विचार

गिरिजाबाबुको कुरा सुनेर म छाँगाबाट खसे जस्तो भएँ, उहाँप्रति सम्मान बढ्याे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अमिक शेरचनले अन्तरिम सरकारका बेलामा गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री भएका बेलाको स्मरण सुनाएका छन् ।
‘विश्व स्वास्थ्य संगठनको एउटा कार्यक्रममा सहभागी भइरहेका बेला तुरुन्त आउनुपर्‍यो भन्नुभयो’, अनलाइन खबरले ०७५ कात्तिक ५ गते प्रकाशित गरेको अन्तर्वार्तामा शेरचनले भनेका छन्, ‘म उहाँको घर पुग्दा एक्लै हुनुहुँदो रहेछ । मुलुकका लागि गम्भीर संकट देखा पर्न थाल्यो भन्नुभयो ।’
शेरचनले गिरिजाबाबुलाई उदृत गर्दै भनेका छन्, ‘परराष्ट्रसम्बन्धी नीति निर्माण गर्दा दिल्लीसँग सरसल्लाह गर्नै पर्ने थालनी तँपाईले शुरू गर्नुप¥यो भन्ने प्रस्ताव भारतले गरेको रहेछ । भारतले भुटानी करणको प्रस्ताव राख्यो । मेरो विचारमा यो अल्टिमेट्ली सिक्किमीकरणको प्रस्ताव हो ।’
‘सिक्किमीकरणको त्यो प्रस्ताव तीन पटकसम्म मन्त्रिपरिषद बैठकमा प्रवेश गरेको मलाई याद छ’, उनले भने, ‘मलाई गिरिजाप्रसाद कोइराला राजनीतिक रुपमा इमान्दार मात्रै होइन, नम्बर वन देशभक्त पनि रहेछन् भन्ने लाग्यो ।’
‘यसमा तपाईको अहम भूमिकाको खाँचो छ । मेरो क्याबिनेटमा तपाईलाई मात्रै विश्वास गर्नसक्छु यो कुरामा भन्नुभयो’, गिरिजाप्रसादसँग भएको कुराकानी स्मरण गर्दै शेरचनले भने, ‘तँपाईले पनि एक, दुई जना विश्वासिलो मान्छे बोलाउनु । म पनि एक दुई जना विश्वासिलो साथीहरू बनाउँछु । अनि एउटा नीति बनाउनुपर्‍यो ।’
‘भारतले यस्तो प्रस्ताव राखीसकेपछि त हामीले दबाव दिनैपर्छ भन्दा नभन्दै उहाँले म त कसैलाई बोलाउँदिनँ भन्नुभयो’, शेरचनले भनेका छन् ।
‘मैले किन भनेको ? उहाँले यो नेपाली कांग्रेस पार्टी भए पो बोलाउने । नाम मात्रै नेपाली कांग्रेस हो । यहाँ त भारतीय कांग्रेस, दरबारिया कांग्रेस, अमेरिकन कांग्रेस, पाकिस्तानी कांग्रेस, हुँदाहुँदा अहिले त चाइनिज कांग्रेस पनि छन् भन्नुभयो’, शेरचनले भनेका छन्, ‘सबै कांग्रेस भएपछि एक सेकेन्डमा सबै ठाउँमा सूचना पुग्छ, म त बोलाउँदिनँ भन्नुभयो ।’
उनले भने, ‘डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलालाई त बोलाउनुस् भनेको उहाँले मान्नुभएन ।’
‘मेरो सुझाव मान्नुहुन्छ भने तपाईले पनि कसैलाई नबोलाउनुस् भन्नुभयो’, शेरचनले भनेका छन्, ‘हाम्रो पार्टीका साथीहरूको विषयमा पनि उहाँलाई केही सूचना थियो होला ।’
‘मन्त्रिपरिषद् बैठकमा यस्तो प्रस्ताव आयो भने तपाईले विरोध गर्नुस्’, उनले भने, ‘यो प्रस्तावमा छलफलै नगर्ने वातावरण बनाउनु पर्छ भन्नुभयो ।’
‘नभन्दै मन्त्रिपरिषदमा यो प्रस्ताव आयो । र, मैले गिरिजाबाबुसँग भएको पूर्वसहमति अनुसार अहिलेको मुख्य अजेण्डा शान्ति प्रक्रिया हो । त्यसैले एक सुत्रीय शान्ति प्रक्रियाको अजेण्डामा केन्द्रित होउँ’, त्यस बेला क्याबिनेटमा भएको छलफलबारे शेरचनले भनेका छन्, ‘शान्ति स्थापना भएपछि विकास, आर्थिक वा अरु कुरामा छलफल गरौंला भने । त्यसपछि गिरिजाबाबुले अमिकजीको कुरा ठीकै हो अहिले छलफल नगरौं भन्नुभयो ।’
‘अर्को मन्त्रिपरिषद् बैठकमा फेरि उही प्रस्ताव आयोे । हामीले त्यसरी नै डिफ्युज गर्‍यौं । सिक्किमीकरणको त्यो प्रस्ताव तीन पटकसम्म मन्त्रिपरिषद बैठकमा प्रवेश गरेको मलाई याद छ’, उनले भने ।
‘त्यतिबेला गिरिजाप्रसादले अर्को पनि बचन लिनुभएको थियो । म बिरामी छु । कुनै पनि बेलामा उपचारको खाँचो पर्नसक्छ’, उनले भने, ‘साथीहरूले भारतमा लगेर मार्छन् । उनीहरू उपचार गर्न लैजान्छन् अनि पक्कै मेरो साथ भारतमा जान्छ ।’
‘मेरो अन्तिम अवस्थामा भारत लान खोजियो भने तपाईंले रोक्नुस् भन्नुभयो । नेपालकै माटोमा मर्न चाहन्छु भन्ने उहाँको भनाइ थियो’, शेरचनले भनेका छन् ।
‘गिरिजाबाबुको निधन हुनुभन्दा केही समय पहिला शिक्षण अस्पतालमा उपचार चलिरहेको थियो । एअर एम्बुलेन्समा राखेर भारत लैजाने तयारी पनि चलीरहेको थियो’, उनले भने, ‘गिरिजाबाबुलाई भेटेर त्यो कुरा भनौ भनेर सोधेँ ? उहाँले भन्नुहोस् भन्ने इशारा गर्नुभयो ।’
‘त्यसपछि मैले गिरिजाबाबु विदेश जान्न भन्नुभएको छ । त्यहाँ रामचन्द्र पौडेलजी लगायत सबै हुनुहुन्थ्यो’, शेरचनले भनेका छन्, ‘छोरीलाई समेत नभनेको कुरा तपाईलाई मात्रै भन्नुभएछ भनेर सबैले अचम्म माने । तर, अन्तिम इच्छा विपरीत उहाँलाई भारत लगिएन । र उहाँको नेपालमै निधन भयो ।’
‘उहाँ (गिरिजाबाबु) भारतपरस्त पनि होइन र देशभक्त हो भन्ने पनि प्रमाणित भयो । मलाई लाग्यो कुनै पनि नेतालाई चिन्न लामो समयको सहकार्य आवश्यक पर्दो रहेछ’, शेरचनले आफ्नो अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘कुनै पनि नेताको विषयमा एकचोटी धारणा बनाइहाल्न नहुने रहेछ भन्ने लाग्यो ।’
गिरिजाबाबुबाट भएकाे विश्वास र भनिएका गाेप्य कुराहरूबाट आफू झसँग भएको शेरचनले बताएका छन् । त्यस बेला परराष्ट्र मन्त्री खड्गप्रसाद ओली थिए । ओलीले नै सिक्किमीकरणको त्यो प्रस्ताव तीन पटकसम्म मन्त्रिपरिषद बैठकमा प्रवेश गरेको शेरचनले नाम उल्लेख नै नगरी खुलासा गरेका छन् ।
रिपब्लिका दैनिकबाट साभार

nema
Show More

Related Articles

Back to top button