breakingविचारवी पी विचारसमाचार

सन्दर्भ: राष्ट्रिय मेलमिलाप दिवस

बीपी मार्गबाट विचलित नेपाली काङ्ग्रेस

डा. वासुदेव खनाल

facebook sharing button
twitter sharing button
linkedin sharing button
बीपी मार्गबाट विचलित नेपाली काङ्ग्रेस
inc
inc
basudev_foto

बीपीले प्रतिपादन गरेको आर्थिक नीति आफू सत्तामा रहेको अवस्थामा पनि नेपाली काङ्ग्रेसले लागू गर्न सकेन । जननायक बीपी कोइरालाको उद्घोष थियो– नेपाली काङ्ग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूलभूत उद्देश्य बनाएर अगाडि बढेको अवस्थामा नेपाली जनताको अनुहारमा मुस्कान ल्याउन सकिन्छ । 

आठ वर्ष निर्वासनमा रहनुभएका बीपी कोइराला २०३३ साल पुस १६ गते प्रवासबाट नेपाल फर्कनुभयो । बीपी यसरी निर्वासनबाट फर्केको दिनलाई नेपाली काङ्ग्रेस तथा त्यसका शुभेच्छुक संघ संस्थाहरूले ‘राष्ट्रिय मेलमिलाप दिवस’ को रूपमा मनाउँदै आएका छन् । 

२०३० सालपछिका दिनहरूमा दक्षिण एसियाली मुलुकहरूमा उथलपुथलको नयाँ वातारवरण देखा प¥यो । स्वतन्त्र राष्ट्रको रूपमा रहेको सिक्किमको अस्तित्व समाप्त भयो । परिवर्तित सन्दर्भमा नेपालका सम्बन्धमा केही सोच्नै पर्ने परिस्थिति सिर्जना भएको यथार्थ समयमै बुझेर नेपाली काङ्ग्रेसका तत्कालीन सभापति बीपीले नेपाल फर्कने निर्णय गर्नुभएको थियो । 

दक्षिण एसियामा आएको त्यो उथलपुथलबाट नेपालमा उत्पन्न हुनसक्ने अनिष्टलाई ध्यानमा राखेर नै बीपीले त्यो निर्णय लिनुभएको थियो । बीपी एक दूरदर्शी नेता हुनुहुन्थ्यो । त्यस्तो परिस्थितिमा आफू र आफूले नेतृत्व गरेको नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू प्रवासमै रहिरहँदा हुन सक्ने अनिष्ट र राष्ट्रिय अस्तित्वमा सङ्कट उत्पन्न हुनसक्ने आकलन गर्नुभयो । यस्तो अवस्थालाई दृष्टिगत गरी २०३३ साल पुस १६ गते नेपाली काङ्ग्रेसको सभापतिको हैसियतले एउटा अपिल प्रकाशित गर्नुभयो र मुलुकका सबै राष्ट्रवादी राजनीतिक शक्तिका बीच ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वानका साथ स्वदेश प्रवेश गर्नुभयो । 

यसरी राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्नुअघि पनि बीपीले नेपाली काङ्ग्रेसका नेताहरू बीच लामो समयसम्म विचार–विमर्श र छलफल चलाउनुभएको थियो । यसरी विचार–विमर्श गर्ने क्रममा कतिपय नेताहरूले बीपीलाई उक्त समयमा नेपालमा नफर्कन सुझाव पनि दिएका थिए तथापि उहाँले त्यो स्वीकार गर्नुभएन । 

बीपीसँगै उसै दिन गणेशमान लगायतका भारतमा निर्वासनमा रहेका थुप्रै काङ्ग्रेस नेता र कार्यकर्ताहरू नेपाल प्रवेश गरेका थिए । बीपी लगायतका नेपाली काङ्ग्रेसका नेताहरूको स्वदेश आगमन नै तत्कालीन तानाशाहीका निम्ति एउटा चुनौती बन्न पुग्यो । पञ्चायती शासकले बीपी र गणेशमान सिंहलाई विमानस्थलबाटै गिरफ्तार गरेर नियन्त्रणमा लिई अनेकौँ सङ्गीन मुद्दाहरू लगाएर बन्दी बनायो ।

लामो समयसम्म प्रवासमा बसेको अनुभवका आधारमा नेपालमा प्रजातन्त्रको पुनस्र्थापना प्रवासमा बसेर हुन नसक्ने निष्कर्ष बीपीको थियो । यसले गर्दा बीपीको मेलमिलाप नीति परिस्थितिले निर्धारण गरेको प्रजातान्त्रिक संघर्षकै अर्को रूप थियो । तत्कालीन राज्यव्यवस्था र कानूनी राज्यव्यवस्था अनुसार मृत्युदण्ड पनि हुनसक्ने प्रकृतिका अनेकौँ मुद्दा बीपीमाथि पञ्चायती सरकारले लगाएको थियो तथापि बीपीले त्यसको कुनै पर्वाह गर्नुभएन । तत्कालीन पञ्चायती सरकारले बीपीलाई अदालतमा उभ्याउँदा पनि उहाँले जुन आत्मविश्वास र इमानदारी प्रदर्शन गर्नुभयो र पञ्चायती शासकले लगाएका आरोपको खण्डन गर्नुभयोे, त्यो सबै राष्ट्रिय एकताका निम्ति अमूल्य दस्तावेज बनेर रहेको छ । 

बीपी र गणेशमान आफू विरुद्ध लगाइएका अनेकौँ राजनीतिक मुद्दाहरू खेप्दै नेपालको जेलमा बस्दा नेपालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि तत्कालीन सरकारलाई दबाब पर्यो, जसले गर्दा नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि अनुकूल र उपयुक्त मनोवैज्ञानिक आधार बन्यो ।

 परिणामस्वरूप तत्कालीन राजा वीरेन्द्र निर्वाचनको माध्यमबाट ‘बहुदल कि सुधारिएको पञ्चायती व्यवस्था’ भन्ने विषयमा जनमत सङ्ग्रह गराउन बाध्य भए । कस्तो परिस्थितिमा जनमत सङ्ग्रह भएको थियो र तत्कालीन पञ्चायती शासकहरूले जनताको स्वतन्त्र मताधिकारलाई कुण्ठित हुने गरी कसरी तर्र्साए भन्ने कुरा पनि कसैको सामु छिपेको छैन । एकदलीय व्यवस्थाका पक्षधर तत्कालीन कम्युनिस्ट पार्टीका केही घटकहरूले पञ्चायतको पक्षमा मतदान गर्न गरेको आह्वानले पनि त्यसमा असर परेको थियो । 

जनमत सङ्ग्रहको परिणाम निर्दलीय पञ्चायत भए पनि त्यसले प्रजातन्त्र पुनस्र्थापनका निम्ति महत्वपूर्ण आधारभूमि तयार    गर्यो । परिणाम स्वरूप २०४६ सालको जनआन्दोलनबाट नेपालमा प्रजातन्त्रको पुनस्र्थापना हुन सकेको हो ।

तत्कालीन राणा शासकलाई नेपाली जनताको स्थितिको बोध गराउने उद्देश्यले कृष्णप्रसाद कोइरालाले फाटेका दुई जोर कपडा पार्सल गरेर अदम्य साहस देखाएका कारण उनी परिवारसहित निर्वासित भएका थिए । आफ्ना पिताजीको त्यो साहसले गर्दा नै बीपीमा नेपालमा प्रजातन्त्र स्थापना गरेरै छाड्ने आत्मविश्वास र दृढता पलाएको थियो । 

पिताजीको एक्लो प्रयासबाट नेपालमा प्रजातन्त्र स्थापना गर्न सम्भव नभएको यथार्थ जननायक बीपीले बुझ्नुभएको थियो । यही राजनीतिक चेतनालाई मूर्त रूप दिन राजनीतिक पार्टी स्थापना गरी त्यसको माध्यमबाट प्रजातन्त्रको स्थापना सम्भव छ भन्ने लागेर बीपीले २००३ सालमा भारतको कलकत्तामा आफ्नो नेतृत्वमा ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ नामक राजनीतिक पार्टी स्थापना गर्नुभयो । 

यस्तै उद्देश्य र लक्ष्यका साथ २००५ सालमा सुवर्णशमसेरको नेतृत्वमा भारतको कलकत्तामै ‘नेपाल प्रजातन्त्र काङ्ग्रेस’ नामक अर्को पार्टी स्थापना भयो । समान उद्देश्यले स्थापित दुई पार्टी एकीकरण गरेर सङ्घर्ष गरेको अवस्थामा अवश्य पनि नेपालमा प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने निष्कर्षका साथ ती दुबै पार्टीलाई एकीकरण गरी २००६ सालमा ‘नेपाली काङ्ग्रेस’ नामक राजनीतिक पार्टीे स्थापना भएको हो ।

त्यतिबेला नेपालमा प्रजातन्त्र स्थापना गर्नु नै नेपाली काङ्ग्रेसको एक मात्र उद्देश्य थियो । आफ्नो उद्देश्य पूरा गर्न नेपाली काङ्ग्रेस एक वर्षभित्रै सफल भयो । परिणामस्वरूप २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र घोषणा भयो । 

 प्रजातन्त्र स्थापना भएको धेरै समयसम्म पनि विभिन्न बहानामा निर्वाचन हुन नसकेको र राजाले निर्वाचन टार्दै लगेको अवस्थामा नेपाली काङ्ग्रेस सत्याग्रह गर्न बाध्य भयो । परिणाम स्वरूप निर्वाचनको घोषणा भयो । नेपाली काङ्ग्रेसले तत्कालीन समयमा संविधानसभाको निर्वाचन गराउनुपर्ने कुरामा जोड दिँदै आएको थियो तर तत्कालीन राजा महेन्द्रले संसदीय निर्वाचन घोषणा   गरे । 

राजाको घोषणा स्वीकार गरेर निर्वाचनमा गएको नेपाली काङ्ग्रेसले दुई तिहाई बहुमतका साथ सरकार गठन गर्ने मौका पायो । देशमा प्रजातन्त्र स्थापना भएको एक दशकभित्रै दुई तिहाई बहुमत ल्याएको नेपाली काङ्ग्रेसको सरकारले काम गर्न थालेको डेढ वर्ष पुग्दा नपुग्दै राजा महेन्द्रले उक्त सरकार बर्खास्त गरी देशमा निरङ्कुश पञ्चायती व्यवस्थाको सूत्रपात गरे । राजाले जननिर्वाचित प्रधानमन्त्री बीपी लगायत नेपाली काङ्ग्रेसका धेरै नेता र कार्यकर्ताहरूलाई जेलमा कोचे । बीपीलाई लामो समयसम्म जेलमा बन्दी बनाए । यस विरुद्ध नेपाली काङ्ग्रेसले संघर्ष गरिरह्यो । 

जनतम सङ्ग्रहपछि २०३९ सालमा जननायक बीपी कोइरालाको मृत्यु भयो तर प्रजातन्त्र पुस्र्थापनाका लागि नेपाली काङ्ग्रेसको सङ्घर्ष रोकिएन । २०४६ सालमा नेपाली काङ्ग्रेस प्रजातन्त्र पुनस्र्थापनाका लागि सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा बामपन्थी दलहरूसँग मिलेर संघर्ष गर्ने निर्णयमा पुग्यो । फलस्वरूप २०४६ साल चैत अन्त्यमा प्रजातन्त्र पुनस्र्थापना भयो । 

वामपन्थीहरूसँग विचार नमिल्ने भएकाले उनीहरूका साथ संयुक्त रूपमा आन्दोलन गर्ने पक्षमा बीपी कोइराला सहमत हुनुहुन्थेन भन्ने कुरा उहाँद्वारा लेखिएका र व्यक्त गरिएका धेरैजसो दस्तावेजहरूमा स्पष्ट छ । यति हुँदा हुँदै पनि वामपन्थीहरूसँग सहकार्यका साथ प्रजातन्त्र पुनस्र्थापना भएपछिको पहिलो निर्वाचनमा पनि नेपाली काङ्ग्रेस नै ठूलो दलको रूपमा स्थापित भयो । फेरि सरकार गठन गर्ने जिम्मेवारी नेपाली काङ्ग्रेसले प्राप्त ग¥यो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र आन्तरिक द्वन्द्वका कारण नेपाली काङ्ग्रेसको बहुमतको सरकार पूर्ण अवधिसम्म टिक्न सकेन । यसपछिका दिनमा भएको राजनीतिक अस्थिरता अहिलेसम्म सङ्लिन सकेको छैन ।

यसबीचमा संविधानसभाका लागि दुई पटक निर्वाचन भयो । संविधानसभाले यस्तो संविधान निर्माण गरेको छ जसका प्रावधानका कारण नेपालमा कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सक्ने स्थिति देखिँदैन । 

बीपीले प्रतिपादन गरेको आर्थिक नीति आफू सत्तामा रहेको अवस्थामा पनि नेपाली काङ्ग्रेसले लागू गर्न सकेन । जननायक बीपी कोइरालाको उद्घोष थियो– नेपाली काङ्ग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूलभूत उद्देश्य बनाएर अगाडि बढेको अवस्थामा नेपाली जनताको अनुहारमा मुस्कान ल्याउन सकिन्छ । 

बीपीले प्रतिपादन गरेको मूलभूत सिद्धान्तको त के कुरा, पछिल्लो समयमा नेपाली काङ्ग्रेसले बीपीलाई पूर्णरूपमै बिर्सिएको हो कि भन्ने अनुभूति हुन थालेको छ । वर्तमानमा बीपीलाई सम्झने भनेको कुनै कार्यक्रमको प्रारम्भमा बीपीको तस्वीरमा माल्यार्पण गर्नुमा सीमित रहेको छ । 

नेपाली राजनीतिका शिखर व्यक्तित्व तथा नेपाली काङ्ग्रेसका संस्थापक सभापति बीपी कोइरालाले स्थापना गरेको नेपाली काङ्ग्रेसले भर्खरै चौधौँ महाधिवेशन सम्पन्न गरेको छ । विगतका महाधिवेशनहरूमा औपचारिकताका लागि भए पनि नेपाली काङ्ग्रेसले अवलम्बन गर्ने नीति र सिद्धान्तका बारेमा छलफल हुने गथ्र्यो । यो महाधिवेशनमा त्यस्तो कुनै छलफल भएन, केवल नेतृत्व छानियो । 

चौधौँ महाधिवेशनले नेपाली काङ्ग्रेसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउने छ भन्ने विश्वास समस्त काङ्ग्रेसजन र प्रजातन्त्रमा  विश्वास राख्ने नेपाली जनताले गरेका थिए । एउटा गतिशील पार्टीको महाधिवेशनमा पार्टीको नीति र कार्यक्रमका विषयमा महाधिवेशनमा प्रवेश नै नपाउनुले र पार्टीले अहिलेसम्म गरेको कार्यक्रममा विषयप्रवेश समेत नहुनुले बीपीका अनुयायी नेता तथा आम कार्यकर्तामा निराशा छाएको छ । 

नेपाली काङ्ग्रेसकै नेतृत्वमा नेपालको संविधान २०७२ जारी भयो । संविधानको मूलभूत आदर्शका रूपमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका सम्बन्धमा अहिलेसम्म नेपाली काङ्ग्रेसको महाधिवेशनमा छलफल भएन । भर्खरै सम्पन्न चौधौँ महाधिवेशनमा यो विषयले प्रवेश पाउने र गम्भीर छलफल हुने अपेक्षा नेपाली काङ्ग्रेसका आम कार्यकर्ता र आम नेपाली जनताको थियो । त्यो अपेक्षा निराशामा परिणत भएको छ ।

कुनै पनि राजनीतिक पार्टी क्षणिक स्वार्थले अघि बढ्नु हुँदैन भन्ने धारणा बीपीको थियो । त्यही कारणले बीपीले आफू जीवित हुँदासम्म आफ्नो अडान छाड्नुभएन, राजासँग कहिल्यै सम्झौता गर्नुभएन । वामपन्थीहरूसँग एकता गरेर प्रजातन्त्र ल्याउने पक्षमा पनि बीपी हुनुहुन्थेन । 

पछिल्ला दिनमा नेपाली काङ्ग्रेसले वामपन्थीसँग सहकार्य गरेर अगाडि बढ्ने नीतिमात्र लिएन, वामपन्थी एवं अन्य विचारधाराका दलहरूको चुनाव चिह्नमा मत खसाल्ने निर्देशनसमेत पार्टीका सभापति स्वयंले जारी गरे । यस सम्बन्धमा पार्टीका अन्य शीर्षस्थ नेताहरूबाट पनि कुनै प्रतिक्रिया आएन । 

चौधौँ महाधिवेशनमा त्यो विषयले प्रवेश पाउनेछ र विचार–विमर्श हुनेछ भन्ने विश्वास नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूमा थियो तर भएन । आफ्नो नीति, सिद्धान्त र आदर्शका विरुद्ध एक इन्च पनि नझुक्ने बरु जेलनेल र यातनाका साथ मर्न तयार हुने बीपी कोइराला विलक्षण प्रतिभायुक्त नेता हुनुहुन्थ्यो भन्ने कुरा पछिल्ला दिनमा थप प्रमाणित हुँदै गएको छ ।

छयालीसौँ राष्ट्रिय मेलमिलाप दिवसले नेपाली काङ्ग्रेसमा नयाँ ऊर्जा र शक्ति प्रदान गरोस् र पार्टीलाई बीपीको नीति र सिद्धान्तमा डो¥याउने प्रण काङ्ग्रेस नेतृत्वले गरोस् । नेपाली काङ्ग्रेसको भर्खरै सम्पन्न चौधौँ महाधिवेशनबाट नेतृत्वमा पुग्न सफल सबैलाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना !

प्रतिक्रिया

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button