विचार

कांग्रेसको राजनीतिक दस्ताबेजमा सरकार

राजु नेपाल
राजधानीमा शनिबार सुरु भएको महासमिति बैठकमा पेस गर्न नेपाली कांग्रेसले राजनीतिक प्रतिवेदन तय गरेको छ। यो दस्ताबेजले कांग्रेसलाई गति दिने मात्र नभई आगामी दिनमा राष्ट्रिय राजनीतिमा समेत असर पार्ने हुँदा यसको महत्व छ। तीनै तहको चुनावबाट अपेक्षाकृत नतिजा नआएर विपक्षीको भाषामा सुस्ताएको भनिएको कांग्रेसको यो दस्ताबेज सार्वजनिक भएपछि सरकार चलाउने दल र उनीहरूका मतियारको टाउको दुखेको उनीहरूका व्यवहार र बोलीले बताउन थालेको छ। उनीहरूको टाउको किन दुख्न थाल्यो रु
यो राजनीतिक प्रतिवेदनमा सरकार र सरकार चलाउने दलका बारेमा कांग्रेसले दुइटा कुरा स्पष्ट राखेको छ। पहिलो– उनीहरूले राष्ट्रियता, समाजवाद र लोकतन्त्रको व्याख्याका बारेमा जनतासँग बोलेको झूट र दोस्रो सरकारको कार्यशैली अधिनायकवादी हुँदै गएकोमा सचेत गराउँदै यो प्रक्रिया तुरुन्त नरोकिएमा लोकतन्त्र र समाजवादका लागि अन्तिम आन्दोलनको चेतावनी। यिनै दुई कुराले एकातिर कांग्रेसभित्र उत्साह फैलिएको छ भने सरकार र सरकार चलाउनेहरूको टाउको दुख्न थालेको छ।
नेपालमा कम्युनिस्टहरूले नेपालीलाई भ्रममा राखेर अपव्याख्या गरेका तीन शब्द हुन्– राष्ट्रियता, लोकतन्त्र र समाजवाद। उनीहरूको भाषामा राष्ट्रियता भनेको आफूअगाडि रहेको भीडको संवेदनशीलता हेरेर अरूलाई गाली गर्नु हो। राष्ट्रियताको अर्थ उनीहरूका लागि परिस्थिति र समयअनुरूप परिवर्तन हुन्छ। नाकाबन्दीको बेलामा भारतलाई गाली गर्नु उनीहरूका लागि महान् राष्ट्रियता थियो भने अहिले भारतसमक्ष लम्पसार पर्नु उनीहरूको घोर राष्ट्रियता हो। शपथ खाँदा ईश्वरको नाम उच्चारण नगर्नु उनीहरूको भाषामा राष्ट्रियता थियो भने दसैंमा पूर्णिमाको दिनसम्म देवीको नाममा आशीर्वाद लिनुदिनु उनीहरूको सांस्कृतिक राष्ट्रियता हो। राष्ट्रियताजस्तो संवेदनशील विषयमा यस्तो हेलचेक्र्याईं सह्य नहुने हुँदा कांग्रेसले सरल भाषामा सबैले बुझ्ने गरी राष्ट्रियताको परिभाषा यो राजनीतिक दस्ताबेजमा स्पष्ट पारेको छ।
कांग्रेसले आफ्नो राजनीतिक प्रतिवेनमा भनेको छ– हिमाल, पहाड, तराई–मधेस विभिन्न भूगोलमा रहेका, विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, तथा आर्थिक रूपले विपन्न र सामाजिक रूपले विभेदमा पारिएका शोषित, पीडित समुदायले समेत आपसमा सद्भावका साथ राष्ट्र, राज्य र राजनीतिक प्रणालीमाथि स्वामित्वसहित अभिभावकत्व अनुभव गर्ने हृदयको गहिराइबाट उत्पन्न भावना नै राष्ट्रियता हो। त्यति मात्रै हैन, आफू जन्मेको थातथलो, वरण गर्ने संस्कृति र परिचयको सामूहिक आधार नै राष्ट्रियता हो। राष्ट्रियता कुनै राजनीतिक प्रणाली वा भौगोलिक सीमाभित्र मात्र आबद्ध छ भन्ने होइन। जहाँ जुन रूपमा रहे पनि जसले आफ्नो पुर्खाहरूको भूमि र आफ्नो जन्मभूमिसहित आफ्नो सांस्कृतिक परिचय वरण गर्दछ र देशभक्तिको भावना राख्छ राष्ट्रियता त्यही रहन्छ भन्ने कांगे्रसको दृष्टिकोण छ।
अब यति भनिसकेपछि कुनै खास बेला वा परिस्थितिमा राष्ट्रियताको परिभाषा बदलिन्न। यो परिभाषामा नेपालका कम्युनिस्टहरूको राष्ट्रियता कहींकतै अटाउन्न। संसारमा राष्ट्रप्रेम र राष्ट्रियता दुवै एकै हुन् कि हैनन् भन्नेबारेमा बहस चल्न थालिसकेको स्थितिमा भारत वा अरू कुनै देशलाई वा कुनै देशभित्रकै पार्टीलाई प्रमुख शत्रु र मित्र भनेर आफ्नो आधिकारिक दस्ताबेजमै लेख्नु किमार्थ राष्ट्रियता र राष्ट्रप्रेम दुवै हुन सक्दैन। त्यो त समाज विभाजनको बीउ रोप्ने आधार मात्र हुन्छ। एकातिर चुनावको मुखमा छिमेकीलाई तथानाम गाली गर्ने र अर्कोतिर चुनाव सकिनेबित्तिकै उनीहरूका अगाडि लम्पसार पर्ने राष्ट्रियता नेपाली राष्ट्रियता हिजो पनि हैन र भोलि पनि हुने छैन।
पहिलो विषयको दोस्रो शब्द समाजवाद
कम्युनिस्टहरूले भन्ने गरेको समाजवाद र कांग्रेसको समाजवाद एउटै हैन। कम्युनिस्टहरूको समाजवाद राज्यनियन्त्रित केन्द्रीकृत आर्थिक प्रणाली तथा जनवादी केन्द्रीयतामा आधारित एकदलीय राजनीतिक प्रणाली हो। उनीहरूको भाषामा चीनमा पनि समाजवाद र उत्तर कोरियामा पनि समाजवाद हो। कांग्रेसको समाजवाद ती देशको जस्तो समाजवाद हैन। उनीहरू कांग्रेस र हाम्रो समाजवाद एउटै प्रकारको हो भनी भ्रम छर्छन्, जुन सर्वथा गलत हो।
कांग्रेसको समाजवाद आर्थिक सामाजिक समाजवाद हो। यहाँ राजनीतिक प्रणालीको कुरा आउन्न। लोकतान्त्रिक मूल्य र मान्यताबाटै आर्थिक सामाजिक रूपान्तरण गरी शोषितपीडितहरूको दुःखकोे अन्त्य, किसानको उन्नति, श्रमिकहरूको सामाजिक आर्थिक सुरक्षा, अशक्त तथा अतिरिक्त क्षमता भएकाहरूको आवश्यक सुरक्षा तथा सीप विकास, विभेदमा परेकालाई न्याय, छुवाछूतको अन्त्य गर्दै समतामूलक समाज निर्माण नै कांग्रेसको समाजवाद हो। कांग्रेसको समाजवादमा नेपाललाई विश्व अर्थतन्त्रसँग सार्थक अन्तरक्रिया गराइराख्ने, राज्यले नियमनकारी सहजकर्ता एवं उत्पे्ररकको भूमिकामा निजी क्षेत्रलाई लगानी, उत्पादन र खुला बजार प्रतिस्पर्धामा अग्रणी भूमिका दिने सिद्धान्त रहेको छ।
कम्युनिस्ट सरकार लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय हँुदै लोकतन्त्रले प्रदान गरेका अधिकार र अवसर प्रयोग गरेर एकदलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको अनुभव हुन्छ।
तर यसो भन्दैमा ठूला पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यावरण र सामाजिक न्याय र सुरक्षाजस्ता जिम्मेवारीबाट राज्यलाई विमुख गराउने नीति कांग्रेसको समाजवादमा छैन। तर कम्युनिस्टहरू राज्यको सहजकारी भूमिका र खुला बजार प्रतिस्पर्धाको त नामै सुन्न चाहँदैनन्। उनीहरू राज्य नियन्त्रणकारी र सरकार वितरणमुखी हुनुपर्छ भन्छन्, जुन कांग्रेसको समाजवादभित्र पर्दैन। वर्तमान सरकार बनेपछिको झन्डै एक वर्षको अवधिमा भएका अधिकारको संकुचन, सरकारको एक छत्र नियन्त्रण र राज्य संरचना कब्जा कम्युनिस्टहरूको समाजवाद हो, जसलाई कांग्रेसले कहिल्यै अवलम्बन गरेन र भविष्यमा पनि गर्दैन।
पहिलो विषयको तेस्रो विषय लोकतन्त्र
कम्युनिस्टहरूलाई लोकतन्त्रको व्यावहारिक अर्थ थाहा नै छैन। विरोध, धर्ना, गालीगलौज, गुटबन्दी, विचारको अवरोध आदि उनीहरूका आदर्श शब्द हुन्। यसैक्रममा केही वर्षदेखि उनीहरूले लोकतन्त्र शब्दको उपहास गर्दै आइरहेका छन्। उनीहरू भन्छन्– राजा हुँदा प्रजातन्त्र भनिन्थ्यो, अब राजा छैनन् तसर्थ लोकतन्त्र भनिन्छ। योभन्दा ठूलो जनताप्रतिको धोका र लोकतन्त्र शब्दको उपहास अरू केही हुनै सक्दैन। ती दुई शब्दबीच तात्विक भिन्नता छ र त्यो पनि अत्यन्त ठूलो।
२०४६ सालको राजनीतिक परिवर्तनपछि जनता सार्वभौम भए तर राजतन्त्रको अवशेष रहँदासम्म नेपालको भूमि सार्वभौम थिएन। आर्थिक सांस्कृतिक रूपमा राज्य राजाकै अधीनमा थियो। तर २०६३ सालको परिवर्तनपछि अब नेपाली जनता र नेपाली भूमि दुवै पूर्णरूपमा सार्वभौम भए र त्यो नै यथार्थमा लोकतन्त्र हो। प्रजा, जन, जस्ता शब्दले जनतालाई मात्र सम्बोधन गर्ने भएकाले भूमि र जनता दुवैलाई सम्बोधन हुने शब्दावलीको चयन गर्दै लोकतन्त्र शब्दको प्रयोग गर्न लागेको हो। जुन कुरा कम्युनिस्ट शासकले बुझे पनि उनीहरूको दस्ताबेजले बुझ्दैन। किनकि उनीहरू सच्चा अर्थमा भूमि र जनता दुवै सार्वभौम भएको हेर्न चाहँदैनन्।
लोकतन्त्रका आधारभूत सिद्धान्तहरू, जनताको स्वतन्त्रता, सार्वभौम सर्वोच्चता, राष्ट्रियताको संरक्षण, मानव अधिकारका विश्वव्यापी मान्यता, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र पे्रस, अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, भयबाट मुक्ति, शोषण र अन्याय तथा विभेदबाट मुक्ति, वैधानिक रूपमा सम्पत्ति आर्जनको अधिकार आदि हुन्। वर्तमान सरकार र सरकार चलाउने पार्टीमा माथिका धेरैजसो सिद्धान्तमा आस्था नभएको स्पष्ट देखिन थालेको छ। यसैकारण उनीहरू लोकतन्त्र भन्ने शब्दको अर्थ नै अर्कै लगाई नेपालीको सार्वभौमिकताको उपहास गर्दैछन्।
अब दोस्रो विषय जुन सरकार र सरकार चलाउने पार्टीको कामकारबाहीका बारेमा छ, कांग्रेसले यो सरकार अधिनायकवादतर्फ ढल्केको ठोकुवा गरेको छ, जुन लोकतन्त्रका निमित्त घातक हो। यो वर्षौंदेखि नेपालीले गरेका विभिन्न आन्दोलनको अपमान पनि हो। जनताले आन्दोलन अधिनायकवाद ल्याउन पक्कै गरेका थिएनन्। अब कांग्रेसले यो परिस्थितिबाट देशलाई मुक्त पार्न फेरि एकपटक नेतृत्वदायी भूमिका खेल्नुपर्छ। कांग्रेसको यो दस्ताबेजले त्यो कुरालाई सरकार र नेकपाको दुवैलाई चेतावनीको शब्द प्रयोग गर्दै यसो नगर्न आग्रह गरेको छ। कांग्रेस भन्छ– लोकतन्त्रको पहरेदार कांग्रेस कम्युनिस्टहरूको लोकतान्त्रिक प्रक्रियामा सहभागिता एउटा छलछाम र धोखाधडी हो। वर्तमान कम्युनिस्ट सरकार लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय हँुदै लोकतन्त्रले प्रदान गरेका अधिकार र अवसर प्रयोग गरेर एकदलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको अनुभव हुन्छ।
एकातिर लोकतन्त्रलाई संस्थागत गर्न धेरै काम बाँकी छन्, संघीयताका विषयमा सरकारका कारण संशय पैदा हुन थालेको छ भने अर्कोतर्फ सरकार अधिनायकवादको यात्रामा छ। यस्तो परिस्थितिमा भइरहेको कांग्रेसको यो महासमिति बैठक र यसले लिने नीतिले कांग्रेसलाई त ऊर्जा दिन्छ नै, सरकार र सरकार चलाउने पार्टीलाई सच्चिने मौका पनि दिन्छ। यो दस्ताबेज अब कांग्रेस र उनीहरूको माध्यमबाट सबै नेपालीमा पुग्दा देशको परिस्थिति झनै छर्लंग हुनेछ र सबैले कम्युनिस्ट शब्दको अर्थ बुझ्नेछन्।
अन्नपूर्णपोष्टबाट साभार

nema
Show More

Related Articles

Check Also
Close
Back to top button