breakingसमाचार

सेनाले गर्दैछ कोरोनासम्बन्धी हात धुनेदेखि लास व्यवस्थापनसम्मका तालिम

काठमाडौँ– विश्वव्यापी महमारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पछिल्ला दिनमा तीव्र रुपमा फैलिन थालेको छ । आप्रवासी कामदार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा पत्रकारसहित २६७ जनामा संक्रमण पुष्टि भइसकेको छ । परीक्षणको दायरा केही बिस्तार भएपछि संक्रमण पुष्टि हुनेको संख्या पछिल्ला दिनमा बढेको हो ।
संक्रमण बिस्तार हुन थालिरहेका बेला स्वास्थ्य सेवा प्रभावकारी बनाउनु पर्ने चुनौति थपिएको छ । यहि चुनौतिलाई मध्यनजर गरेर नेपाली सेनाको स्वास्थ्य टोलीले कोरोना भाइरसविरुद्धको लडाईँलाई प्रभावकारी र जोखिमरहित बनाउनका लागि नियमित रुपमा प्रशिक्षण जारी राखेको छ । सेनाले स्वास्थ्यकर्मीहरुका लागि कोरोना भाइरस संक्रमितको पहिचान तथा उपचार कसरी सुरक्षित रुपमा गर्ने भन्नेबारे विस्तृत प्रशिक्षण जारी राखेको हो ।
छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा नेपाली सेनाले तालिम दिइरहेको हो । महामारी विरुद्धको विश्वव्यापी अभियानको नेतृत्व गरिरहेको विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै आफूहरुले स्वास्थ्यकर्मीलाई कोभिड–१९ को उपचारमा सुरक्षित रुपमा खटिने गरी तयार पारिरहेको वीरेन्द्र सैनिक अस्पताल छाउनीले जानकारी दिएको छ ।

तालिम कस्तो छ र कसरी हुँदैछ ?

अहिलेसम्म कुनै उपचार वा खोप पत्ता नलागेको र केही संक्रमितमा लक्षण पनि नदेखिने भएकाले कोरोना भाइरसको संक्रमण अरु संक्रमण भन्दा भिन्न छ । यस्तै उपचार गर्दा नै स्वास्थ्यकर्मीमा पनि संक्रमण फैलिन सक्ने जोखिम हुने भएकाले उच्च शतर्कतासहित यसको उपचार सम्बन्धी तालिमको व्यवस्था गरिएको सैनिक अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मीहरुका लागि दैनिक रुपमा कोरोना भाइरस संक्रमितको सुरुदेखि अन्त्यसम्म कसरी उपचार गर्ने भन्ने सम्बन्धी तालिम भइरहेको छ । यस्तो तालिम व्यवस्थापक, सरसफाइकर्मी, सुरक्षाकर्मीसहितलाई पनि प्रदान गरिएको छ । संक्रमण नियन्त्रण तथा सुरक्षा अन्तर्गत तालिम भइरहेको हो ।
जसमा हात कसरी धुने ?, सामाजिक दूरी कसरी कायम राख्ने ?, डनिङ–डफिङ (पीपीईको सही प्रयोग तथा प्रयोग पश्चात फुकाल्ने तरिका), नमूना संकलन, डिस्इन्फेक्सन, मृत शरीर व्यवस्थापन रहेका छन् ।
कोरोना भाइरस फरक किसिमको भाइरस रहेकाले पनि सानो भन्दा साने कुरालाई विचार गर्नु पर्ने भएको र सोही अनुसार तालिम चलिरहेको प्रमुख सेनानी डा. मुन थापाले जानकारी दिइन् । अहिलेसम्म सो तालिम १२ सय भन्दा बढीले लिइसकेका छन् ।
डा. थापाले भनिन्, ‘स्वास्थ्यकर्मीका साथै ल्याब, सुइपर, पलम्बर, इलेक्ट्रिसियन, एडमिनिस्टेटर लगायत सबैलाई तालिम दिएका छौँ । सबैभन्दा ठूलो कुरा उपचारमा संलग्न तथा उनीहरुबाट अरुमा संक्रमण नफैलियोस् भन्नका लागि अति मसिना कुरामा हामीले ध्यान दिएर तालिम दिइरहेका छौँ । तालिमलाई प्रयोगात्मक रुपमै गराउने गरेका छौँ । यसको उद्देश्य भोलि संक्रमितको उपचारमा खटिँदा कुनै समस्या नआओस् भन्ने नै हो ।’
व्यक्तिगत सुरक्षात्मक सामग्रीको अभाव रहेकाले त्यसको बहुआयामिक प्रयोग गर्नु पर्ने हुँदा एउटै व्यक्तिलाई सबै तालिम दिइएको उनले बताइन् । फरक–फरक व्यक्तिलाई भिन्नभिन्न कामकाको तालिम दिँदा भोलि उपचारमा खटिँदा पीपीई बढी चाहिने भएकाले एउटै व्यक्तिलाई अधिकांश काममा निपूर्ण बनाउने गरी तालिम सञ्चालन भइरहेको डा. थापाले बताइन् ।
उनले भनिन्, ‘कोभिड–१९ का संक्रमित नजिक हुने भनेको मुख्यतः स्वास्थ्यकर्मी नै हुन् । स्वास्थ्यकर्मीलाई कोभिड–१९ का बिरामीबाट स्वास्थ्यकर्मीलाई सर्ने जोखिम हुन्छ । सोही कारण केसहरु बढ्न थालेपछि सेवामा खटिनमा सक्ने गरी तयार पार्ने प्रयास जारी छ ।’
तालिमको प्रमुख उद्देश्य भित्र फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीसहितलाई मानसिक रुपमा तयार गर्नु रहेको अस्पतालले जनाएको छ ।
तालिमको नेतृत्व गरिरहेकी डा. थापाले भनिन्, ‘उहाँहरुलाई मानसिक रुपमा तयार बनाउनका लागि सहजिकरण गरेका छौँ । सानो समूहमा तालिम दिने, त्यसपछि प्राटिकल गराउने गर्छौँ । यस्तै नेपालमा कोभिड–१९ को वर्तमान अवस्था र केस बढेमा के हुन सक्छ भन्ने बारे कुरा गर्छौँ । छिमेकी देशरुको अवस्थाबारे पनि छलफल हुन्छ । यीसबैले उहाँलाई मानिसक रुपमा तयार हुन सहयोग गर्छ ।’
प्रशिक्षार्थीलाई सुरुमा मानिसक रुपमा तयार पारिने र त्यसपछि सम्पूर्ण तालिमबारे भिडियो देखाएर जानकारी दिने गरिएको छ । प्रशिक्षणपछि प्रशिक्षार्थीहरुले सबै कुराको आफै प्राक्टिकल गर्छन् ।
डा. मुन थापाले भनिन्, ‘प्राक्टिकलका लागि चाहिने पीपीई भने हामीले यहिँ कपडाको बनाएका छौँ । पीपीईको अभाव भएकाले तालिममा कपडाकै प्रयोग गरेका हौँ ।’
दैनिक ३० जनालाई तालिम दिने गरिएको छ । अस्पतालको आइसियूमा पनि कोभिड–१९ केन्द्रित तालिम भइरहेको छ । डा. थापाले भनिन्, ‘कुनै कोभिड–१९ बिरामी आइसियूमा राख्नु प¥यो भने उनीहरुको सेवा कसरी सुरक्षित रुपमा गर्ने भन्ने कुरालाई सिकाउनका लागि यो तालिम हो ।’

तालिम किन ?

कोरोना भाइरस विरुद्धको कुनै खोप वा औषधि पत्ता लागेको छैन । तर विश्वभरका वैज्ञानिक खोजमा जुटेका छन् । अहिलेसम्म १०० भन्दा बढी संभावित खोपहरु परीक्षणको क्रममा छन् । खोप वा औषधि नभएको अवस्थामा संक्रमण फैलिन नदिनु र सावधानी अपनाउनु नै उत्तम विकल्प हो ।
यही भएकाले नेपालमा संक्रमण फैलिएमा त्यसलाई सीमित राख्न र स्वास्थ्य सेवामा खटिए र उनीहरुबाट परिवारका सदस्यसम्म संक्रमण नफैलियोस् तथा सेवा प्रदायकले पनि मानिसक रुपमा तनावमुक्त भएर सेवा प्रदान गर्न सक्ने आत्मविश्वास आओस् भनेर तालिम सञ्चालन गरिएको वीरेन्द्र सैनिक अस्पतालले जनाएको छ ।

तालिमको क्रममा सबैलाई पीपीई कसरी लगाउने र कसरी फुकाल्ने भन्नेबारे पनि विशेष रुपमा सिकाइएको छ । डा. थापाले भनिन्, ‘विश्वका विभिन्न देशको उदहारण हेर्दा कतिपय स्वास्थ्यकर्मीमा पीपीई फुकाल्ने क्रममा कमजोरी हुँदा संक्रमण भएको देखिन्छ । हामीले सो गल्ती नहोस् भन्नका लागि पनि तालिमलाई विशेष बनाएका छौँ ।’
एकपटक संक्रमितको सम्पर्कमा आउनेलाई क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले सकेसम्म धेरैलाई तालिम दिने प्रयासमा रहेको डा. थापाले बताइन् ।
उनले भनिन्, ‘उदहारणको रुपमा नमूना संकलनका लागि जिल्लामा गएकाहरु र्फेकेपछि सिधै काममा र्फेकन मिल्दैन । उहाँहरु क्वारेन्टाइनमा बस्नु पर्छ । यस्तो अवस्थामा कोभिड–१९ सम्बन्धी सेवा निरन्तर बनाइ राख्नका लागि अर्को समूह तयारी अवस्थामा हुनु पर्छ । त्यही भएर तालिम धेरैलाई दिने प्रयासमा छौँ ।’
एउटै व्यक्तिलाई सम्भव भएसम्मका सबै काम गर्न सक्ने गरी तयार पार्ने प्रयास भइरहेको भन्दै डा. थापाले भनिन्, ‘यस्तो गर्दा सीमित पीपीईबाटै धेरै काम गर्न सकिन्छ ।’
संक्रमण फैलिन नदिनका लागि डिस्इन्फेक्सन प्रमुख रहेकाले पनि सबै सहभागीलाई क्लोरिनको डिस्इन्फेक्सन झोल बनाउने सम्बन्धी तरिका पनि सिकाइएको छ ।
यस्तै महामारीले अति भयावह रुप लिएर मानिसको मृत्यु भएमा सो शव संक्रमण नफैलिने गरी कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धी पनि नमूना तालिम भइरहेको छ वीरेन्द्र सैनिक अस्पतालमा ।
सबै सहभागीलाई संक्रमणबाट जोगिने र सुरक्षित रुपमा उपचारका सबै प्रक्रिया गर्ने गरी तयार पारिएको डा. थापाले बताइन् । उनका अनुसार सेनाका टोलीसँग सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका स्वास्थ्यकर्मीसहितलाई पनि सो तालिम दिइएको छ ।
उनले भनिन्, ‘कोभिड–१९ विरुद्धको अभियान बलियो एकीकृत प्रयासका लागि दक्ष जनशक्ति तयार पार्नकै लागि हामी लागि परेका छौँ ।’
गएको चैत ७ गतेदेखि नै तालिम सुरु भएको हो । सुरुमा प्रशिक्षकहरुलाई तालिम दिइ उनीहरुबाट नै हाल अरुलाई दैनिक रुपमा प्रशिक्षण दिइरहेको जनाइएको छ ।

जेष्ठ ३, २०७७ मा प्रकाशित
   साभार देश सञ्चार
nema
Show More

Related Articles

Back to top button