दस्तावेज
नेपाली काङ्ग्रेस विगत, वर्तमान र भविश्य
–डा.वासुदेव खनाल
दक्षिण एशियाली मुलुकहरूमा २०३० सालपछि उथलपुथलको नयाँ वातारवरण देखा परेपछि जननायक विश्वेश्वरप्रसाद कोइरालामा एक प्रकारको आन्तरिक वेचैनी देखापर्दछ । बीपील आठवर्ष लामो निर्वासन विताइसकेको अवस्थामा पनि देशप्रतिको मायाले गर्दा देशमाथि पर्न सक्ने राष्ट्रिय संकटलाई ध्यानमा राखेर मर्न परे पनि आफ्नै देशमा मर्ने दृढनिश्चयका साथ नेपाल फर्कने निधो गरेका थिए । यसैबीच सिक्किमको स्वतन्त्र अस्तित्व समाप्त भएको परिदृश्य उदाहरणको रूपमा प्रस्तुत छ । परिवर्तित यो सन्दर्भबाट उत्पन्न हुनसक्ने अनिष्टलाई ध्यानमा राखेर राष्ट्रिय अस्तित्वमा नै प्रश्न चिन्ह लाग्नसक्ने अवस्थालाई दृष्टिगत गरी बीपीले २०३३ साल पुस १६ गते नेपाली काङ्ग्रेसको अध्यक्षको हैसियतले एउटा अपिल प्रकाशित गरी मुलुकका सबै राष्ट्रवादी र प्रजातन्त्रवादी राजनीतिक शक्तिका बीच ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आवहान गरे । सोही दिन बीपी, गणेशमान लगायतका भारतमा निर्वासनमा रहेका नेपाली काङ्ग्रेसका थुप्रै नेता र कार्यकर्ताहरू नेपाल प्रवेश गरेका थिए । यसरी बीपी लगायतका नेताहरू राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नेपाल प्रवेश गरेका पनि ४३ वर्ष पूरा भइसकेका छन् ।
पञ्चायती तानाशाहीका निम्ति बीपी लगायतका नेताहरूको स्वदेश आगमन नै एउटा क्रान्ति भइदियो । सो क्रममा बीपी र गणेशमान सिंहलगायत उहाँहरूसँग आउँने सबै नेताहरूलाई विमानस्थलबाटै गिरफ्तार गरेर अनेकौं संगीन मुद्धाहरू लगाइयो । तत्कालीन कानूनअनुसार मृत्युदण्ड पनि हुनसक्ने प्रकृतिका अनेकौं मुद्धालगाई पञ्चायती सरकारले अदालतमा उभ्याउँदा बीपी कोइरालाले जुन आत्मविश्वास र इमानदारिताका साथ बयान दिए त्यो राष्ट्रिय एकताका निम्ति अमूल्य दस्तावेज बनेर रहेको छ । यही क्रममा बीपी र गणेशमान आफू विरुद्ध लगाइएका अनेकौं राजनीतिक मुद्धाहरूलाई खेप्दै नेपालको जेलमा बस्दा मुलुकभित्रै प्रजातान्त्रिक आन्दोलनले अनुकूल र उपयुक्त मनोवैज्ञानिक आधार प्राप्त गरेको थियो । यसरी बीपी कोइरालाको मेलमिलाप नीति परिस्थितिले निर्धारण गरेको संघर्षकै अर्को रूप थियो भन्ने कुरा प्रमाणित भइसकेको छ । जसको फलस्वरूप आज हामीले खुल्ला वातावरणमा प्रजातान्त्रिक अभ्यास गरिरहेका छौं । आज हामीलाई यो खुल्ला वातावरणमा प्रजातान्त्रिक अभ्यास गर्ने अवस्थाको सिर्जना गर्नका लागि प्रजातान्त्रिक योद्धाहरूले विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण संघर्षको प्रतिफल हो । जसका सम्बन्धमा यहाँ संक्षिप्त रूपमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
१.नेपाली काङ्ग्रेको स्थापना
नेपालका प्रमुख चार शहीद (शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथचन्द्र) हरूको बलिदानीबाट प्रेरित भएर जहाँनिया राणाहरूको हुकुमी शासनको अन्त्य गरी नेपालमा प्रजातान्त्रिक व्यवस्था कायम गर्ने उद्देश्यले वि.सं. २००३ सालमा बीेपी कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना भएको हो । पछि वि.सं.२००५ सालमा भारतको कलकत्ताम सुवर्णशमशेर राणाको नेतृत्वमा स्थापित नेपाल प्रजातन्त्र काङ्ग्रेससमेत सम्मिलित भई वि.सं. २००६ साल चैत्र २६ गते नेपाली काङ्ग्रेस पार्टी बनेको हो । दुबै पार्टीको संयुक्त नाम ‘नेपाली काङ्ग्रेस’ नामकरण गर्ने निर्णयको भोलिपल्ट चैत्र २७ गतेदेखि कलकत्तामा प्रारम्भ भएको नेपाली काङ्ग्रेस पार्टीको स्थापना सम्मेलनले ऐतिहासिक घोषणापत्र, २००६ जारी गरेको थियो । आफ्नो युगान्तकारी प्रथम घोषणापत्रमा नेपाली काङ्ग्रेसले समस्त नेपाली जनतालाई ‘घोर अन्यायका विरुद्ध जुर्मुराएर उठ्न र सम्पूर्ण अवनतिको जरोको रूपमा रहेको तानाशाही राणा सरकारलाई छिटोभन्दा छिटो खतम गर्न आवहान गरेको थियो । यसरी राणाशाहीको अन्त्य गरी नेपालमा प्रजातन्त्रको स्थापनार्थ गठन भएको नेपाली काङ्ग्रेस आफ्नो पहिलो उद्देश्यमा त सफल भयो तर त्यसपछिका दिनमा धेरै आरोह र अवरोह पार गर्दै वर्तमान अवस्थामा आइपुगेको हो । नेपाली काङ्ग्रेसको वर्तमान अवस्था इतिहास मै अत्यन्त कमजोर भएको महसुस नेपाली काङ्ग्रेसप्रति आस्था र भरोसा राख्ने आम जनता, बुद्धिजीवी र नेपाली काङ्ग्रेसका लागि आफ्नो जीवन समर्पण गरेका कतिपय इमान्दार नेता तथा कार्यकर्ताहरूले गरेका छन् । नेपाली काङ्ग्रेसको गौरवमय इतिहास, वर्तमान अन्योलपूर्ण अवस्थालाई चिर्दै सुनौलो भविश्यतर्पm कसरी अगाडि बढ्न सक्दछ भन्ने सम्बन्धमा यो कार्यपत्रमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
२.प्रथम मजदूर आन्दोलन र सत्याग्रह
नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन हुनासाथ यसैको आवहानमा २००३ साल फागुन २० गते नेपालको इतिहासमा पहिलोपल्ट विराटनगरमा औद्योगिक मजदूरहरूले ऐतिहासिक हड्ताल शुरू गरेका थिए । त्यही हड्तालको क्रममा त्यहाँ कार्यरत मजदूरहरूले आफ्नो अध्यक्षको रूपमा गिरिजाप्रसाद कोइरालालाई चयन गरे । बीपी, गणेशमान आदि नेताहरूको सहयोग र निर्देशनमा जारी उक्त हड्ताललाई दबाउनका लागि राणाशासकले बीपी, उहाँकी आमा दिव्या कोइराला, बहिनी र मजदूर नेता गिरिजाप्रसाद कोइरालालाई गिरफ्तार गरेको थियो । मजदूर आन्दोलनलाई राणाशाहीले दमन गरेपछि नेपाली राष्ट्रिय काङ्ग्रेसको आवहानमा देशव्यापी सत्याग्रहको आयोजना गरिएको थियो ।
३.प्रजातन्त्र स्थापनार्थ सशस्त्र आन्दोलनको उद्घोष
नेपाली काङ्ग्रेसले २००७ साल कार्तिक २१ गते नेपालको रौतहट जिल्लाको सीमावर्ती क्षेत्र भारतको वैरगनियामा सम्मेलन गरी नेपालमा प्रजातन्त्रको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने ऐतिहासिक निर्णय गरेको थियो । क्रान्तिको सर्वोच्च कमाण्डरको रूपमा मातृकाप्रसाद कोइरालालाई चयन गरिएको थियो भने क्रान्ति सञ्चालनको सम्पूर्ण जिम्मा बीपी र सुवर्णले लिएका थिए । क्रान्तिको पहिलो चरणमा देशव्यापी रूपमा हवाइजहाजबाट पर्चाहरू छरिएको थियो भने नेपाली काङ्ग्रेसका क्रान्तिकारी योद्धाहरूको पहिलो प्रवेश वीरगञ्जमा भएको थियो । वि.सं.२००७ साल कार्तिक २६ गते वीरगञ्जको अभियानमा पहिलो दिनमै नेपाली काङ्ग्रेसका कमाण्डर थीरबम मल्ल शहीद भएका थिए । वीरगञ्जबाट शुरू भएको क्रान्तिको ज्वाला एक हप्ता पनि नबित्दै देशभरि नै फैलियो ।
नेपाली काङ्ग्रेसले शुरू गरेको यो क्रान्तिमा राजपरिवारको पनि साथ थियो । यही क्रममा राजा त्रिभुवन आफ्नो राजपरिवार सहित राणाहरूको पञ्जाबाट उम्केर भारतको दिल्लीमा शरण लिन पुगे । राणाशासकहरूले राजा त्रिभुवन, उनका छोराहरू र जेठा नाति वीरेन्द्रलाई समेत देशद्रोही घोषणा गर्दै दरबारमा रहेका नाबालक नाति ज्ञानेन्द्रलाई राजगद्धीमा राखेर राजा घोषित गर्दै पराजयको अन्तिम घडीसम्म आफ्नो स्वार्थसिद्धिका लागि अग्रसर रहेका थिए । नेपाली काङ्ग्रेसले शुरू गरेको क्रान्तिरूपी महायज्ञमा सम्पूर्ण नेपाली जनताको पनि साथ थियो । निरङ्कुश शासनका केही पिछलग्गु तथा आसेपासे भारदारहरू भने यस अभियानको विरोधी थिए । तत्कालीन नेकपाका नेता तथा कार्यकर्ताहरू भने राणाशासकहरूलाई सघाउँदै नेपाली काङ्ग्रेसको यो अभियानलाई ‘बुजुर्वा क्रान्ति’ को संज्ञा दिदै असफल बनाउन उत्तिकै प्रयासरत थिए । तथापि यो क्रान्तिरूपी महायज्ञमा नेपाली काङ्ग्रेसका अनेकौं नेता तथा कार्यकर्ताहरूले बलिदान गरेर क्रान्तिलाई सफलताको शिखरमा पु¥याए । जसको परिणाम स्वरूप २००७ साल फागुन ७ गते युगान्तकारी परिवर्तनका साथ नेपालमा प्रजातन्त्रको उदय भएको हो ।
नेपाली जनताले २००७ सालमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धी राष्ट्रियता र प्रजातन्त्र नै हो । सातसालको क्रान्तिको सफलतापछि नेपाली जनताले स्वतन्त्र नागरिक भएर सम्मानपूर्वक बाँच्ने हक र अधिकार प्राप्त गरेका थिए । यसै हक र अधिकारबाट नेपाली जनता अधिकार विहीन रैतीबाट सार्वभौमसम्पन्न नागरिक भएका थिए । त्यसपछिका दिनमा नेपाली जनताले प्राप्त गरेको हक र अधिकारको संरक्षण र कार्यान्वयनका लागि नेपाली काङ्ग्रेस लगातार सङ्घर्षरत रह्यो । जसको फलस्वरूप पुराना धेरै रुढिवादी समान्ती प्रथाहरू उखेलिनुको साथै अनेकौं सुधारका कामहरूको थालनी गरियो । देशमा शिक्षाको प्रचार–प्रसार भयो, देशभर धमाधम स्कूल–कलेजहरू खोलिए । दर्जनौं कलकारखानाहरू पनि खुल्न थाले । नेपाली जनताले क्रान्तिबाट प्राप्त गरेको उपलब्धीलाई सहज एवं स्वाभाविक रूपमा स्वीकार गर्दै गएको देखेपछि आत्तिएका सबै खाले प्रतिगामीहरूले प्रजातन्त्र र त्यसको प्रमुख संरक्षकको रूपमा रहेको नेपाली काङ्ग्रेसका विरुद्ध अनेकौं षडयन्त्र गर्न थाले । यसै क्रममा नेपाली जनतामा आतङ्क फैल्याउने, पार्टीभित्र फूट गराउने, जनताका हातमा रहेको शक्तिलाई दरबारमा केन्द्रित गर्नेजस्ता अनेकौं दुष्कार्यहरू योजनाबद्ध रूपमा हुन थाले । देश र जनताका विरुद्ध भएका यस्ता षडयन्त्रहरूको पर्दाफास गर्दै नेपाली काङ्ग्रेस जननायक विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा पुनः जुर्मुराएर उठ्यो ।
कुनै पनि देशको क्रान्तिको सन्देशलाई व्यवहारमा उतार्नका लागि तरुणहरू जुर्मुराउनुपर्दछ । तरुणहरूबाट नै देशभर प्रजातन्त्रको सन्देशको प्रवाह गर्न सकिन्छ भन्ने दृष्टिकोण नेपाली काङ्ग्रेसले आफ्नो स्थापनाकालदेखि नै राख्दै आएको सन्दर्भमा २०१० साल कार्तिक महिनामा ‘नेपाल तरुण दल’ को गठन भएको हो । जसको परिणाम स्वरूप नेपाली काङ्ग्रेस थप ऊर्जाशील हुन सकेको थियो । तरुणहरूको क्रियाशीलतामा सातसालको क्रान्तिबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि ढिलाभइसकेको परिप्रेक्षमा नेपाली काङ्ग्रेसले वि.सं.२०११ साल पौष २६ गते विभिन्न छसूत्रीय मागहरू राखी देशव्यापी रूपमा दोस्रो सत्याग्रह शुरू गरेको थियो । उक्त सत्याग्रहमा मुख्य रूपमा नागरिक हक र स्वतन्त्र न्यायालयको व्यवस्था गुम्न नपाओस् भन्दै छिटो भन्दा छिटो संविधानसभाको निर्वाचन सम्पन्न हुुनुपर्ने माग राखेको थियो । नेपाली काङ्ग्रेसले थालेको सत्याग्रहको प्रभावकारितालाई देखेर तत्कालीन राजकीय परिषद्ले मागहरू पुरा गर्ने स्वीकृति दिएको थियो ।
देशका तरुणहरूमा प्रजातान्त्रिक समाजवादप्रति आस्था जगाउने उद्देश्यका साथ गठन भएको नेपाल तरुण दलले नेपाली काङ्ग्रेसलाई समाजवादीधारमा अग्रसर गराउनका लागि ठूलो मद्दत पु¥याएको देखिन्छ । फलस्वरूप आफ्नो स्थापनाकालदेखि नै सामाजिक परिवर्तनका निम्ति राजनीतिक स्वतन्त्रताका साथ आर्थिक समानताको औचित्य देख्दै आएको नेपाली काङ्ग्रेसको २०१२ सालमा वीरगञ्जमा सम्पन्न महाधिवेशनले समाजवादी नीतिलाई विधिवत अङ्गिकार गरेको थियो । यसबाट देशमा रहेका सामन्ती तथा सबै किसिमका प्रतिगामी तत्त्वहरू नेपाली काङ्ग्रेस विरुद्ध एकजुट हुन थालेका हुन् । नेपाली काङ्ग्रेसको अभियानको रूपमा सञ्चालन गरेको पटक–पटकको सत्याग्रहका बावजुत राजाले पटक–पटक गरेका घोषणा, स्वीकृति र वचनवद्धतापछि पनि निर्वाचनलाई अनेक वाहनामा टार्दै लगेर क्रान्तिको भावना विपरीत प्रजातन्त्रलाई कमजोर र असफल बनाउने काम गरे । राजा महेन्द्रबाट एकपछि अर्को प्रयोग गर्दै प्रजातन्त्रको खिल्ली उडाउने काम गरे जसको परिणाम स्वरूप नेपाली काङ्ग्रेस पुनः एक पटक सत्याग्रहको माध्यमबाट जुर्मुराउन बाध्य भयो । नेपाली काङ्ग्रेसले आफ्नो जन्मकालदेखि गरेका विभिन्न सत्याग्रहमध्ये यो तेस्रो सत्याग्रह थियो । राजाको निर्वाचन टार्ने नियतबाट रूष्टभएका अन्य विभिन्न राजनीतिक दलहरू पनि नेपाली काङ्ग्रेससँग मिलेर आन्दोलनमा भागलिन तयार भए । निर्वाचनको तिथि तोकियोस् भन्ने प्रमुख माग राखेर २०१४ साल मंसिर २२ गते देखि ‘भद्रअवज्ञा आन्दोलन’ को रूपमा शुरू भएको सत्याग्रहले केही दिनभित्रै राजालाई २०१५ साल फागुन सात गतेदेखि आमनिचुनाव हुनेछ भन्ने घोषणा गर्न बाध्य बनायो । यसरी चुनावको घोषणा भएपछि चुनाव संविधानसभाका लागि या संसदका लागि भन्ने विवाद भने यथावत् रह्यो । यसैबखत रातारात खोलिएका पार्टीहरूको आधारमा राजा महेन्द्रबाट बहुसंख्यक पार्टी संसद्को चुनावको पक्षमा रहेको बाहना बनाई ‘चुनाव संसद्कै लागि हुनेछ’ भन्ने घोषणा भयो । अन्ततः नेपाली काङ्ग्रेस चुनावमा भाग लिने निर्णय ग¥यो । यसरी सबैजसो पार्टीले संसद्को चुनावमा भाग लिए ।
३.प्रथम महानिर्वाचन
प्रथम महानिर्वाचन वि.सं. २०१५ साल फागुन सातगतेदेखि प्रारम्भ भयो । सो महानिर्वाचनदेखि नेपाली काङ्ग्रेसको निर्वाचन चिन्ह ‘रूख’ रहेको छ । प्रतिनिधिसभाका १०९ स्थानमध्ये ७४ स्थानमा नेपाली काङ्ग्रेस विजयी भयो । जसबाट नेपाली जनताले नेपाली काङ्ग्रेसको संघर्षशीलताको सम्मान गरे भन्ने बुझिन्छ । निर्वाचनको यो परिणामले सम्पूर्ण प्रतिगामी शक्तिमाथि प्रहार ग¥यो । राजा महेन्द्र पनि निर्वाचनको परिणामबाट आश्चर्य चकित भए । संसदीय दलको नेताको रूपमा विश्वेश्वरप्रसाद कोइराला चयन भए । यसरी संसदीय नेताको चयनभइसकेपछि पनि तीनमहिनासम्म सरकार गठन गर्नका निम्ति राजाबाट आमन्त्रण गरिएन । जसले गर्दा पनि राजा महेन्द्र नेपाली काङ्ग्रेसले प्राप्त गरेको अपार जनसमर्थनप्रति वेचैन भएका थिए भन्ने कुरा प्रष्ट हुन्छ ।
४.जननिर्वाचित पहिलो सरकार
निर्वाचन जीतेपछि पनि लामो वैधानिक सङ्घर्ष पार गरेको परिणाम स्वरूप नेपाली काङ्ग्रेसले युगपुरुष बीपी कोइरालाको नेतृत्वमा नेपालकै इतिहासमा पहिलो जननिर्वाचित सरकार गठन ग¥यो । आफ्नो चुनावी घोषणापत्रमा प्रतिज्ञा गरिएअनुसार देशलाई मध्ययुगीन सामन्ती पछौटेपनबाट आधुनिक समाजवादी आदर्शतर्फ उन्मुख गराउने कार्यमा नेपाली काङ्ग्रेस कटिबद्धताका साथ क्रियाशील रह्यो । परिणाम स्वरूप नेपाली काङ्ग्रेसले बिर्ता उन्मूलन, राज्यरजौटा उन्मूलन, सहकारी संस्थाहरूको गठन, ग्रामविकास योजनोको प्रारम्भ, जिल्ला विकास बोर्डको स्थापना, विविध प्रकारका यातायात प्रणालीको विकास र विस्तार, सिंचाई तथा कृषिक्षेत्रको विकासका लागि मुलुकभर अनेकौं योजना तथा परियोजनाको शुरूआत, कर्मचारी सञ्चय कोषको स्थापना, विश्वविद्यालयको स्थापना जस्ता अनेकौं लोककल्याणकारी कार्यहरू एकै पटक सञ्चालनमा आए ।
५.राजा महेन्द्रको प्रतिगामी कदम
नेपाली जनताले २००७ सालमा गरेको बलिदानीपूर्ण संघर्ष र २०१५ सालको निर्वाचनमा नेपाली जनताले व्यक्त गरेको जनभावना विपरीत निर्वाचित सरकारले १८ महिना पनि काम गर्न नपाउँदै संसदीय व्यवस्था अफाप भएको हास्यास्पद तर्क अगाडि सार्दै राजा महेन्द्रले आफ्ना सैनिक अधिकारीहरूको बलमा २०१७ साल पुस १ गते प्रजातन्त्रमाथि साङ्घातिक हमला गरेर प्रधानमन्त्री बीपी कोइरालालगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूसमेत हजारौंको संख्यामा गिरफ्तार गरी अप्रजातान्त्रीक र अराष्ट्रिय कार्य गरे । मुलुकमा भएको यो दुर्घटनामा आस र त्रासमा बाँचेका धेरै नेता तथा पार्टीहरूले आफ्नो राजनीतिक धर्म छाडे । घटनाको एकहप्ता पनि बित्न नपाउँदै अन्य पार्टीका धेरै नेताहरूले राजा महेन्द्रको उक्त कदमको वक्तव्यका साथ समर्थन गर्दै जेलबाट धमाधम छुट्न थाले । नेपाली काङ्ग्रेस एक्लै प्रजातन्त्र विरोधी उक्त कदमको प्रतिरोध गर्ने कठिन कार्यमा उभियो । इतिहासले पुनः एक पटक तानाशाही आकाङ्क्षाद्वारा हरण गरिएको प्रजातन्त्रको पुनःस्थापना गर्ने कार्यको दायित्त्व पुनः नेपाली काङ्ग्रेसलाई सुम्पियो ।
६.प्रतिरोध आन्दोलन
राजाको राष्ट्रघाती कदमका विरुद्ध नेपाली काङ्ग्रेसका संघर्षशील कार्यकर्ताहरू काठमाडौंको सडकमा ओर्लिएर प्रतिरोध आन्दोलनको थालनी गरे । सो प्रतिरोध आन्दोलनकै क्रममा २०१७ साल माघको दोस्रो हप्ता भारतको पटनामा सम्पन्न नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूको सम्मेलनले सुवर्णशमशेर राणालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पदै उनको नेतृत्वमा व्यवस्थित ढङ्गले देशव्यापी रूपमा प्रतिरोध आन्दोलन सञ्चालन गर्ने निर्णयसमेत ग¥यो । प्रतिरोध आन्दोलनको क्रममा २०१८ र २०१९ सालको बीचमा नेपाली काङ्ग्रेसले इलामको च्याङ्थापुदेखि जनकपुर, भरतपुर, गुल्मी हुँदै बझाङसम्म देशव्यापी सशक्त प्रतिरोध आन्दोलन ग¥यो । आन्दोलनको क्रममा सयौंको संख्यामा नेपाली काङ्ग्रेसका होनहार युवाहरूले आफूलाई आन्दोलनको वेदीमा बलिदान गरे । यसै समयमा भारत र चीनबीच भएको युद्ध र त्यसबाट उत्पन्न परिस्थितिका कारण सशस्त्र प्रतिरोध अभियानलाई नेपाली काङ्ग्रेस स्थगित गर्न बाध्य भयो ।
भारतीय भूमिबाट पनि सशस्त्र प्रतिरोध अभियान सञ्चालन भएको बेला देशभित्र पनि विभिन्न वर्गका जनता र विशेष गरेर तरुण विद्यार्थीहरूले निर्दलीय पञ्चायती तानाशाहीका विरुद्ध आन्दोलन चलाइरहेका थिए । यसै क्रममा विद्यार्थीहरूले राष्ट्रिय निर्देशन ऐनजस्ता काला कानूनको विरोध गर्दै यसै आधारमा गठित सरकारी विद्यार्थी संगठनको बहिस्कार गर्दै स्वतन्त्र विद्यार्थी आन्दोलनको आरम्भ गरे । शिक्षण संस्था, क्षेत्रीयस्तरमा गठित विभिन्न छात्रसमितिहरूको माध्यमबाट दशवर्षसम्म विद्यार्थी आन्दोलित भएपछि २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना भयो । नेपाली काङ्ग्रेसका नेताहरूमध्ये कतिपय प्रवाशमा र कतिपय जेलमा रहेको अवस्थामा नेपाली काङ्ग्रेसले अवलम्बन गरेको सिद्धान्त र आदर्शलाई अगाडि बढाउँदै विशेष गरी देशभित्र प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलनलाई गतिशील बनाइराख्न नेपाल विद्यार्थी संघको भूमिका महत्त्वपूर्ण रह्यो । यसअघि २०२४ सालमा बनारसमा जम्माभएका नेपाली युवा विद्यार्थीहरूले नेपालमा प्रजातान्त्रिक समाजवादी व्यवस्थाको स्थापनाका लागि युवाहरूलाई संगठित गर्ने उद्देश्यले ‘प्रजातान्त्रिक समाजवादी युवादल’ नामक संगठनको स्थापना गरेका थिए ।
यसैसन्दर्भमा २०२५ साल जेष्ठ २ गते नेपाली काङ्ग्रेसका नेता सुवर्णशमशेरले नेपालमा प्रतिगामी तत्वहरुको विस्तारले राष्टियतामाथी खतरा उत्पन्न भएको भनि सहयोगात्मक वक्तव्य जारी गरेपछि बीपी र गणेशमान जेलमुक्त भएका थिए । यहीक्रममा जेलमा रहेका र जेल बाहिर निर्वासनमा रहेका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूमाथि लगाइएका अभियोगहरू खारेज गर्ने क्रम शुरू भयो । तर विघटित संसद्का सभामुख तथा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई भने जेलमुक्त गरिएन । अर्कोतर्फ नेपाली काङ्ग्रेसले लिएको नरम नीतिलाई कमजोरी ठान्दै संवैधानिक विकासतर्फ मुलुकलाई लैजाने प्रयास पनि भएन । यसरी नेपालका शासकहरूको रवैया प्रजातन्त्रको पुनर्वहालीतर्फ नदेखिएकाले जननायक बीपी कोइरालाले पुनः सशस्त्र आन्दोलन गर्नुपर्ने आवश्यकता देख्नुभयो । जसको फलस्वरूप नेपाली काङ्ग्रेसले २०२८ देखि २०३३ सालसम्म पुनः सशस्त्र आन्दोलन ग¥यो । सशस्त्र आन्दोलनको क्रममा हरिपुरकाण्डदेखि लिएर विराटनगर बमकाण्ड, हवाइ अपहरण काण्ड, जदुकोहा काण्ड, ओखलढुङ्गा काण्ड लगायत अनेक प्रतिरोधका घटनाहरू भए । यो क्रान्तिमा पनि क्रान्तिपुरुष बीपी कोइरालाको आवहानमा सयौं युवाहरू आफ्नो प्राणको बाजी थापेर तानाशाहीविरुद्धको संघर्षमा ओर्लिए । यसक्रममा अनेकौं प्रजातन्त्रप्रेमी नेपाल आमाका सपुतहरूले क्रान्तिको बलिवेदीमा आफूलाई समर्पण गरेर शहीद बने । कृष्णप्रसाद भट्टराई २०२६ सालको अन्त्यतिर जेलबाट मुक्त भएपछि उनले मुलुकभित्रैबाट अहिंसात्मक आन्दोलन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यही क्रममा २०२७ सालमा नेपाल विद्यार्थी संघको उद्घाटनको अवसरमा भट्टराईले भनेका थिए– पचासहजार मानिसले नारायणहिटी घेरेको अवस्थामा राजाले बहुदलीय व्यवस्था स्वीकार गर्न बाध्य हुन्छन् ।
७.जनमत संग्रह २०३६
नेपाली काङ्ग्रेसको निर्देशनमा नेपाल विद्यार्थी संघ नेतृत्व गरेको २०३५÷३६ सालको विद्यार्थी आन्दोलनले निर्विकल्प भनिएको पञ्चायती व्यवस्थामाथि स्वयं राजाबाट प्रश्न चिन्ह खडा गरी २०३७ साल जेठ १० गते सुधार सहितको पञ्चायती व्यवस्था रोज्ने कि बहुदलीय शासनव्यवस्था भन्ने विषयमा जनमत संग्रह गराउने घोषणा भयो । उक्त जनमत संग्रहमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक भाग लिएर बहुदलको पक्षमा जनमत तयार गरे । उक्त जनमत संग्रहमा नेपाल कम्युनिष्ट पार्टीका केही घटकहरू बहुदलको पक्षमा देखिए पनि माले, मसाल लगायतका घटकहरूले ‘जनमत संग्रह धोखा हो’ भन्ने नाराका साथ सुनियोजित रूपमा पञ्चायतको पक्षमा भोट खसाले । अनेक प्रकारबाट भएका धाँधलीका बाबजूत पनि ४६ प्रतिशत मत बहुदलको पक्षमा देखियो । उक्त परिणामलाई नेपाली काङ्ग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले ‘अप्रत्याशित’ र ‘व्याख्या गर्न नसकिने’ संज्ञा दिनुभयो भने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले ‘धाँधलीपूर्ण’ भनेर आलोचना गर्नुभयो । त्यसपछि सम्पन्न राष्ट्रिय पञ्चायतको निर्वाचनलाई नेपाली काङ्ग्रेसले ‘संविधानमा अल्पमतको कदर नगरिएको’ भनेर बहिस्कार गरी प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाएको थियो ।
८.पार्टी संगठन र सत्याग्रह
जनमत संग्रहपछि पनि मुलुकको प्रजातान्त्रीकरणका निम्ति राजाबाट कुनै सकारात्मक कदम चालिएन । जसले गर्दा राष्ट्रिय संकट झन्–झन् बढ्दै गएका कारण यसप्रकारको स्थितिलाई अन्त्य गर्दै देशमा प्रजातन्त्रको पुनःस्थापना गर्न नेपाली काङ्ग्रेसले शान्तिपूर्ण आन्दोलनलाई नै सशक्तताका साथ अघि बढाउनुपर्ने अनुभव ग¥यो जसका लागि पार्टी सङ्गठनलाई देशभर सुदृढ पार्नका लागि केन्द्रीय परामर्श समितिहरू गठन गरिए । केन्द्रमा पार्टी सम्मेलनका अतिरिक्त विभिन्न ठाउँमा शिक्षण शिविरहरू सञ्चालन गरिए । तानाशाही पञ्चायती सरकारका तर्फबाट ठूलो व्यवधान र गिरफ्तार गरी कार्यक्रमलाई असफल पार्ने कोशिस भइरहे । वृक्षारोपण, रक्तदान, सरसफाइ जस्ता रचनात्मक कार्यक्रमहरू पनि हुन नदिएर पञ्चायती तानाशाही सरकारले पटक–पटक आफ्नो तानाशाही चरित्र पर्दशन गरिरह्यो । यहीक्रममा प्रजातन्त्रको पुनः स्थापनाका लागि विभिन्न सात सूत्रीय माग राखी २०४२ साल जेठ १० गतेबाट नेपाली काङ्ग्रेसले चौथो पटक सत्याग्रहको आयोजना ग¥यो जसमा दशौं हजार नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले गृरफ्तारी दिए जसमा पार्टीले आफ्नो क्षमता र प्रभावको प्रदर्शन ग¥यो । यसैबेला बमकाण्ड भएकाले नेपाली काङ्ग्रेसले सत्याग्रहलाई स्थगित गर्नुपर्ने भयो ।
९.ऐतिहासिक जनआन्दोल २०४६
नेपाली काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको आवहान अनुसार आम जनतालाई सहभागी गराई व्यापक जनआन्दोलन गर्ने तयारी गर्ने निर्णय नेपाली काङ्ग्रेसले ग¥यो । सत्याग्रहमा आम जनताभन्दा आम कार्यकर्ता मात्र सहभागी हुने भएकाले आन्दोलनमा जनतालाई पनि सहभागी बनाउने उद्देश्यले जन आन्दोलनको तयारी गरिएको हो । यसका लागि २०४५ साल मंसिर १२ गते नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समिति गठन गरी देशभरका जिल्ला सङ्गठनहरूलाई पुनर्गठित गरिए । यसै सन्दर्भमा २०४६ साल कार्तिक २०, २१ र २२ गते बसेको केन्द्रीय कार्यसमितिको वैठकले ‘दलविहीन पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलको स्थापना र अन्तरिम सरकारको माताहतमा आमचुनाव सम्पन्न होस्’ भन्ने माग प्रस्तुत गर्नुको साथै ‘संवैधानिक राजतन्त्र’लाई मात्र समर्थन गर्न सकिने आफ्नो धारणा प्रस्तुत ग¥यो । उक्त वैठकले जनआन्दोलनको स्वरूप र तिथिको निर्धारण गर्नका लागि २०४६ साल माघ ५, ६ र ७ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय ग¥यो । यसैसन्दर्भमा आन्दोलनमा कार्यगत एकताका आधारमा सम्मिलित भई सहयोग गर्न सबै राजनीतिक पक्षलाई समेत आवहान ग¥यो । तीसवर्षदेखिको दलमाथिको प्रतिबन्धलाई चुनौती दिदै नेपाली काङ्ग्रेसले आफ्ना कार्यकर्ताहरूको सम्मेलनमा पार्टी झण्डा फह¥याउँदै माघ पाँच गते सम्मेलन प्रारम्भ ग¥यो । उक्त ऐतिहासिक सम्मेलनमा विभिन्न राष्ट्रका प्रजातान्त्रिक र समाजवादी नेताहरूको उत्साहपूर्ण सहभागिता र सम्मेलन सफलताका शुभकामनाहरू प्राप्त भए । काठमाडौंमा पहिलोपल्ट कूटनीतिक नियोगका प्रतिनिधिहरूले यसप्रकारको सम्मेलनमा भाग लिएका थिए । देशभित्रका सबैजसो बहुदलवादी पार्टीहरू पनि पर्यवेक्षकको रूपमा उक्त सम्मेलनमा सहभागी भए । भिन्न–भिन्न विचारधाराका स्वतन्त्र बुद्धिजीवीहरूको पनि उक्त सम्मेलनमा सहभागिता रहेको थियो । यसरी व्यापक उत्साह र सहभागिताका साथ प्रारम्भ भएको उक्त सम्मेलनले २०४६ साल फागुन ७ गते देखि जनआन्दोलन हुने तिथि घोषणा गर्नुको साथै आन्दोलनका कार्यक्रमसमेत दिई आन्दोलनको सफलताको पूर्व सङ्केत पनि दिएको थियो ।
यसै क्रममा विभिन्न सात वामपन्थी दलहरूले पनि आपसमा सम्मिलित भई ‘संयुक्त वाममोर्चा’ गठन गरी नेपाली काङ्ग्रेसले दिएको कार्यक्रमको आधारमा नेपाली काङ्ग्रेससँग मिलेर जनआन्दोलनमा सरिक हुने निर्णय गरे । आन्दोलनको सर्वोच्च कमाण्डरको रूपमा गणेशमान सिंह हुुनुहुन्थ्यो । पञ्चायती व्यवस्थाका तर्फबाट अहिंसात्मक जनआन्दोलनलाई दबाउन अनेक प्रकारका हिंसा, यातना र दमनका बाबजूद ४९ दिनसम्म चलेको ऐतिहासिक जनआन्दोलन नेपाली जनता र विश्वजनमतको अभूतपूर्व समर्थन प्राप्त गर्न सफल भयो । यो आन्दोलनमा नेपाली काङ्ग्रेस र यसको भातृसंस्था नेपाल विद्यार्थी संघको अग्रणी भूमिका रह्यो । यही क्रमले आन्दोलन चरम सीमामा पुगेपछि २०४६ साल चैत्र २६ गते राती राजा वीरेन्द्र नेपाली काङ्ग्रेस र वाममोर्चाका नेताहरूलाई भेटी ‘संवैधानिक राजा’ को रूपमा रहने कबूल गर्दै बहुदलको घोषणा गर्न बाध्य भए । बहुदलको घोषणा भइसकेपछिको ज्यादै संवेदनशील परिस्थितिमा देशको नेतृत्त्व समाल्ने ऐतिहासिक र कठिन जिम्मेवारी पनि नेपाली काङ्ग्रेसले वहन ग¥यो । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा जनआन्दोलनको उपलब्धीलाई संस्थागत रूपमा जगेर्ना गर्ने काम बहुदलीय संसदीय प्रणाली अन्तर्गत संवैधानिक राजतन्त्रको प्रावधान भएको र देशको सार्वभौमसत्ता जनतामा निहित रहने गरी संविधान बनाउने कार्यमा पनि नेपाली काङ्ग्रेसले नेतृत्वदायी भूमिका निर्वाह ग¥यो ।
१०.जनआन्दोलपछिको अन्तरिम सरकार
नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा गठित अन्तरिम राष्ट्रिय सरकारमा ऐतिहासिक जनआन्दोलनका सहभागी शक्तिहरूको प्रतिनिधित्व हुनुका साथै राजाका दुईजना प्रतिनिधिसमेत थिए । नेपाली काङ्ग्रेस, सातवटा कम्युनिष्ट पार्टीबाट बनेको संयुक्त वाममोर्चा, स्वतन्त्र बुद्धिजीवी र राजाका प्रतिनिधिसमेतलाई नयाँ संविधान निर्माण र त्यसअन्तर्गत प्रजातान्त्रिक निर्वाचन सम्पन्न गराउने तथा दैनिक प्रशासन चलाउने कार्यलाई एकसाथ लैजानु सजिलो काम थिएन । नेपालको राजनीतिक इतिहासमा राष्ट्रिय सहमतीको त्यो अनुभव अमूल्य निधिको रूपमा रहिरहने छ । त्यो राष्ट्रिय सहमतीको नेतृत्व गर्ने जिम्मा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद भट्टराईको काँधमा थियो । विशेष गरेर दुईवटा ऐतिहासिक जिम्मेवारी बोकेको अन्तरिम सरकारले नयाँ संविधान निर्माण गर्नु र नयाँ संविधान अन्तर्गत निर्वाचन सम्पन्न गराई निर्वाचत सकारलाई सत्ता सुम्पनु थियो । यी दुईवटै काम छोटो अवधिमा सम्पन्न गरी अन्तरिम सरकारले चौध महिना नबित्दै सत्ता हस्तान्तरण ग¥यो । अन्तरिम सरकारका सामु २००७ सालको क्रान्तिपछि आठवर्षसम्म संविधान बन्न नसकेको र निर्वाचन हुन नसकेको इतिहास थियो । फुट र विवादले ऐतिहासिक कार्यलाई बाधा पु¥याएको अनुभव थियो । त्यही ऐतिहासिक अनुभवले गर्दा अन्तरिम समयमा व्यापक एकता कायम राखिराख्ने तथा अन्तरिम विधान वा अन्य कुनै उपकरणद्वारा पनि नयाँ संविधान निर्माण कार्यलाई पर धकेल्ने काम हुन नपाओस् भनी चनाखो हुनुपर्ने आवश्यकता पनि थियो । यसैबीचमा अनेकौं बाधा र व्यवधानका बाबजूत पनि अन्तरिम सरकारले आफूमाथि आएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गरेको थियो ।
११.जनआन्दोलनपछिको पहिलो निर्वाचित सरकार
नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व प्रदान गरेको नेपाली काङ्ग्रेसलाई नेपाली जनताले बहुमत प्रदान गरेर प्रजातन्त्रको सुदृढीकरणका साथै विकास निर्माणको अभिभारा पनि नेपाली काङ्ग्रेसलाई नै सुम्पिए । नेपाली काङ्ग्रेसको संसदीय दलको नेताको रूपमा गिरिजाप्रसाद कोइरालालाई चयन गरेपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री चयन भए । नेपाली काङ्ग्रेसको लामो संघर्ष केवल राजनीतिक अधिकारका लागि मात्र थिएन नेपालको चौतर्फी विकास, जीवनस्तरमा वृद्धि र अन्य सुखसुविधा प्राप्तिका लागि पनि थियो । नेपाली काङ्ग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादको मूल लक्ष्य नै देशमा राष्ट्रियताको संरक्षण, संवद्र्धन गर्दै प्रजातन्त्रको माध्यमबाट देशको द्रुततर आर्थिक विकास, उत्पादनमा वृद्धि, न्यायमुखी समाजको सृजनाका साथ गरिबी निवारण गर्नु हो । राष्ट्रियताको जग प्रजातन्त्रमा मात्र बलियो हुन्छ भन्ने विश्वास राख्ने नेपाली काङ्ग्रेसको सरकार बनेको एक महिना पनि नबित्दै सर्वसत्तावादमा विश्वास राख्ने कम्युनिष्टहरूले कर्मचारी आन्दोलनको माध्यमबाट देशमा अस्थिरता ल्याई विकास निर्माणमा अवरोध खडा गर्नुको साथै प्रजातान्त्रिक मूल्य, मान्यता र प्रशासनिक मर्यादामा समेत प्रहार गरे । पञ्चायती तानाशाही व्यवस्थाले तीसवर्षदेखि लादेका समाजका विविध समस्याहरू त थिए नै त्यसपछि आमनिर्वाचनपछि बनेको सरकारको प्रारम्भदेखि नै नेकपा एमालेले सडक आन्दोलन गरी देशमा अस्तव्यस्तता उत्पन्न ग¥यो ।
त्यस्तो अस्तव्यस्ततालाई सुव्यवस्थित र अनुशासित बनाउनुपर्ने, दिशाहीनतालाई निश्चित दिशा देखाउनुपर्ने, विपन्नताको खाडलमा सम्पन्नताको जग बसाउनुपर्ने, शङ्का र अविश्वासमा जगडिएको परिस्थितिको सुधारका साथ विश्वास दिलाउनुपर्ने, दुर्बल एवं असुरक्षित मानसिकताका साथ सञ्चालन भइरहेको राज्यव्यवस्थालाई खुला र प्रजातान्त्रिक ढङ्गले सञ्चालन गर्नुपर्ने, नेपाली जनतालाई प्रजातान्त्रिक परिपाटीमा नयाँ जीवन दिनुपर्ने जस्तो जिम्मेबारी बोकेर आएको सरकारले शुरूका दिनमै प्रतिपक्षले अनेक समस्याहरू उत्पन्न गरी समाजमा अराजकता सृजना गर्न खोजेको अवस्थामा पनि नेपाली काङ्ग्रेसले आफ्नो प्रबल अठोट, जनशक्तिको आधार र नयाँ सोचाइका कारण नेपालको अर्थतन्त्रमा व्यापक सुधार गरी ग्रामीण तथा शहरी क्षेत्रको विकासको पूर्वाधारको रूपमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सञ्चार, यातायात आदि अनेकौं क्षेत्रमा लगानी गर्ने वातावरण बनाएर छोटै समयमा उल्लेखनीय उपलब्धी हासिल ग¥यो । तर पनि जुन गतिमा नेपाली जनतालाई विकासको फल दिलाउनुपर्ने थियो त्यस्तो भने हुन सकेन । प्रतिगामी शक्तिले टाउको उठाउने मौका पाए जसले गर्दा बहुमतको नेपाली काङ्ग्रेसको सरकार मध्यावधि निर्वाचनमा होमियो र त्यसपछिका दिनमा अनेकौं प्रयोगहरू भए जसले गर्दा नेपालमा स्थिर सरकार बन्ने वातावरण नै बनेन ।
१२. अस्थिरता र माओवादीजनयुद्ध
बहुदलीय पद्धति अन्तर्गत २०४६ सालको राजनीतिक परिवर्तनपछि शासन गर्ने गहन जिम्मेवारी पाएका नेताहरूका सानातिना कमजोरीहरूले प्रजातन्त्र विरोधीहरूलाई बल मिल्यो । अबसरवादीहरूले अनुचित फाइदा लिदै पार्टी र व्यवस्थालाई नै बदनाम बनाए । यहि वहानामा माओवादी जनयुद्धको प्रारम्भ भयो जसका कारण देशमा खडाभएका विकासका पूर्वाधारहरू ध्वस्त भए । त्यसपछिका दिनमा एकपछि अर्को गर्दै विकृति र विसङ्गतिहरू भित्रिए । पहिलो संविधानसभाले संविधानसमेत दिन सकेन । त्यतिबेला नेपाली काङ्ग्रेस कमजोर प्रतिपक्षको रूपमा स्थापित भएको थियो । दोस्रो संविधान सभामा नेपाली काङ्ग्रेसले बहुमत ल्याएपछि संविधान त दिन सक्यो तर त्यसपछिको निर्वाचनमा आफू पुनः कमजोर प्रतिपक्षको रूपमा स्थापित भएको छ ।
१३.कहाँ चुक्यो त नेपाली काङ्ग्रेस
नेपाली काङ्ग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई अक्षरशः पालन गरेको छ या आफ्नो सिद्धान्त र आदर्शलाई विर्सेको छ ? भन्ने कुराको मूल्याङ्कन नेपाली जनताले गरिरहेका छन् । नेपाली काङ्ग्रेस कुन सिद्धान्त र आदर्शलाई जनता सामू लगेर जनतामा स्थापित भएको हो भन्ने कुरा नेपाली काङ्ग्रेसको नेतृत्वले बेला बखतमा विर्सने गरेको तत्थ्य पनि कसैका सामु छिपेको छैन । सिङ्गो नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्शलाई एकातिर पन्छाएर जनताबीच जाँदाको परिणाम के हुन्छ ? भन्ने कुरालाई बुझ्न हामी धेरै टाढा जानुपर्दैन । विगतका वर्षहरूमा भएका स्थानीय निर्वाचन र संसदीय निर्वाचनका परिणामहरूलाई मात्र हेरे पुग्दछ । नेपाली काङ्ग्रेस जननायक विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित सिद्धान्त र आदर्शबाट निर्देशित पार्टी हो । नेपाली काङ्ग्रेसले अबलम्बन गर्ने कुुनै पनि नीति र कार्यक्रम या त जनताद्वारा अनुमोदित हुनुपर्दछ या त जननायक विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित हुनुपर्दछ भन्ने कुरामा कसैको पनि विमती हुन सक्दैन । प्रजातन्त्रको पुनस्थापनापछिका पछिल्ला वर्षहरूमा नेपाली काङ्ग्रेसका कतिपय नेताहरूले बीपीको आदर्श र सिद्धान्तलाई चटक्क बिर्सेको परिणाम आज नेपाली काङ्ग्रेसको यो अवस्था आएको हो । केही महत्वपूर्ण कुराहरू यहाँ यसरी विश्लेषण गरिएको छ ।
१३.१.धर्मनिरपेक्षता
धर्मनिरपेक्षता जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्शभित्र पर्दैन । यदि धर्मनिरपेक्षता नेपाल र नेपाली जनताको आवश्यकता थियो भने नेपाली काङ्ग्रेसले पार्टीभित्र र नेपाली जनताबीच छलफल गराएर अनुमोदन गराउन सक्नुपर्दथ्यो । नेपाली काङ्ग्रेसले अहिलेसम्म त्यो पनि गराएको छैन । नेपाल र नेपाली जनताका लागि आवश्यक थियो भने नेपाली काङ्ग्रेसले आम कार्यकर्ता र जनतासमक्ष छलफल गराउनुपर्दथ्यो । त्यो छलफल गराउने हिम्मत नेपाली काङ्ग्रेसको नेतृत्वले किन गरेन । ८० प्रतिशतभन्दा बढी नेपाली जनताले सनातन वैदिक धर्म र सस्कृतीमा विश्वास गर्दछन् । यस्तो अवस्थामा मुलुकमा धर्मनिरपेक्षता थोपर्ने काम नेपाली काङ्ग्रेसको नेतृत्वले ग¥यो त्यो नेपाली काङ्ग्रेसले गरेका गल्तीहरूमध्येको ठूलो गल्ती हो ।
१३.२ उग्रवामपन्थी र दक्षिणपन्थीहरूसँगको सहकार्य
जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गरेको नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्शमा वामपन्थिहरु सँगको सहकार्यलाई स्वीकार गरिएको छैन । बीपी जीवित छँदै वामपन्थिहरुसँग सहकार्य गरेर नेपालमा प्रजातन्त्र स्थापना गर्ने सन्दर्भमा बीपीले सधै अस्वीकार गरेका दस्तावेजहरू अहिले पनि हेर्न पाइन्छन् । तथापि २०४६ सालको जनआन्दोलनको नेतृत्व नेपाली काङ्ग्रेसले लिएता पनि नेपाली काङ्ग्रेसले वामपन्थिहरुसँग सहकार्य गरेर प्रजातन्त्रको स्थापना त ग¥यो त्यहीँदेखि नै नेपाली काङ्ग्रेसले गल्तीको शुरूआत गरेको हो भन्ने कतिपय बीपीवादी नेपाली काङ्ग्रेसका नेताहरू अहिले पनि भन्ने गर्दछन ।
प्रजातन्त्रको पुनस्थापनापछिका २९ वर्षमा नेपाली काङ्ग्रेसले सत्ताका लागि आफ्नो पहिचान के हो भन्ने कुरालाई बिर्सेर जुन अपवित्र गठबन्धनमा सामेल भयो त्यो तत्कालीन नेताहरूको क्षणिक स्वार्थपूर्तिका लागि फाइदाजनक भए पनि समग्रमा नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्श विपरीत थियो । यो कुरालाई स्वीकार गर्न कतिपय नेताहरू अहिले पनि तयार छैनन् । सत्य सत्य नै हुन्छ सत्य कुरालाई स्वीकार गर्न कोही पनि हिचकिचाउनु हुँदैन । नेपाली काङ्ग्रेस सिद्धान्ततः जनताको स्वतन्त्रता र स्वाधीनताका लागि संघर्ष गरेको पार्टी हो । यसले जनताका लागि के गरिरहेको छ र गर्नुपर्दछ भन्ने कुरा नेपाली जनताले मूल्याङ्कन गरिरहेका हुन्छन् । बीपी कोइराला सत्ताका लागि कहिल्यै पनि लालायित हुनुभएन । बीपी सत्ताका लागि लालायित हुनुहुन्थ्यो भने त्यतिलामो निर्वासन र कारावासको यातना सहनुपर्ने थिएन भन्ने कुरा यहाँ दोहो¥याइरहनु नपर्ला । वी. पी.ले भन्न्ुा भएको छ जेल जर्नलको भूमिकामा गणेस राज शर्माले लेख्नु भएको एक उद्धरण म ञहा उल्लेख गर्न उपयुक्त संझेको हुनाले उल्लेख गरेको छु । त्यसमा वी. पी. कोइरालाले गणेस राज शर्मालाई भन्नु भयो भनिएको रहेछ ू मैले नेपाली कांग्रेसको ईतिहास लेख्नु धेरै आवश्यक थियो । अव शक्तिन र शैलजाले त्यो गर्दछे । उसले मेरा कुराहरु वुझेकी छ । म मरे पछि नेपाली कांग्रेसमा मेरो भुमिकाको वारेमा व्यापक भ्रम श्रीजना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्काछ । घटनाहरुलाई वड.ग्याएर ईतिहासको गलत व्याख्या गरीनेछ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरो दृटिकोणलाई गौड वनाईनेछ । मैले नेपाली कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्टियताको विषयमा , प्रजातान्त्रीक सस्थाहरुको विषयमा ,आर्थिक विकाश र समाजवादी व्यवस्थाको विषयमा , मेरा अडानका निरन्तरता छन । हिन्दुस्थानको वारेमा , राजाको वारेमा र संसार संगको सम्पर्कका वारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरु मैले सधै उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ती हामिले हिन्दुस्थान वाट संचालन ग¥यौ । हामिलाई हिन्दुस्थानले संचालन गर्न खोजेको कुराको मैले सधैभरी र सवभन्दा वढि विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यहि विचार राखेको छु । उनको निरड.कुस शैलिको मैले सधै र सवभन्दा वढि विरोध गरेको छु । मैले हिन्दुस्थानमा वसेर संगठन गर्दा पनि आफनो राष्टियताको छवि कायम राख्ने प्रयास गरे । राजा संग मेल मिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरीन । मेरा यी अडानहरुका वारेमा व्यापक भ्रम श्रजना हुने संभावना मैले देखेको छु । नेपाली कांग्रेसको ईतिहास ति सवै आदर्सहरु र लक्षहरुका साथ भएको संघर्षको ईतिहास हो । मलाई लाग्दछ यस मुलुकको उज्जल भविश्यका लागी नेपाली कांग्रेसमा ति कुराहरुको निरन्तरता रहनु पर्छ । जुन दिन नेपाली कांग्रेसले राष्टियताको आफनो अडान छोडनेछ , यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरु छाडेर केवल सत्ताको राजनिति गर्ने छ , यो निरर्थक भएर जानेछ । नेपाली कांग्रेसलाई उसको अगृम एतिहासिक भुमिकाको लागी मेरा दृष्टिकोणहरु अनुरुपको यसको् ईतिहास लेख्नु आवस्यक छ । ू ( जेल जर्नल ( विश्वेस्वर प्रसाद कोइराला ( पृष्ट छ, ज ) बीपीको त्यो आदर्श र सिद्धान्तलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गरेको नेपाली काङ्ग्रेसका नेताहरूले भने प्रजातन्त्रको पुनस्थापनापछिका केही वर्षमै बिर्सिए र सत्ताका लागि अपवित्र गठबन्धन गर्न पनि तयार भएको कुरा यहाँ उल्लेख गरिरहनु नपर्ला । पछिल्लो समयको कुरा गर्ने हो भने स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा उ
ग्रबामपन्थी र उग्र दक्षिणपन्थीहरूसँग भएको सहकार्यमा विभिन्न पार्टीका निर्वाचन चिन्हमा भोट खसाल्न समेत नेपाली काङ्ग्रेस नेतृत्त्वले निर्देशन समेत दियो । यो नेपाली काङ्ग्रेसले गरेका अकेकौं गल्तीहरूमध्ये सबैभन्दा ठूलो गल्ती थियो । जसले गर्दा नेपाली काङ्ग्रेसलाई कमजोर प्रतिपक्षको भूमिका दिएर नेपाली जनताले नेपाली काङ्ग्रेसलाई सबक सिकाएका हुन् । तर पनि यस्तो महागल्तीलाई गल्ती भन्न अहिले पनि नेपाली काङ्गेसको नेतृत्व तयार छैन ।
१४.काङ्ग्रेसका विरुद्ध भएको आन्तरिक र बाहिय षडयन्त्र
नेपाली काङ्ग्रेस आम जनताको पार्टी हो । आम नेपाली जनताको चाहना नै नेपाली काङ्ग्रेसको चाहना हो । आम नेपाली जनताको चाहना बिपरीत नेपाली काङ्ग्रेसको गन्तव्य हुन सक्दैन । तर नेपाली काङ्ग्रेसले किन जनप्रियता गुमाउन पुग्यो, नेपाली काङ्ग्रेस नेपाली जनताबाट किन टाढियो भन्ने कुराको पहिचानका लागि अनुसन्धान गर्दै जाने हो भने कतिपय आन्तरिक एवं बाह्य शक्तिले नेपाली काङ्ग्रेसका केही नेताहरूलाई प्रभावमा पारेर आफ्नो निहीत स्वार्थपूर्ति गरेको भेटिन्छ । आन्तरिक र बाह्य दलदलमा फँसेका नेताहरू त्यसबाट बाहिर निस्कन कठिन छ । निस्किहाले भने उनीहरूको राजनीतिक भविष्य धरापमा पर्ने स्थिति पनि देखिएको छ । नेपाली काङ्ग्रेसका निष्ठावान् नेता र कार्यकर्ताहरू एक जुट भएर यो षडयन्त्रबाट नेपाली काङग्रेसलाई बाहिर निकाल्न आवश्यक छ । नेपाली काङ्ग्रेसका विरुद्ध भएको यो आन्तरिक र बाह्य षडयन्त्रलाई बेलैमा पहिचान गरी नेपाली काङ्ग्रेस र नेपाली जनताका बीच भएरहेको षड्यन्त्रको पर्दालाई उघारेर नेपाली काङ्ग्रेसलाई पुनः आम नेपाली जनताको पार्टीको रूपमा स्थापित गर्नुपर्दछ ।
१५.देशको आवश्यकता र नेपाली काङ्ग्रेको अबको गन्तव्य
देशको आवश्यकता अनुसार नेपाली काङ्ग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई परिमार्जित गर्दै लैजानुपर्दछ भन्ने कुरामा कसैको पनि दुईमत छैन । तथापि युगद्रष्टा बीपीले प्रतिपादन गर्नुभएको सिद्धान्तलाई यदि परिवर्तन गर्नुपर्ने आवश्यकता देखियो र नेपाली जनताको चाहना पनि त्यही नै हो भने त्यस्ता कुरामा नेपाली काङ्ग्रेसले व्यापक बहसको विषय बनाउनुपर्दछ । त्यस्ता विषयवस्तुलाई नेतादेखि कार्यकर्तासम्म र त्यसक्षेत्रका विशेषज्ञदेखि आम जनताका बीच छलफल गराउनुपर्दछ र निष्कर्षमा पुग्नुपर्दछ । उदाहरणको लागि नेपालको संविधान २०७२ निर्माण गर्ने सन्दर्भमा सिद्धान्ततः जनताका विचारलाई संकलन गर्ने उद्घोष गरिएको थियो । अधिकांश नेपाली जनताले नेपाललाई सनातनधर्म सापेक्ष बनाउनुपर्ने अभिमत जायर गरेको यथार्थ कसैका सामु छिपेको छैन तर संविधान जारी गर्दा धर्मनिरपेक्ष राष्ट्र भनेर जारी गरिएपछि नेपाली जनता अत्यन्त निराश भएका छन् । नेपाली काङ्ग्रेसले नेपाली जनताको यो आवाजलाई आफ्नो आवाजको रूपमा स्थापित गरी नेपाली जनताको पक्षमा वकालत गर्ने जुन अपेक्षा नेपाली जनताले लिएका थिए त्यो अपेक्षामा तुषारापात भएपछि नेपाली जनता नेपाली काङ्ग्रेसप्रति निराश देखिएका हुन् । जसको परिणामको रूपमा नेपालको संविधान २०७२ जारीभएपछिका निर्वाचनमा नेपाली काङ्ग्रेसले पाएको जनमतलाई लिनुपर्दछ । यो अवश्य हो नेपाली काङ्ग्रेसले नेतृत्व नलिएको भए दोस्रो संविधान सभाले पनि संविधान दिन सक्ने थिएन । नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको नेपालको संविधानमा नेपाली काङ्ग्रेसबाट नेपाली जनताले जुन आसा र अपेक्षा राखेका थिए, त्यो आसा र अपेक्षामा तुषारापात भएपछि नेपाली जनताले यो मत परिणाम नेपाली काङ्ग्रेसलाई दिएका हुन् । जसलाई कदर गर्दै नेपाली जनताको यो भावनालाई मूर्त रूप दिनका लागि आगामी दिनमा नेपाली काङ्ग्रेस क्रियाशील हुनुपर्दछ । नेपाली काङ्ग्रेस विगतमा गरेका गल्तीलाई सच्याएर पुनः जनताका बीच जानका लागि हिचकिचाउनुहुँदैन । यही नै नेपाली काङ्ग्रेसको अबको गन्तव्य हो । संविधान निर्माणको सन्दर्भमा आएका सुझावलाई आत्मसात गर्न नसक्ने कुनै पनि पार्टीको भविश्य छैन भन्ने कुरालाई आत्मसात गर्दै अगाडि बढ्नु आजको आवश्यकता र नेपाली काङ्ग्रेसको भावी गन्तव्य हो भन्दा अत्युक्ति हुने छैन ।
१६. उपसंहार
नेपालमा प्रजातन्त्रको स्थापना गरी नेपाली जनतालाई सुख, समृद्धिका साथ नेपालको विकास गर्ने महान् लक्ष्यका साथ वि.सं. २००३ सालमा स्थापना भएको नेपाली काङ्ग्रेस विगत सातदशकको अवधिमा अनेकौं प्रकारका उकाली–ओराली, भञ्ज्याङ र चौतारीहरू पार गर्दै आएको छ । खास लक्ष्य र सिद्धान्तका साथ हिडेको पार्टीको यात्रा कहिल्यै पनि पूर्ण हुँदैन । मुस्किलले कुनै लक्ष्यमा पुगियो भने फेरि अर्को पहाड आइपुग्दछ र त्यसलाई छिचोल्नका लागि नयाँ योजनाहरू बनाउनुपर्ने हुन्छ । नेपालका अन्य राजनीतिक दलहरूको भन्दा नेपाली काङ्ग्रेसको यात्रा भिन्न छ र हुनु पनि पर्दछ । विगतमा भएका कमी कमजोरीहरूबाट पाठ सिकेर नेपाली काङ्ग्रेसले आफ्नो लक्ष्य निर्धारण गर्न ढिला भइसकेको छ । पार्टी नेतृत्वले गरेका कमी–कमजोरीका सम्बन्धमा पार्टीभित्र खुल्ला बहस चलाइनुपर्दछ र गरेको गल्तीलाई गल्ती हो रहेछ भन्ने कुरा महसूस पनि गर्नुपर्दछ । विगतमा भएका गल्तीहरूका सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्दछ । नेपाली काङ्ग्रेसले अबलम्बन गरेको सिद्धान्त र व्यवहारका सम्बन्धमा व्यापक विचार विमर्श गरी नेपाली काङ्ग्रेसलाई नेपाली जनताको प्रिय पार्टी बनाउन सबै दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने महान् उद्देश्य लिएर बीपी विचार राष्ट्रिय समाज क्रियाशील रहेको छ । समाजको यो क्रियाशीलता तपाईंहरूको पूर्ण सहयोग रहने विश्वास हामीले लिएका छौं । धन्यवाद, जय नेपाल ।
सन्दर्भसामग्रीः
१.नेपाली काङ्ग्रेस र यसका दृष्टिकोणहरू, नेपाली काङ्ग्रेस, वि.सं. २०५२ ।
२.शब्दचित्रमा नेपाल, गोविन्दराज जोशी, वि.सं.२०५८ ।
२.राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला, सम्पादन÷संयोजन लोकेश ढकाल, बीपी विचार राष्ट्रिय समाज, २०७२ ,
३..राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला, सम्पादक डा.वासुदेव खनाल, बीपी विचार राष्ट्रिय समाज २०७५ ।
४. नेपाली काङ्ग्रेस सिद्धान्त र दृष्टिकोण, सम्पादक, डा.वासुदेव खनाल, बीपी विचार राष्ट्रिय समाज २०७५ ।
(लेखक प्रा. डा. वासुदेव खनाल, बीपी विचार राष्ट्रिय समाज प्राज्ञ विभागका संयोजक हुनुहुन्छ )
यो कार्यपत्र वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर २ बर्दिबास महोत्तरीमा आयोजित विचार गोष्ठीमा प्रस्तुत भएको हो ।