breakingविचार

वैज्ञानिक अनुसन्धान, सहकार्य र हाम्रो विकास

twitter sharing button
messenger sharing button
whatsapp sharing button

डा. प्रशान्तध्वज अधिकारी

अनुसन्धान आफैंमा एक चुनौती तर गर्न सके अवसर भएको क्षेत्र हो । आजको दिनसम्म आइपुग्दा धेरै नेपाली स्वदेश तथा विदेशमा अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपालमा अनुसन्धानको यात्रा त्यति साह्रो लामो छैन । पहिलाको रोनास्ट तर हालको नास्टमा र नार्कमा सीमित भएको वैज्ञानिक अनुसन्धान हाल विश्वविद्यालयको केही विभागहरू हुँदै प्राइभेट तहसम्म आइपुगेको छ । तर पनि हामीले सोचेजस्तो प्रतिफल पाउन सकेका छैनौं । मेडिकल तथा कृषि जस्ता क्षेत्रमा केही उच्च कोटीका कामहरू भएका छन् । सरकारले लगानी गरेको नास्टबाट केही उपलब्धिहरू हासिल भएको छ । यसबाहेक राम्रो प्रतिफल पाउन अझै मिहिनेत तथा सहकार्यको खाँचो आवश्यक छ ।

यति हुँदाहुँदै पनि हाम्रा अनुसन्धानका गतिविधि भैरहेका छन् । युवापिंढीहरू माझ आकर्षण पनि केही हदसम्म बढ्दै गएको छ । यो हामीहरूको लागि सकारात्मक पाटो हो । कुनै पनि क्षेत्रमा अवसर पाउनको निम्ति कडा परिश्रम आवश्यक पर्छ नै । अझ हामी जस्ता सीमित स्रोतसाधन भएका देशका नागरिकलाई अनुसन्धानको व्यावहारिक सिकाइमा एक किसिमको दबाबको महसूस त छँदैछ ।

त्यहीमाथि साधन र स्रोतको कमिले गर्दा काम गर्न, सक्न वा सिक्नमै पनि ठूलो चुनौती छ । (साधन भनेर यस लेखमा हाइटेक मेसिनरी यन्त्रलाई चित्रित गरिएको हो) । तर विदेशको प्रयोगशालामा साधन हुँदाहुँदै पनि सानाभन्दा साना साधनसँग हामी अस्तव्यस्त हुन सकिरहेका छैनौं । हुन त हामीसँग सैद्धान्तिक ज्ञान भएकोले सिक्न समय त लाग्दैन, तैपनि कामको सिलसिलामा तिमीले यो तिम्रो देशमा सिकेका थिएनौं भन्दा कता कता मनमा चसक्क पार्छ ।

अहिले अवस्था केही हदसम्म भए पनि सुधार भए जस्तो लाग्छ हामीकहाँ पनि । तर अझ पनि साधन हामीकहाँ पर्याप्त छैन । जुन अझै पनि चुनौतीको रूपमा रहिरहेको छ । जति चुनौतीलाई छिचोल्दै गयो, उति नै अवसर सिर्जना हुने हो ।हाम्रो देशमा करोडौंका हाइटेक साधनहरू होलान्, के तिनीहरूलाई परीक्षणको चाप पुगेको छ होला त ? कुन संस्थामा कुन साधन छ । त्यसको सही जानकारी चाहे सरकारी निकायका हुन् वा प्राइभेट वा कम्पनी स्तरका हुन्, अनुसन्धानकर्ता माझ पुग्न सके र यसको पहुँचलाई सर्वसुलभ तरिकाबाट उपयोग गर्न दिए वैज्ञानिक अनुसन्धानको लागि सानोतिनो भए पनि राहत हुनेथियो

नेपालमा वैज्ञानिक अनुसन्धान र भएका गतिविधिहरू अझ चलायमान बनाउन स्रोत र साधनको सही उपयोग तथा आयतन बढाउँदै लैजानुपर्ने देखिन्छ । हुन त अनुसन्धान क्षेत्र एक महासागर नै हो । विश्वका मै हुँ भन्ने विकसित राष्ट्रले पनि साधनको प्रयोग गर्दा सहकार्यलाई अपनाएको देखिन्छ । स्वयम् यो पंक्तिकार पनि आफूले अनुसन्धान गर्ने ठाउँमा साधन नभएकोले घन्टौं रेलको यात्रा गरी आफ्नो नमूनाको परीक्षण गरी आएको अनुभव छ । कोभिडको समयमा सहकार्यको महत्व र यसको राम्रो अभ्यास गर्ने मौका हामीले पनि पायौं । शुरुका दिनमा हामीकहाँबाट नमूनाको परीक्षण गर्न विदेशी प्रयोगशालामा पठाउने चरणबाट टेकु अस्पताल हुँदै अहिले नेपालको धेरै भूभागमा टेस्ट गर्न सक्ने हैसियतमा हामी पनि पुगिसकेका छौं ।

साधनको सही सदुपयोग नमूना परीक्षणको चापमा भर पर्छ । जुन अहिले नेपालमा पीसीआर मेसिनको प्रयोगबाट अनुभव भएको हुनुपर्छ । तर जति यी मेसिन भित्रिएको छ, के तिनीहरूलाई परीक्षणको चाप पुगेको छ वा अधिकतम् प्रयोग गर्न सकेका छौं त ?

कुनै पनि हाइटेक साधनको उपयोगिता हामीले गर्न सक्ने परीक्षण र यसबाट प्रायःको डाटाको अध्ययन नै हो । हाम्रो देशमा करोडौंका हाइटेक साधनहरू होलान्, के तिनीहरूलाई परीक्षणको चाप पुगेको छ होला त ? कुन संस्थामा कुन साधन छ । त्यसको सही जानकारी चाहे सरकारी निकायका हुन् वा प्राइभेट वा कम्पनी स्तरका हुन्, अनुसन्धानकर्ता माझ पुग्न सके र यसको पहुँचलाई सर्वसुलभ तरिकाबाट उपयोग गर्न दिए वैज्ञानिक अनुसन्धानको लागि सानोतिनो भए पनि राहत हुनेथियो । हुन त यस्ता साधनको स्तर हेर्दै प्रति परीक्षण अनुसार शुल्क लिन सक्ने विधि पनि बसाल्न सकिन्छ । जसले गर्दा साधनको अधिकतम उपयोग अनि यसबाट केही हदसम्म आम्दानी पनि सम्बन्धित निकायलाई हुनसक्ने वातावरण बन्न सक्छ ।

वैज्ञानिक अनुसन्धानमा नमूनाको तयारी गर्ने विधि केही हदसम्म खर्चको हिसाबले थाम्न सकिने स्थिति भए पनि, यसको विस्तृत अध्ययन तथा उपयोगिताको जानकारी लिन हाइटेक साधनहरू चाहिने भएकोले हाम्रा खोजलाई सही मूल्यांकन गर्न नसक्ने अवस्था आउन सक्छ । हामीलाई मार पर्ने नै यहींनेर हो ।

अब यस्ता साधनहरू हामीले एकै ठाउँमा जम्मा पार्छु भन्न सकिंदैन । जुन हामी जस्ता अल्पविकसित राष्ट्रले खर्चको हिसाबले धान्न सक्ने अवस्था नै छैन । त्यसैले महङ्गा साधन किन्दा हाम्रा ल्याबहरूमा उही प्रकृतिका नपरून् । अनुसन्धानलाई अघि बढाउँदा सबै निकायले सहकार्य गर्न सके र आवद्ध संस्थाले युवापिंढीहरूलाई अगाडि बढाउने उत्तरदायित्व सम्झे, यसमा अझ अघि बढ्न सहज होला । तर यी सब संस्थाहरूबीच समन्वयको खाँचो छ ।

यी संस्थाहरूलाई राम्रोसँग जोड्न सके, हाम्रा अनुसन्धानलाई अघि बढाउन सानोतिनो भए पनि टेवा मिल्ने थियो । बस आवश्यक छ- निर्माण गर्न पुलको, जसले यी संस्थाहरूलाई जोडिदेओस् ।

हाम्रा निवर्तमान प्रधानसेनापतिले आफ्नो अवकाशपछिको जीवन कृषिमा बिताउने उद्घोष गर्नुभएको थियो । जहाँसम्म लाग्छ- अधिकांशले अवकाशपछि केही समय यतातिर नै ध्यान दिन सके बाँझो जमीनको सदुपयोग हुनसक्छ । यसबाट कृषि उत्पादन बढाउन तथा खाद्यान्नमा आत्मनिर्भर हुनको लागि सानोतिनो भए पनि मद्दत अवश्य नै मिल्नेछ । लामो समय पेशामा रहेकाहरूसँग स्रोत तथा चिन्तन दुवै हुने भएकोले यी दुवै चिजलाई सदुपयोग गर्न सके वा उहाँहरूमध्ये केही मात्रले पनि आफ्नो चिन्तन सफल गराउन सके ठुलो कृषि उत्पादन उद्योग स्थापना हुनसक्ने अवस्था आउन सक्छ । यसबाट रोजगारीको ढोका पनि खुल्न सक्छ ।

त्यसैले यो पनि अवकाशप्राप्त व्यक्तिहरूको लागि एककिसिमको परीक्षण नै हो । किनकि यो पनि एक किसिमको व्यावहारिक वैज्ञानिक अनुसन्धान नै हो । अर्कोतिर उहाँहरूले, यो बाटो समात्नु भनेको निरोगी हुने बाटोतिर जानु हो । जसले उपचारको नाममा हुने राज्यको करोडौं रुपैयाँ खर्च जोगाउन सक्छ । अर्कोतिर अवकाशपछि ओगटिएका राज्यका केही स्थान भए पनि ऊर्जाशील युवाहरूको हातमा जाने मौका आउन सक्छ ।

एशियाका हाल उच्च दरमा आर्थिक विकास गर्ने केही राष्ट्रले नागरिकलाई शुरुमा राज्यले नै लगानी गरी विदेशमा अध्ययन अनुसन्धानमा पठाउन शुरु गर्न थाले । तिनीहरूको सीपलाई राज्यले सदुपयोग गर्‍यो । त्यही भएर उनीहरूले विकासको गति समाते । जुन काम अहिले आएर ती राष्ट्रहरूमा केही कमी भए पनि निरन्तरता चाहिं अझै पनि छ ।

अझ अर्को शब्दमा भन्नुपर्दा आज तिनीहरूकोमा स्थिति त्यो छैन । बरु अरु राष्ट्रका नागरिकहरू अबको समयमा उनीहरूकोमा आउनुपर्ने अवस्था पनि विस्तारै सिर्जना हुँदैछ । हामीकहाँ आफ्नै बलबुतामा विदेशमा वा स्वदेशमा अध्ययन अनुसन्धानमा लागेका वा विदेशबाट काम गरी फर्केका, काम जुनसुकै क्षेत्रमा भए पनि, तिनीहरूले सीप लिएर आएका छन् । त्यो सीपलाई राज्यले कसरी सदुपयोग गर्छ ?

यो परीक्षण राज्यले सफल बनाउन सके फाइदा हुने राज्यलाई नै हो, यो पनि राज्यका लागि सामाजिक अनुसन्धान हो । हुन त सबल चिजमा राज्य जहिले पनि दाहिना हुनुपर्छ । त्यो भए राज्यका संस्थाहरू राम्रा हुनसक्छन् । संस्थाहरू बलिया र राम्रा भए समाज राम्रोसँग विकास-निर्माण हुने बाटोमा जान्छ । समाज विकसित बने देश त्यसै बन्छ । देश बने हामीहरू पनि त्यसै बनिहाल्छौं ।

साभार ः अनलाइन खबर

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button