संग्रहणीय ग्रन्थ बीपीवाद र त्यसको निष्कर्ष
2080,paush 24
पुस 24, काठमाडौँ ।
दरबारिया मोजमस्तीमा रहेका तत्कालीन राणा शासकलाई नेपाली जनताको स्थितिको बोध गराउने उद्देश्यले दुईजोर फाटेका कपडा पार्शल गरेर दरबारमा पठाएका कारण निर्वासित जीवन बिताइरहेका आफ्ना पिता कृष्णप्रसाद कोइरालामा रहेको अदम्य साहस र उहाँमा अङ्कुराइरहेको राजनीतिक चेतनाको प्रभाव विश्वेश्वरप्रसाद कोइरालामा फष्टाएका कारण नै बीपी कोइराला नेपालको राजनीतिको केन्द्रबिन्दु बन्न सफल हुनुभएको हो ।
बीपी कोइरालाले हामीलाई छाडेर गएको पनि आज एकचालीस वर्ष नाघिसकेको छ । तथापि बीपी कोइराला नै आज नेपालको राजनीतिको केन्द्रबिन्दुमा देखिनुहुन्छ । उहाँले छाडेर गएको राजनीतिक दर्शन आज हाम्रो सामु बीपीवादको रूपमा आएको छ । बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्केपछि नेपालको राजनीतिमा ठूलै उथल–पुथल भयो । अहिले देश गणतन्त्रमा गएको छ तथापि बीपी नेपाली राजनीतिको केन्द्रमै हुनुहुन्छ । उहाँले प्रतिपादन गर्नुभएको राजनीतिक सिद्धान्त वर्तमान राजनीतिक परिस्थितिलाई हेर्दा आज पनि समसामयिक र सान्दर्भिक देखिएका कारण बीपीवाद नामक ग्रन्थलाई प्रकाशनमा ल्याइएको हो । त्यसैले त आज हामी बीपीवादका सम्बन्धमा चर्चा र परिचर्चा गरिरहेका छौं । आफ्ना पिताजीका कारण बीपीमा अङ्कुराइरहेको राजनीतिक चेतनालाई मूर्त रूप दिनका लागि एक्लै संभव छैन भन्ने कुरा बुझेर राजनीतिक पार्टीको स्थापना गरी त्यसको माध्यमबाट राष्ट्रिय चेतना अभिवृद्धि गर्नुपर्दछ भन्ने उद्देश्यका साथ विश्वेश्वरप्रसाद कोइरालाले वि.सं.२००३ सालमा भारतको कलकत्तामा आफ्नो नेतृत्त्वमा ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ नामक राजीनीतिक पार्टीको स्थापना गर्नुभयो ।
यस्तै वि.सं. २००५ सालमा सुवर्णशमसेरको नेतृत्त्वमा समान उद्देश्य पूरा गर्नका लागि भारतको कलकत्तामै स्थापित ‘नेपाल प्रजातन्त्र काङ्ग्रेस’ पार्टीलाई एकीकरण गरी वि.सं. २००६ सालमा ‘नेपाली काङ्ग्रेस’ नामक राजनीतिक पार्टीको स्थापना भएको हो । संघे शक्ति कलौ युगे भन्ने उक्तिलाई प्रमाणित गर्दै नेपाली काङ्ग्रेस पार्टी आफ्नो मूल उद्देश्य पूरा गर्न आफ्नो पार्टी स्थापनाको एकवर्ष पूरा गर्दा नगर्दै सफल पनि भयो जसको फलस्वरूप नेपालमा प्रजातन्त्रको स्थापना भयो ।
प्रजातन्त्रको स्थापना भएको धेरै समयबितिसक्दा पनि विभिन्न बहानामा निर्वाचन हुन नसकेको अवस्थामा नेपाली काङ्ग्रेसको सत्याग्रहको कारण निर्वाचनको घोषणा भयो । तत्कालीन समयमा नेपाली काङ्ग्रेसले संविधानसभाको निर्वाचन गराउनुपर्ने कुरामा जोड दिदै आएको थियो । यसैबीच निर्वाचनको घोषणा त भयो तर त्यो निर्वाचन संविधानसभाको हो कि संसदीय निर्वाचन हो भन्ने कुरामा स्पष्ट नभएको अवस्थामा राजा महेन्द्रले उक्त निर्वाचनको घोषणा संविधानसभाको नभएर संसदीय निर्वाचन रहेको घोषणा गरे । यसरी अन्योलका बीच भएको निर्वाचनमा दुईतिहाई बहुमतका साथ सरकारको नेतृत्त्व लिने मौकासमेत नेपाली काङ्ग्रेसले प्राप्त ग¥यो । देशमा प्रजातन्त्र स्थापना भएको एकदशकभित्रै दुईतिहाई बहुमत ल्याएको नेपाली काङ्ग्रेसको सरकारले काम गर्न थालेको डेढवर्ष पुग्दा नपुग्दै उक्त सरकारलाई अपदस्त गरी राजा महेन्द्रले देशमा निरङ्कुश पच्चायती व्यवस्थाको सूत्रपात गरे । जसका विरुद्ध नेपाली काङ्ग्रेसले प्रजातन्त्रको पुनस्थापनाका लागि संघर्ष गरिरह्यो र संघर्षकै क्रममा बीपी कोइरालाको निधन भयो ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाको मृत्युपछि पनि नेपाली काङ्ग्रेस प्रजातन्त्रको पुनस्थापनाका लागि क्रियाशील रहिरह्यो । यही क्रममा केही वर्ष बीपीकै सिद्धान्त र अडानका साथ अगाडि बढेको काङ्ग्रेस प्रजातन्त्रको पुनस्थापनाका लागि बामपन्थीदलहरूसँग मिलेर संघर्ष गर्ने निर्णय ग¥यो जसको फलस्वरूप २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भयो । वामपन्थीहरूका साथ संयुक्त रूपमा आन्दोलन गर्ने सन्दर्भमा बीपी कोइराला सहमत हुनुहुन्थेन भन्ने कुरा उहाँद्वारा लेखिएका र व्यक्त गरिएका धेरैजसो दस्तावेजहरूमा अहिले पनि पढ्न पाइन्छ । तथापि वामपन्थीहरूसँग सहकार्य गरेर प्रजातन्त्रको पुनस्थापनापछि भएको निर्वाचनमा पनि नेपाली काङ्ग्रेस नै ठूलो दलको रूपमा स्थापित भयो र सरकारको नेतृत्त्व गर्ने जिम्मेवारी पनि प्राप्त ग¥यो । राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिका साथै आन्तरिक द्वन्द्वका कारण नेपाली काङ्ग्रेसको बहुमतको सरकार पनि पूर्ण अवधिसम्म टिक्न सकेन । यसपछिका दिनमा राजनीतिक अस्थिरतासँगै विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, राष्ट्रिय एकता र मेलमिलापलाई आफ्नो प्रमुख आदर्श बनाएको नेपाली काङ्ग्रेसले प्रजातन्त्रको पुनस्थापनापछिका दिनमा लामो समयसम्म सत्ताको वाग्डोर सम्हाल्ने जिम्मेवारी प्राप्त गरेता पनि खोला त¥यो लौरो बिस्र्यो भनेजस्तै बीपीद्वारा प्रतिपादित सिद्धान्त र आदर्शलाई चटक्कै बिर्सेको देखिन्छ । जसको परिणामका सम्बन्धमा यहाँ व्याख्या गरिरहनुपर्ने आवश्यकता पनि छैन ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाको उद्घोष थियो– ‘नेपाली काङ्ग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूलभूत उद्देश्य बनाएर अगाडि बढेको अवस्थामा नेपाली जनताको अनुहारमा मुस्कान ल्याउन सकिन्छ’ । विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएका काङ्ग्रेसका मूलभूत सिद्धान्तको त के कुरा गरौं पछिल्लो समयमा त नेपाली काङ्ग्रेसले बीपीलाई पूर्ण रूपमै बिर्सिएको हो कि भन्ने आभास मिल्न थालेको छ ।
कुनै पनि राजनीतिक पार्टी क्षणिक स्वार्थका साथ अगाडि बढ्नुहुँदैन भन्ने धारणा बीपीमा थियो । त्यही कारणले बीपीले आफू जीवित हुँदासम्म आफूले लिएका अडानलाई राजाले स्वीकार नगरेसम्म कहिल्यै संझौता गर्नुभएन । यति मात्र होइन वामपन्थीहरूसँग एकता गरेर प्रजातन्त्र ल्याउने पक्षमा पनि बीपी हुनुहुन्थेन । पछिल्ला दिनमा नेपाली काङ्ग्रेसले वामपन्थीसँग सहकार्य गरेर अगाडि बढ्ने नीति मात्र लिएन वामपन्थी एवं अन्य विचारधारा भएका दलहरूको चुनाव चिìमा मत खसाल्ने निर्देश समेत पार्टीका सभापति स्वयंले दिए, जसका सम्बन्धमा पार्टीका अन्य शीर्षस्थ नेताहरूबाट पनि कुनै प्रतिक्रिया आएन । आफ्नो नीति, सिद्धान्त र आदर्शका विरुद्ध एक इन्च पनि नझुक्ने बरू जेल, नेल तथा यातनाका साथै मर्न परे पनि मर्न तयार हुने विश्वेश्वरप्रसाद कोइराला विलक्षण प्रतिभाले युक्त व्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुरा पछिल्ला दिनमा अझ प्रमाणित हुँदै गएको छ । उहाँद्वारा प्रतिपादित राजनीतिक सिद्धान्तलाई युगौंयुगसम्म जीवित राख्ने उद्देश्यले नै बीपीवाद नामक ग्रन्थ आएको हो ।
नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र अखण्डताका लागि नेपालको राजनीतिक परिवेशका सन्दर्भमा महामानव विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको राजनीतिक सिद्धान्त, राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आत्मसात गर्दै मुलुकको समानुपातिक एवं सन्तुलित विकास र जनताको जीवनस्तर माथि उठाउनका लागि लिनुभएको प्रजातान्त्रिक समाजवादको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने पवित्र उद्देश्यले स्थापित ‘बीपी विचार राष्ट्रिय समाज’ले नेतृत्त्व लिएर बीपीवाद नामक अनुसन्धानात्मक ग्रन्थ आउन सफल भएको हो । आजको सन्दर्भमा पनि बीपीका विचारहरू त्यत्तिकै महत्त्वपूर्ण र सान्दिर्भिक हुँदा हुँदै बीपीद्वारा स्थापित नेपाली काङ्ग्रेस बीपीका विचारबाट टाढिदै गए पनि बीपीका विचारहरूलाई जीवन्त राख्नका लागि बीपी विचार समाजले अग्रसरता लिएको हो । जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारहरूलाई राष्ट्रको शासनव्यवस्थामा लागू गरेर एउटा समुन्नत समाजवादी राष्ट्रको रूपमा नेपाललाई स्थापित गर्नुपर्दछ भन्ने मान्यता बीपी विचार राष्ट्रिय समाजले राख्दछ ।
बीपी स्वयंले नेतृत्त्व गरेको नेपाली काङ्ग्रेस आफ्नो सिद्धान्त र आदर्शबाट टाढिदै गएको सन्दर्भमा बीपी विचार राष्ट्रिय समाजले विभिन्न पुस्तकहरू प्रकाशन गरेर, विभिन्न किसिमका विचार गोष्ठीहरू सञ्चालन गरेर तथा बीपीसँग संगत गरेका व्यक्तित्वहरूसँग अन्तर्वार्ता आदि लिएर बीपीका विचारहरू अहिले पनि त्यत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको निष्कर्ष निकाल्दै बीपीको विचार कुनै एक पार्टीको नीति र सिद्धान्त नभएर नेपाल र नेपालीप्रति मायाँ गर्ने सबै पार्टीको साझा विचार बन्न सक्दछ भन्ने उद्देश्यले नै बीपीवाद नामक ग्रन्थ प्रकाशनमा ल्याइएको हो ।
बीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, राष्ट्रिय एकता र मेलमिलापलाई व्यवहारिक रूपमा देशमा लागू गर्नु नै बीपीवाद हो र त्यसलाई व्यवहारमा उतार्न सकेको अवस्थामा नेपाल समुन्नत राष्ट्रको रूपमा विश्वमा परिचित हुन्छ भन्ने कुरामा कसैको पनि दुईमत हुन सक्दैन । बीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, राष्ट्रिय एकता र मेलमिलापका सन्दर्भमा बीपीले व्यक्त गर्नुभएको विचार नै बीपीवाद हो जसको सम्बन्धमा संक्षिप्त रूपमा यस ग्रन्थमा प्रकाश पारिएको छ । जसमा बीपी स्वयंम्ले विभिन्न स्थानमा व्यक्त गर्नुभएको धारणालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
बीपीवादमा प्रतिपादित विषयहरूमध्ये प्रमुख विषय राष्ट्रियता हो । बीपीको अवशानपछि देशको राष्ट्रियताका सन्दर्भमा कुरा गर्ने हो भने देशको राष्ट्रियता अहिले अत्यन्त कमजोर बन्न पुगेको छ । राष्ट्रियता कमजोर भएका कारण नेपाल अन्तराष्ट्रिय शक्तिकेन्द्रहरूको क्रीडास्थलको रूपमा परिणत भएको छ । देश, जनता, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद जस्ता कुरामा बीपीका स्पष्ट धारणा रहेका छन् । राष्ट्रियताका सम्बन्धमा बीपीद्वारा व्यक्त विचार नै प्रयाप्त छन् । यहाँ खाँचो भनेको बीपीका विचारको अध्ययन र विश्लेषणका साथ व्यवहारिकक प्रयोग मात्र हो । देश र जनताका सन्दर्भमा उहाँले भन्नुभएको छ– ‘मैले भन्न खोजेको के हो भने देश भन्नोस् चाहे राष्ट्र भन्नोस् त्यो भूगोल होइन, माटो होइन त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो ।
जनताको अधिकार हनन् देशको अधिकार हनन् हो । यदि नेपाल भूगोलबाट एक करोड नेपाली जनताको आवादी लोप भयो भने मेरो अर्थमा नेपाल लोप हुन्छ । यद्यपि भूगोल आफ्नो ठाउँमा जस्ताको तस्तै स्थायी भइरहने छ । जुन दिन अर्थात् ( १ पौष २०१७ ) देशवासीहरूले प्राप्त गरेको मौलिक अधिकार खोसियो, वाक् स्वतन्त्रता, संगठन स्वतन्त्रता आदिदेखि जनता वञ्चित पारिए, जनप्रतिनिधिहरू थुनिए, संसद विघटित पारियो, फेला पर्न सकेका संसद सदस्य एकलाई पनि नछोडेर बन्दी बनाइयो, संसद अध्यक्ष थुनिए, निर्वाचित प्रधानमन्त्री, राजनीतिमा लागेका कोही पनि व्यक्ति त्यस राजाको दमनचक्रबाट जोेगिएनन् चाहे त्यो भूतपूर्व प्रधानमन्त्री हुन् या साधारण कार्यकर्ता । त्यस दिनपछि कसैले राजालाई राष्ट्रियताको समर्थक या प्रतीक मान्छ भने त्यो जस्तो ठूलो भ्रम नेपालको राजनीतिका सम्बन्धमा अर्काे कुनै हुन सक्दैन ।
त्यस दिन स्पष्टरूपबाट राजाले आफूलाई जनताभन्दा पृथक तत्व मात्र होइन, विरोधी तत्त्वको रूपमा प्रकट गरे’ । बीपीका यी विचारबाट राष्ट्र भन्दा वित्तिकै त्यो भूगोलभित्र बसोबास गर्ने जनता नै हुन् भन्ने कुरा अथ्र्याउनुभएको छ । जनताको मतको कदर नगर्ने राजाले आफूलाई जनताभन्दा पृथक विरोधी तत्त्वको रूपमा प्रकट गरेकाले राजा राष्ट्रियताको प्रतीक हुन नसक्ने कुरामा बीपीले जोड दिनुभएको देखिन्छ ।
उहाँले अगाडि भन्नुभएको छ– ‘राष्ट्रियताबारे विचार गर्दा हामीले जनताको सन्दर्भमा सोच्ने बानी गर्नुपर्छ अनि मात्र त्यस सम्बन्धी सत्यका उपर प्रकाश पर्न सक्छ । नत्रभने एउटा भागको अर्थमा त्यसलाई लिन थाल्यो भने राष्ट्रियता भन्ने शब्दलाई कुनै पनि धुर्त तानाशाह या राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि र जनताको अधिकारलाई अपहरण गर्ने हतियार बनाउन सक्छ । यो कुरा राजाले गर्न थालेका छन् । आफ्नो तानाशाही व्यवस्था (हुकुमी शासन ) लाई टेवा दिनका लागि राष्ट्रियताको नारा प्रचारित भइरहेको छ ।
यस कुरालाई बुझ्नको निम्ति हामीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको दमनको सिलसिलामा राष्ट्रियताको नारालाई प्रचार गरेर राणाशासकले आफ्नो हुकुमी राज्य कायम राख्ने प्रयत्नलाई विर्सनुहुन्न’ । तत्कालीन समयमा राणा शासकले राजा त्रिभुवनलाई समेत अराष्ट्रिय तत्त्व घोषणा गरी उनका नाती ज्ञानेन्द्रलाई राजगद्धिमा राखेर आफूहरूलाई ठूलो राष्ट्रवादी शक्तिको रूपमा प्रस्तुत गरेका थिए । राणाशाहीको त्यो राष्ट्रियता आफ्नो स्वार्थपूर्ति र जनताको अधिकार अपहरण गर्ने हतियार थियो बीपीको धारणा रहेको छ ।
राष्ट्रियताका सन्दर्भमा बीपीले भन्नुभएको छ– ‘राष्ट्रियताका विवेचनामा प्रथम तत्व र अन्तिम तत्व पनि जनता हो । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो’ । उहाँले राष्ट्रियताको परिभाषा गर्दै उल्लेख गर्नुभएको छ– ‘राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन् । व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता । अर्काे शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरू – १. जनता, २. तिनको अगाडि उपस्थित भएको समस्या, ३. त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टिको सामूहिक प्रयत्न र ४. त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना । यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ’ । यसरी बीपीको विचारमा राष्ट्रिय एकता नै राष्ट्रियता हो ।
उहाँले अगाडि भन्नुभएको छ–‘ राष्ट्रियताबारे विचार गर्दा हामीले जनताको सन्दर्भमा सोच्ने बानी गर्नुपर्छ अनिमात्र त्यस सम्बन्धी सत्यका उपर प्रकाश पर्न सक्छ । नत्रभने एउटा भागको अर्थमा त्यसलाई लिन थाल्यो भने राष्ट्रियता भन्ने शब्दलाई कुनै पनि धूर्त तानाशाह या राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि र जनताको अधिकारलाई अपहरण गर्ने हतियार बनाउन सक्छ । यो कुरा राजाले गर्न थालेका छन् । आफ्नो तानाशाही व्यवस्था (हुकुमी शासन ) लाई टेवा दिनका लागि राष्ट्रियताको नारा प्रचारित भइरहेको छ । यस कुरालाई बुझ्नको निम्ति हामीले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको दमनको सिलसिलामा राष्ट्रियताको नारालाई प्रचार गरेर राणाशासकले आफ्नो हुकुमी राज्य कायम राख्ने प्रयत्नलाई बिर्सनुहुन्न । यहाँसम्म कि वर्तमान राजा र उहाँका पितासम्मलाई पनि अराष्ट्रियतत्व घोषित गरी उहाँहरू सबैलाई राजच्यूत गर्ने काम राणाशासकले गरेको थियो ।
सोही प्रसङ्गमा बीपीले भन्नुभएको छ–अहिलेको राजाबाट चालिएको राष्ट्रियताको प्रचार राणाहरूबाट चालिएका प्रचारको हुबहु अनुरूप हो । भाषामा भन्नुहोेस्, चाहे प्रचार प्रणालीमा । दुबैको उद्देश्य १. हुकुमी राज्यको स्थापना २. प्रजातन्त्रको बढ्दो मागका विरुद्द षड्यन्त्र । कार्यकारणले जब राजा जनताको पक्षमा गाभिन पुगेका थिए, त्यस बखतमा उनी तिनताकाको तानाशाहको दृष्टिमा अराष्ट्रिय तत्व ठहरिए र राजच्युत गरिए । आज तिनै राजा मोहनशमशेरकै हतियार प्रयोग गरेर प्रजातन्त्र पक्षीयहरूको दमन गर्दै राष्ट्रियताको प्रचार गराउदै हुनुहुन्छ । नेपालको राजनीतिको सबैभन्दा महत्वपूर्ण एउटा कुरा के छ भने नेपालका राजनीतिको केवल दुई पक्ष छन् । राजापक्ष (हुकुमी शासक), अर्को जनतापक्ष (प्रजातान्त्रिक पक्ष) । जो पनि तानाशाह हुन्छ या उसको पृष्ठपोषक हुन्छ, उसको हितयार सामरिक दृष्टिबाट होस् चाहे सैद्धान्तिक प्रचारात्मक दृष्टिबाट होस् एकै किसिमको हुन्छ, तानाशाह २००७ सालको मोहनशमशेर होस् चाहे २०१७ सालको श्री ५ महेन्द्र’ ।
बीपीले भन्नुभएको छ– ‘पाठकलाई राणापक्षबाट २००७ सालमा गरिएको प्रचारलाई एक पटक फेरि पढेर आफ्नो स्मृतिलाई ताजा पार्न म अनुरोध गर्दछु, किनभने त्यसबाट मैले भन्न खोजेको कुरा स्पष्ट हुन्छ र त्यसको प्रभाविकता सिद्ध हुन्छ’ ।
बीपीले भन्नुभएको छ– ‘राष्ट्रियतालाई अध्ययन गर्दा नेपालको इतिहासमाथि सानो दृष्टिपात गर्नु आवश्यक छ । इतिहासले यस सम्बन्धमा के भन्छ ? वर्तमान नेपालको गठन गोर्खाको एउटा राजा पृथ्वीनारायण शाहको विजय अभियानको सफल परिणाम हो । १८ औं सदीमा हिन्दुस्तानको भू–भागमा अनेकौं राजा–महाराजा जागीरदार तथा साहसी सरदारहरू मुगल सम्राज्यको अन्त्यपछि उत्पन्न अशान्ति अस्थिरताको स्थितिको लाभ उठाउँदै आफ्नो–आफ्नो क्षेत्रको विस्तार र नयाँ–नयाँ राज्यहरूको गठनमा तँछाड कि मछाड भन्दै विजयको होडमा लागेका थिए ।
त्यस्तै एउटा राजा पृथ्वीनारायण शाह हुन् । आफ्ना छिमेकका राजा रजवाडाहरू भन्दा उनी बढ्ता साहसी तथा उनका सेना सञ्चालकहरू शत्रुपक्षभन्दा अधिक दक्ष र रणकौशल थिए । पृथ्वीनारायण शाह तथा उनका तुरुन्तै उत्तराधिकारीको उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरू केही थिएन । राष्ट्रिय एकताको अभियान त्यो थियो भनेर त्यसलाई एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ । कमसेकम त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना या कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एतिहासिक तत्व हो’ । बीपीले विभिन्न राष्ट्रहरूमा विभिन्न समयमा भएका घटनावृत्तको उदाहरण दिदै भन्नुभएको छ– ‘बृटिस साम्राज्यको जग पनि त्यस समयमै बस्न थालेको थियो । हिन्दुस्तानी उपमहाद्वीपको तत्कालीन राजनीतिक स्थिति, जसमा कि राजा रजवाडाहरूका बीच राज्य विस्तारको होड चलिरहेको थियो । फाइदा उठाएर बृटिस साम्राज्यको स्थापना गर्न सफल भए । बृटिस साम्राज्यको स्थापनाको प्रक्रियामा अंगे्रजहरूले आफ्नो बृहत्तर स्वार्थलाई ध्यानमा राखेर हिन्दुस्तानको अधिकांश आर्थिक दृष्टिले लोभनीय भागलाई त आफ्नो सोझो कब्जामा पारे, बाँकी रहेकालाई स्थानीय शासकहरूसँग विभिन्न प्रकारको सन्धि गरे । नेपालसँग पनि सन् १८१६ मा सुगौलीको सन्धि भएको थियो ।
ती सन्धिहरू यस अर्थमा पनि असमान थिए कि ती सन्धिद्वारा देशी शासकहरूलाई धेरथोर ( कमबेश ) अधिकार प्राप्त थिए र तदनुरूप उनीहरूको सम्मान र प्रसस्ति तोपको सलामीको संख्या निर्धारित गरिएको थियो । बृटिसले यसरी श्रेणीबद्ध ढङ्गले भारतीय भूगोलमा परेका देशी राज्यहरूसँग एकएक गरेर युद्ध गर्दै भिन्न भिन्न प्रकारको सम्बन्धको एउटा जाल बुनेर राखेका थिए । त्यस व्यवस्थामा उनीहरूले नेपाललाई सबभन्दा ठूलो र सम्मानीत स्थान दिएका थिए । अनि क्रमशं. निजाम, कश्मिर, बडौदा आदिको स्थान आउथ्यो । सुगौलीको सन्धिले गोरखा राज्य विस्तारको अभियान समाप्त पा¥यो । गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन । न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्ररित नै । न गोरखा राज्य विस्तारको यन्त्र, न गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए । गोर्खाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन । जसले गर्दा विजित देशहरूका राजा प्रजाहरूसँग कोमल व्यउहार गरिएन । काठमाडौका नेवारी प्रजाहरूलाई अद्यावधि त्यसको गुनासो छ’ । सोही प्रसङ्गमा उहाँले भन्नुभएको छ– ‘सुगौलीको सन्धिले नेपाल देशको भूगोल निर्धारित ग¥यो, राष्ट्रको निर्माण त्यसले गरेन । हो, त्यस दिनदेखि भविष्यको बृहत्तर नेपाल, नेपाली समाजको एउटा आफ्नो निश्चित थलो भयो । एउटा देशको गठन भयो यस निर्धारित र निश्चित भूभागमा बस्ने यावत जातिहरूको, विभिन्न धर्मावलम्बीहरूको, अनेक भाषभाषीहरूको, एउटा देश नेपालको उदय भयो । गोरखा शासक तथा तिनका अनुयायीहरूको विजय अभियानको परिणाम स्वरूप र साथै बृटिस विदेशी विजेताहरूको त्यस्तै अभियानसँग जुध्न पुगेर बन्न गएको नेपाल देशको इतिहास सुगौलिको सन्धि (सन् १८१६) बाट प्रारम्भ हुन्छ’ ।
बीपी अगाडि भन्नुहुन्छ– ‘त्यसपछि राष्ट्रियताको उदयका लागि सामग्री तयार भयो १. एउटै राजाको मातहत देशभरि एक किसिमको शासन व्यवस्था कायम भयो । २. देशभर व्याप्त शासनव्यवस्थाको संचालनको भाषा माध्यम नेपाली भाषा थियो । प्रशासकीय एकताको संदर्भमै नेपाली भाषाका उदयकोे इतिहासको अध्ययन हुनसक्ने हुनाले, राष्ट्रियताको उदयका लागि तयार भएका प्रारम्भिक सामग्रीहरूको चर्चा गर्दा प्रशासकीय एकताको अन्तर्गतमै नेपाली भाषाको व्यापक प्रयोगको चर्चा गर्न सकिन्छ र त्यसरी दुई प्रकारका सामग्रीहरूको चर्चा गर्ने सट्टा एउटै मूल सामग्रीको चर्चा गरे पुग्छ । अर्थात् १८१६ मा नेपाली राष्ट्रियताको उदयका लागि गोर्खा राजाहरूको विजय अभियानको एउटा प्रत्यासित सामग्री फेला पा¥यो । कुनै विजेताले पनि देशहरूको विजय गरिसकेपछि आफ्नो विजेताको लक्षण र गुणलाई नमानेर पनि विजित देशहरूका उपर आफ्नो प्रशासन यन्त्र कायम गर्नुपछ्र्र । शाह शासकले पनि त्यही काम गरे । तिनीहरूले विजीत नेपाली भूभागमा आफ्नो प्रशासनयन्त्र कायम गर्नुपर्छ । शाह शासकहरूले त्यही काम गरे, तर विजेताको आफ्नो लक्षण, गुण र दोषलाई कायमै राखे । २०० बर्षपछि आजसम्म पनि नेपालको राजाले विजेताको आफ्नो स्वरूप छाड्न सकेको छैन र जनतापक्षकाले प्रजाको अधिकारको चर्चा गर्दा या अधिकारका लागि आवाज उठाउँदा या राजा र प्रजाको प्रतिनीधिहरू एउटै थलोमा उभिनुपर्छ भन्ने कुरा गर्दा उनीहरूले राजाको दमनको शिकार हुनुपर्छ । कतिपय दरबारियाहरू जनतालाई दमन गर्ने अभियानमा पल्टनको प्रयोगलाई राजाको साहसी कदम र राजमुकुटलाई दाउमा राखेको कुरा हेपेर पनि गर्न सक्छन् । मानौ देश नेपालीहरूको नभएर राजाको पैतृक सम्पति हो, मानौ राजमुकुट राष्ट्रिय प्रतिक नभएर राजाको व्यक्तिगत शिरशोभा हो जसलाई बहुमुल्य भएकाले हारजीतको दाउमा राख्ने अधिकार उनलाई प्राप्त छ’ ।
एक प्रसङ्गमा बीपीले भन्नुभएको छ– यदि शासकले नेपाली समाज र नेपाल देशको हितको ध्यान राखेको भए सबभन्दा पहिले उनको प्रयत्न नेपाली राष्ट्रियताको सृजना गर्नपट्टि लाग्ने थियो । नेपालको शासनव्यवस्थाको आधुनीकरण र नेपाली जनताको असहनीय दरिद्रताको निराकरण जनताको सामूहिक प्रयासको आधारमा गर्न सकिन्थ्यो । शासन यन्त्रमा जनताको सक्रिय सहयोग तथा गरिबी मेटाउने प्रयत्नमा, जनताको सामूहिक राष्ट्रिय अभियान दुबै साथ–साथ हुनसकेको भए नेपाल यति पिछडिएको देश रहने थिएन । गरिबी मेटाउनका लागि उपयुक्त तथा शासनयन्त्रमा सहयोगी जनतामा यत्रो ठूलो राष्ट्रिय शक्ति आउने थियो कि नेपालको आधुनिकीकरणको बाटो सरल भएर जाने थियो । शाह हुन् चाहे राणा हुन्, कुनै राजाले पनि यस दिशापट्टि ध्यान दिएनन् । राष्ट्रियता एउटा ठूलो शक्ति हो । ऊर्जा हो भन्ने कुरापट्टि ध्यान गएन । ध्यान गएको भएपनि राष्ट्रिय शक्तिको उदय आफ्नो निहित स्वार्थका लागि घातक संझेर त्यसको विकासको सारा बाटो थुनेर राखे । हजारौंको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागिर खाएर उदरपूर्ति गर्न कर लाउने तत्वले राष्ट्रियताको ढिढोरा पिटेको सुहाउदैन’ । उहाँको भनाइ छ – ‘मैले भन्न खोेजेको के हो भने, १८१६ पछि नेपाल देश बन्यो नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको ढाँचा खडा भयो त्यसमा आतमा आउन सकेन, फ्रेम बनाइयो तर तस्विर राखिएन भाँडो कुदियो तर त्यसभित्र राख्ने तत्व राखिएन । उपर्युक्त ऐतिहासिक विश्लेषणको प्रकाशमा यो भन्न सकिन्छ कि जहिले पनि नेपालको एकतन्त्री शासन व्यवस्थाको विरुद्ध आवाज उठ्यो त्यो राष्ट्रियताको आवाज थियो । एकतन्त्री शासन हुकुमी राज्य नेपालको ऐतिहासिक सन्दर्भमा राष्ट्रियताको घातक हो । शासनयन्त्रमा प्रजाको समावेश प्रजातन्त्रको मूलभूत सिद्धान्त हो र नेपालको राष्ट्रियताको वर्ग पनि उही एउटा मूलभूत सिद्धान्तमा टिक्छ । साथै राष्ट्रिय भावनाबाट प्ररित नेपाली जनता गरिबीको चुनौतिको सामूहिकरूपबाट मुकाविला गर्न सक्छ । प्रजातन्त्र र राष्ट्रियता नेपालको वर्तमान स्थितिमा पर्यायवाची शब्द हुन पुगेका छन्’ ।
बीपीले अगाडि भन्नुभएको छ– ‘यस सन्दर्भमा राष्ट्रियताको विवेचना गर्दा २००७ सालको क्रान्तिको महत्व अत्यन्त ठूलो छ । नेपालको इतिहासमा शायद पहिलो पटक जनतातत्वबाट एउटा सामूहिक प्रयास गरियो । मेचीदेखि महाकालीसम्म तराइ, पहाड र उपत्यकाका अनेक जाति, वर्ग, धर्मावलम्बीहरूले सम्मिलित आवाज उठाए । एउटा सशक्त देशव्यापी भावना जागृत भयो । राष्ट्रियताको उदय भयो । राष्ट्रियताको विकासमा यो भन्न सकिन्छ कि २००७ सालको क्रान्ति एउटा बलियो पाइलाको प्रथम चाल थियो । के त्यसभन्दा पहिले देशव्यापी आधारमा नेपाली जनताले एउटा भावनामा बाधिएर कुनै कार्य सम्पादित ग¥यो ? २००७ सालको क्रान्तिको यस महत्वलाई बिर्सनु हुदैन । त्यसले शासन व्यवस्थामा मात्र परिवर्तन ल्याएन कि राष्ट्रियताको भावनाको उदय गरायो । शासन व्यवस्था त कोतपर्वले पनि परिवर्तन गरेको थियो । २००७ सालपछि राष्ट्रियतालाई विकसित हुने मौका प्राप्त भयो । जनतालाई प्रारम्भिक प्रजातान्त्रिक अधिकार प्राप्त भएकाले देहभरिमा राजनीतिक, सामाजिक पार्टीहरू स्थापित भए, जसमा धेरैजसो देशव्यापी थिए । प्रत्येक पार्टीले आफ्नो आफ्नो मञ्चबाट देशका कुना कुनामा आफ्नो देशव्यापी प्रोग्रामको घोषणा गरे । सामाजिक हुन् चाहे आर्थिक चाहे राजनीतिक, देशका जनताको आवाज बुलन्द हुन थाल्यो । २००७ सालको प्रजातान्त्रिक क्रान्तिले राणाहरूको एकतन्त्री शासन मात्र समाप्त गरेन नेपाल नेपाली जनता हो भन्ने भावना पनि ल्यायो र नेपाली भन्नाले धर्म, वर्ण, लिङ्गभेद रहित नेपाल राज्यभित्र बस्ने यावत नेपाली नागरीक परिलक्षित गर्ने भावना त्यसले सृजना ग¥यो’ ।
राष्ट्रियताका सन्दर्भमा बीपीको भनाइ छ– ‘२०१५ सालको आम चुनावले राष्ट्रियताको अभिवृद्धिमा मद्दत ग¥यो । २०१७ सालमा राजाले राष्ट्रियताको बढ्दो गतिलाई आफ्नो सैनिक बलप्रयोगद्वारा एकै चोटि रोके । उनी १० सालको (२००७–२०१७) राष्ट्रियताको प्राप्तिलाई समाप्त गरेर पुन.ं विजेताको रूपमा प्रकट भए । २००७ सालमा मुकुट एउटा राष्ट्रिय प्रतिक जस्तो भएको थियो । मुकुटधारीको जे सुकै आन्तरिक इरादा भएपनि २०१७ सालमा त्यो मुकुट राष्ट्रिय प्रतिक नभएर एउटा विजेताको शिरशोभा हुन पुगेको छ । २०१७ साल पौष १ गतेको काण्ड यस दृष्टिबाट न केवल घोर अप्रजातान्त्रिक हो, त्यो घोर अराष्ट्रिय पनि हो । जनताको मौलिक अधिकारको हननलाई कुनै पनि अर्थमा राष्ट्रियताको कदम भन्न सकिन्न’ । यसरी राष्ट्रियताका सन्दर्भमा बीपीका विचार स्पष्ट छन् जसका सम्बन्धमा व्यापक विचार एवं विमर्श हुनुपर्दछ भन्ने धारणाका साथ बीपीवाद नामक ग्रन्थको आवश्यकता महसुस गरिएको हो ।
प्रजातन्त्रको कुरा गर्ने हो भने विभिन्न विद्वान्हरूले प्रजातन्त्रको परिभाषा जनताका लागि जनताद्वारा जनताको सरकार भनी परिभाषित गरेका छन् । यसैबाट प्रजातन्त्रको पूरा भाव स्पष्ट हुन्छ । प्रजातन्त्रमा जनआवाज नै सबै हो । प्रत्येक नागरिकलाई आफ्नो विचार व्यक्त गर्ने अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रमा मात्र रहन्छ । प्रत्येक व्यक्तिले आफ्नो रीति–रिवाज, आचार–विचार तथा धर्म पालन गर्ने पूर्ण स्वतन्त्रता प्रजातन्त्रमा रहन्छ । जनताले आफ्नो प्रतिनिधि चयन गरेर उनीहरूको माध्यमबाट सरकार बनाउने पूर्ण अधिकार रहन्छ । प्रजातन्त्रमा जनप्रतिनिधिहरूको ठूलो जिम्मेवारी रहन्छ । जनप्रतिनिधिले आफूलाई जनसेवक संझनुपर्दछ । जनप्रतिनिधि सत्तामा रहेका होऊन् या बाहिर उनीहरूको माध्यमबाट जनताको आवाज नीतिनिर्माणको तहसम्म पुग्नुपर्ने हुन्छ ।
प्रजातन्त्रका सम्बन्धमा बीपीको आफ्नै दृष्टिकोण रहेको छ । बीपीद्वारा प्रतिपादित सिद्धान्त र आदर्शमा राजाले गल्ती गर्दैनन् भन्ने रहेको छ तथापि राजाले धेरै पटक गल्ती गरेका छन् । बीपी जीवित छँदा पनि राजा महेन्द्रले गल्ती गरेका थिए । जनताको दुईतिहाई बहुमत ल्याएको नेपाली काङ्ग्रेसको तत्कालीन सरकारको प्रधानमन्त्री आफू स्वयंलाई जेलमा पु¥याउँदा पनि बीपीले नेपाली काङ्ग्रेसले आफ्नो आदर्श र सिद्धान्तलाई परिवर्तन गर्नुपर्दछ तथा पुनर्विचार गर्नुपर्दछ भन्ने कुरा सोच्नुसमेत् भएन र बीपी आफ्नो आदर्शबाट त्यो अवस्थामा पनि विचलित भएको देखिदैन ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई खोतल्दै जानेहो भने विशेष गरेर चन्द्रशमशेरको समयदेखि स्वाभिमानी एवम् कर्मठ देशभक्तहरूले भित्रभित्रै परिवर्तनरूपी आन्दोलनको बीउलाई भुसको आगाको रूपमा रोपेको देखिन्छ । जसको अगुवाइ पिताजी कृष्णप्रसाद कोइरालाले गर्नुभएको थियो । उहाँको यो आन्दोलन सशस्त्र स्वरूपको नभएर प्रतिकात्मक थियो । श्री ३ चन्द्रशमशेरलाई जनताको आङ्का दुईजोर कपडा उपहारका रूपमा प्रेषित गरेर यसका माध्यमबाट उनले राणाहरूको एकतन्त्रीय शासनका विरुद्ध संघर्षको प्रारम्भ गरे । उनको यस किसिमको कार्यबाट प्रेरित भएर पछिल्ला अनुयायीहरूले साङ्गठनिक रूपमा आन्दोलनलाई गति दिए । कृष्णलाल अधिकारी, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथचन्द प्रभृति व्यक्तिहरूले कृष्णप्रसादले प्रत्यक्षतः आरम्भ र अप्रत्यक्षतः निर्देश गरेको अभियानलाई केही उचाइमा पुर्याए । यसर्थ पिताजी कृष्णप्रसाद कोइरालाले नै नेपालमा प्रजातन्त्रको बीजारोपण गरेका हुन् ।
बीपीद्वारा प्रतिपादित बीपीवादको प्रमुख सिद्धान्तमध्ये समाजवाद पनि एक हो । समाजवाद शब्दका सम्बन्धमा कुरा गर्ने हो भने समाजको सर्वाङ्गिण विकासका लागि समाज शब्दमा ‘वाद’ जोडेर ‘समाजवाद’ बनेको हो । नेपाली काङ्ग्रेस स्थापना भएको एकदशकको अन्तरालमा २०१२ सालमा नेपाली काङ्ग्रेसले आफ्नो मूलभूत सिद्धान्तमा समाजवादलाई अङ्गिकार गरेको हो । बीपीले समाजवाद शब्दलाई नेपाली राजनीतिको जीवनधारा त बनाइदिनुभयो तर उहाँद्वारा स्थापित पार्टीलाई भने बीपीको सिद्धान्तबाट विचलित भइसकेको छ । समाजको कल्याणका लागि तथा समाजको हितका लागि कसलाई कस्तो काममा लगाउनुपर्दछ भन्ने सम्बन्धमा विचार पु¥याइएन भने संविधानमा ‘समाजवाद’ शब्द राख्दैमा कुनै अर्थ राख्दैन । आज संविधानमा ‘समाजवाद’ शब्द त परेको छ तर राज्यका सबैजसो निकाय सत्तारूढ पार्टीका सांगठनिक निकायको रूपमा भएको आभास मिल्न थालेको छ । नीतिमा भनिएको जस्तो–‘योग्यं योग्येन योजयेत्’ अर्थात् जो जुन काममा योग्य छ त्यसलाई त्यही काम नियुक्त गर्नुपर्नेमा त्यस्तो हुन सकिरहेको छैन । त्यसैले समाजवादको त के कुरा गरौं नेपाल एक सुसंगठित समाज पनि बन्न सकेको छैन । यहाँको विषय बीपीवाद भएकाले बीपीवादमा समाजवादकै कुरा गर्नु सान्दर्भिक देखिएला । समाजवादका सन्दर्भमा बीपीले भन्नुभएको छ– ‘समाजवाद ’ एउटा रुढीगत वा सिद्धान्त मात्र होइन । यो विश्वव्यापी संगठन गरेर आर्थिक शोषण र त्यसबाट उत्पन्न तमाम सामाजिक विकृतिहरूको अन्त्य गरी पूर्ण स्वतन्त्रताको वातावरणमा मानव विकासको मार्ग विस्तृत गर्न हो । समाजको सामञ्जस्यपूर्ण संगठन गर्ने समाजवादी आन्दोलनका यस्ता केही आधारभूत सिद्धान्त समाजकोे संगठनका नियमको आधार समाजभन्दा बाहिर दैवीप्रेरणा वा शक्ति नभएर समाजमै निहित मानिसको नियन्त्रण कायम हुनसक्ने सामाजिक शक्तिहरू हुन् भन्ने हो । अर्थात् समाजका सम्बन्धमा यो समाजवादको भौतिकवादी सिद्धान्त हो । समाजवादले दैवीप्रेरणा वा शक्तिको अपेक्षा गर्दैन । समाजवादलार्ई यस दृष्टिले एउटा भौतिकवादी विचार शृङ्खला हो भन्न सकिन्छ’ ।
उहाँले अगाडि भन्नुभएको छ– ‘मानिस सामाजिक प्राणी हो भन्ने एउटा निर्विवाद सत्य हो । समाजको माध्यमबाट नै त्यसका यावत काम सम्भव हुन्छन् । मानिसलार्ई जन्मदेखि मुत्युपर्यन्त समाजमा आधारित कार्य गर्न कर लाग्दछ । मानवका मानसिक, बौदिक जीवन, आत्मासम्बन्धी उच्च भावना, कला, संस्कृति आदि विषयहरूलार्ई छाडिदिउँ, भोजन, वस्त्र, घर इत्यादिजस्ता दैनिक स्थूल आवश्यकताका लागि पनि ब्यक्ति पूर्ण रूपले समाजमा आश्रित हुन्छ । त्यसो हुनाले मानव हृदय एकातिर ब्यक्तिगत स्वार्थले उत्प्रेरित हुन्न भने अर्कोतिर आफ्नो ब्यक्तिगत स्वार्थको परिधिबाट बाहिर आएर सामूहिक स्वार्थको पनि चिन्तन गर्छ । ब्यक्ति नितान्त स्वार्थपरायण हुने मात्र होइन, उसमा प्रवल सामाजिक भावना पनि हुन्छ’ ।
यसै सन्दर्भमा उहाँले भन्नुभएको छ– ‘वर्तमान सामाजिक—आर्थिक व्यवस्थाभित्रको लुछाचुँडीले भरिएको सामाजिक संगठनहरूमा प्रबल रूपमा मानवमा स्वार्थको प्रवृति मात्र ब्यक्त भएको तर त्यसमा निहित सामाजिक प्रवृति भने नरहेको देखिन्छ । तर सामाजिक कारणले गर्दा मानवको यो चित्र विकृत भएको हो । समाजको गठनमा सुधार आएको खण्डमा मानवको सामाजिक प्रवृतिले स्वार्थी प्रवृतिमाथि विजय पाउन सक्छ । मानिस सामाजिक जीव भएकाले उसको स्वभाविक जीवनवृत्ति पनि सामाजिक छ । त्यसो हुनाले मानिसले आदिमकालदेखि नै व्यक्तिगत स्वार्थपूर्तिको प्रक्रियाबाट आफ्नो व्यक्तिगत जीवनको समस्याको समाधान गदै आए पनि बीच—बीचमा समाजका समस्या र समाजका सामूहिक स्वार्थपट्टि पनि त्यसको ध्यान गइरहेको छ । मानिसले आदिमकालदेखिनै सामूहिक समस्यामाथि घोरिएर आफ्नो चिन्तन र अनुभवलार्ई सिद्धान्त, मत वा धर्मको रूप दिँदै आइरहेको छ’ । समाजवादलाई परिभाषित गर्दै बीपीले एक प्रसङ्गमा भन्नुभएको छ– ‘साम्यवादमा प्रजातन्त्र जोडिदिएपछि समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदिएपछि साम्यवाद हुन्छ’ । बीपीले आफ्ना राजनीतिक विचारहरूको प्रवाह गर्ने सन्दर्भमा नैतिकताका प्रसङ्गहरूलाई पटक–पटक दोहो¥याउनुभएको छ तर अहिले हरेक पार्टीको नेतृत्त्वमा नैतिकताको संकट छ । यसरी हरेक दृष्टिले बीपी कोइराला नेपाली राजनीतिमा नैतिक तथा आदर्शको प्रतिमूर्ति नै हुनुहुन्थ्यो । उहाँको आदर्शलाई हरेक राष्ट्रवादी पार्टीले व्यवहारमा उतार्न सकून् भन्ने उद्देश्यका साथ बीपीवाद नामक ग्रन्थको निर्माण भएको हो ।
बीपीले समाजवादी अर्थ व्यवस्थालाई व्यवहारमा उतार्नको लागि उत्पादनमा अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । एक प्रसङ्गमा बीपीले भन्नुभएको छ– ‘एक माना दूध सयजनालाई समान वितरण गर्नु समाजवाद होइन, उत्पादन बढाएर सबैलाई यथेष्ट दूधको व्यवस्था गर्नु नै समाजवाद हो’ । बीपीले सोही प्रसङ्गमा भन्नुभएको छ – ‘समाजवादको कुनै एउटा असंलग्न परम्परा छैन । मानव विकासको सभ्यता र संस्कृतिको बहुमुखी आन्दोलन तथा अभिव्यक्तिबाट परम्पराको कुनै एउटा पातलो धागो झिकेर त्यसमा समाजवादलार्ई झुन्ड्याउन खोज्नु समाजवादलार्ई अत्यन्त सङ्कुचित पार्ने प्रयास गर्नु हो । आफ्नो लामो यात्रामा मानवले उपलव्धी हासिल ग¥यो । ती उपलव्धीहरूको सामूहिक संज्ञा नै सभ्यता हो । समाजवाद भनेको त्यस सभ्यताको चरम सीमा हो । तसर्थ ती उपलव्धीहरूलार्ई त्यागेर समाजवाद स्थापित हुनै सक्दैन । समाजवाद त्यस्तो व्यवस्था हो, जसले सभ्यताको यावत् उपलव्धीहरूलार्ई ग्रहण गर्छ र मानवले अहिलेसम्म प्राप्त गरेको सामथ्र्य र अनुभवको आधारमा अतीतका विजयहरूलार्ई मेटाएर भविष्यका अझै ठूला—ठूला विजयहरूका लागि मानवको राजपथ झन् विस्तार गर्ने मानव संगठनको परिकल्पना गर्छ । मानव जीवनमा नैतिक भावना र आदर्शका कुराहरूलार्ई व्यवहारिक रूप दिनु समाजवादको उदेश्य हो’ । यसरी बीपीका अनुसार समाजवाद संकुचित होइन दिनानुदिन फराकिलो बन्दै जानुपर्दछ । यसरी बीपीको समाजवादी दर्शनको अध्यययन गर्दा देशलाई आत्मनिर्भरतर्फ अग्रसारित गर्नुपर्दछ र मात्र बीपीको समाजवाद व्यवहारमा लागू भएको महसूस गर्न सकिन्छ ।
बीपीवादको अर्को महत्त्वपूर्ण कुरा राष्ट्रिय मेलमिलाप हो । जतिबेला बीपी निर्वासनमा भारतमा हुनुहन्थ्यो त्यो समय अर्थात् २०३० सालपछि दक्षिण एशियाली मुलुकहरूमा उथलपुथलको नयाँ वातारवरण देखा प¥यो जसको परिणाम स्वरूप सिक्किमको स्वतन्त्र अस्तित्वसमेत समाप्त भयो । परिवर्तित यो सन्दर्भबाट उत्पन्न हुनसक्ने अनिष्टलाई ध्यानमा राखेर बीपीले राष्ट्रिय अस्तित्वमा नै प्रश्न चिन्ह लाग्नसक्ने अवस्थालाई दृष्टिगत गरी २०३३ साल पुस १६ गते नेपाली काङ्ग्रेसको अध्यक्षको हैसियतले एउटा अपिल प्रकाशित गरी मुलुकका सबै राजनीतिक शक्तिका बीच ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आवहान गर्नुभयो । सोही दिन बीपी, गणेशमान लगायतका भारतमा निर्वासनमा रहेका नेपाली काङ्ग्रेसका थुप्रै नेता र कार्यकर्ताहरू नेपाल प्रवेश गर्नु भएको थियो । बीपी लगायतका नेताहरूको स्वदेश आगमन नै तानाशाहीका निम्ति एउटा क्रान्ति नै भइदियो । सो क्रममा बीपी र गणेशमान सिंहलाई विमानस्थलबाटै गिरफ्तार गरेर अनेकौं संगीन मुद्धाहरू लगाइयो । बीपीको मेलमिलाप नीति परिस्थितिले निर्धारण गरेको संघर्षकै अर्को रूप थियो । तत्कालीन कानूनअनुसार मृत्युदण्ड पनि हुनसक्ने प्रकृतिका अनेकौं मुद्धालगाई पञ्चायती सरकारले अदालतमा उभ्याउँदा बीपी कोइरालाले जुन आत्मविश्वास र इमानदारिताका साथ बयान दिनुभयो त्यो राष्ट्रिय एकताका निम्ति अमूल्य दस्तावेज बनेर रहेको छ । यही क्रममा बीपी र गणेशमान आफू विरुद्ध लगाइएका अनेकौं राजनीतिक मुद्धाहरूलाई खेप्दै नेपालको जेलमा बस्दा मुलुकभित्रै प्रजातान्त्रिक आन्दोलनले अनुकूल र उपयुक्त मनोवैज्ञानिक आधार बन्यो जसले गर्दा राजा निर्वाचनको माध्यमबाट बहुदल रोज्ने कि सुधारिएको पञ्चायती व्यवस्था भन्ने विषयमा जनमत संग्रह गराउन बाध्य भए । जनमत संग्रहको परिणाम जे जस्तो भए पनि यसले प्रजातन्त्रको पुनस्थापनका निम्ति महत्त्वपूर्ण मार्गदर्शन गरेको देखिन्छ ।
नेपाली काङ्गे्रसको चुनावको घोषणापत्र २०१५, जसलाई लिएर नेपाली काङ्ग्रेस जनताको घरदैलोमा मत माग्नका लागि नेपाली जनतासमक्ष पुगेको थियो उक्त घोषणा पत्रमा धर्मका सम्बन्धमा भनिएको छ– ‘धर्मको सम्बन्धमा हाम्रो नीति प्रष्ट छ । देशमा धेरै थरिका धर्म मान्ने मानिस छन् । नेपाली काङ्गे्रस उनीहरूको साझा सरकार हुनेछ । अतः सरकारले प्रत्येक धर्म मान्ने मानिसलार्ई आफ्नो अन्तरआत्माको विश्वासको धर्म एवम् विधिविधान मान्ने र त्यसअनुसार उपासना गर्न पूर्ण स्वतन्त्रता दिनुपर्दछ । नेपाली काङ्ग्रेसले सबै धर्मावलम्बीहरूलार्ई आफ्नो अन्तरात्माको विश्वासको धर्मको विधिविधान मान्ने र त्यसमा हिड्न दिने ग्यारेन्टी दिनेछ । कसैले कसैको धर्ममा बाधा दिन खोज्यो भने सुरक्षाका निम्ति पार्टीले आफ्नो सम्पूर्ण शक्ति लगाउने विश्वास दिलाउँछ । नेपाली काङ्गे्रसलार्ई आफ्नो संस्कृति प्यारो छ र हाम्रो महान् संस्कृतिको आधारशिलामा नै आधुनिक नयाँ प्रगतिशील समाजको निर्माण गर्न हामी चाहान्छौैँ’ ।
धर्मका सम्बन्धमा बीपी प्रष्ट हुनुहुन्थ्यो भन्ने कुरा बीपीले विभिन्न स्थानमा व्यक्तगर्नुभएको धारणाबाट पनि बुझ्न सकिन्छ । बीपीले एक प्रसङ्गमा भन्नुभएको छ– मानिसले आदिमकालदेखिनै सामूहिक समस्यामाथि घोरिएर आफ्नो चिन्तन र अनुभवलार्ई सिद्धान्त, मत वा धर्मको रूप दिँदै आइरहेको छ । भगवान् बुद्धको जीवनी, हाम्रो देशमा सामाजिक भावना वा व्यक्तिगत स्वार्थको भावनामाथि विजय प्राप्त गरेर उठ्न सकेको भावनाको एउटा दृष्टान्त हो । उनी यशस्वी र राज्याधिकारी थिए । उनलार्ई आफ्ना कुनै पनि आवश्यकताको आपूर्ति नहुने भय थिएन । उनी त्यस्तो सुखमय जीवनबाट किन हठात् विमुख भए, उनलार्ई त्यसको सुखको अनुभव किन हुन सकेन ? आफूलार्ई जुन ज्ञान प्राप्त हुन सकेको छ र उनी जुन ज्ञानद्धारा जीवनका सुखःदुखबाट मुक्त हुनसक्ने भएका छन् । त्यो ज्ञान समाजका प्रत्येक प्राणीलार्ई प्राप्त हुनुपर्छ भन्ने उनले निश्चय गरे । उनको यो निश्चयबाट संसारमा धर्मचक्र प्रवर्तित भयो’ ।
यहुदी तथा इसाईधर्मको उत्पत्तिका सन्दर्भमा एक प्रसङ्गमा भन्नुभएको छ– यहुदी धर्मका प्रारम्भिक चिन्तक र मनिसहरूले शोषण र अत्याचारका विरुद्ध आवाज उठाए र उनीहरूले यहुदी जातिलार्ई अत्याचारबाट मानव जातिको कल्याण हुँदैन भन्ने चेतावनी दिए । ईशाले दुई हजार बर्ष पहिले अर्को धर्मको प्रतिपादन गरे । त्यो समाजका विकृति, असमानता, अत्याचारका विरुद्ध उनको धार्मिक घोषणा र आन्दोलन थियो । उनले विशेष रूपले दलित, शोषित र आशाहीन गरिबहरूका लागि धर्मको बाटो उघारे । उनले भने— हे दलित शोषित जनता ! तिम्रा लागि स्वर्गको द्वार उघ्रिएको छ । धनीहरूलार्ई स्वर्गद्वारबाट छिर्न त्यतिनै असम्भव छ, जति ऊँट सियोको प्वालबाट छिर्न असम्भव छ । यो घोषणा विद्रोहको स्पष्ट घोषणा थियो । तर त्यसबखत उनलार्ई उनका अनुयायीहरूलार्ई शासकवर्गले बडो क्रूर यातनाका साथ फाँसीमा झुन्ड्याएर मारे । उनीहरूमाथि नाना किसिमका अत्याचार भयो । तर उनको आन्दोलनले गरिब जनताको हृदयलार्ई जितेको थियो । त्यसलार्ई जतिसुकै अत्याचारद्वारा दमने गर्ने प्रयत्न भए पनि त्यो मर्न सकेन’ । यस्तै इस्लामधर्मको सन्दर्भमा उहाँले भन्नुभएको छ– इस्लाम धर्मका प्रवर्तक मुहम्मद पनि सामाजिक भावनाबाट प्रेरित एउटा महान् व्यक्ति थिए । धर्मको प्रारम्भिक पे्ररणाको स्रोत मानव हृदयमा उठ्ने सामाजिक चैतन्यमा विद्यमान थियो ।’ यस्तै कन्फुसियन धर्मका सम्बन्धमा उहाँले भन्नुभएको छ– ‘चीनका कन्फुसियस त झन् स्पष्ट रूपले आचारवादी र व्यवहारवादी महात्मा थिए’ ।
यसै प्रसङ्गमा वैदिक सनातन हिन्दू धर्मका सम्बन्धमा भन्नुभएको छ– ’हिन्दूधर्म भनेको बुद्ध, इस्लाम वा इसाई धर्मजस्तो संगठित धर्म होइन । त्यसो हुनाले हिन्दूधर्मलार्ई एउटा सामाजिक संगठनको आधारको रूपमा र त्यसका नियमहरूमा सामाजिक नियमहरू सादृश्य भएको हामी पाउँछौ । यसका वेद, उपनिषद, रामायण, महाभारत, पुराण, मनुस्मृति इत्यादि धार्मिक ग्रन्थहरू शुद्ध सामाजिक दृष्टिकोणबाट लेखिएका ग्रन्थ हुन्’ । धार्मिक व्यवस्था र अध्यात्मका सम्बन्धमा बीपीले भन्नुभएको छ– ‘धार्मिक व्यवस्था वा धर्मका आध्यात्मिक र नैतिक दुईवटा उदेश्य हुन्छन् । आध्यात्मिक उदेश्यको सम्बन्ध व्यक्ति, आत्मा र ईश्वरसंग हुन्छ भने नैतिक उदेश्य मानव सम्बन्ध वा सामाजिक सम्बन्धको विषय हो । जुनसुकै धार्मिक व्यवस्थामा पनि आध्यात्मिक र नैतिक आधार अविच्छिन्न रूपबाट संलग्न हुन्छन् । धर्मले ईश्वर र आत्माका सम्बन्धमा सूक्ष्म विवेचना गरेर एकातिर रहस्यवाद, व्यक्तिको एकान्तता र सामूहिक नभएर व्यक्तिगत मोक्षको प्रयासमाथि जोड दिएको छ भने त्यसले अर्कोतिर, पवित्र पारस्परिक जीवन, मानव सम्बन्धमा निःस्वार्थपन, त्याग, पवित्रता, प्रेम, विश्वास इत्यादि शुद्ध सामाजिक भावनाहरूमा पनि उत्तिकै जोड दिएको छ । ती भावनाहरूको विवेचना नैतिक विषय हो । यिनीहरू सामाजिक आदर्शलार्ई लक्षित गर्ने भावना हुन् । एउटा अनैतिक प्राणीलार्ई ईश्वर अप्राप्त छ । यस प्रकार धर्मले चारित्रिक गुणलार्ई प्रधानता दिएको छ’ । बीपीले भन्नुभएको छ– असल र खरावको विचारले पनि ईश्वरसँग सम्बन्ध राख्दैन । बरू यसको सम्बन्ध समाजको उदेश्यसँग छ । ईश्वर, कतै—कतै त शुद्ध नैतिकताको आधारको सृष्टि गर्न रचिएको अस्तित्वसमेत बनेको छ । मानव जीवनबाट ईश्वर र उसको न्यायको आधार लोप हुन लाग्यो भने मानिस अनैतिक र उच्छृङ्खल भएर सामाजिक संगठनाई विध्वंस गर्न लाग्छ भन्ने पनि कतिपयको भनाई छ । त्यसो हुनाले यस कुरालार्ई लक्षित गरेर कुनै दार्शनिकले भनेका छन—‘वास्तवमा ईश्वरको अस्तित्व नभए पनि हामीहरूले त्यसको निर्माण गर्नुपर्छ । ’
एक प्रसङ्गमा बीपीले भन्नुभएको छ– ‘मानव चेतनाले पशुअस्तित्वको अन्धकारबाट निस्केर जब पहिलोपटक आँखा उघा¥यो, त्यसले आफ्नो अस्तित्वलार्ई ‘प्रकृति’ र त्यसको रहस्यमय दुनियाँ र आफूजस्ता अरू मानवगणको सहयोग विना आफ्नो जीवनको अस्तित्व सम्भव नभएको देख्यो होला । सर्वप्रथम उसलार्ई प्रकृतिको रूप अमैत्रीपूर्ण लाग्यो होला । यो चराचर जगत्मा आफ्नो स्थान के हो भन्ने प्रश्न उसले ग¥यो होला । यस प्रकारको प्रश्नले नै आध्यात्मिक शृङ्खलाको सूत्रपात ग¥यो । मानिसले आध्यात्मिक दृष्टिकोणबाट सामाजिक प्राणीको रूपमा आफ्नो विवेचना गर्दैन । आफ्नो स्थान त्यो चराचर जगत्को विराटतामा खोज्न चाहन्छ । मानिस विराट विश्वको सानो कण मात्र हो ।
यस प्रकारको चिन्तन गर्दा मानवदृष्टि अन्तर्मुखी हुन पुग्दछ’ । उहाँले अगाडि भन्नुभएको छ– ‘यस प्रकारको आध्यात्मिक भावनाबाट हाम्रो हिन्दू विचारधाराको पूर्वीय विचार अनुप्राणित छ । पूर्वीय विचारअनुसार सङ्गठनमा आदिभौतिकताको प्रधानता छ । यहाँको सभ्यता पनि विशेष रूपले यस्तै चिन्तनमा आधारित छ । वेद चराचर जगत्का विभिन्न दृश्यावली र त्यसले उत्पन्न गरेको मानव अनुभूतिको कवितामय अभिव्यक्ति हो । वेद, सूर्यस्तवनको कविहृदयबाट फुटेर निस्केको गीतधार जस्तो छ । उपनिषद् मानव चिन्तनको झन् परिपक्क फल हो । वेद र उपनिषद् दुवै साहित्य, प्रकृति र त्यसको रहस्यमय जगत्ले कुतकुत्याएको मानव चेतनाको एउटै उत्तेजनाबाट उत्पन्न भएका हुन् । त्यसपछिका ग्रन्थहरूमा कमवेश वेद र उपनिषद्का विचारको असर पाइन्छ । हिन्दू विचारधाराको तात्विक मूल रहस्य प्रकृतिले मानव मस्तिष्कमा पारेको असर हो । महाभारत र रामायणलार्ई एउटा सामाजिक चित्र उपस्थित गर्ने काव्यको रूपमा लिइए पनि दुबै ग्रन्थ आध्यात्मिकताले अनुप्रेरित छन् । महाभारतको गीता शुद्ध आध्यात्मिक ग्रन्थ हो । यस प्रकारको चिन्तनले आत्मदर्शनलार्ई विशेष प्रोत्साहन दिन्छ । यसै प्रसङ्गमा उहाँले भन्नुभएको छ– ‘मेरो भनाइको तात्पर्य हिन्दू विचार प्रणालीमा आध्यात्मिक भावना बाहेक अरू सामाजिक तथा दैहिक भावनाहरू छैनन् भन्ने होइन । त्यसको तात्पर्य त केवल, हिन्दू विचार प्रणालीमा आध्यात्मवादको पक्ष अरू पक्षभन्दा धेरै बलवान् छ र अध्यात्मवाद हिन्दूसभ्यता र संस्कृतिको प्रेरणा—मुल हो भन्ने मात्र हो । मानव चिन्तनको एक पक्षमा मात्र कुनै पनि सभ्यताको जग आधारित हुँदैन । तर , त्यो सभ्यतामा कुन पक्षको प्राधान्य छ भन्ने कुरा कला, साहित्य, दर्शन इत्यादिको अभिव्यक्ति र पक्षको प्रकट गर्छ । हिन्दूसभ्यतामा कला, साहित्य, दर्शन इत्यादिमा अध्यात्मवादको प्रधानता रहेको घोषणा गर्दछन्’ ।
धर्मको तात्पर्य ती सत्यात्मक नियमहरूको धारणसँग रहेको छ जसको धारण व्यक्ति एवं समाजले गर्दछ । जसअनुरूप यो नियम कर्तव्यको रूपमा परिवारका प्रत्येक सदस्य, समाज हुँदै राष्ट्रव्यापी मात्र होइन विश्वव्यापी बन्न पुग्दछ । माता, पिता, पुत्र, बधू, बन्धु आदिको परिवारसँग जेजस्तो नाता हुन्छ ती सबै कर्तव्यबोधबाट बाँधिएका हुन्छन् । जहाँ कर्तव्य हुन्छ त्यहाँ विरोधको स्थिति पनि रहँदैन । मानव कर्तव्यले मानिसलाई व्यक्तिगत विचार तथा कर्मको तनावबाट माथि उठाइदिन्छ । यही कर्तव्यले नै मानिसलाई सेवातर्फ अग्रसर गराउँछ यही नै ‘धर्म’ हो र यही सेवा भावनाको अर्को नाम ‘यज्ञ’ पनि हो । यज्ञ यस्तो चिज हो जसले अर्काका लागि स्वार्थ तथा सुखको त्याग गर्र्दै अर्काको सेवाको लागि युक्ति प्राप्त गर्दछ त्यही जीवन पद्धति नै ‘यज्ञीय पद्धति’ हो । वैदिक सनातन धर्ममा विश्वास गर्ने परिवारको व्यवहारिक स्थिति यही भावनाको बलमा नै टिकेको छ । यसरी प्रेममय वातावरणमा परिवारका प्रत्येक सदस्यले आफ्नो कर्तव्यको पहिचान गरी त्यसको पालन गर्दछन् । अर्काको कुनै वस्तुप्रति आँखा नलगाउनु तथा त्यस्तो दुस्कर्मप्रति कुनै पनि भावना मनमा नआउनु नै पारिवारिक जीवनको रस हो जसलाई नै स्वर्गीय जीवनको संज्ञा दिइएको छ । प्रत्येक व्यक्तिमा एक–अर्काको सहयोगको भावना आउने आदर्श नै ‘स्वर्ग’ हो । यसको विपरित प्रत्येक वस्तुलाई आफ्नै स्वार्थको दृष्टिले हेर्नु, अधिकारको कुरा गरेर केवल प्राप्त गर्ने इच्छा राख्ने विचारले संघर्ष तथा विरोधको स्थितिको सिर्जना गर्दछ । जसलाई धर्मशास्त्रीय भाषामा ‘नरक’ भनिन्छ । प्रत्येक कुलको प्रत्येक सदस्यले यो कुरा सोच्नुपर्दछ कि मेरा कारणले परम्परा विच्छिन्न हुन नपाओस् मेरा कारण यो पारिवारिक तन्तु टुट्न नपाओस् । यस्तो भावना कर्तव्यबोधका माध्यमबाट आउँछ । यही कर्तव्यबोध नै ‘धर्म’ हो जुन संस्कारको माध्यमबाट एक पुस्ताबाट अर्को पुस्तामा, एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरित हुन्छ । महामानव विश्वेश्वरप्रसाद कोइराला पनि धर्म, संस्कार र आध्यात्मबादका सम्बन्धमा यही भावनाबाट अभिप्रेरित रहेर यावच्जीवन समाज तथा देशकोे सम्बद्र्धनका लागि क्रियाशील रहेको देखिन्छ ।
धर्मका सम्बन्धमा बीपीले एक प्रसङ्गमा भन्नुभएको छ– ‘धर्मको विरुद्धमा त म पटक्कै छैन, छँदै छैन । तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन’ । विश्वेश्वरप्रसाद कोइरालाको उल्लेखित वचनबाट उहाँ धर्मको विरुद्ध नभएको मात्र होइन ‘पटक्कै छैन, छँदै छैन’ भन्ने कुराबाट उहाँ धर्मका पक्षपाती हुनुहुन्थ्यो भन्ने कुरा स्पष्ट हुन्छ । धर्म भनेको जीवन पद्धति हो, प्राकृतिक नियम हो जसको विरुद्धमा कोही पनि जान सक्दैन भने महान् नेता विश्वेश्वरप्रसाद कोइराला जाने कुरै भएन तथापि उहाँले स्पष्ट शब्दमा भन्नुभएको छ ‘म धर्मको अभ्यास गर्दिन’ । यसको तात्पर्य धर्मका सम्बन्धमा विशेष प्रकारले जान्ने प्रयत्न उहाँले नगरेको देखिन्छ । कुनै पनि कुरालाई विशेष प्रकारले जान्नका लागि अभ्यासको खाँचो पर्दछ त्यसैमा समर्पित हुनुपर्दछ भन्ने गीताको वचन छ । तथापि मानिसमा रहेको धार्मिक विश्वासको कदर भने बीपीले गर्ने गरेको कुरा विभिन्न स्थानमा छरिएर रहेका उहाँका विचारबाट थाहा पाउन सकिन्छ । एक अर्को प्रसङ्गमा उहाँले भन्नुभएको छ– ‘एक जनाले साईं बाबाको विभूति मेरो जहानलाई दिएको रहेछ–यो लगाइदिनु भनेर । मलाई लगाई दिइन् । मलाई विभूति दिने व्यक्ति वा त्यस विभूतिलाई पवित्र ठान्ने मेरो पत्नीको भावनालाई म असाध्य कदर गर्दछु’ । यसरी विश्वेश्वरप्रसाद कोइरालाले हरेक व्यक्तिको भावनालाई यसरी कदर गरेको देखिन्छ । अर्काको भावनाको कदर गर्नु नै धर्मको पालन गर्नु हो । मन्दिर जाँदैमा र मूर्तिको पूजा गर्दैमा धर्म हुँदैन । धर्म त भावनामा रहेको छ जुन भावनाको कदर कोइरालाले गरेको देखिन्छ । कोइरालाले एक प्रसङ्गमा भन्नुभएको छ– ‘सूर्यको उदयले गुलाफ पक्रेको कुराले तपाईंलाई रिझाउन सकेन भने तपाईंको जीवनको एउटा पक्ष त सुकेको रहेछ । तपाईंले सूर्योदयलाई राम्रो भन्न सक्नुभएन, रोमाञ्चित हुनु भएन भने । हो, रोमाञ्च जसले उत्पन्न गर्दछ त्यही ठाउँमा धर्म पनि बसेको हुन्छ’ । वास्तवमा मानिसलाई जागृत बनाउन सक्नु, अभिप्रेरित गर्नु नै धर्म हो । धर्म भनेको अनुभूतिको विषय हो र जसको अनुभूति विश्वेश्वरप्रसाद कोइरालाले गरेको देखिन्छ ।
उपनिषद् वेदको अन्तिम भाग हो जसलाई अध्यात्मविद्या तथा ब्रह्मविद्याको नामले चिनिन्छ । वेदको अन्तिम भाग भएका कारण उपनिषद्लाई वेदान्तको नामले पनि चिनिन्छ । उपनिषद् वेदको ज्ञानकाण्ड होे जुन ज्ञानको आदि श्रोत, विद्याको अक्षय भण्डार र वेदविद्याको चरम सिद्धान्त हो । यसले संसारका प्राणीमात्र आफ्नो बन्धुमात्र होइन आफ्नै स्वरूप नै संझन्छ । उपनिषद्ले मानवजातिलाई अल्पज्ञानबाट अनन्तज्ञानतर्फ, जन्ममृत्युरूपी बन्धनबाट अनन्त स्वातन्त्रमय शाश्वत शान्तितर्फ लैजान्छ । जसमा रहेको अनन्त ज्ञानमध्ये ईश्वरको सम्बन्धमा व्याख्या गर्दै बीपी कोइरालाले भन्नुभएको छ– ‘ईश्वरलाई विज्ञानको माध्यमले व्याख्या गर्न सक्नुहुन्न । भौतिक आधारमा ख्याख्या गर्न सक्नुहुन्न । ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो’ । यसरी उहाँले ईश्वर दृश्य बस्तु नभएर अनुभूतिको विषय भएको बताउनुभएको छ । उहाँले एक अर्को प्रसँगमा भन्नुभएको छ– ‘मानिसको जुन संकट छ– मानसिक होस् वा आध्यात्मिक, त्यसको निवारण उसको आत्मबलमा छ । सानो एउटा संकटले कतिलाई छटपटाएर मारिदिन्छ । कोही मान्छे त्यो संकटमाथि विजय प्राप्त गर्दछ ।….. दैवी शक्ति भन्ने कुरा त्यसबाट निःसृत हुन्छ’ । वास्तवमा ईश्वर भनेको कोइरालाले भनेजस्तै आध्यात्मिक अनुभव नै हो । उपनिषद्मा पनि त्यागपूर्वक सम्पत्तिको उपभोग गर्न र कसैको धनसम्पत्तिमाथि लोभ नगर्न निर्देशित गरिएको छ । प्रतिदिन बलिवैश्वदेव गरेर मात्र भोजन गर्नु यही त्यागवृत्तिको प्रतीक हो । तपस्याबाट नै मानिसले आफूलाई पवित्रिकृत गर्दछ । विना तपस्या त्यागको भावना आँउदैन अर्थात् तपस्याका लागि त्यागभावना हुनु अतिआवश्यक छ । जसका लागि आध्यात्मिक अनुभवको माध्यमबाट ईश्वरलाई चिन्नुपर्ने कुरामा कोइरालाले जोड दिएको देखिन्छ । जसमा आत्मबल हुन्छ त्यसले ठूलो संकटलाई पनि पार गर्न सक्ने भएकोले आध्यात्मिक अनुभूतिका माध्यमबाट आत्मबल तथा दैवी शक्ति प्राप्त गरेर जीवनमा आउने संकटमाथि विजय प्राप्त गर्नुपर्ने कुरामा कोइरालाले जोड दिएको देखिन्छ । यसरी अध्यात्मका सम्बन्धमा पनि कोइराला स्पष्ट हुनुहुन्थ्यो । यसरी बीपीवाद नामक ग्रन्थमा बीपीद्वारा प्रतिपादित विचारहरूलाई विस्तृत रूपले प्रकाश पार्ने प्रयत्न गरिएको छ ।