breakingसमाचारविचारवी पी विचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ६,३२० जनाले गरे यात्रा, व्यापार शून्य

२९ साउन ५ गते

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनाको अवधिमा वैदेशिक व्यापार ‘शून्य’ भएको छ ।

५ साउन, काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनाको अवधिमा वैदेशिक व्यापार ‘शून्य’ भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार यो भन्सार विन्दुबाट अहिलेसम्म व्यापारिक प्रयोजनका सामग्रीको आयात-निर्यात भएको छैन ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीका बेला कूटनीतिक छुटमा केही सामान आएका थिए,’ उनले भने, ‘ती सामान फिर्ता पनि भए, ती भन्सार छुटका सामान थिए, अन्य सामानको आयात/निर्यात भएको छैन ।’

विमानस्थल यात्रुको आवतजावत मात्र हुने क्षेत्र नभएर वैदेशिक व्यापार गर्ने थलो पनि हो । तर, सरकारले विमानस्थलको उचित प्रवर्द्धन गर्न नसक्दा अझै पनि व्यापारीहरु यहाँ आकर्षित भइसकेका छैनन् ।

त्यसो त अहिले यो विमानस्थलमा जजिरा एयरवेजले मात्र उडान गरिरहेको छ । यो कम्पनीले साताको तीन उडान गर्छ । जजिराले कतारको दोहाबाट कुवेत हुँदै भैरहवामा उडान गर्छ । यस रुटमा वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने यात्रुको संख्या अधिक रहेका कारण वैदेशिक व्यापारसँग सम्बन्धित वस्तुको व्यापार हुन नसकेको हो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक व्यापारको मुख्य बिन्दु मध्ये एक हो । आर्थिक वर्ष २०७८/७९ को जेठसम्म यो विमानस्थलबाट १ खर्ब ९२ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १०.९४ प्रतिशत हो । भन्सार बिन्दुमध्ये सबैभन्दा धेरै आयात वीरगञ्जबाट हुन्छ । यस भन्सार बिन्दुबाट कुल ३६.३७ प्रतिशत आयात हुन्छ । त्रिभुवन विमानस्थलबाट जेठ मसान्तसम्म २९ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको १५.६२ प्रतिशत हो ।

सुन र टिभीबाट २ लाख राजस्व संकलन

त्रिभुवन विमानस्थलमा जस्तै यस विमानस्थलमा समेत यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन ल्याउने क्रम भने देखिएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख ढकालका अनुसार यात्रुले तोकिएको परिमाणभन्दा बढी (भन्सार तिरेर निस्कन सक्ने गरी आएको) सुन र तीन वटा टेलिभिजनबाट २ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

वैदेशिक रोजगारीबाट फर्कंदा ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा कुनै शुल्क तिर्नु पर्दैन । तर, त्यो भन्दा बढी क्षमताको टेलिभिजन ल्याउँदा भने भन्सार महसुल तिर्नुपर्छ ।

६,३२० यात्रुले गरे यात्रा

दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय यात्रुको संख्या भने संतोषजनक रहेको छ । १ जेठमा उद्घाटन भएको यो विमानस्थलमा असार मसान्तसम्म ६३२० जना यात्रुले उडान/अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको तथ्यांक अनुसार दुई महिनामा २ हजार ९२३ यात्रु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । नेपालबाट ३ हजार ३९७ जना यात्रु जजिरामार्फत विदेश उडेका छन् ।

सेप्टेम्बरदेखि नयाँ कम्पनी थपिंदै 

भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालका अनुसार आगामी सेप्टेम्बरबाट उडान गर्ने गरी विज एयरले अनुमति प्रक्रिया थालेको छ ।

आबुधावीबाट भैरहवामा साताको तीन उडान गर्ने गरी यो कम्पनीले अनुमति प्रक्रिया थालेको दाहालले जानकारी दिए ।

‘सम्भवतः ३० सेप्टरम्बरदेखि सो कम्पनी भैरहवामा आउँछ,’ उनले भने । भैरहवाबाट उडान सुरु भएपछि वैदेशिक रोजगारीमा खाडी मुलुक जाने यात्रुलाई काठमाडौं आउनु पर्ने बाध्यता हटेको हो ।

nema
Show More

Related Articles

Back to top button