विचार

नेपालका कम्युनिष्ट र धर्म

मोहम्मद वाहिद अलि
नेपाल बहु धर्म, जाति र संस्कृति भएको देश हो । हाल नेपालमा कम्युनिष्ट पार्टीहरूको बहुमतीय सरकार छ । नेपालका सबै कम्युनिष्ट धारका पार्टीभित्र धर्ममा आस्था राख्नेहरूको ठूलो जमात छ । जसले पार्टीभित्र नै भ्रातृ संगठन खोलेका छन् । कुनै व्यक्ति कुनै पार्टीप्रति आस्था हुनु भनेको पार्टीको नीति र सिद्धान्त आफू अनुकूल हुनु हो । अर्थात् मानिसहरू पार्टीको विधान पढेर, सुनेर, बुझेर अनि मनन गरेर नै उक्त पार्टीको सदस्य बन्ने गर्छन् । कम्युनिष्टहरूको विश्व इतिहास हेर्ने हो भने उनीहरूको सिद्धान्त धर्मका पक्षमा देखिँदैन । नेपालका कम्युनिष्टहरू पनि धर्मप्रति सकारात्मक देखिँदैनन् । जुन कम्युनिस्ट शीर्ष नेताहरूको क्रियाकलापले दर्शाउँछ । तथापि धर्मकर्ममा विश्वास गर्ने कम्युनिष्टहरू आफ्नो पार्टीको सिद्धान्तसँग कसरी सहमत छन् भन्ने विषय सोचनीय छ ।
नेपालमा कुल जनसंख्याको ८१.३ प्रतिशत हिन्दू धर्मावलम्बी छन् । पछिल्लो राजनीतिक परिवर्तनसँगै देश धर्मनिरपेक्ष घोषित भएको छ । हिन्दू राज्यको वकालत गर्ने कमल थापाको पार्टी राट्रिय पार्टी सम्म बन्न सकेन । जसले नेपालीहरू धर्मभन्दा आफ्नो पार्टीलाई बढी महत्व दिन्छन् भन्ने कुरा दर्शाउँछ । पछिल्लो समय धार्मिक प्रवचन दिने पण्डितहरूमाथि गोली प्रहार भयो । देशमा खुलेआम धर्म परिवर्तनका विभिन्न क्रियाकलाप देखिन थालेका छन् । देशका सम्मानित प्रधानमन्त्री स्वयं ईश्वरको नाममा सपथ खाँदैनन् । देशका प्रमुख धर्मावलम्बीहरूको चाडपर्वमा दिइँदै आएको राष्ट्रिय बिदा कटौती हुन्छ । प्रधानमन्त्री कार्लमाक्सलाई पुज्ने हुकुम दिन्छन् । यसरी प्रत्येक दिन धार्मिक आस्थामाथि प्रहार भइरहँदा सम्पूर्ण जनता मौन छन् । विरोध कतै हँुदैन । यी सबै घटनाक्रमले देश नास्तिकतातर्फ जाँदै छ भन्ने अनुमान लगाउन सकिन्छ ।
नास्तिकता के हो
नास्तिकता अर्थात् अनीश्वरवाद यस्तो सिद्धान्त हो जसले ईश्वर छन् भन्ने सर्वमान्य प्रमाणको आधारलाई स्वीकार गर्दैन अर्थात् ईश्वर छन् भन्ने कुरामा विश्वास राख्दैनन् । त्यसैले होला, कम्युनिष्टहरू धर्मलाई अफिमको संज्ञा दिने गर्दछन् । धार्मिक चाडपर्व, रीतिरिवाज, विवाह, व्रतबन्ध, काजक्रिया आदिलाई केवल रुढिवादी संस्कृति हो भन्ने गर्दछन् । नेपालमा कम्युनिस्ट नेताहरूसँगै उनीहरूका केही कार्यकर्ताहरूले पनि यिनै कुराहरूलाई महत्व दिएको पाइन्छ ।
हाम्रो समाजमा दशैँ तिहार मनाउने, काजक्रिया गर्ने अनि मन्दिर पनि धाउने तर नास्तिकजस्तो कुरा गर्ने नास्तिकसँग बेलाबखत भेट हुन्थ्यो । केही वर्ष पहिले एकजना शुद्ध नास्तिक जापानी महिला युकीसँग भेट भयो । उनी जाइकाकी स्वयंसेविका थिइन् । उनी प्रस्ट नेपाली बोल्ने गर्थिन् । हाम्रो भेटका क्रममा जापान र नेपाल बीचका विभिन्न जिज्ञासाहरू मेट्ने कोसिस हुन्थ्यो । यसै क्रममा प्रसंगवश उनि र उनका परिवारहरू ईश्वर र धर्मप्रति आस्था नराख्ने कुरा उनले सुनाइन् । उनी भन्ने गर्थिन्– मिहिनेत गर, अरूको कुभलो नसोच, आफैंमाथि विश्वास गर, जीवनमा मनले चाहेको सोचेको खोजेको सबै कुरा गर्न नचुक । युकीको कुराले मेरो मन मस्तिस्कमा तरंग पैदा गरिदियो । के नास्तिकहरूको बाँच्ने आधार केवल यही हो ? म निकै लामो समयसम्म नास्तिकहरूको बारेमा सोधखोज गर्न लागिरहेँ । नेपालमा पछिल्लो दशकमा युकीको जस्तो धारणा राख्नेको जमात बढ्दै गएको छ । धर्म भनेको नामका पछाडि लेखिने थरमा सीमित भएको देखिन्छ ।
आस्तिकता के हो
चौध सय वर्ष पहिले पवित्र ग्रन्थ कुरान अन्तिम सन्देष्टा मार्फत अल्लाहले संसारमा पठाउनु भयो । मानव जाति र सम्पूर्ण जगतको भलाइका निम्ति सो ग्रन्थ अवतरित भएको थियो । जसमा यो सृष्टिलाई बचाइराख्नका निम्ति धेरै कुरा लेखिएका छन् । हामीमाथि धेरै कुराहरू वर्जित गरिएका र धेरै कुराहरू अनिवार्य गरिएको छ । अहिले वैज्ञानिकहरूले तिनै वर्जित गरिएका र अनिवार्य गरिएका कुराहरूलाई सोधखोज र अनुसन्धानबाट हुबहु पुष्टि गरेका छन् । अर्थात् एउटा सच्चा ब्राह्मण, मुस्लिम अथवा क्रिस्चियनलाई हेरौँ, अहिलेका वैज्ञानिकहरूको लामो शोध एवं अनुसन्धानबाट पुष्टि भएका नियम सदियौंदेखि गर्दै आइरहेका छन् । जसले गर्दा नै आजसम्म मानव अस्तित्व कायम छ ।
हामीले धर्मग्रन्थले भनेको कुराहरू केवल एउटा धर्मको निम्ति हो भन्ने अर्थ लगायौँ तर वैज्ञानिकहरूले गरेका खोज अनुसन्धानलाई भने सर्वस्वीकार्य मान्यौँ । जबकि ती खोज अनुसन्धानका निष्कर्षहरू ग्रन्थहरूमा लेखिसकिएको छ, आजभन्दा हजारौ वर्ष पहिले ।
हामी केवल एक पुस्ता पहिलेका पुर्खा लाई हेरौ। उहाँहरूले केवल बिजुली मोटर सम्म पनि नदेखी परलोक हुनु भयो। हजारौ बर्ष पहिले मानव सभ्यता कस्तो थियो होला । जसको हामी अनुमान सम्म लगाउन सक्दैनौँ । त्यो बेला ती ग्रन्थहरू अवतरित भए । अब हाम्रो पुस्ताको कुरा गरौँ । हामीले संसारमा धेरै चमत्कारी कुराहरू देख्ने अवसर पायाैं । अहिले संसार एउटा गाउँजस्तो भएको छ । घरमै बसेर मोबाइल ल्यापटपमा इन्टरनेट आदिका मदतले धेरै ज्ञान आर्जन गर्न सक्छाैं । तथापि रेडियो टिभी तथा पोस्टर होर्डिङ बोर्डमा हामीलाई खान खानुअघि हात धुनुपर्ने कुरा सिकाइन्छ । खुल्ला दिसामुक्त क्षेत्र भन्ने कार्यक्रम गर्नु परेको छ । ध्यान, योग आदिको व्यापार हुन थालेको छ । जब कि मानव स्वास्थ सम्बन्धी सरसफाइ, खानपिन, ध्यानजस्ता सबै विषयहरू हाम्रा ग्रन्थहरूमा प्रस्ट लेखिएको छ ।
केही समययता हाम्रो देशलगायत धेरै देशहरूमा बलात्कारीलाई फाँसी दिनु पर्दछ भन्ने कुराको बहस चलिरहेको छ । धर्ममा बलात्कारी, निर्दोषको हत्या गर्नेदेखि लिएर ठगी, चोरी, डकैतीजस्ता धेरै कार्यलाई अपराध भनिएको छ । जसलाई कठोर सजाय दिनुपर्छ भनिएको छ । यस्ता कुरामा धनीगरिब कसैलाई माफ नहुने भनिएको छ । हाम्रो पुस्ताका महान् बैज्ञानिक र विद्वानहरूको लामो सोधखोज अनुसन्धानबाट प्रतिपादन भएको निचोड नै ती हजारौं वर्ष पहिलेका ग्रन्थमा लेखिनु भनेको ती पुस्तक ईश्वरीय हुन् भन्ने कुरालाई पुष्टि गर्ने आधार हुन् ।
ईश्वर अनि धर्मप्रति आस्था हुनु नहुनु आआफ्नै किसिमका धारणा हुन सक्छन् । अहिले पनि विश्वभरि बहुसंख्यक मानिसहरू धर्मप्रति आस्था राख्ने गर्दछन् । यसरी धर्मप्रति आस्था नहुने हो भने विश्वका शक्तिशाली देशहरूले विभिन्न वहानामा ठूल्ठूला युद्ध गराउँदैनथे । जसको मुख्य कारण भनेको अर्को धर्मको नाश गर्नु हो । तेल, आणविक हतियार आदि सबै बहाना हुन् । पछिल्लो घटनाक्रमले त्यही कुराको पुष्टि गर्दछ । उत्तर कोरिया र अमेरिकाको युद्ध नहुन यसको गतिलो उदाहरण हुनसक्छ ।
हाम्रो देशका कम्युनिस्टहरू बोली र व्यवहारमा अपरिपक्व छन् किनकि तिनै नेताहरू जसले आफ्नो पिताको चाहना भन्दै दशैँको टीका जमरा लगाउने गर्दछन् । बाबुकै नाममा चार धाम घुम्ने गर्छन् । मुस्लिम बाहुल्य भएको ठाउँमा गएर मुस्लिमहरूको पहिरन लगाउदै इस्लाम धर्मको चर्चा गर्छन् । बौद्धहरूको अगाडि ‘बुद्ध भगवान्’ नेपालमा नै जन्मेका हुन् भनेर छाती पिट्छन् । फेरि कम्युनिष्टहरूको भीडमा जाँदा कार्ल माक्र्सलाई भगवान् बनाइदिन्छन् ।
कार्ल माक्र्स यहुदी परिवारमा जन्मिएका थिए । उनको परिवारले धर्म परिवर्तन गरि इसाई धर्म स्वीकार गरेका थिए । कार्ल माक्र्स एक प्रसिद्ध दार्शनिक, अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्ति हुन् । कार्ल माक्र्स जसको विचार सिद्धान्तको आधारमा साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो अर्थात् कार्ल माक्र्स ईश्वर र धर्मप्रति आस्थावान् थिएनन् । निश्चित रूपमा उनले यो सोचेका थिएनन् कि उनका समर्थक उनलाई भगवान् मान्ने छन् । नेपालमा कार्ल माक्र्सको सिद्धान्तलाई सर्वोपरि ठान्नेहरू उनलाई पूजनयि ठान्दछन् । कम्युनिज्म अर्थात् साम्यवाद जहाँ वर्गहीन समाजको परिकल्पना गरिन्छ तथापि त्यहाँ पनि कोही पूजनीय छ ।
धर्मले हामीलाई जीवन जिउने तरिका सिकाएको छ । बाँच्नुको उद्देश्य प्रस्ट पारेको छ । हामीलाई सर्वोत्कृष्ट मानव बन्ने मार्ग देखाएको छ । धर्मग्रन्थहरूले देखाएका बाटोले गर्दा नै आजसम्म मानव अस्तित्व छ । जुन आधुनिक विश्वको जन्म हुनुभन्दा हजारौँ वर्ष अघिदेखि थियो र अहिल सम्म छ अनि ईश्वर र धर्मप्रति आस्था रहुन्जेल रहनेछ । कार्ल माक्र्स एकजना दार्शनिक हुन् जसको विचारले केवल केही नास्तिक विचारकहरूलाई जन्म दिएको होला तर कार्ल माक्र्स तथा उनका अनुयायी र सम्पूर्ण जगतको जन्म केवल एक परमात्माको देन हो ।

२०७५ वैशाख २४ गते ८:१५ मा प्रकाशित

nema
Show More

Related Articles

Check Also
Close
Back to top button