्दा बढी कारोबार गर्न सक्षम विनोद चौधरी ओखलढुंगा जिल्लाको रामपुरमा आयोजित आमसभामा सम्बोधन गर्न गएका थिए । प्रजातन्त्र प्राप्तिको संघर्षमा २०३१ सालमा शहादत प्राप्त गर्ने लीला, ठगी, खगेन्द्र, पेशल दाहाल र गोकर्ण कार्कीको सालिक भएको सहिद मञ्चमा आमसभा राखिएको थियो । सभालाई सम्बोधन गरेर डा. शंशाक र विनोद चौधरी हिँडेपछि मञ्चको एउटा कुनामा बसेकी सहिद पेशलकी आमाले मेरो जिज्ञासामा भन्नुभयो, ‘छोरो कांग्रेसमा लागेकै कारण गोली खाएर मर्‍यो मैले अन्यत्र कहाँ भोट हाल्थें र ? तर गाउँले यसपटक कांग्रेसलाई भोट नदिने भन्छन् ।

कांग्रेस सुधार्ने अबको एउटा मात्र बाटो हो, केन्द्रदेखि वडातहका वर्तमान संरचना विघटन गरेर शक्तिशाली तदर्थ समिति बनाउने र कुन महिनामा केके काम गरिसक्ने त्यसको घोषणासाथ ती समिति परिचालन गर्ने ।

भारतले मालसामान आउन नदिएर हामीलाई मार्न खोज्दा कांग्रेसले त्यसको विरोध गरेन रे, यसपटक भोट कांग्रेसलाई नदिने एमालेलाई दिने भन्छन् । खै, कांग्रेस कसरी जित्ला ?        ’ एक सहिद माताको मात्र होइन, राष्ट्रियता र प्रजातन्त्रमा विश्वास गर्ने देशभरका सर्वसाधारण जनताका मनमा गढेको कुरा त्यही नै थियो, यद्यपि छ । राष्ट्रियताको संवद्र्धन र प्रजातन्त्र प्राप्तिका लागि अनवरत संघर्ष गरेको कांग्रेस भारतले पाँच महिनासम्म लगाएको नेपालीविरुद्धको त्यो कठोर नाकाबन्दीमा किन मौन बस्यो (?        ) प्रश्न अभैm गर्भमै छ ।
नेपालविरुद्ध भारतले ०२७ र ०४५ सालमा पनि नाकाबन्दी गरेको थियो त्यसलाई नेपाली जनताले प्रजातन्त्रविरोधी शासकका विरुद्धको नाकाबन्दीको रूपमा लिएका थिए, त्यसले नेपालीको मनमस्तिष्कमा त्यति असर पुर्‍याएन ।
जनताले चुनेका प्रतिनिधिले बनाएको संविधान जारी गरेकोमा भारतले नाकाबन्दी गरी नेपालीको स्वाभिमान र स्वतन्त्र निर्णयको अपमान हुने गरी दण्ड गर्‍यो । यो नेपालको स्वतन्त्र अस्तित्व र स्वाभिमानमाथिको हमला थियो । यसलाई अहिले मात्र होइन भावी पुस्ताले पनि बिर्सने छैनन् । यस्तो अमानवीय कार्यको विरोध नगर्ने कांग्रेसले पश्चात्ताप गरी जनतासँग माफी माग्नुपर्छ । जनता महान् छन्, अवश्य माफी दिनेछन् । जनताको हकअधिकारका निम्ति कांग्रेसले विगत ७० वर्षदेखि गरेको संघर्ष जनताले बिर्सेका छैनन् । यो तत्कालको आक्रोश हो । जनताका मनमा कांग्रेसप्रति अभैm माया छ, स्नेह छ । यस्ता गल्ती पुनः नदोहोर्‍याउन चेतावनी हो, पछिल्लो हार ।
दोस्रो कारण हो, स्पष्ट आकारविना चुनावमा जानु । यसपटक कांग्रेस स्पष्ट नीति, सिद्धान्त र स्वच्छ कांग्रेसी छवि लिएर चुनावमा गएन । कतै माओवादीको आकारमा जनतासँग भोट माग्न गयो, कतै ०१७ सालदेखि ०४६ सालसम्म कांग्रेस समाप्त गर्ने गिरोह बोकेर प्रस्तुत भयो भने कतै क्षेत्रीयता र जातीयताका आधारमा खडा भएका दलहरूको समर्थनमा जनतासमक्ष मत माग्न गयो । सिंगो र स्वच्छ कांग्रेस जनताले देख्न पाएनन् । जनताले ०३३ साल पुस १६ गते नेपाल फर्कंदा नेपाली जनताका नाममा बीपी कोइरालाले गरेको अपिल सम्झन पुगे । सिक्किम भारतमा विलय गराएपछि तत्कालीन भारतीय शासकको कुत्सित नजर नेपालमाथि पर्न थाल्यो ।
भारत निर्वासनमा रहेका बीपीमाथि दबाब पर्न थाल्यो । त्यसलाई अस्वीकार गर्दै बीपीले भनेका थिए, ‘नेपालमाथि आउन थालेको खतरा हेरेर मेरा साथीहरू कोही पनि यहाँ बस्न सक्दैनन् । मुलुकमाथि खतरा आइपरेको बेला हाम्रो कर्तव्य हुन आउँछ मुलुकलाई बचाउने, त्यसकारण म नेपाल फर्कंदै छु । हो, ममाथि ६ वटा मुद्दा अदालतमा दर्ता भएका छन्, तीमध्ये केहीमा मलाई फाँसी पनि हुन सक्छ । मलाई फाँसी दिएर राजाको समस्या समाधान हुँदैन, राजाले मूर्खता गरेर मलाई फाँसी दिएछन् भने मेरो रगतले मेरै मातृभूमि सिञ्चित हुनेछ । सम्पूर्ण देशवासीसँग मेरो अपिल छ, आपसी मतभेद बिर्सेर राष्ट्रियता बचाउन हामी सबैको कर्तव्य हुन आउँछ ।’
नेपाली जनतासँग यस्तो अपिल गरेर बीपी मेलमिलाप नीति लिएर स्वदेश फर्केका थिए । बीपीका यी भनाइको मर्म र आशय कांग्रेसको यसपटकको घोषणापत्रमा कहीं नभेट्टाएपछि जनताले वामपन्थीलाई मत दिएका हुन्, कांग्रेसभन्दा वामपन्थी असल भनेर मत दिएका होइनन् । विशाल भारत र चीनका बीचमा रहेका जनताका निम्ति राष्ट्रियता प्राणभन्दा प्यारो छ भन्ने कांग्रेसले हेक्का राखेन, घोषणापत्रमा भारतले लगाएको नाकाबन्दीको चर्चा गरिएन । नेपाली जनताका नाममा यस्तो अपील गरेर स्वदेश फर्केका बीपी र उनीसँगै आएका गणेशमान सिंहलगायत सबै नेताकार्यकर्ता पक्राउ परे ।
जेलमा राखिएका बीपीलाई क्यान्सर लागेपछि उनको स्वास्थ्य परीक्षण गरेर डाक्टरहरूले राजाकहाँ सिफारिस गरेर बीपीलाई क्यान्सर रोग लागेको छ, तुरुन्त उपचार नहुने हो भने कुनै पनि निधन हुन सक्छ र घाँटीमा लागेको यो रोगको अमेरिकाको न्युयोर्कमा मात्र उपचार हुन सक्छ । त्यसबेला भारतमा इन्दिरा गान्धीले चुनाव हारेर जनता पार्टीको सरकार बनेको थियो र त्यो सरकारमा बीपीका धेरै मित्र थिए । अमेरिकामा विश्वव्यापी मानव अधिकारको सम्मान हुनुपर्छ भन्ने नारा दिएका जिम्मी कार्टर राष्ट्रपति भएका थिए । यस्तो बेलामा बीपीको ज्यानमा केही भयो भने नेपालको निम्ति नै अप्ठारो पर्छ भने राजा वीरेन्द्रले बीपीलाई सरकारी खर्चमा उपचार गर्ने गरी तारेखमा रिहा गरे ।
उपचार गरेर स्वदेश फर्कन लाग्दा विशेष अदालतले २० वर्षअघि फाँसीको सजाय दिएका ओखलढुंगा काण्डका नायक क्याप्टेन यज्ञबहादुर थापा र भीम नारायण        श्रेष्ठको पैmसलालाई कार्यान्वयनको अनुमोदन नगरेर सर्वोच्च अदालतमा थाती राखिएको थियो । पैmसला भएको दुई वर्षभित्र कार्यान्वयन हुनुपर्नेमा सर्वोच्चले थाती राखेकोमा अब फाँसी हुँदैन भन्ने कानुनव्यवसायीको विश्वासविपरीत बीपी नेपाल नफर्कियुन् भनेर तर्साउन दुजै जनालाई काठमाडौंको जेलबाट निकालेर कमला र कोसी किनारमा लगेर रातको समयमा गोली हानेर हत्या गरियो । तर पनि राजासँग भएको समझदारीअनुसार बीपी स्वदेश फर्किए ।
राजासँग भएका समझदारीका आधारमा स्वदेश फर्केका बीपीविरुद्ध कमल थापाको नेतृत्वमा रहेका ‘मण्डले’ हरूले त्रिभुवन विमानस्थलमा हिंसात्मक प्रदर्शन गरे । बीपीको स्वागत गर्न गएका कांग्रेसका नेताकार्यकर्तामाथि सांघातिक आक्रमण भयो । मण्डलेको आक्रमणबाट धेरैजना घाइते भए । घाइतेमध्ये ‘राष्ट्र पुकार’ साप्ताहिक पत्रिकाका सहायक सम्पादक विश्वनाथ अधिकारीलाई वीर अस्पतालमा भर्ना गरेर उपचार गर्नु पर्‍यो । महामन्त्री गिरिजाप्रसाद कोइरालाको हत्या गरिदिए कांग्रेस नै समाप्त हुन्छ भनि २०४० सालमा रुपन्देहीको सुरजपुरामा गोली चलाउँदा गिरिजालाई नलागी अधिवक्ता यादवनाथ आलोकको निधन भयो । सम्पूर्ण कांग्रेसजनको भावनामाथि प्रहार गर्ने तिनै कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) सँग कांग्रेसले चुनावमा सहकार्य गर्‍यो ।
मकवानपुरबाट उम्मेदवार बनेका थापाविरुद्ध कांग्रेसले आफ्नो उम्मेदवार नदिएर उनलाई समर्थन गर्‍यो । आश्चर्य त्यतिबेला भयो जब थापाको पार्टीका महामन्त्री राजेन्द्र लिंग्देन वामपन्थीसँग महागठबन्धन गरेर चुनावमा झापाबाट उठे, केपी ओलीले उनलाई जिताए पनि । त्यतिबेला कांग्रेसले भन्नुपथ्र्यो, ‘तिम्रो महामन्त्री कम्युनिस्टसँग गठबन्धन गरेर उठ्छन् भने हामी मकवानपुरमा तिमीलाई समर्थन गर्दनौं, आफ्नो उम्मेदवार दिन्छौं ।’ थापा कांग्रेससँग गठबन्धन गरेर उठ्ने अनि उनकै महामन्त्री कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई हराउन कम्युनिस्टसँग गठबन्धन गर्ने ‘कहिं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान चरितार्थ गरेर कांग्रेस चुनावमा गयो ।
कांग्रेसका अर्का नेता विमलेन्द्र निधिका विरुद्ध राजपाका नेता राजेन्द्र महतो ओलीको समर्थनमा उठेर चुनाव जिते । राजपाका अर्का नेता महन्थ ठाकुरलाई आफ्नो सिट छोड्ने कांग्रेसले महतो र ओलीको यो अपवित्र गठबन्धनको भण्डाफोर नगरेर मौन समर्थन गर्‍यो । परिणाम जे हुनु थियो त्यही भयो, सिटौला र निधिले हारे । कांग्रेसको यस पटकको समग्र चुनावी रणनीति हेर्दा कांग्रेस आपूm जित्न होइन केही खास दलका खास मानिस जिताउने उसको आन्तरिक रणनीति थियो भन्ने स्पष्ट हुन्छ ।
तेस्रो कारण, एकले अर्का विरुद्ध कार्यकर्ता प्रयोग गर्ने आत्मघाती रणनीति अनुसार अधिकांश ठाउँमा कांग्रेसका उम्मेदवार प्रस्तुत भए । यसका अतिरिक्त प्रधानन्यायाधीशमाथिको महाअभियोग, भ्रष्टाचारका अनेक आरोप-प्रत्यारोपबीच चुनावमा गएको कांग्रेसको पराजय त्यति अनपेक्षित थिएन ।
कांग्रेस हारको कारण अरू पनि हुन सक्छन् त्यसमा विश्लेषण भइ रहनेछन् । अब कांग्रेसलाई सुधार्ने कसरी अहिलेको यक्ष प्रश्न यो हो । कांग्रेस सुध्रिएन भने नेपालमा लोकतन्त्र पनि रहँदैन । यस्तो भनाइ अतिशयोक्ति नठानियोस् । अहिले लोकतन्त्रको चर्का कुरा गर्नेहरू लोकतन्त्रवादीको हत्या गरेर ती जनतामा स्थापित भएका हुन् । लोकतन्त्रमा अलिकति संकट आयो भने ती पुनः आआफ्नो दुलाभित्र छिर्नेछन् ।
कांग्रेस सुधार्ने अबको एउटा मात्र बाटो हो, केन्द्रदेखि वडा तहका वर्तमान संरचना विघटन गरेर शक्तिशाली तदर्थ समिति बनाउने र कुन महिनामा के के काम गरिसक्ने त्यसको घोषणासाथ ती समिति परिचालन गर्ने । मुलुक संघात्मक ढाँचामा गएकोले कांग्रेसको जिल्लादेखि तलका सबै संगठन विघटन गर्नु नै छ । कांग्रेसको अहिलेको संगठन एकात्मक राज्य हुँदाको संगठन हो ।
यस किसिमको क्रान्तिकारी कदम चालिएन भने अहिले त ‘बूढी मरी’ भन्ने मात्र होला बूढी मरी भन्ने चिन्ता होइन चिन्ता हो काल पल्क्यो भन्ने । केन्द्रीय समितिको बैठकमा जुन प्रकारको आरोप÷प्रत्यारोप चल्यो त्यस्तो मानसिकताबाट कांग्रेसले लोकतन्त्रमाथि आउने खतराको सामना गर्न सक्दैन । कांग्रेसको पराजयबाट भन्दा केन्द्रीय समितिमा देखिएको आरोप÷प्रत्यारोपबाट देशभरका कांग्रेसजन निराश छन् । तिनमा आशा र विश्वास जगाउन पनि क्रान्तिकारी कदमको जरुरत छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button