समाचार

जिपि कोइराला उपचार केन्द्रलाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्न स्वास्थ्य मन्त्रालयद्धारा पत्र जारी,

email sharing button

जिल्ला अस्पतालमा नराखी शुक्लाको जिपिमा कोरोना संक्रमित ल्याएर राखेको भन्दै नगरका स्थानीयवासी द्धारा आक्रोश व्यक्त ,
दमौली खबर संवाददाता
जेठ २० दमौली

तनहुँको शुक्लागण्डकी ५ स्थित जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र लाई स्वास्थ्य मन्त्रालयले कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने गरी परिपत्र पठाएको छ । क्वारेन्टिन निर्माणमा जुटिरहेको बेला जिल्लामा कोरोना पोजिटिभ युवक भेटिएपछि आइसोलेसनमा राख्ने विषय सबैको टाउको दुखाइ बनेको थियो । तर केन्द्रबाट जिपिलाई कोभिड अस्पताल तोकेर परिपत्र आएपछि संक्रमित युवालाई नेपाली सेनाको समन्वयमा आइतबार साँझ नै जिपि कोइरालाको आइसोलेसनमा राखिएको छ ।
जिल्ला अस्पतालमा नराखी शुक्लाको जिपिमा कोरोना संक्रमित ल्याएर राखेको भन्दै नगरका स्थानीयवासीले आक्रोश पोखेका छन् । त्रसित बनेका स्थानीयवासीबाट निरन्तर दबाब आएपछि शुक्लागण्डकी नगरपालिकामा सोमबार संक्रमित व्यक्तिहरुको व्यवस्थापनका विषयमा छलफल भएको थियो । उक्त छलफलमा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, शुक्लागण्डकीमा नगरप्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, भिमाद तथा भानु नगरपालिकामा प्रमुख तथा उपप्रमुख, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, राजनीतिक दलहरुको सहभागिता रहेको थियो ।
सो छलफलमा शुक्लागण्डकीका प्रमुख तथा उपप्रमुखले पुर्व तयारी बिना नै जिपिमा सोझै संक्रमितलाई ल्याएर राख्दा स्थानीयवासीबाट ठुलो आक्रोस आएको जानकारी गराएका थिए । नेकपाका जिल्ला सचिवालय सदस्य रामचन्द्र उपाध्यक्षले व्यस्थापन विना संक्रमित राख्दा थप समस्या आउने बताउँदै संक्रमणको जोखिमले नीजि करारमा रहेका कर्मचारीहरुको राजिनामा समेत हुन सक्नेतर्फ ध्यानाकर्षण गराए ।
अस्पतालका निमित्त प्रमुख रामकुमार श्रेष्ठले माथिल्लो तलालाई शिल गरी संक्रमित युवकको उपचार शुरु गरिएको जानकारी दिए । संक्रमित युवकको उपचारमा चिकित्सक सहित ४ जना कर्मचारी खटाइएको छ । आवश्यक पूर्वाधार र्पुयाउन सकेको खण्डमा थप आइसोलेसन बनाउन सकिने डा श्रेष्ठले बताए । अस्पतालमा कोरोना संक्रमित राखिएकाले हाललाई अस्पतालको ओपिडी सेवा बन्द गरिएको र बैकल्पिक उपाय खोजेर ओपिडी सेवा सहित स्वास्थ्य विमाको सेवा संचालन गर्नुपर्ने उनको जोड छ ।
त्यस्तै भीमाद नगरपालिका मेयर मेख बहादुर थापाले रोग साझा भएकाले यो वा त्यो भन्दा पनि मिलेर व्यस्थापन गर्नुपर्नेमा जोड दिए । संघ तथा प्रदेश सरकारले केही नगरेको बताउदै उनले अब एक घर एक व्यक्ति सचेत र जिम्मेवार बन्नु पर्ने समयको आएको तर्क गरे । हामी नै सचेत बनौ, हामी नै लागि परौ उनले भने सरकार यस्तै छ, देश यस्तै छ । सामान्यदिनमा हिजो हामी नै सरकार भन्ने आज संकट पर्दा तर्कन नमिल्ने उनको भनाई छ ।
यसैगरी भानु नगरपालिकाका मेयर उदयराज गौलीले कोरोना महामारीको प्रभाव र सक्रियतालाई सरकारले नपत्याएकोले अहिलेको परिस्थिती सिर्जनना भएको बताए । सचेत रहने र सुरक्षित हुने योजना बनाउन प्रशस्त समय हुँदा पनि कोरोनासंग खेलाचि गर्दा अहिले समस्या आएको भन्दै अब व्यवस्थापनमा ढिलाई गर्न नहुने उनले बताए । जनशक्ति, श्रोत र साधनको हिसाबले पनि जिल्लामा देखिएका सबैलाई एकै ठाउँमा राख्नुपर्छ उनले भने बरु जिपिलाई व्यवस्थित गराऔँ, आवश्यक पुर्वाधार निर्माणका लागि सबै स्थानीय सरकारले बजेट बिनियोजन गरौ । उनले नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएकाले बाटो, पानी, बिजुलीको विकास पछि गर्न सकिने बताए ।
यस्तै, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जिपिलाई आइसोलेसनका लागि केन्द्रबाट तोकेर पठाएको बताए । जिल्ला अस्पताल दमौलीमा तनहुँ लगायत छिमेकी जिल्लाहरुबाट मृगौलाका विरामीहरु दैनिक २५र३० जनाको हाराहारीमा डायलोसिसका लागि आउने हुँदा उक्त सेवा प्रभावित हुने देखिएकाले अन्य व्यवस्था गरिएको उनको भनाई छ ।
प्रजिअ अधिकारीले शुक्लागण्डकीको लागि जिपिमा संक्रमितको उपचार गरी निको पार्ने सुनौलो मौका भएको समेत बताए । ’कोरोना ढोका ढकढक्याउन आउदैन, हामी सचेत बनौ’, उनले भने ’यो शुकलागण्डकीको लागि मौका हो, अस्पताललाई गुणस्तरीय बनाउने यहि हो मौका, बिकासमा संघ तथा प्रदेश सबैको ध्यान पुगेको छ ।’ प्रजिअ अधिकारीले जिल्लामा अझै १० हजार नागरिक आउने देखिएको भन्दै क्वारेन्टिन व्यवस्थापनदेखि आइसोलेसन बनाउन थप चुनौती रहेको बताए । उनले जिपिमा नअटेको अन्त पनि राख्ने व्यवस्था गरिने र विरामी सिरीयस भए पोखरा लैजाने बताएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक बिनोद बिन्दु शर्माले अहिले स्वास्थ्यकर्मीहरु युद्धमा रहेकाले सबैले साथ र हौसला दिनुपर्ने बताए । ’हामी युद्धमा छौ, स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिम मोलेर लागेका छन’ उनले भने, ’म मेरो स्वास्थ्यकर्मीहरुप्रति गर्व गर्छु ।’ निर्देशक शर्माले जिपि कोइराला अस्पताल नेतृत्व र वातावरणको हिसाबले पनि संक्रमितको उपचारका लागि उपयुक्त स्थान भएको बताए । उनले भने बस्तीदेखि टाढा छ, विरामीलाई पोखरा लैजान सहज छ, अस्पतालको नेतृत्व सक्षम छ । यो घडीमा सबै एक भएर लाग्नु पर्ने उनको जोड छ ।
नगरप्रमुख किसान गुरुङले शुक्ला चुनौतीबाट भाग्ने खालको स्थानीय तह नभएको बताउँदै समन्वय र व्यवस्थापनमा समस्या भएको बताए । नगर प्रमुख गुरुङले आवश्यक पूर्वाधार बिना सरकारले कोभिड अस्पताल भनेर तोकेर मात्र नहुने भन्दै पुर्वाधारको व्यवस्था हुन जरुरी रहेको बताए।
’अहिलेको हामीले चुलो बीना भान्साको तयारी गरिरहेका छौ’, उनले भने ’भान्सा लागि आवश्यक सामाग्री पहिल्यै जुटाउनुपर्छ, तुरुन्तै व्यवस्थापनका लागि आग्रह गर्दछु । यस विषयमा संवेदनशील हुन जरुरी छ ।’ उनले संकटमा जिपिलाई प्रयोग गर्ने भोली गएर बेवास्ता गरेर संधैको टुहुरो हुने दिन आउनदिन नहुने बताए । उनले पनि स्वास्थ्य बीमा सम्बन्धी सेवालाई निरन्तरता दिनु पर्नेमा जोड दिदै तुरुन्तै स्वास्थ्य सम्बन्धी सामाग्री उपलब्ध गराउन समन्वय गरदिन आग्रह गरे ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button