breakingसमाचारनेपाली कांग्रेस

प्रकाशमान र गोविन्दराजबीच भेट, किन जान्छन् कांग्रेस नेता जोशीलाई भेट्न ?

नेपाली कांग्रेसले पार्टीको पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई साधारण सदस्यबाट पनि निकालेको छ। २०७७ साउन १० गतेको केन्द्रीय अनुशासन समितिको बैठकले जोशीसहित पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पाँचवर्षका लागि पार्टी साधारण सदस्यबाट निष्काशन गरेको हो। स्थानीय, प्रदेश र संघको निर्वाचनका बेला आफ्नै पार्टी उमेदवारलाई असहयोग गरेको आरोप जोशीसहितका नेताहरु कारवाहीमा परेका हुन्। तर, पार्टी साधारण सदस्यसमेत नरहने गरी कारवाहीमा परेका जोशीलाई भेट्न कांग्रेसका पदाधिकारी र नेताहरु निरन्तर उनको निवास पुग्ने गरेका छन्।

कांग्रेस उपसभापति विमलेन्द्र निधि मात्र होइन नेता रामचन्द्र पौडेल निकट मानिएका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालासहित नेताहरु जोशीसँग छलफलमा छन्। पार्टीको १४औं महाधिवेशन संघारमा रहेका बेला साधारण सदस्यसमेत नरहेका जोशीलाई भेट्न बुधबार मात्र पूर्वमहामन्त्री सिंह उनकै निवास धुम्बाराही पुगेका हुन्। आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै आएका सिंहले पार्टीको पछिल्लो अवस्थाका विषयमा जोशीसँग छलफल गरेको स्रोतको दाबी छ। २०४६को राजनीतिक परिवर्तनपछिको सत्ता राजनीतिका चतुर खेलाडीका रुपमा जोशीले परिचय बनाएका थिए।

२०६२/६३ पछि पार्टी र सत्ता राजनीतिमा पछि परेका जोशीलाई केही समय अघि उपसभापति निधि र महामन्त्री कोइरालाले पनि निवासमै गएर भेटेका थिए। शेखर कोइरालाले आगामी महाधिवेशनका विषयमा जोशीसँग परार्मश गरेका थिए। देशभरीका पार्टी नेता तथा कार्यकर्ता आफ्नो पक्षमा रहेको र आफू सभापतिमा निर्वाचित हुने दाबी गर्दै शेखरले जोशीसँग गरेको निकटहरुलाई उनले सुनाएका थिए। जोशीलाई पार्टी सदस्यबाट निस्काशनको विपक्षमा उभिएका शेखरले सामाजिक सञ्जालमा लेखेका थिए,‘आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’  

जोशीलाई भेट्न कांग्रेसका नेता मात्र होइन अन्य दलका नेता पनि बेलाबेला पुग्ने गरेका छन्। तर, सत्ता, शक्ति मात्र होइन पार्टी सदस्यसमेत नरहेका जोशीलाई कांग्रेसका नेताले किन भेटिरहेका छन् निरन्तररु नेपाली कांग्रेस र प्रजातान्त्रिक आन्दोलनमा आफूमात्र नभएर आफ्नो तीन पुस्ताको सर्मपण रहेको बताउँदै जोशीले भने, ‘कांग्रेसमा मेरो लामो समयसम्म संलग्नता रहेको छ। संगै काम गरेका साथीहरुसँग भेटघाट हुनु र भेट्न आउनु अस्वभाविक होइन।’

nema
Show More

Related Articles

Back to top button