तानाशाहको पनि योग्यता हुन्छ
उनका विरोधीहरूको भन्नु छ कि देशको रक्षक नै भक्षक बनेर तानाशाह हुन खोज्यो। अन्य देशहरूमा पनि यो ध्रुवीकरणको रफ्तार बढ्दो छ। समाजमा बहस छेडिइसकेका छन्। तर बहसको भाष्यलाई आ-आफ्नो स्वार्थ अनुकूल बनाउने भिडन्त चलिरहेका छन्। राजनीतिक दलमा नलागेका मानिसलाई पनि वर्तमान राजनीतिबारे सोच्ने कुनै बाध्यता खडा हुँदो छ।
चाहे जुनसुकै पक्ष वा विचार बोकेको मानिस होस्, या विचार वा वादसँग मलाई कुनै लिनुदिनु छैन भन्ने मानिस होस्, ऊ सत्यको पक्षपाती होइन, न्यायको पक्षपाती होइन, मानव-धर्मको पक्षपाती होइन भनेर यो विश्वको कुन मानिसले भन्छ होला? सबैले देशभक्तिको नै नारा घन्काइरहेका छन्, न्यायकै नारा घन्काइरहेका छन्, मानव मुक्तिका नारा घन्काइरहेका छन्।
अमेरिकाको संसद भवनमा धावा बोल्नेको आत्माले पनि भनिरहेको छ कि उसले अमेरिकाको रक्षाका लागि बलिदान गरिरहेको छ। त्यो काम गलत हो, ती हिंस्रक मानिसलाई अदालतको कठघरामा ठड्याउनु पर्छ, आजीवन जेलमा कोच्नु पर्छ भन्नेको अन्तरात्माले पनि भनिरहेको छ कि उसले अमेरिकाको रक्षाका लागि बलिदान गरिरहेको छ। सवै पक्ष ढुक्क छन् कि उनीहरू ठीक छन् र अर्को पक्ष गलत। एक पक्षले जेलाई सत्य र न्याय मानेको छ, त्यो कुराले अर्का पक्षकाको मन्यतालाई डेग चलाउन सकेको देखिँदैन।
हामी भन्छौँ— यो २१ औँ शताब्दी हो, विज्ञानको युग हो, प्रत्यक्ष प्रमाण पस्कन नसक्ने कुनै पनि विचार वा खोजलाई हामीले सत्य मान्दैनौँ। यो सूचनाको युग हो, मानिसका हात-हातमै सूचना आउने यो समयमा जति ज्ञान मानवलाई इतिहासमै कहिल्यै उपलब्ध थिएन। वैदिक दर्शन, ग्रीक दर्शन, चिनियाँ दर्शन, बौद्ध दर्शन, अब्राहमिक दर्शनदेखि लिएर एक्काइसौँ शताब्दी सम्मका सबै दर्शन घरमै बसेर निःशुल्क पढ्न पाउने पनि हामी नै हौँ।
यो अभिव्यक्तिको युग हो, आज जति अभिव्यक्तिको स्वतन्त्रता मानिसले कहिल्यै उपभोग गरेको थिएन। मानव इतिहासमा मानिसका लागि आजजति भौतिक सुख, सुविधा र मुक्ति पनि कहिल्यै प्राप्त थिएन। हामी भन्छौँ, यो कानूनी राज्यको युग हो, सबै मानिस कानुनको अधिनमा हुन्छन्. रङ्कलाई लाग्ने कानुन राजालाई पनि लाग्छ। सोचौँ, हामी कोभन्दा को कम छौँ?
फेरि यही सुन्दर मानेको समाजमा मानिस मानिससँग क्रुद्ध छ; किन? मानिस नै मानिसभन्दा विशेष छु भन्छ, किन? मानिसबाट मानिस नै डराउनु पर्ने भएको छ, किन? हामीलाई मुक्त बनाउने ठेक्का लिएका सङ्गठित मानिससँग चोर, डाँकासँग भन्दा पनि बढी डराउनुपर्ने भएको छ, किन? आफ्नो रक्षा गर्न खटाएको आफ्नो पहरेदारसँग आफैँ डराउनुपर्ने भएको छ, किन? शान्तिको यात्रामा गौरवसँग लेफ्ट-राइट मार्च गरिरहेको छ भनेको समाज नै, ब्यूँझेर हेर्दा, अशान्तिको फेरोमा लपेटिइरहेको छ, किन?
राजनीतिमा सामेल भइसकेकाहरूले झगडाको भाष्यलाई आफ्ना अनुकूल बनाउन खोज्नु के अनौठो भयो र! तर लाग्दछ, कतै बाँकी समाज पनि ती प्रत्याशीहरूलाई आ-आफ्ना तुलामा हालेर जोख्दै कुन गह्रुङ्गो र कुन हलुङ्गो छ भनेर छुट्याउन व्यस्त बनेको त होइन? लाग्दछ, आफूलाई नेताको आवरण रोज्ने क्रममा नेतामा हुनुपर्ने गुण खोज्न नै बिर्सिएको त होइन?
लाग्दछ, कतै सापेक्ष रूपमा राम्रो रोज्दा निरपेक्ष रूपमा राम्रो कुरालाई नै बिर्सिएको त होइन? लाग्दछ, कतै आफ्नो शरीरको यो वा त्यो रोगको निराकरण गर्छु भनेर आँटेको झोँक्की मानिसले रोगलाई चाँडो दुहाइ दिन ठूलो मात्राको औषधि खाँदा पूरै शरीर विषाक्त बनेको त होइन? लाग्दछ, हिजोका थोत्रा विचार फ्याँकेर उत्कृष्ट राज्य दिन हिँडेका हाम्रा विचार जीर्ण बनिसकेर फेरि नयाँ विचारको खोज गर्न समयले झक्झक्याइरहेको त होइन?
राजनीतिमा सामेल भइसकेकाहरूले झगडाको भाष्यलाई आफ्ना अनुकूल बनाउन खोज्नु के अनौठो भयो र! तर लाग्दछ, कतै बाँकी समाज पनि ती प्रत्याशीहरूलाई आ-आफ्ना तुलामा हालेर जोख्दै कुन गह्रुङ्गो र कुन हलुङ्गो छ भनेर छुट्याउन व्यस्त बनेको त होइन? लाग्दछ, आफूलाई नेताको आवरण रोज्ने क्रममा नेतामा हुनुपर्ने गुण खोज्न नै बिर्सिएको त होइन? लाग्दछ, कतै सापेक्ष रूपमा राम्रो रोज्दा निरपेक्ष रूपमा राम्रो कुरालाई नै बिर्सिएको त होइन?
हुन त हाम्रा क्रान्तिकारी युवा उमेरमा हामीले विश्वका के के दर्शनबारे उल्था गरेका किताब पढेकै हो। यो भन्दा त्यो दार्शनिक ठूलो, त्यो भन्दा त्यो झन् ठूलो भनेर विश्वमा स्थापित ठूला मूल दर्शन र तिनले फलाउन खोजेका अमृतफलमध्ये यो वा त्यो फल रोजेर खान चाहेकै हो। प्लेटो वा महाभारतलाई झीना-मसिना वा पाइन लगाउन बाँकी नै रहेका दर्शन भनेर पनि मानेको हो।
तर आज फेरि आफू बादशाह बनिसकेपछि आफ्ना लुगा हेर्दा कतै हामी पनि नाङ्गै त रहेनछौँ भनेर सोच्नुपर्ने भएको छ। आज फेरि प्लेटोलाई पढ्दा, आज फेरि महाभारतलाई पढ्दा लाग्छ—कतै युवा हुँदा हाम्रो शरीरमा जस्तो शारीरिक उन्माद थियो त्यस्तै हाम्रो उर्लँदो उभारको चिन्तन पनि बढि हौसिएर प्रज्ञाले सजिन नसकेको त थिएन? कतै सही प्रणालीद्वारा भन्दा सही व्यक्तिलाई चुनेर त्यो व्यक्तिद्वारा मुक्त बनेर स्वर्गको श्वास फेर्ने सपनाले हामी भित्र घर गरेको त थिएन?
कतै धैरैजनाले जसलाई भोट हाले उही देवता हुन्छ भनेर मान्न थालेका हामीले, जसरी चुनिएका मानिसले ग्रीसमा दार्शनिक सोक्रेटसको हत्या गरेका थिए त्यसरी, सत्यलाई प्रमादद्वारा दबाउने बनेका त छैनौ? कतै विरोधीका वा अरू कसैका कुरा नसुन्ने सर्वसत्तावादी नेता जन्माउने हामी नै त होइनौँ?
कतै जनताले हालेका भोटमै सत्य-असत्य लेखिएको ठानेर चुनाव जितेको मानिसलाई कसैले अङ्कुश लगाउन पाउनु हुँदैन भनेर कुर्लने पनि हाम्रै चेतना त होइन? वैधानिक कुर्सी पाइसकेपछि विरोधीका कुरा सुन्नु पर्दैन, मनचाह काम गर्न पाउनु पर्छ भन्ने हामी होइनौँ? हामीले कहिल्यै विचार गर्यौँ अङ्कुश नलगाएको शक्तिलाई नै निरङ्कुश भनिन्छ भनेर?
हेर्दै जाँदा यस्तो लाग्दै छ कि ट्रम्प् र बाइडेन् रोज्ने धुनमा अमेरिकाले सत्यलाई रोज्न बिर्सेको छ। अन्य-अन्य राष्ट्रको शान्ति-अशान्ति आफ्नो अनुकूल बनाउने अमेरिकाले आफ्नो शान्तिलाई खोज्न बिर्सेको छ। अरूका तानाशाह ढाल्न हिँडेको अमेरिकाले आफ्ना तानाशाहलाई फाल्न बिर्सेको छ।
अनि त्यस्तै छ हाम्रो देश नेपालको व्यथा। अरूका हिटलरबाट सतर्क गराउने नेपाली नै आफ्ना हिटलरलाई ‘सच्चा राजनेता’ मान्न तम्सेको छ। अनेकौँ विचारका मानिसलाई जोड्दै एउटै यात्रामा हिँडाउने अर्कै देशका गान्धी र मण्डेला चिनेको उसले एउटै बथानका मानिसलाई झुण्डमा फोरेर एक-आपसमा जुधाउन सक्ने नेतालाई वाह-वाह गर्दै पछ्याउने भएको छ। एउटै बथानमा मिसाएका गोरुलाई फेरि बथान बथानमा छरेर आपसमा जुधेर मर्न सिकाउने गोठालालाई सर्वोत्तम गोठालो ठान्ने बनेको छ।
अर्थात् जर्मनहरूलाई नै दश समूहमा बाँडेर आपसमा जुधाउन जान्नेलाई हिटलर बनाउन तम्सेको छ। हिटलरसँग पनि ‘मेन क्याम्फ’ हुन्छ र बनेको सङ्गठनमा धेरै भन्दा धेरैलाई गोलबन्द गर्ने साङ्गठनिक कला हुन्छ भन्ने हेक्का राख्न बिर्सेको छ। महाभारत कथामा जरासन्धको शरीरझैँ आफ्नो शरीर चोइटिएर आफैँ फ्याँकिँदा “पिलो फ्याँकिएको हो” भन्न सक्नुलाई बहादुरी ठान्ने भएको छ।
अर्थात् आफ्नै गर्धनमा आफैँ बञ्चरो हान्नुलाई कायरता नमानेर बहादुरी मानिएको छ। अर्थात् तानाशाहको पनि योग्यता हुन्छ भन्ने ख्याल नै नगरी हामीलाई तानाशाही दिन कुनै समूह खटेकै छ, उसले आफूजस्तो शक्तिशाली कोही छैन, आफूजस्तो लोकप्रिय कोही छैन, आफूजस्तो “इन्टेलिजेन्ट” र “बाठो” कोही छैन भनेर आफैले भनिरहेको छ— इदि अमिनले झैँ, भलै लोकवासीले मनमनै उपहासको हाँसो हाँसिरहेका किन नहुन्। यहुदीहरूको आलोचनाको भाष्य कसरी रच्ने भनेर जान्नुलाई नै हिटलर हुने पर्याप्त योग्यता मानेर हौसिएको यो समूहले आलोचकहरूलाई ललकारिरहेको छ।
जसरी साउन महिनामा सानो खहरेमा पनि भेल आउँछ त्यसरी नै मानिसको समाजमा पनि समय समयमा कुनै पागलपनको भेल आउने गर्छ। अझ भनौँ, साउनको नदी झैँ मानिसको समाज पनि बहुलाउन सक्छ। सम्झौँ, आज शान्त देखिने जर्मन र जापानीहरू पनि कहिल्यै बहुलाएका थिए। त्यस्ता तानाशाहीका बहुलाहा भेल आउँदा भेलमा मिसिने सवै अवयवहरूले त्यही भेललाई नै अझ ठूलो भेल हुन सघाइरहेका हुन्छन्। त्यो अन्धाधुन्ध बग्ने बाढीमा नै होमिन चाहने जे र जो हो त्यो त्यहाँ हेलिन्छ नै।
तर त्यसको कोही दर्शक पनि हुन्छ भन्ने कुरा बाढीमा हेलिएकालाई थाहा हुने गर्दैन। त्यसैले जब त्यो साउनको भेल सकिएपछि त्यो बौलाहा नदी पनि सुस्ताउन र सङ्लिन बाध्य हुन्छ, त्यो बेला पहिले बाढीमा हेलिएर पनि बचेखुचेकाहरूले नयाँ वास्तविकता देख्न थाल्छन्। त्यसैले चलाख नेताको लहैलहैमा लाग्नेले दर्शनको भाष्य बनाए भनेर हामीले दार्शनिक चिन्तन गर्न छोड्नु हुँदैन।
नेताले विज्ञानको अन्तिम सीमा निर्धारित गरिदिए भनेर हामीले विज्ञानलाई अपनाउन छोड्नु हुँदैन। हामी सचेत दर्शक बन्न छोड्नु हुँदैन। दर्शक बन्ने बहानामा मूकदर्शक बन्नु हुँदैन। तानाशाहहरूका कथाहरू सुनाउन छोड्नु हुँदैन। तानाशाहीले आक्रान्त पारिनेहरूका कथाहरू सुनाउन छोड्नु हुँदैन। बाढीको मौसममा पनि खडेरीका र खडेरीको मौसममा पनि बाढीका कथा सुनाउन छोड्नु हुँदैन।
समाजका तमाम उतार चढावहरूका समयमा समाजलाई भवितव्यबाट जोगाउने तत्त्व नै नागरिक सचेतना हो भन्ने जानेर त्यसलाई जीवन्त राख्नुपर्छ। संयोगवश हाम्रा वर्तमान तानाशाहले नागरिक सचेतना घट्दो नभएर बढ्दो रहेको समयमा आफ्नो वास्तविक स्वरूप प्रदर्शन गरेका हुनालेउनका मैनको दरवार छिटै नष्ट हुने निश्चित छ।
(लेखक राष्ट्रीय आविष्कार केन्द्रका बोर्ड सदस्य, नेपाल खुला विश्वविद्यालयका संस्थापक अभियन्ता तथा २०७६ मा प्रकाशित “पूर्वीय दर्शनको पुनर्व्यख्या”का लेखक हुन्। इञ्जिनियरिङमा विद्यावारिधि गरेका उनी दुई दशक यता पूर्वीय दर्शनको खोज र अनुसन्धानमा लागेका छन्।)
स्राेतः देश सञ्चार