महाधिवेशनको महामारी
विचारशून्यता नै कांग्रेसको अहिलेको ठूलो समस्या हो ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, केन्द्रले आफ्नो गृहकार्य आगामी महिनासम्म पूरा गर्नेछ । महाधिवेशनका सन्दर्भमा कांग्रेसभित्रका दर्जनौं गुट र उपगुटहरू सलबलाउन थालिसकेका छन् । स्थानीय, प्रादेशिक र संघीय चुनावमा नेकपाको दिग्विजयपछि किंकर्तव्यविमूढ भएका कांग्रेसका कार्यकर्तामा बिस्तारै चेतनाको सञ्चार हुन थालेको छ । तैपनि, चुनावमा चुकेको साहस फर्किन सकेको छैन । पराजयपछि कार्यकर्ताको मनोबल उच्च राख्न पार्टी हाइकमान्डले कुनै प्रयास गरेको देखिएन । नेकपा सरकारका यी दुई वर्षमा कांग्रेस कार्यकर्ताको राजनीतिक विस्थापन तीव्र भयो । सामान्य कांग्रेसजनका लागि समय निराशाजनक रह्यो ।
वृद्धावस्थाका कारण शारीरिक रूपले समेत अक्षम हुँदै गएका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले राजनीतिको मुख्य विन्दुबाट पर हट्ने क्रममा छन् । तर पनि, उनको सत्तामोह कम भएको छैन । उनको पदलोलुप प्रवृत्तिको फाइदा उठाएर स्वार्थी तत्त्वले प्रोक्सीमा उनको राजनीति हाँकिरहेको छ । उनले गठन गरेको अनुशासन समितिले अनुशासनको नाममा आतंक फैलाएको छ । कांग्रेसका नेता तथा सभापति देउवाका समकालीन मित्र गोविन्दराज जोशी, कैलालीका प्रभावशाली नेता पुष्कर ओझा र डडेलधुरा जिल्ला कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्ट पार्टीबाट निष्कासित भएका छन् । यी तीनै जनाविरुद्धको कारबाही सभापति देउवाको निजी निर्णय हो भन्न अलिकति पनि हिचकिचाउनुपर्दैन । आफूलाई बीपी कोइरालाको आदर्शका ‘अनुयायी’ भन्न रुचाउने सभापति देउवाले यो कसरी बिर्सिए, राणा–कांग्रेस सरकारको गृहमन्त्री पदबाट राजीनामा दिनुभन्दा पहिले बीपी कोइरालाले कार्यकर्ताको जत्था लिएर आफैंलाई मार्न आउने भरतशमशेर र उनका सहयोगीलाई माफी दिनुभएको थियो । भरतशमशेर बीपीको यो व्यवहारबाट आजीवन कृतकृत्य रहे ।
उनलाई आरजु देउवाको प्रचार गर्न मन लागेन, गरेनन् । सभापति देउवाको कोपमा त डडेलधुरा कांग्रेसका कार्यालय सचिव रामबहादुर विष्ट पनि परे । यसरी पनि असल व्यवहारको प्रारम्भ हुन सक्छ र ? सभापति देउवाले, अहिलेको प्रतिकूल अवस्थामा पनि, पार्टीलाई सरकारमा पठाउने आकांक्षा राखेको सन्दर्भ कसैबाट छिपेको छैन । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र सभापति शेरबहादुर देउवाको नियमित भेटघाटले यही कुराको संकेत गर्छ । राजनीतिलाई खुला समाजमा ल्याउन गणतन्त्रको स्थापना भएको थियो । दुर्भाग्यवश, राजधानीका विभिन्न शक्तिकेन्द्रमा हरेक दिन ओली–देउवा गठबन्धन निर्माणको सम्भावना खोजिँदै छ । अहिलेको राजनीतिको सबैभन्दा विद्र्रूप अवस्था हो यो । संसद्बाट एमसीसी पास गराउने नाममा सभापति देउवाले ओली नेतृत्वको नेकपासँग हात मिलाउने हो भने त्यसका परिणामहरू घातक हुनेछन् । कांग्रेसका नेताहरूले यो कुरा राम्ररी बुझ्नु आवश्यक छ । किनभने, कांग्रेसभित्र अहिले वैचारिक अराजकता छ । एक थरीले हिन्दुत्वको नारा लगाइरहेका छन् भने, अर्का थरी संघीय समाजविरुद्ध लागेका छन् । यथास्थितिवादको थुप्रो बनेको छ कांग्रेस । देशमा पहिचानको प्रश्न विकराल रूपले उठिरहेको छ । परराष्ट्र नीतिमा न त कुनै स्पष्टता छ, न यो आन्तरिक नीतिसँग जोडिएकै छ । यस्तो अवस्थामा पार्टी बनाउने काममा एकाग्र हुन नसकेका सभापति देउवा आफैं सरकारमा जानु वा आफ्ना गुटका मानिसलाई मन्त्री बनाउनुको अर्थ के नै रहन्छ ?सभापति देउवाले यो पनि सम्झिनुपर्थ्यो, स्वयं उनी गृहमन्त्री रहेका बेला पार्टी सभापति तथा सन्तनेता कृष्णप्रसाद भट्टराईले आफूलाई उपचुनावमा हराउन अन्तर्घात गर्ने कार्यकर्ताहरूको अपराधलाई ‘विस्मृति’ मा राखेर सबैलाई माफी दिनुभएको थियो । निश्चय पनि, सभापति देउवाबाट त्यो उदात्त व्यवहारको आशा गर्न सकिँदैन । योचाहिँ सत्य हो, सभापति देउवाको कारबाहीबाट गोविन्दराज जोशी अझ बलियो भएका छन् । यस घटनाका कारण आफूलाई राष्ट्रिय तहको नेता मान्ने, तर आफ्नै जिल्लाका सहयात्रीलाई सहमतिमा ल्याउन नसक्ने अर्का पदलोलुप व्यक्ति रामचन्द्र पौडेलको कद अझै होचिएको छ । सभापति देउवाले गुटगत राजनीतिक स्वार्थका कारण एक पुराना मित्रलाई राजनीतिक संरक्षण दिन अर्का पुराना मित्रको राजनीतिक हत्याको प्रयास गरेका छन् । आफ्नी पत्नी आरजु देउवाको चुनाव प्रचार नगरेको आरोप लगाएर पुष्कर ओझाजस्तो जनाधार भएका सज्जन नेतालाई पार्टीबाट निकालेका छन् । यो देउवाको विवेकहीनताको पराकाष्ठा हो । कुनै पनि मानिस लोकतन्त्रको कठिन मार्गमा आफ्नो अधिकारको रक्षाका लागि हिँड्छ । पुष्कर ओझा राजनीतिक नेता हुन्, कसैका कर्मचारी होइनन् ।
अब प्रश्न छ, संसद्ले संविधानमा अंकित गरेको नक्साको टुंगो कसरी लगाउँछ यो सरकारले ? प्रतिपक्षी कांग्रेसले सरकारलाई कसरी सघाउँछ ? भारतसँग वार्ता हुन्छ कि युद्ध ? प्रधानमन्त्री ओलीले आफ्नै सत्तास्वार्थको रक्षाका लागि र आफ्ना कमजोरी लुकाउने नियतले चढेको राष्ट्रवादको उन्मत्त घोडाको लगाम प्रमुख प्रतिपक्षी दलले समात्नुको कुनै अर्थ छैन । यो कार्यले कांग्रेसभित्रको विचारशून्य अवस्था छर्लंग पारेको छ । यसै पनि, कांग्रेसले नेपालका अनुदारवादी शक्तिलाई कहिल्यै रिझाएर राख्न सकेन । भारतबाट प्रशस्त फाइदा लिने अभिजात वर्गको सूचीमा कांग्रेस कहिल्यै चढ्न सकेन । गएको चुनावमा सभापति देउवाले निहित स्वार्थी तत्त्वको दौराको फेर नसमातेका भए नेपाल कम्युनिस्ट पार्टीले दुईतिहाइ मतमा कब्जा गर्न सक्ने थिएन ।संसद्मा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले सभापति देउवाले प्रधानमन्त्री ओलीसँग कहिल्यै नेपालको परराष्ट्र नीतिबारे प्रश्न गरेको सुनिएन । राष्ट्रवादको नाममा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग नेपालको नक्सामा गाभेर संविधानमा समावेश गरियो । ओली सरकारले भारतसँगको असन्तुष्टिको कारणबारे कुनै स्पष्टीकरण दिनुपरेन । नेपाली कांग्रेसको स्वत्वलाई नेकपाका नेताहरूले बढारे ।
कांग्रेसमा अहिले जो पनि धाइरहेका देखिन्छन्, तिनीहरू मूल्य र मान्यताको खोजमा आएका होइनन् । बेरोजगारी समस्याको बोझ उठाएर फाइदाका लागि नेता रिझाउन आएका कार्यकर्ताबाट पार्टी चल्दैन । कांग्रेस पार्टी पक्कै पनि मास पार्टी हो । मास पार्टी भन्दैमा यो जात्रा र मेलामा लाग्ने भीड होइन । यसका कार्यकर्ता प्रशिक्षित हुनुपर्छ । पार्टीको नीतिको व्याख्या र प्रतिरक्षा गर्न सक्ने हुनुपर्छ । उच्च तहको राजनीतिक नेतृत्वमा बसेका व्यक्तिहरूलाई कसैले बताउनुपर्ने कुरा होइन यो ।
विचारशून्यता नै कांग्रेसको अहिलेको ठूलो समस्या हो । २०३९ सालमा बीपी कोइरालाको अवसानसँगै कांग्रेसमा विचारको संकट झाँगियो । गणेशमान सिंहको शौर्य र दूरदर्शिता तथा कृष्णप्रसाद भट्टराईको निष्ठा र इमानले कांग्रेसलाई दिव्य तीस वर्षको वनबासपछि राजनीतिको केन्द्रविन्दुमा स्थापित गर्यो । तर, त्यो विजय लामो समय टिकेन । कांग्रेसमा अहिले जुन रोदन र क्रन्दन सुनिएको छ, त्यसमा गिरिजाप्रसाद कोइरालासँगै सभापति देउवा र उनका समकालीन नेताहरूको सामूहिक जिम्मेवारी छ ।
कांग्रेसका नेताहरूले कार्यकर्तासँग सधैं लाटा–लठेब्राको जस्तो व्यवहार गरेका छन् । कार्यकर्तामा आत्मबल र साहस बढाउनेभन्दा पनि दास बनाउने प्रवृत्ति देखिएको छ नेताहरूमा । कांग्रेसका सबै भ्रातृ संगठन लथालिंग छन् । कति उमेरकालाई युवा भन्ने ? कतिसम्म पढेकालाई विद्यार्थी भन्ने ? कुनै पद्धति छैन । कांग्रेसमा महिला प्रतिनिधित्व हेपिएको छ । पञ्चायतकालमा देखिनेजस्ता महिला नेत्रीहरूको बढ्दो ठस्साले समाजवादी कांग्रेसको प्रतिष्ठा धरापमा पारेको छ । कांग्रेसका सन्दर्भमा धेरै कुरा यस्ता छन् जसमाथि कांग्रेसको कार्यभार लिन चाहने नेताहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ । जहाँसम्म सभापति देउवाको प्रश्न छ, उनले अब शालीनतापूर्वक अवकाश लिनुपर्छ । सांसद प्रदीप गिरिको उनलाई सुझाव छ— पार्टी तोड्नु हुँदैन । सभापतिका रूपमा गिरिजाप्रसाद कोइरालाले कांग्रेसका लागि उपयुक्त उत्तराधिकारी छान्न सकेनन् । शेरबहादुरजीले त्यो गल्ती गर्नु हुँदैन । पार्टी चलाउने मानिस शारीरिक रूपमा पनि तन्दुरुस्त हुनुपर्छ । अब हामी त्यो अवस्थामा छैनौं ।प्रकाशित : श्रावण २२, २०७७ ०८:१८
स्राेतः इ. कान्तिपुर