काठमाडौंमा ५५ मिलिमिटर वर्षा,
फाइल तस्वीर
पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका सबैजसो क्षेत्रमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आज दिनभर पनि पानी पर्ने मौसमविद मिनकुमार अर्यालले जानकारी दिए ।३१ वैशाख, काठमाडौं । वर्षा र बदलीको अवस्था अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् ।
‘दिउँसो एक–दुई घण्टा हल्का खुलेको जस्तो देखिए पनि रातिसम्मै पानी पर्ने देखिन्छ,’ अर्यालले अनलाइनखबरसँग भने, ‘भोलि दिउँसोबाट क्रमिक रुपमा सुधार हुनसक्छ ।’ तर, पूर्णरुपमा आकाश खुल्न भने अझै केहि दिन लाग्ने उनले बताए ।
पश्चिमी वायुको प्रभावले हाल नेपालको आकाशमा न्यूनचापीय रेखा विकास भएको र त्यसैको कारण पानी परिरहेको मौसमविदहरु बताउँछन् ।
पानी पार्ने बादल पश्चिमबाट क्रमिक रुपमा पूर्वतर्फ सर्दै गएको छ । त्यसैले अहिले मध्य र पूर्वी भागमा पूर्णरुपमा बदलीको अवस्था छ ।
सोमबार बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंमा १३ दशमलव ३ मिलिमिटर वर्षा भएको छ । अर्का मौसमविद समीरमणि दीक्षितका अनुसार काठमाडौं उपत्यकामा विगत २४ घण्टामा ५५ मिलिमिटर वर्षा भएको छ ।
२०७५ वैशाख ३१ गते ९:१२ मा प्रकाशित
