समाचार

जाजरकोट पहिरोमा परि मृत्यु हुनेको संख्या ७ पुग्यो

२० साउन, जाजरकोट÷जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोले पुरेका सातजनाको शव निकालिएको छ । दुईजना अझैं बेपत्ता छन्। एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको हो। मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार , ३ वर्षीया मनिसा परियार,१३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार रहेका छन्। उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो।
उनीहरु सबै ठाँटी स्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ।
जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ। छाती, टाउको र खुट्टामा चोट लागेका खड्गबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ।
यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा चार जना बालबालिका हराइरहेका छन्। ती बालबालिकालाई घर सँगै पहिरोले पुरेको अनुमान गरिएको छ।
प्रहरीका अनुसार हराइरहेकामा नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार रहेका छन्।
पानी परिरहेको अप्ठेरो ठाउँ भएको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको उद्धार खटिएका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्दजित सुनारले बताए।

nema
Show More

Related Articles

Back to top button