सिके लाल
अरस्तुको प्रसिद्ध भनाइ छ कि मानिस एउटा सामाजिक प्राणी हो । यसलाई राजनीतिक प्राणी हो भन्ने अर्थमा पनि बुझिन्छ । दुवैमध्ये जुन स्विकारे पनि के कुरा पक्का हो भने मानिस जन्मिएदेखि नै एक्लो रहँदैन । समाजमा मानिसको स्थान कसरी निर्धारण गर्ने भन्नेबारे दुईथरीको संगठन गर्ने विधि सुरुदेखि रहँदै आएको छ– पहिलो, राजनीतिक र दोस्रो, धार्मिक संगठन । भन्नुको अर्थ पुरातनकालदेखि नै दुई प्रकारका सांगठनिक व्यवस्था रहँदै आएका छन् । धर्म विस्मय हो, त्यसैले धर्मले विश्वास गर भन्छ । धर्मका अनुसार चट्याङ, बाढी, हुरीबतास कसरी आउँछ भने एउटा पराशक्ति छ र त्यस शक्तिलाई व्यक्तिले बुझ्न सक्दैन । तर, राजनीतिको आधार भने त्यो होइन । राजनीतिले शक्तिमा विश्वास गर्छ र पराशक्तिलाई खारेज गर्छ । जे हो शक्ति नै हो । त्यसैले लामो समयदेखि धर्म र राजनीतिका बीच द्वन्द्व रहँदै आएको छ । संगठनको हिसाबले मानव सभ्यताको इतिहास पहिले कविलाइ स्वरूपमा थियो । कविलाइ स्वरूपमा जो पुजारी हुन्थ्यो अथवा जसले जादु–टुना जान्थ्यो, मानिस उसैसँग सल्लाह लिन पुग्थे । त्यो युगमा पुजारी नै शासकको रूपमा हुन्थ्यो । त्यतिवेलासम्म पुजारी र मुख्तियार एउटै हुन्थ्यो । कविलाइ समाज अलिकति अघि बढ्दै गएपछि कविला–कविलाका बीच द्वन्द्व हुन थाल्यो । त्यस द्वन्द्वले कविलाहरूमा मुख्तियार छान्नुपर्ने अवस्था सिर्जना भयो । मुख्तियार त्यही मान्छे हुन्थ्यो, जो बलियो छ । त्यसपछि शक्तिमा दुईथरीका व्यक्ति आसीन हुन थाले । एउटा पुजारी । दोस्रो मुख्तियार ।
जब कविलाई समाजबाट हामी स्थापित कृषि समाजमा आउँछौँ, तब हामी देख्छौँ, सुरक्षा दिन सक्नेको विकास सामन्तको रूपमा हुन पुग्छ । सामन्त बलियो भएर आउँछ । सामन्त फैलिँदै जान थालेपछि तिनका बीचमा संघर्ष हुँदै जान्छ । कविलाई र सामन्तबीचको संघर्षलाई कसरी रोक्ने र ती सबैलाई कसरी जोड्ने भन्दै गर्दा धर्म त्यसको विकल्पका रूपमा देखा पर्न थाल्छ । यी सबै भन्दा धर्म ठूलो हो भनेर यसको स्थापना भयो । त्यसपछि धर्म प्रमुख भएर सामुन्ने देखापर्छ । त्यसपछि १७औँ शताब्दीको सन् १६४८ मा युरोपमा बेस्टफालियाको सन्धि हुन्छ । त्यसले सार्वभौम शक्ति ईश्वर हो भन्ने अवधारणा ल्यायो । पृथ्वीलाई इहलोकको रूपमा व्याख्या गर्दै धर्मले भनेअनुसार काम गरेमा निर्वाण प्राप्त गरिने भनियो । त्यसलाई विभिन्न धर्ममा आ–आफ्नै नाम दिइयो जस्तै, कुनै धर्ममा पुनर्जन्मको अवधारणा छ । कुनै धर्ममा स्वर्ग, नर्क, जन्नत, हेवन, दोजख आदि छन् भनेर व्याख्या गरियो । सबैको सार्वभौमिकता ईश्वरमा छ र सबैको निर्णय गर्ने अधिकारी परमेश्वरमा निहित रहेको भनियो ।
वेस्टफालियन सन्धिपछि समाजमा अर्को स्वर देखाप¥यो । जसले सार्वभौमिकता राजामा हुन्छ भन्यो । उसले नै राजा र धर्म अलग–अलग कुरा हो भन्यो । त्यसपछि राजा बलियो भएर आउँछ । त्यो समयमा राजा बलियो भएर आए पनि धर्मको स्थान कमजोर भने हुन पाउँदैन । किनभने नागरिकका समस्या त यथावत् नै थिए । अहिले पनि स्रोत कम छन्, मान्छेका आकांक्षा धेरै । शक्तिका कारण एउटा राजाले अर्को राजासँग लड्न चाहन्छ । त्यस्तोमा सामान्यजनले दुःख पाउँछन् । तर, धर्मको महŒव कम हुँदैन । त्यसपछि राजाको प्रतिस्पर्धाका बीच बिस्तारै सम्राटको उदय हुन्छ । सम्राटको शासनकालमा उसलाई के लाग्छ भने हामीले धर्मलाई पनि आफ्नो बनाउन सक्यौँ भने शासन गर्न सजिलो हुन्छ । त्यसपछि सम्राटले धर्मको सहयोगमा संसारभर उपनिवेशको निर्माण गर्न थाल्छ । बेलायत, फ्रान्स, अस्ट्रिया, जर्मन सम्राटको उदय त्यही पृष्ठभूमिमा हुन्छ । उपनिवेशलाई स्वीकार्य बनाउने काम धर्मलाई हतियारको रूपमा प्रयोग गरेर गर्न थालिन्छ ।
सन् ९० पछिको वैश्वीकरणले मानिसमा असमानता र अनिश्चितता बढाइदियो । चिन्ता, असमानता, अनिश्चितता आदिले धनी देशमा मानसिक समस्या, क्रूरतालाई सतहमा ल्याइदियो । यहीँनेर जसको कोही छैन, उसको परमात्मा छ भन्ने मतले गहिरो गरी समाजमा जरा गाड्न पुग्यो ।
त्यसको सबैभन्दा राम्रो उदाहरण भन्ने गरिन्छ नि– अफ्रिकामा पश्चिमा पुग्दा तिनका हातमा बाइबल थिए र अफ्रिकीसँग जमिन थियो । जब प्रार्थना गर्न अफ्रिकीले आँखा चिम्ले तिनका हातमा बाइबल र उपनिवेशवादीको हातमा जमिन थियो । साम्राज्यवाद र धर्मले सँगसँगै काम गर्छ । धर्म र सम्राज्यले सँगै काम गर्दै गर्दा युरोपमा दुई विचारधारा अगाडि आए । पहिलो, डार्विनको सिद्धान्त । १७औँ र १८औँ शताब्दीमा मानिस ईश्वरले बनाएको होइन भन्ने प्रगतिवादी अवधारणा आयो । दोस्रो, उद्वोधन युग आयो । उद्वोधन युग भनेको कला साहित्यमा उच्चतर स्तर हासिल गर्न सम्भव छ भन्ने हो । लगभग यही समय जेम्स वाटको वाष्पको इन्जिनबाट रेल चलाउन मिल्ने आधुनिकतावाद आयो । यससँगै औद्योगिक क्रान्ति भयो । यसले मानिसको जीवनलाई तर्क आधारित हुन सिकायो । यो भन्नुको अर्थ विज्ञानको विकास थियो । विज्ञानले प्रयोगमा जोड दियो र प्रयोगबाटै नियम बनाउँदै त्यसलाई दुनियाभर लागू गर्न सकिन्छ भन्यो । प्रयोगले प्रविधि निम्त्यायो । प्रविधिले के भन्यो भने विज्ञानको नियममा एउटा कर्ता हुन्छ अर्को परिस्थिति हुन्छ । कर्म गर्ने हो त्यसपछि प्रक्रिया हुन्छ र त्यसले परिणाम दिन्छ । यो प्रक्रियाबाट सबै कुराको प्रक्षेपण गर्न सकिन्छ ।
जस्तै, दुई हाइड्रोजन र एक अक्सिजन मिलाउने हो भने पानी बन्छ र त्यो पानी दुनियाभर जहाँ पनि हुन्छ । न्युटनले पनि बलको सिद्धान्त प्रतिपादन गरे । उनले कुनै वस्तु आफ्नो ठाउँमा छ भने बाह्य बल प्रयोग नगरेसम्म आफ्नै ठाउँमा रहन्छ भने । क्रियाको प्रतिक्रिया हुन्छ भनेसँगै यी नियमले समाजशास्त्रमा के भइदियो भने समाजमा पनि विज्ञान सम्भव छ । समाजमा विज्ञानको प्रयोगलाई नै आधुनिकता भन्न थालियो । आधुनिकताले समाजमा प्रवेश पाएसँगै त्यसले तीन किसिमको विचारधारा सँगै ल्यायो । यहाँ विचार र विचारधारामा भिन्नता बुझ्न जरुरी छ । विचार कुनै खास वस्तु अथवा प्रक्रिया, घटनाबारे हुन सक्छ । तर, विचारधारा त्यसवेला हुन्छ, जब त्यसले ब्रह्माण्डलाई नै व्याख्या गर्ने प्रयत्न गर्छ । यहीँबाट पुँजीवादी विचारधारा आयो । पुँजीवादले के भन्यो भने संघर्ष र बुद्धिबाट केही व्यक्तिले धन सञ्चय गर्छन् र लगानी गर्छन् । लगानीले प्रतिफल दिन्छ । प्रतिफलबाट पुनः लगानी हुन्छ र त्यसबाट रोजगारी सिर्जना हुन्छ । दोस्रो, माक्र्सवादको व्याख्या आयो । माक्र्सवादले अहिलेसम्मको इतिहास वर्ग संघर्षको इतिहास हो भन्यो । वर्गसंघर्षको इतिहास के अर्थमा हो भने न्यायपूर्ण वितरण पुँजीवादमार्फत सम्भव छैन । नाफा कमाउनेले झन्–झन् नाफा कमाउँदै जान्छन् भन्यो । तेस्रो विचारधारा होइन यी दुवैको बीचमा सामञ्जस्यको उपाय छ भन्यो ।
यसलाई फेवियन समाजवादी विचारधारा भनिन्छ । उसले नाफा कमाउनु अपराध होइन र वर्गसंघर्षबाट न्याय स्थापित हुन्छ भन्ने भरपर्दो आधार छैन भन्यो । उसले मध्यमार्गी धारमा यो दुवैको बीचमा बाटो छ भन्यो । यी तीनवटै विचारधाराका बीच जर्मन दार्शनिक फ्रेडरिक नित्सेले बलियोसँग ईश्वरको मृत्यु भयो भने । ईश्वरको मृत्युबारे अझैसम्म कविलाइ समाजमा, सामन्तवादमा, साम्राज्यवादमा, राजाको कालमा र औद्योगिक क्रान्तिको वेलामा पनि कसैले प्रश्न उठाएका थिएनन् । तर, आधुनिकताको प्रवेशसँगै जब यो विचार अगाडि आयो, त्यसपछि ईश्वरको भूमिका विवादित भयो । ईश्वर र धर्म सबैभन्दा विवादित खास गरेर पुँजीवादमा भयो । विवादित हुनुमा महŒवपूर्ण भूमिका स्वयं पुँजीवादकै थियो । किनभने उसले धर्मलाई हतियारको रूपमा प्रयोग गरिरहेको थियो । त्यसैले त हिन्दू, बौद्ध, इस्लाममा यो विवादित नै रह्यो । सबैभन्दा धेरै विवादित इसाईमा नै छ किनभने यसले धर्मलाई हतियारको रूपमा निकै प्रयोग ग¥यो । चर्च विशाल र धनी हुँदै जाने र त्यसमा आस्था राख्नेको हालत झनै दयनीय हुँदै जाने भयो । यो कुरा सबै धर्मको हकमा लागू हुन्छ । नेपालमा पशुपतिनाथ कति धनी थिए भने तिब्बतसँग लड्नका लागि राणाले ऋण लिने गर्थे । पुँजीवादले धर्मलाई आस्थाभन्दा पनि भौतिक संकटका वेला आफूलाई सुरक्षा दिने किसिमबाट प्रयोग गर्ने गरेको छ ।
कार्ल माक्र्सको एउटा उक्ति छ– उत्पीडितको उत्पीडन भएको निर्मम संसारमा धर्म उत्पीडितको उच्छवास हो र धर्म भनेको अफिम हो । माक्र्सको यो उक्तिलाई निकै गलत ढंगले प्रचार गरियो । उनले यसो भन्नुको खास प्रसंग के थियो भने अफिमलाई ठूलो दुखाइ कम गर्न प्रयोग गर्ने गरिन्थ्यो, एनेस्थेसियाको आविष्कार नहँुदा । अफिम ओखती होइन, तर संवेदनालाई कुन्द गरिदिन्छ, अनि दुखेको अनुभूति हुँदैन । माक्र्सले धर्म अफिम हो भनेको यही अर्थमा थियो । तर, यस उक्तिलाई माक्र्सले धर्मलाई खारेज गरेको अर्थमा व्याख्या गरियो । माक्र्सले खासमा इतिहासबाट प्रमाण जुटाए, समाजशास्त्रीय व्याख्या गरे, राजनीतिमा यसको असर यस्तो हुन्छ भनेर देखाए । माक्र्सको दर्शनको वास्तविक सत्यापन लेनिनले रूसमा प्रयोग गरे । तर, सिद्धान्तको अक्षरशः प्रयोग व्यावहारिक जीवनमा हुँदैन । व्यावहारिक जीवनमा भूगोलको वास्तविकताअनुसार परिमार्जनसहित हुन्छ । रुसमा लेनिनलाई क्रिस्चियनका चर्च बेपत्तासँग शक्तिशाली रहेको जारकालीन समाजमा क्रान्ति गर्ने चुनौती थियो । बोल्सेभिक क्रान्तिबाट जारलाई हटाउन गाह्रो थिएन । तर, चर्चको साम्राज्य कसरी तोड्ने चुनौती थियो । अनि उनले माक्र्सको ‘धर्म अफिम हो’ भन्ने उक्तिलाई सामान्यजनको दुस्मनको रूपमा व्याख्या र लागू गरे । लेनिनले के बुझेका थिए भने सोभियत संघलाई एकबद्ध र बलियो बनाउने हो भने राजनीतिक शक्तिको केन्द्र हटाएर मात्रै हुँदैन कि धार्मिक शक्तिको केन्द्र पनि हटाउन उत्तिकै जरुरी छ ।
वर्तमान समाजको अनिश्चितताको उत्तर हालको राजनीतिक विचारधारासँग छैन । जसले समाजका सबै समस्याको उत्तर मसँग छ भन्यो समस्या तिनैलाई परेको छ । साम्यवाद अथवा समाजवादको समस्या भनेकै त्यही हो । पुँजीवादले त समाजका यावत् प्रश्नको उत्तर दिन आफू जवाफदेही नरहेको भनिदियो ।
यसपछि लेनिनवादीले धर्मलाई प्रतिस्पर्धी होइन कि दुस्मनको रूपमा अथ्र्याउन थाले । दुस्मन भएपछि त उसको अस्तित्वलाई नै मेटाउनुपर्ने हुन्छ । जबकि माक्र्सले धर्मलाई जबर्जस्ती नहटाऊ भनेका थिए । धर्मलाई जबर्जस्ती गर्न थाले धार्मिक मठाधीस गोलबन्द हुन्छन् र साम्यवादीभन्दा बलिया भएर संघर्षमा उत्रन्छन् भन्थे माक्र्स । तर, लेनिनले धर्मलाई नहटाई विजय हासिल गर्न नसकिने बुझेका थिए । साम्यवादी क्रान्तिको दृष्टिकोणबाट चीनमा धर्मसँगको सम्बन्ध हेर्नुपर्ने हुन्छ । माओले आफ्नो समाज राम्रोसँग अध्ययन गरेका थिए । माओले के देखे भने, चिनियाँ समाजभित्र तीन–चारथरी अन्तरविरोध छन् । पहिलो, साम्राज्यवाद । दोस्रो, चिनिया समाजभित्र सत्ताच्युत भएका पूर्वशासक । तेस्रो, धर्मभित्रका पन्थ । उनले धर्मलाई नहटाएसम्म यो सबै अन्तरद्वन्द्व समाप्त हुँदैन भन्ने बुझे । किनभने सबै प्रकारका शक्तिले धर्मलाई आफ्नो हतियार बनाएका थिए । पहिले चीनमा धर्मलाई निषेध गरियो । तर, पछि धर्मनिषेधले गर्दा न्यायसंगत समाजको परिकल्पना गर्नेहरूको लडाइँ दुई मोर्चामा हुन थाल्यो । एउटा मोर्चामा धर्मसँग र अर्को मोर्चामा आर्थिक सम्बन्धसँग ।
दुई मोर्चामा लड्न परेपछि साम्यवादीलाई असजिलो हुन थाल्यो । यसको स्पष्ट तस्बिर ८० को दशकको अन्त्यतिर अफगानिस्तानमा देखियो । अफगानिस्तानको मोर्चामा सोभियत युनियनलाई पराजित गर्न सकिँदैन भन्ने जब अमेरिकालाई लाग्यो, उसले धर्मको सहारा लियो । तालिबानको उदय यसैको परिणाम थियो । धर्म र राजनीतिबीचको मूलभूत अन्तर के हो भने धार्मिक व्यक्ति आफू पनि मर्न तयार हुन्छ र अरूलाई पनि मार्न तयार हुन्छ । तर, राजनीतिमा त्यस्तो हुँदैन । यसको कारण के भने धर्ममा मार्नु भनेको धर्मलाई बलियो बनाउने अर्थमा व्याख्या हुन्छ भने मर्नु भनेको स्वर्ग वा जन्नतमा पुग्नु हुन्छ । तर, राजनीतिमा मानिस मार्न तयार भए पनि मर्नचाहिँ तयार हुँदैन । राजनीतिको मूल कुरा स्रोतको उपभोग र त्यसको परिचालनसँग जोडिन आइपुग्छ । त्यसो त सोभियत संघको पतन हुनुमा धेरै कारण थिए, धर्म महŒवपूर्ण कारण थियो । धर्मसँग रुसी साम्यवादीको पराजयलाई मध्यनजर गरेर चीनमा अर्को के विचार आयो भने उत्पीडितको उच्छवासका लागि पनि त ठाउँ दिनुप¥यो । त्यसैले उनीहरूले घुमाउरो ढंगले धर्मप्रति सहिष्णु हुने नीति लिए ।
यो सँगसँगै ९० को दशकको वैश्वीकरणले नवउदारवादलाई जन्मायो । यो पुँजीवादको निर्मम रूप थियो । नवउदारवादले आधुनिकताको निश्चितता नै बाँकी रहन दिएन । बोल्सेभिक क्रान्तिदेखि झन्डै ७० को दशकसम्म साम्यवाद र धर्मका बीच निषेधात्मक अवस्था रहे पनि त्यसपछि भने दुवै शक्ति आ–आफ्नो ठाउँबाट अलिकति पछि सरेजस्तो देखिन्छ । यसलाई हामीले दक्षिण एसियाका साम्यवादीको चालिएका पाइलाबाट नियाल्न सक्छौँ । साम्यवादीले दक्षिण एसियामा धर्मलाई संस्कृतिको रूपमा अँगालेको देखिन्छ । उनीहरूले धर्म भनेको इस्लाम अथवा इसाइयतजस्तो होइन भन्दै धर्म जीवनशैली हो भन्ने व्याख्या गरे । दक्षिण एसियाका साम्यवादीले धर्मलाई संस्कृति र संस्कृतिलाई जीवनको अंग भनी व्याख्या गरेको पाउँछौँ । अनि संस्कृतिलाई निषेध गरेर अघि बढ्न सकिँदैन भन्न थाले । भारतका कम्युनिस्ट पार्टीमा सन् १९५० देखि नै नेतृत्वमा ब्राह्मण थिए, जसले यो तर्कलाई विकसित गर्न भूमिका खेलेका थिए । अन्ततः दक्षिण एसियाका साम्यवादी संस्कृतिमा पनि प्रगतिशीलता छ भन्दै धर्मलाई स्वीकार गर्न थालियो ।
त्यसैले यो दक्षिण एसियाकै देन हो कि यहाँका साम्यवादी धर्मलाई निषेध गर्ने होइन कि यसलाई सहनुपर्छ भन्न थाले । तर, पनि उनीहरू धर्मले रानजीतिक वर्चस्वलाई चुनौती नदेओस् भन्नेमा सचेत थिए । यहीँबाट राज्य धर्मप्रति निरपेक्ष हुनुपर्छ भन्ने अवधारणा आयो । साम्यवादी धर्मलाई यो स्तरमा स्वीकार गर्नतर्फ लागे पनि धर्मका ठेकेदारले भने साम्यवादलाई स्वीकार्न नसकेको देखिन्छ । धार्मिक मठाधीसका अनुसार साम्यवादीको यो बुझाइ अस्थायी हो । उनीहरू साम्यवादीको हातमाथि पर्नासाथ धर्मलाई निषेध गर्ने हदसम्म आइपुग्छन् भन्ने बुझ्छन् । दक्षिण एसियाका साम्यवादीले भने यो अवधारणा फ्रान्सेली क्रान्तिबाट लिएका थिए । यो अवधारणाको मूल बोल्सेभिक क्रान्ति हुन्थ्यो भने यहाँ पनि धर्मलाई निषेधकै रूपमा अघि बढाइन्थ्यो तर, त्यसो हुन सकेन । दक्षिण एसियामा धर्म निरपेक्षताको अवधारणा ल्याउने जस महात्मा गान्धी र मोहम्मद अलि जिन्नालाई जान्छ । दुवैले बेलायतमा पढेका थिए र दुवै बेलायतको फेवियन समाजवादबाट प्रभावित थिए । तर, सन् ९० पछिको वैश्वीकरणले मानिसमा असमानता र अनिश्चितता बढाइदियो । चिन्ता, असमानता, अनिश्चितता आदिले धनी देशमा मानसिक समस्या, क्रूरतालाई सतहमा ल्याइदियो । यहीँनेर जसको कोही छैन उसको परमात्मा छ भन्ने मतले गहिरो गरी समाजमा जरा गाड्न पुग्यो । यस्तो अवस्थामा साम्यवाद, समाजवाद जुन व्यावहारिक थियो, त्यो अव्यावहारिक र असम्भव लाग्न थाल्यो र जुन अव्यावहारिक तथा देख्न नसकिने थियो, त्यसमा विश्वास हुन थाल्यो । त्यहीँबाट हवन गरेपछि, लाखबत्ती बालेपछि, गाई दान गरेपछि स्वर्ग पुगिन्छ भन्ने विचारले समाजमा ठाउँ ओगट्न थाल्यो ।
यहाँ माक्र्सको भनाइ फेरि पनि सान्दर्भिक छ– ‘मानिसले नै इतिहास बदल्ने हो ।’ तर, जुन परिस्थिति छ, त्यही परिस्थितिमै टेकेर इतिहास बदल्ने हो । परिस्थिति एउटा व्यक्तिले निर्माण गर्ने कुरा होइन । परिस्थिति भित्र भूगोल, हावापानी, संस्कृति, इतिहास आउँछ । भनेपछि इतिहास बदल्ने भनेको यो सबैभित्र रहेरै हो । एसियाको परिस्थितिमा धार्मिकता तीव्र बेगमा बढ्नुको पछाडि यिनै कारण हावी छन् । वर्तमान समाजको अनिश्चितताको उत्तर हालको राजनीतिक विचारधारासँग छैन । जसले समाजका सबै समस्याको उत्तर मसँग छ भन्यो समस्या तिनैलाई परेको छ । साम्यवाद अथवा समाजवादको समस्या भनेकै त्यही हो । पुँजीवादले त समाजका यावत् प्रश्नको उत्तर दिन आफू जवाफदेही नरहेको भनिदियो । उसले सक्नेले खाने हो त्यसै भनेको होइन ।
नयाँपत्रिकाबाट साभार