समाचारनेपाली कांग्रेस

कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा: देशव्यापी अभियान थाल्ने घोषणा

काठमाडौँ — कांग्रेसको संस्थापन इतर पक्षले पार्टी सुधारका निम्ति नेतृत्व परिवर्तनको मुद्दालाई मुख्य एजेन्डा बनाएर देशव्यापी अभियान थाल्ने उद्घोष गरेको छ । वर्तमान नेतृत्वबाट दुई तिहाइ जनमत बोकेको कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्न नसकिने निचोड यो समूहले निकालेको छ ।

आगामी १४ औं महाधिवेशनलक्षित यो अभियानमा संस्थापन इतर पक्षको नेतृत्व लिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले खुट्टा नकमाउने बताए । नेविसंघले सोमबार राजधानीमा गरेको कार्यक्रममा पौडेलसहित पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलसहितका नेताहरूले नेतृत्व परिवर्तन नगरेसम्म कांग्रेसमा सुधार आउन नसक्ने दाबी गरेका थिए ।स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी हार्नुमा नेतृत्वको कार्यशैलीलाई मुख्य दोष दिँदै आएको संस्थापन इतर पक्षीय नेताहरूले नेतृत्व परिवर्तनको मुद्दालाई जिल्ला सभापति भेला, महासमिति बैठक हुँदै पार्टीको तल्लो पंक्तिसम्म पुर्‍याउने तयारी गरेका छन् ।
१३ औं महाधिवेशनपछि पानी बाराबार गरेका कांग्रेस नेता पौडेल र पूर्वमहामन्त्री सिटौला पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा सोमबार एउटै मञ्चमा देखिएनन् मात्रै, हात मिलाएरै कांग्रेस सुधारको अभियानमा एकजुट हुने उद्घोषसमेत गरे । पौडेलले सिटौलालाई लक्षित गर्दै अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेजस्तो आफैंलाई भएको भन्दै व्यंग्यसमेत हाने । तर, उनले विगतको इतिहास नकोट्याई अभियानमा खुट्टा नकमाइकन अघि बढ्ने बताए । सिटौलाले पनि विगतको ‘ह्याङओभर’ मा नभएर वर्तमान र भविष्यका लागि पौडेलसँगै हिँड्ने बताए । कार्यक्रममा संस्थापन इतर पक्षमा रहेका महामन्त्री शशांक कोइराला र शेखर कोइराला भने उपस्थित थिएनन् । वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मुद्दामा शेखर एककदम अघि छन् । तर महामन्त्री शशांक पार्टी एकजुट बनाउनुपर्छ भन्दै यो विषयमा मौन बस्दै आएका छन् ।
पौडेल र सिटौलालाई एक ठाउँमा ल्याउने भूमिकामा रहेका केन्द्रीय सदस्य केसी, युवा नेताहरू गगन थापा र प्रदीप पौडेलसमेतले संस्थापन इतर पक्ष एकजुट भएर अघि बढ्न आग्रह गरे । ‘आआफ्नो परिस्थिति र पार्टीको आवश्यकताले अहिले हामी एउटै मञ्चमा छौं । यसको संवेदनशीलतालाई बुझ्न सक्यौं र एकता मजबुत बनायौं भने यो तागतलाई कसैले रोक्न सक्दैन,’ थापाले भने । उनले कांग्रेसलाई पुरानै ठाउँमा नभएर नयाँ ठाउँमा पुर्‍याउने नेतृत्व आवश्यक भएको बताए । आफ्नै गृहजिल्लामा शनिबार देउवाले पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर मात्रै विश्राम लिने बताएका थिए । थापाकै भनाइलाई साथ दिँदै पौडेलले आफू पुरानो ठाउँमा नभएर पार्टीलाई नयाँ ठाउँमा पुर्‍याउने अभियानमा लाग्ने उद्घोष गरे ।
‘अहिले हामी १३ औं महाधिवेशनको गल्तीको परिणाम भोग्दै छौं,’ देउवाप्रति लक्षित गर्दै पौडेलले भने, ‘निजी स्वार्थभन्दा माथि राष्ट्र र लोकतन्त्रलाई स्वार्थमा राख्न सकेनौं । आचरण, नैतिकता र व्यवहार कांग्रेसको चरित्रअनुसार भएन, त्यसैले पार्टी कमजोर बन्न पुग्यो ।’
कांग्रेसलाई अघि बढाउने क्रममा प्रतिपक्षी भूमिकामा समेत नेतृत्व कमजोर भएको धारणा पौडेलको थियो । सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्नु, बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयमा पार्टी मौन बस्नुलगायतका विषयले पार्टीको भूमिका कमजोर भएको भन्दै पौडेलसहितका नेताहरूले अबको चुनौती वर्तमान नेतृत्वबाट सम्भव नहुने बताए ।
पूर्व महामन्त्री प्रकाशमान सिंहले विधान र नियम नै मै हुँ भन्दै नेतृत्वले पार्टी सञ्चालन गरेको आरोप लगाए । ‘यस्तो लथालिंग अवस्थामा यो नेतृत्वले पार्टीका सामु उपस्थित चुनौती सामना गर्न सक्दैन,’ उनले भने, ‘सत्ताको राजनीति, पैसा र मसलबाट पार्टी अघि बढदैन । कुनै कम्युनिस्ट नेता आएर हाम्रो पार्टी बनाइदिने पनि होइन । पार्टी सुधारका लागि अब चुप बस्ने बेला छैन ।’
पूर्वमहामन्त्री सिटौलाले चाकडीवाद र सामन्तवादमा पार्टी चल्ने गरेको बताए । ‘भोलिका दिनमा सत्ता गठबन्धन गर्नपर्ला भन्ने स्वार्थमा प्रचण्ड, महन्थ, उपेन्द्र र कमल थापालाई फकाउँदाफकाउँदै पार्टी यो अवस्थामा आइपुग्यो,’ सिटौलाले भने, ‘दूरदर्शी रणनीति र योजनाबिना पार्टी कसरी अघि बढ्छ ? उनले पार्टी नेतृत्व, योजना, नीति र कार्यक्रमसमेत परिवर्तन गरेर अघि बढ्न आवश्यक रहेको बताउँदै भने, ‘कांग्रेस प्रतिपक्षजस्तो पनि भएन । हामीलाई लत्रिएको होइन, जिउँदो जाग्दो, उठेको प्रतिपक्ष चाहिएको छ ।’
केन्द्रीय सदस्य केसीले पार्टी नेतृत्वमा अधिनायकवाद र स्वेच्छाचारिता बढेको भन्दै यसको परिवर्तन आवश्यक रहेको बताए । ‘कांग्रेस नेतृत्व स्वाभिमान नभएका दासहरूको सीमित गिरोहको बन्दी भएको छ,’ केसीले भने, ‘यस्तो नेतृत्वबाट अब पार्टी सुधार हुन सक्दैन ।’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र प्रदीप पौडेलले पार्टी नेतृत्वलाई प्रतिपक्षमा भएको अनुभव अझै हुन नसकेको बताए । ‘सबैभन्दा पहिला नेतृत्वलाई प्रतिपक्ष भएको बोध गराउन आवश्यक छ,’ पौडेलले भने, ‘अझै पनि नेतृत्वलाई सत्तामा भएको जस्तो लागेको छ । संसद् र सडकमा समेत प्रतिपक्षजस्तो कांग्रेस हुन सकेको छैन ।’
कार्यक्रममा नेता थापाले केन्द्रीय अधिवेशन नियमित समयमै गरे पनि प्रादेशिक संरचनाअनुसार पार्टीलाई रूपान्तरण गर्न तत्काल अधिवेशन हुनुपर्ने बताए । प्रादेशिक अधिवेशनका लागि पनि केन्द्रको नियमित अधिवेशन पर्खंदा स्थानीय तहको अर्को चुनाव आइसक्ने र त्यतिबेला पार्टीले झनै लज्जास्पद परिणाम भोग्ने थापाको भनाइ थियो । ‘केन्द्रको अधिवेशन नियमित समयमै होस्, केही छैन, तर महासमितिबाट विधान संशोधन हुनासाथ ७५३ पालिका, प्रतिनिधिसभा निर्वाचन क्षेत्र १६५ र प्रदेश निर्वाचन क्षेत्र ३३० र ७७ जिल्लाको अधिवेशन तत्काल हुनुपर्छ,’ थापाले भने, ‘२०७५ सालको फागुन चैतसम्ममा प्रदेशिक संरचनाअनुसार अधिवेशन गर्नुपर्छ ।’
कान्तिपुरबाट सभार ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button